१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

‘नेपालको कुनाकुनामा एआई शिक्षा पुग्नुपर्छ’

आर्टिफिसियल इन्टलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमसिन’ अमेरिकाको स्टक एक्सचेन्ज (नासडाक) मा सूचीकृत हुने भएको छ।

सन् २०१३ मा डा. मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित नासडाकमा सूचीकृत हुने नेपाली मूलको पहिलो कम्पनी हुँदैछ। विश्वको प्रख्यात कोलम्बिया विश्वविद्यालयबाट कम्प्युटर साइन्समा पिएचडी गरेका मास्के सोही विश्वविद्यालयमा प्राध्यापन पनि गर्छन्।

अमेरिकामा मुख्यालय रहेको ‘फ्युजमसिन’ ले पछिल्लो समय नेपाल, डोमिनिक रिपब्लिक लगायतका देशमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ। यसै सन्दर्भमा रिपब्लिकाका सम्पादक कोषराज कोइरालाले जुममार्फत मास्केसँग उनको उद्यम यात्रा, पछिल्लो सफलता, चुनौती, भावी योजनालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः

तपाईँ आफूलाई आम नेपाली सामु कसरी चिनाउन चाहनुहुन्छ? नेपालदेखि अमेरिकासम्मको यात्रा कसरी स्मरण गर्नुहुन्छ?

म काठमाडौंको ठमेलमा हुर्केँ। ठमेलकै बुद्ध प्रि–प्राइमरी स्कुलमा पढें। कक्षा एकदेखि दशसम्म सेन्ट जेभियर्समा पढें। आइएससी बायोलोजी लिएर वीरेन्द्र सैनिकमा पढें। यही दौरान १२ कक्षाको अन्तिमतिर विभिन्न कलेजतिर आवेदन गरें। अमेरिकाको ४÷५ वटा कलेजबाट छात्रवृत्ति पाइयो।

यही छात्रवृत्तिको आधारमा अमेरिकाको बेटस् कलेजमा आएर गणित र फिजिक्समा अन्डर ग्राइजुएट गरें। यस क्रममा एआईमा धेरै अनुसन्धान गरें। ‘नेपाली टु इङ्लिस स्पिच ट्रान्सलेसन स्टिमस’ लगायत क्षेत्रमा अनुसन्धान गरें। यही क्रममा कलेजको चौथो वर्षको सुरुवातमा पिएचडी अप्लाई गरें। कोलम्बो युनिभर्सिटीबाट पाँच वर्षमा पिएचडी सकें। त्यसपछि आइबिएममा काम गरें। त्यसपछि सबै कुरा छाडेर फेरि कोलम्बियामै पढाउन आएँ।

कक्षा ११/१२ बायोलोजी पढेको मान्छे चिकित्सक बन्ने सोच थियो होला? कसरी यता पुग्नुभयो?

नेपालमा आमाबुबाको इच्छा छोरा डाक्टर होस्, त्यो नभए इन्जिनियर होस् भन्ने थियो। सबैको त्यही इच्छा हुन्छ। त्यसकारण मैले पनि बायोलोजी पढें। फेरि राम्रो पनि भएको थियो। शिक्षा मन्त्रालयको जाँचहरूमा  पनि नाम निकालेको थिएँ।

एकातिर छात्रवृत्तिमार्फत डाक्टर पढ्ने बाटो खुला थियो। अर्कातिर यता पनि छात्रवृत्ति पाइसकेको थिएँ। त्यस कारण के गर्ने भन्ने कुरा पनि ठुलो थियो। बाआमालाई डाक्टर बनाउने मन थियो। आफूलाई पनि अलिकति डाक्टर हुने मन थियो। तर कम्प्युटर एआईमा काम गर्ने इच्छा धेरै थियो। तर त्यो बेलासम्म त्यति धेरै कम्प्युटर साइन्स पनि थिएन।

नेपालमा त बिरलै इन्टरनेट थियो। एआई चलचित्रको कमालले मेरो इच्छा यता जाग्यो। यहाँ पनि सुरुमा त मैले बायो–मेडिकल इन्जिनियरिङ पढें। बायो–मेडिकलमा त स्वास्थ्य क्षेत्रको कुरा सबै प¥यो। तर पढ्दापढ्दै मलाई कम्प्युटर साइन्स र एआईमा सारै इच्छा भयो। त्यसकारण यही बाटोमा लागें।

तपाईँलाई के कुराले आकर्षित गरेर आफ्नो कम्पनीको नाम ‘फ्युजमसिन’ राख्नुभयो? ‘फ्युज मेसिन भनेको के हो?

