१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ

आज काठमाडौँ उपत्यकासहित देशका पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ होली मनाइँदै छ। रङ्गहरूको पर्व होलीको आफ्नै महत्त्व छ। एक आपसमा रङ्ग अबिर दलेर मनाइने यस पर्वले आपसी सद्भाव झल्किन्छ।

जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ्ग उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाब पत्र, सयपत्री, पालुङ्गो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो। होली रङहरूको पर्व हो।

आजको दिन विभिन्न किसिमका रङ्ग एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको केमिकलबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

कालो रङ्गमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङ्गमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङ्गमा पारो (मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ। यी तत्वले हाम्रो छालामा असर गर्छन्। सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ। कालो रङ्गले किड्नीमा असर गर्छ।

हरियो रङ्गले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ। सिल्भर कलरले छालाको क्यान्सर हुने खतरा हुन्छ। नीलो रङ्गले एलर्जी र रातोले स्किन क्यान्सर हुने खतरा हुन्छ। रङ्गलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ। रङ्गले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ।

प्रत्यक्ष रूपमा गर्ने असर

रङमा केमिकल मिसिइने भएकाले यो छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ्ग दल्दा यो अझै बढेर जान्छ। रंङ्गका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्नसक्छ। कसै–कसैलाई रंङ्गका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।

अप्रत्यक्ष रूपमा गर्ने असर

छालामा रङ्ग दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको इन्फेक्सन हुने खतरा हुन्छ। छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङ्गले अझै धेरै दुःख दिन्छ। कपालमा रङ्ग लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ। नङको कापमा रङ्ग पर्दा नङ्ग पाक्ने समस्या देखापर्छ। रङ्गका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।

होली खेल्नुअघि के गर्ने ?

आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङ्गको एलर्जी पनि छैन भने होलीमा रङ्ग दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ।

शरीरमा तेल लगाएपछि रङ्ग दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ।

होलीमा प्रयोग गरिने रङ छनोट गर्दा सकेसम्म कम केमिकल मिसिएको हुनुपर्छ। एक वा दुई घण्टा होली खेलेर नुवाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। होलीमा रङ्ग खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।

 

(कस्मेटिक सर्जन एवं सौन्दर्य तथा छालारोग विशेषज्ञ डा.धर्मेन्द्र कर्णसँगको कुराकानीमा आधारित)

प्रकाशित: ११ चैत्र २०८० ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App