१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली

होलीका अवसरमा आइतबार भक्तपुरको सूर्यविनायकमा रङ खेलेर रमाउँदै क्यान्सर विजेताहरू बायाँबाट क्रमशः काठमाडौं असनकी दिलशोभा स्थापित र डल्लुकी रत्नतारा तुलाधर तथा भक्तपुर थिमिकी सुस्मिता पोखरेल। तस्बिर : उपेन्द्र/नागरिक

एउटा यस्तो समय थियो, क्यान्सर लाग्नेबित्तिकै बिरामी मात्र होइन, घरपरिवार नै आत्तिने गथ्र्यो। क्यान्सरलाई जीवनको अन्त्य ठानिन्थ्यो र मृत्यु कुरिन्थ्यो। समय फेरिएको छ। अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।

त्यस्तै एउटा उत्सव फागु पूर्णिमाको अवसर पारेर भक्तपुरमा आइतबार आयोजना भयो। रक्षा क्यान्सर केयर सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा ठुलो संख्यामा क्यान्सर विजेता र तिनका परिवारले सामूहिक रूपमा खुसी मनाए। ‘क्यान्सरपछि पनि जीवन रंगीन हुन्छ भन्ने सन्देश दिन सामूहिक रूपमा पर्व मनाएका हौं,’ सोसाइटीकी अध्यक्ष डा.सृष्टि श्रेष्ठले भनिन्, ‘यसले विजेतालाई मात्र हैन, रोगसँग लडिरहेकालाई पनि थप शक्ति प्रदान गर्ने विश्वास लिएका छौं।’

प्रतिमा खनाल स्वयं पनि विगतमा क्यान्सर रोग पीडित थिइन्। क्यान्सर जितेर एक दशकयता सामान्य जीवन बिताइरहेकी उनले त्यति बेलाको समय अहिलेजस्तो सहज नभएको बताइन्। ‘पहिला हामीलाई उत्साह दिनेको कमी थियो, निराश हुँदै रोगसँग लड्यौं,’ उनले थपिन्, ‘अहिले हामी लाखौं बिरामीलाई डराउनुपर्दैन, रोगलाई जितिन्छ भन्ने सन्देश दिन लागिपरेका छौं।’ यसअघि पनि तीजलगायत पर्व क्यान्सर विजेताले सामूहिक रूपमा मनाएको उनले सुनाइन्।

कार्यक्रममा चर्चित लोकगायिका तारा थापा र मीरा राणाले पनि क्यान्सर विजेतका रूपमा फागु मनाए। ‘क्यान्सर जीवनको अन्त्य हैन, नयाँ जीवनको सुरुआत हो,’ लोकगायिका थापाले भनिन्, ‘क्यान्सर निको भएपछि विगत एक दशकदेखि सामान्य जीवन बिताउँदैछु।’

‘तिमीलाई ज्वाइँ भन्न त्यति सुहाउँदैन...’  भन्ने चर्चित गीतकी यी गायिकाले ‘क्यान्सर जीवनको अन्त्य हो भन्न त्यति नसुहाउने’ रोग रहेको सुनाइन्। उनीसँग अर्की चर्चित लोकगायिका मीरा राणाले पनि सहमति जनाइन्। क्यान्सर रोगीलाई ओषधिसँगै उत्साहको पनि जरुरी रहेको उनले सुनाइन्। ‘उत्साह र औषधिको सम्मिश्रणले रोग सजिलै पराजित हुन्छ,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘क्यान्सरपछि जीवन झन् सरल र उत्कृष्ट बन्न पुगेको छ।’

भक्तपुर क्यान्सर अस्पतालका डा. रोशन प्रजापतिले समयमै उपचार गरे क्यान्सर जित्न सकिने बताए। ‘सकभर रोग लाग्न नदिने हो’, उनले भने, ‘रोग लागे पनि समयमै उपचार गराए यसलाई जित्न सकिन्छ।’ विजेताहरूको यो उत्सवले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई थप निको बनाउने विश्वास उनले लिएका छन्।

त्यस्तै कार्यक्रमका आयोजक रक्षा क्यान्सर सोसाइटीकी अध्यक्ष सृष्टि श्रेष्ठले क्यान्सर विजेतालाई भेला गरेर होली मनाउन पाएकोमा खुसी व्यक्त गरिन्। कार्यक्रममा सहभागी विदेशी नागरिकले पनि पर्वमा रमाउँदै यसले समाजमा सकारात्मक सन्देश दिने सुनाए। 

‘क्यान्सर जितेकाहरूको यो हाँसो साँच्चै रहरलाग्दो छ,’ भक्तपुर अस्पतालमा कार्यरत हल्यान्डकी चिकित्सक डाक्टर एनरेटले भनिन्, ‘उत्साहले पनि उपचारमा सहयोग पुर्‍याउँछ।’ उनले पनि सकभर रोग लाग्न नदिने जीवनशैली बनाउन सल्लाह दिँदै क्यान्सर लागिहाले पनि आत्तिनुपर्ने अवस्था नरहेको सुनाइन्।

कार्यक्रममा सहभागी हुँदै गरेकी ६९ वर्षीया दिल शोभा स्थापितको हाँसोले वातावरण झनै रमाइलो बनेको थियो। क्यान्सर जितेयताका सात वर्षमा यी वृद्धाको अनुहारमा क्यान्सरको कुनै क्लेस रत्तिभर देखिँदैनथ्यो। ‘क्यान्सर आयो, गयो,’ काठमाडौँको असनबाट आएकी उनले हाँस्दै भनिन्, ‘बाँकी जीवन पनि यसै गरी हाँसेरै बिताउनेछु।’

कार्यक्रममा सहभागी जोरपाटीका ध्रुव हुमागाईंले आफ्नो जीवनमा यो होली सार्थक रहेको बताए। ‘क्यान्सर जितेपछिको यो फागु झन् रंगीन भएको महसुस भएको छ,’ ध्रुव हुमागाईंले भने, ‘किनकि यो फागुमा दुःख र सुखका रङ पनि मिसिएको छ।’

क्यान्सर विजेताको यो उत्सवले तिनका परिवारलाई पनि खुसी दिएको छ। क्यान्सर विजेता आमा मीना नेपालको साथमा आएकी छोरी अप्सना नेपालको अनुहारमा पनि खुसीको रङ देखिन्थ्यो। ‘होलीको रङमा रमाएर आमा नाचेको देख्दा मलाई जीवनकै सबैभन्दा धेरै खुसी लाग्यो,’ अप्सनाले भनिन्, ‘मेरी आमाले साँच्चिकै क्यान्सरलाई जित्नुभएको छ।’

प्रकाशित: १२ चैत्र २०८० ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App