कम्पनीको काम अनुसारको नाम सोचिरहेका बेला २०१३ सालमा यो नाम दिमागमा आयो। मसिनलाई मानवसँग फ्युज गर्ने। मानिसको जीवनमा मसिनलाई फ्युज गर्ने। यो ‘फ्युजमसिन टु ह्युमन’ हो एक हिसाबले। यो धेरै लामो वाक्य भएका कारण ‘फ्युजमसिन’ राखें।

कम्पनी स्थापनाको मुख्य उद्देश्य के थियो? सुरुवाती चरणमा तपाईँले देख्नुभएको सपना के थियो?

मसिनको मद्दतले हाम्रो जीवनलाई कसरी सहजीकरण गर्छ। यसबाट सुरु गरेको हो। मानिसका लागि हामीले सुरुमा ‘न्याचुरल ल्याङ्गोइज डाइलग सिस्टम’ भन्ने मेसिन बनाएका थियौं।

विशेषगरी अमेरिकाको कल सेन्टरहरूमा दसौँ करोडौं कल जान्छ। कल सेन्टरमा हजारौं मान्छे काम गर्छन्। तैपनि लाखौं कल आउने भएका कारणले लाइनमा बस्नुपर्छ। त्यसकारण कल ग¥यो भने पनि, २० मिनेट ४० मिनेट होल्डमा बस्नुपर्ने बाध्यता थियो। पहिलो उत्पादन मसिनलाई कल सेन्टरमा कसरी उपयोग गर्ने? ताकि कसैको केही प्रश्न छ भने मेसिनले नै प्रतिक्रिया दिने होस्। यसरी सुरु ग¥यौँ।  

सुरुवाती चरणमा तपाईँको लगानी कति थियो र कसरी जुटाउनु भयो? अमेरिकाको बैकिङ प्रक्रिया के कस्तो रहेछ?

कम्पनी खोल्दा अप्ठेरो पर्ने भनेकै पुँजी व्यवस्थापनको हो। कसैले विश्वास गर्नुप¥यो कि यो मान्छेलाई पैसा दिँदा यसले डुबाउँदैन र यो कम्पनीले केही गरेर खान्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। सुरुमा पैसा आफ्नो नजिकको मान्छेबाट नै उठाएँ।

किनभने आफ्नो परिवार र साथी बाहेक अरू कसैले विश्वास गर्दैन। आफ्नो संघर्षको कुरा परिवार र साथीलाई मात्रै थाहा हुन्छ। त्यसकारण जोखिम लिएर भए पनि अलिकति पुँजी दिऊँ भन्ने हुन्छ। सबै ठाउँमा त्यही हो। त्यहाँ पनि त्यही छ। त्यसकारण सुरुमा मैले आफ्ना साथीहरूबाट अलिकति पुँजी उठाएको थिएँ। त्यहीँबाट सुरु गरेको हो।

अमेरिकामा के सजिलो छ भने सुरुको पुँजीले अलिकति केही राम्रो हुन थाल्यो भने उत्पादन राम्रो हुन थाल्छ कम्पनी ठुलो हुनसक्छ भन्ने हिसाबले त्यो विश्वास दिलाउन सके पुँजी बढाउन सकिन्छ। नेपालमा चाहिँ त्यो किसिमको अवस्था अझै सिर्जना हुन सकेको छैन। तर केही मात्रामा भइरहेको छ।

अहिले कुन–कुन क्षेत्रमा काम गरिरहनुभएको छ?

अहिले मुख्य गरेर एआई स्टुडियो भनेर बनाएका छौं। हामीले उद्योगका समस्या समाधान गर्न मिल्ने गरी इन्जिन स्टुडियो बनाएका छौं। त्यो सिलसिलामा ‘कम्प्युटरमा हुने बदमासी पत्ता लगाउने प्रणाली (फ्रड डिटेक्सन), सूचना लिने प्रणाली (इन्फरमेशन एक्स्ट्राक्सन र अन्य प्रकारका पूर्वानुमान प्रणाली (प्रिडिक्सन सिस्टम)हरु बनाएका छौं। यी प्रणाली फरक–फरक कम्पनीहरूले आफूलाई चाहिए अनुसार प्रयोग गर्छन्। योचाहिँ उत्पादन क्षेत्र भयो। अर्को सेवाको क्षेत्रमा पनि काम गरिरहेका छौं। सेवा क्षेत्रका ग्राहकहरुका लागि पनि इन्जिनका आवश्यकताहरु पुरा गरिरहेका छौं। ग्राहकहरुलाई यी इन्जिन अनुपयोगी भए भने हामीले एआई स्टुडियो प्रयोग गरेर हाम्रो इन्जिनियरिङ ट्यालेन्ट टिमले त्यसमा काम गरिरहेको हुन्छ। विशेषगरी हामीले एआईसँगसम्बन्धित उत्पादन र समाधान अफर गर्छौं।

यो सफलता प्राप्तिको सूत्र के हो?

यो मैले काठमाडौ अनामनगरस्थित दिदीको घरको एउटा सानो कोठामा दुइटा टेबलबाट सुरु गरेको हो। अहिले त न्युयोर्क, नेपाल, क्यानडा, इम्पोइरिएलहरूमा अफिसहरू छन्। फरक–फरक समयमा फरक–फरक किसिमबाट प्राप्त भएको सहयोगकै कारण हामी यहाँ आइपुगेका छौं। तर हामी पैसा कमाउने भन्दा पनि हाम्रो सेवा र उत्पादन मुल्य कसरी बढाउने भन्नेमा धेरै केन्दि«त भयौ। पैसाको पछि नलागी संस्थाको मूल्यतिर लाग्यौँ।

कम्पनीको सफलतामा सहयोगीहरूको हात महत्वपूर्ण हुन्छ। मेरो कम्पनी यो चरणमा पुग्नुमा सबैभन्दा ठुलो सहयोग मेरी आमा, दिदी, र श्रीमतीको रह्यो। कति चोटि त अति गाह्रो भएर छोड्ने अवस्थामा पुगेको थिएँ। त्यस्तो तनावको बेला आफ्नो परिवारको सहयोग महत्वपूर्ण हुन्छ। आफ्नो परिवारले त जस्तो बेलामा पनि सहयोग गर्छन् नै। त्यसबाहेक अन्य सहयोगी संस्था पनि छन्। तिनीहरूको पनि महत्वपूर्ण योगदान छ।

अनामनगरको एउटा सानो कोठामा आजभन्दा १० वर्षअगाडि सुरु गर्दा अमेरिकी धितोपत्र बोर्ड (नासडाक) सम्म पुग्ला भन्ने सोच्नुभएको थियो?

सोचेको थिइनँ। सबै उद्यमीको सपना त हुन्छ तर सोचेको थिइनँ। त्यति बेलाको सोच कस्तो थियो? कहाँसम्म पुगिन्छ जस्तो लागेको थियो? खास किसिमको मूल्य सिर्जनापछि केही अगाडि पुगिन्छ भन्ने लाग्थ्यो मलाई। तर यति नै ठुलो हुन्छ भन्ने सोचेको भने थिइनँ। त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ। उद्यमी भएपछि यो यात्रामा नै रमाउन सक्नुप¥यो। किनभने यात्रा एकदमै गाह्रो छ। सबैलाई ठुलो हुनुपर्छ भन्ने लाग्छ । तर यात्रामा रमाउनुपर्छ। त्यसकारण सुरुदेखि नै मेरो ध्यान यात्रामै केन्द्रित थियो।

यात्रा गर्दागर्दै यसको मूल्य कसरी बनाउने र त्यसमा प्रभाव पार्न सक्यो भने सबै ठिक ठाउँमा आउँछ भन्ने थियो। सुरुमै म यत्रो बनाउँछु, यति पैसा कमाउँछु भन्ने कुरा दिमागमा थिएन। म एआई अनुसन्धानकर्ता। एआईमै पिएचडी गरेको, यही पढाउने। एआईमै मैले के गर्न सक्छु ताकि यसमा प्रभाव पार्न सकोस्।

नेपालका नव उद्यमीहरूलाई के सुझाव दिनुहुन्छ?

स्टार्टअप गर्न मन छ भने गरिहाल्नुपर्छ। कति जनालाई गर्न मन हुन्छ तर आफैसँग अनेक बहाना बनाइरहेका हुन्छन्। उत्तम भनिने समय कहिल्यै पनि हुँदैन। गर्ने मन भए गरिहाल्ने। लामो कारणबाट सुरु नगरौं। म चाँहि यति पैसा कमाउँछु, कति जना युवालाई यस्तो हुन्छ? सुरुवातमा गाह्रो, उतारचढाव पनि हुन्छ। परिवारको सहयोग साथीहरूको सहयोग पनि चाहिन्छ।

सबैभन्दा गाह्रो मूल्य सिर्जना गर्नु हो। आफूलाई स्पष्ट उद्देश्य थाहा भए पनि अरूलाई थाहा नहुन सक्छ। आफूलाई महसुस भएको मूलय अरूलाई महसुस नहुन सक्छ। मैले उत्पादन गरेको कुरा सबैले किन्छन् कि किन्दैनन्? त्यसैले मूल्य सिर्जनालाई बढी ध्यान दिनुपर्छ।

तपाईँको कम्पनीमा धेरै श्रम शक्ति छ। त्यसमा नेपाली र विदेशी कति छन्?  

पाँच सय पुग्न पुग्न लागेका छन्। तीन सय जति नेपालमा छन्, बाँकी ल्याटिन अमेरिका, युएस, क्यानडामा छन्। समानता पनि छ, फरक पनि छ। समानता सबैजना हार्डवर्किङ छन्, प्रोडक्ट र बिक्रीमा उत्तिकै लागेका छन्। संस्कृतिमा फरकपन छ। अमेरिका, ल्याटिन अमेरिका र नेपालमा फरक फरक छन्। सांस्कृतिक फरकपन कसरी व्यवस्थापन गरेर काममा लगाउने भन्ने चुनौती छ।

साधारण मानिसले बुझ्ने भाषामा एआई र एजिआई भनेको के हो? बताइदिनुस् न।

एआई भनेको यस्तो खालको सफ्टवेयर मेसिन हो, जसले सूचना लिएर आवाज, बोली वा लिखित वाक्य, तथ्याङ्क, त्यो सूचनालाई संशोधन गरी नतिजा निकाल्छ र त्यो नतिजा मानिस वा हामीलाई काम लाग्छ भने त्यसलाई सामान्यतया एआई भन्न मिल्छ।

उदाहरणका लागि जस्तो टेस्ला गाडी स्वचालित (सेल्फ ड्राइभिङ) प्रणालीमा गएको छ। त्यो ज्वलन्त उदाहरण भयो। त्यसमा के छ त? राडारको सूचना छ, स्टप साइनको सूचनाबारे भिडिओ फिड छ। जसले के नतिजा दिन्छ त राडारमा गुड्छ, स्टप साइनमा रोकिन्छ। यसले मानवलाई के फाइदा भयो भन्दा मेसिनले नै गाडी ड्राइभ गर्ने भयो।

नयाँ एजिआई भन्ने अवधारणा आइराख्या छ। एआईले अर्काको सूचनाका आधारमा गर्छ भने यसले लगभग सबै गर्नसक्छ मान्छेको दिमागजस्तो। एआईले राडारको, स्टपको सूचना पाएपछि त्यसअनुसार काम गर्ने भयो भने एजिआईले पूर्व सूचना नै नभए पनि तत्काल निर्णय लिन सक्ने गरी काम गर्नसक्छ।

एआईमा मानौं ‘कफी टेस्ट’ भन्यो भने त्यसका लागि कसैको घरमा कहाँ भान्सा छ भन्ने सूचना दिनुपर्छ भने एजिआईलाई त्यति सबै सूचना दिनुपर्दैन। आफैं गएर सबै गर्नसक्छ। एजिआई अहिल्यै आइसकेको छैन, यो अनुसन्धानकै क्रममा छ।

अनामनगरको कुरा त भनिसक्नुभयो। त्यसपछि नासडाकसम्म पुग्दा तपाईँको यात्राका महत्वपूर्र्ण सफलताका खुट्किलाहरू केके स्मरण गर्न चाहनुहुन्छ?

यात्रा पूर्ण गतिमा सुरु भएको सन् २०१३ बाट हो। जुन आइबिएम वाटसन रिसर्च सेन्टरको काम छोडेर मैले कोलम्बियामा पढाउँछु अनि कम्पनी सुरु गर्छु भनेर अघि बढेको थिएँ। त्यसको पहिलो सफलता २० दिनमै प्राप्त भयो। विश्वविद्यालयको अपार्टमेन्टमा बसेर फस्र्ट सिस्टम बनाएँ, नेचुरल लाइन अफ डायलग सिस्टम, धेरै लाइन अफ वर्ड लेखेर। त्यसपछि त्यति नै बेला साथीहरूबाट अलिकति पुँजी थपें। अनि हामीले २०१३ मा ठुलो सफलताका रूपमा न्युयोर्क सिटी सरकारका रूपमा क्लाइन्ट पायौं। त्यो काम धेरै प्रभावकारी बन्यो। त्यही आधारमा २०१४ मा पुँजी थप्यौं।

अनि २०१६ सम्म धेरै संघर्ष ग¥यौं। त्यतिबेला के भयो भने प्रडक्ट बनायौं, राम्रो पनि छ प्रतिस्पर्धामा जिती पनि राखेको छ। न्युयोर्क सिटी सरकार क्लाइन्ट पनि भयो, प्रडक्ट बनाउन पनि सकिने, बेच्न पनि सकिने। तर त्यतिबेला कमजोरी महसुस भएन। न्युयोर्क सिटीलाई बेचिहाल्यौं, अरूलाई पनि बेच्न कति नै गाह्रो हुन्छ र? भन्ने लाग्यो। त्यसैले राम्रो जनशक्ति भर्ना नै गरेनौं। त्यसैले तीनवर्ष संघर्ष गर्नुप¥यो। त्यो संघर्षका क्रममा फरक फरक प्रडक्ट बनायौं। त्यही बेला अटोमसिन प्लाटफर्महरू बनाएर बेच्न थाल्यौं। त्यसले राम्रो आय दिन थाल्यो।

त्यही दौरान सर्भिसेज युनिट सुरु ग¥यौं। सर्भिसेज युनिट एआई सिस्टम बनाउनुपरे क्लाइन्टलाई चाहिए मद्दत गर्ने। त्यो बनाउँदा बिस्तारै वृद्धि हुन थाल्यो। यसमा महत्वपूर्र्ण क्लाइन्टको मन जित्दै गयौं। पुँजी पनि बढाउँदै गयौं, डोमेन प्लाटफर्मले पनि क्यापिटल दियो। अरू लगानीकर्ताले पनि क्यापिटल दिए। त्यो विकास हुँदै गयो। त्यसलगत्तै पुरानो प्रडक्टलाई पनि बजारमा ल्याउन थाल्यौं, एआई स्टुडियो बनायौं।

अहिले सिएस एलमसँगको मर्जर सम्झौताअनुसार तपाईँहरूले दुई सय मिलियन डलर पाइरहनुभएको छ। त्यो फन्ड कसरी प्रयोग गर्नुहुन्छ?

कम्पनीको मूल्य दुई सय मिलियनमा पुग्ने भनिएको हो, फन्ड नै आउने होइन। अहिले सिएस एलमले सहमति गरेको १९ दशमलव ४४ भयो। यो फन्डको प्रयोग हुने भनेको ग्रोथकै लागि हो। अरू देशमा विस्तार गर्ने, उत्पादन बढाउने नै हो। नेपालमा विभिन्न टिम विस्तार गर्ने योजना छ। नेपालमै हुर्केको, नेपालको माया त छ। त्यहीअनुसार १०÷१२ वर्षदेखि नेपालमा पनि काम भइरहेको छ। अब फन्ड बढ्दा त झन् विस्तार गर्ने उद्देश्य झन् बढ्ने नै भयो। एआई फेलोसिप प्रोग्राम चलाउँछौँ।

एआई फेलोसिप प्रोग्रामले कसरी ग्लोबल एआई ट्यालेन्ट पुल बनाउने भनेको छ? यसले कसरी सहयोग गर्छ?

पुँजी बढाउने एक भागका रुपमा एआई फेलोसिपलाई विस्तार गर्ने हो। त्यसमा पनि नेपालमा एआई फेलोसिप सुरु गरेको पाँच वर्ष जति भयो। सुरुमा सेवा दिँदै जाँदा र आय बढ्दै जाँदा हामीलाई एआई प्रतिभा चाहिँदै गयो।

२०१७ मा एआई यत्रो विकसित भइसकेको थिएन। कोलम्बियामा पढाइरहेकै बेला मैले यही पाठ्यक्रम नेपालमा पढाए कस्तो हुँदो रहेछ भनेर अनुसन्धान सुरु गरें। नतिजा राम्रो आयो। कोलम्बियाको क्षमता सरहकै विद्यार्थी निस्किए। नेपालका विद्यार्थी उत्तिकै प्रतिभाशाली छन् एआईमा।

उच्च गुणस्तरीय शिक्षा मात्रै नभएको हो भन्ने भएपछि त्यस्तै शिक्षा सुरु गर्दै फ्युजमसिन एआई स्कलरसिप कार्यक्रम सुरु गरेको हो। अहिले लोकप्रिय छ नेपालमा। ल्याटिन अमेरिकामा पनि गर्न थालेका छौं।

नेपालमा कुनकुन कलेजसँग सहकार्य छ?

फ्युजमसिन एआई फेलोसिप सुरुमा कोहीसँग गर्दैनथ्यौँ, आफैंले सञ्चालन गर्ने हो। बीचमा एक दुईसँग सहकार्य भयो। अहिले आफैं मात्रै गरिराखेका छौं। हामीले खोल्दा हजारौँले प्रयोग गर्छन्। त्यसमा २५ देखि ३० जना छनोट हुन्छन्। हामीले पैसा लिँदैनौं। बीचमा लिन थालेका थियौं, मेरिटबेसमै छनोट हुन्छ, मेरिटको टपमा भएकाले पनि सानो चार्ज लगाउँदा तिर्न नसकिने भन्ने थाहा भयो। पैसाका कारणले पढ्न पाएन भने त रमाइलो भएन।

कसरी लागु गर्ने?

हामीले आवेदन माग्छौं, प्रेस वक्तव्य, सामाजिक सञ्जालबाट। त्यहाँ लिंक हुन्छ, त्यहाँ आवेदन दिन सकिन्छ। पहिले ब्याचलर थियो। अहिले कम पनि लिने गरेका छौं किनभने कम्प्युटर साइन्समा कोही कोहीले पढ्न राम्रो भएर पनि डिग्री नपाएको हुन्छ। त्यसैले डिग्री नभए पनि आवेदन दिन पाइन्छ। जाँच भने दिनुपर्छ। म्याथ, प्रोग्रामिङ, मेसिन लर्निङको जाँच हुन्छ।

जाँदाजाँदै नेपालको एआई क्षेत्रमा काम गरिरहेकाहरूलाई के सुझाव छ?  

एआईको स्टार्टअप गरिरहनुभएको छ भने यो एकदमै राम्रो मौका हो। एआईले धेरै कुरामा प्रभाव पारिरहेको छ। धेरै संस्थाले एआईलाई कसरी आफू अनुकुल प्रयोग गरेर प्रगति गर्ने भनेर योजना र बजेट बनाइरहेका छन्। यही मौकामा एआई सिस्टम बनाउन सके राम्रो मौका हो।

मेरो विचारमा शिक्षा महत्वपूर्ण हो। विशेषगरी मैले छात्रवृत्ति पाएर यति गर्न पाएँ। नेपालमा एआई शिक्षा व्यापक ल्याउन सके र सबैले पढ्ने वातावरण बनाउन सके अर्थतन्त्र कायापलट गर्न सकिन्छ। एआई ट्यालेन्ट भन्ने बित्तिकै नेपाल भनेर संसारभरको दिमागमा आउन सक्ने बनाएँ।

मेरो विचारमा नेपालको डिजिटल इकोनोमीमार्फत आर्थिक कायापलट गर्न सकिन्छ। त्यसका लागि व्यापक एआई कम्पनीहरू आउनुपर्छ। हामी पनि लागिराख्या छौं। यत्तिले मात्र पुग्दैन। धेरै आउनुपर्छ। एआईको लोकतन्त्रीकरण गर्नुपर्छ। नेपालको कुना कुनासम्म एआई शिक्षा पढाउनु पनि पर्छ।

प्रकाशित: २४ माघ २०८० १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App