२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मर्स्याङदी ड्याममा मोटरबोट सरर..

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी विद्युत् आयोजनाको ड्याममा संचालन गरिएको मोटरबोट। तस्बिर: नागरिक

पृथ्वी राजमार्गसँगै जोडिएको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी विद्युत् आयोजनाको ड्याममा जल पर्यटनका गतिविधि संचालन गर्न थालिएको छ। आयोजनाको ड्याममा मोटरबोट संचालन गरेर पोखरा आउजाउ गर्ने पर्यटकलाई भुलाउने उपाय अपनाएको गाउँपालिकाले बताएको छ।  

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोरा प्रालिले गाउँपालिकासँग सम्झौता गरेर जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट संचालन थालेको हो। बोटेबोराका अध्यक्ष विष्णु ढकालले जलाशयमा जलयात्रा गराएर पर्यटन प्रवर्द्धन गर्ने प्रयास थालेको बताए। उनका अनुसार आइतबारदेखि मोटरबोट संचालन थालिएको छ।  

‘पृथ्वी राजमार्ग हुँदै दिनमा सयौँको संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरासम्म ओहोरदोहोर गर्छन्। तिनै पर्यटकलाई लक्षित गर्दै मोटरबोट संचालन गरेका हौं। पहुँचका हिसाबले नजिक भएकोले पनि पर्यटकलाई जलयात्रामा रमाउन सहज हुनेछ,’ उनले भने, ‘यसले त्यस ठाउँको पर्यटन प्रवर्द्धन पनि हुनेछ। जलयात्रामा रमाउने पर्यटकलाई आकर्षण गर्न सकिनेछ।’ राजमार्ग आडैको ड्याममा जलयात्रा गर्न पाइने भएकोले आन्तरिक तथा बाह्य जो सुकै पर्यटकको पनि सहज पहुँच रहेको उनले बताए।

ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको छ।  कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बीच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, जेट स्की, रिभर भ्यु पोइन्ट’ लगायतका पूर्वाधार पनि थप्ने योजना रहेको छ। उनका अनुसार मोटरबोटबाट हावामा उडेर मोटरबोटमै अवतरण गर्न मिल्ने पूर्वाधार पनि थप्ने तयारी छ।  

नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका दुई मोटरबोट हाल संचालनमा ल्याइको छ। तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्नति गरि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने यस्ता पर्यटकीय पूर्वाधार आवश्यक रहेको उनले बताए।

अध्यक्ष ढकालका अनुसार जलाशयको ५ किलोमिटर दूरीसम्म एकतर्फी मोटरबोट चलाउन मिल्छ। दुई तर्फी १० किलोमिटर दूरी ओहोरदोहोर हुने उनले बताए। ‘कम्तीमा डेढ मिटर गहिराइको पानी भएसम्म बोट संचालन गर्न मिल्छ, त्यसैले दूरी ५ किलोमिटर छ। तर, रुट तय गर्नुपर्छ,’ उनले भने।

उनका अनुसार जलाशयका ३ ठाउँमा स्टेसन बनाएर मोटरबोटमा चढ्ने र ओर्लने गरि व्यवस्था मिलाइएको छ। ‘पानीमा रमाउने पर्यटकका लागि यो निकै नै आकर्षक हुनेछ,’ उनले भने, ‘पानी गरिने साहसिक गतिविधिको अनूभुति पनि गराइनेछ।’

मोटरबोटमा घुम्नका लागि समय अनुसार फरक शुल्क निर्धारण गरिएको छ। ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २ सय ५० रुपैयाँ,  १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० मिनेटका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार यो ड्यामले तनहुँमा आँबुखैरेनी गाउँपालिका र पारिपट्टि गोरखाको गोरखा नगरपालिका–१४ लाई जोड्छ। जलाशयको ड्याम क्षेत्रको संवेदनशील क्षेत्र मानिने ४ सय ३२ मिटरभित्र भने यो बोट संचालन नहुने अध्यक्ष चुमानले बताए।

प्रत्येक वर्ष नवीकरण गर्नेगरि हालका लागि प्रति टिकट १० रुपैयाँ गाउँपालिकालाई बुझाउनेगरि मोटरबोट संचालक कम्पनीसँग सम्झौता भएको चुमानले बताए। ‘जलपर्यटनमा हाम्रो जोड हो। त्यसका लागि जलाशयको वारिपारि नै हरियाली विकास गर्नेछौं,’ अध्यक्ष चुमानले भने, ‘पोखरा आउजाउ गर्ने थोरै संख्याका पाहुनालाई मात्र रोकेर जलाशयमा सयर गराउन पाउने हो भने त्यसले पर्यटन प्रवर्द्धन पनि हुनेछ।’  

मर्स्याङ्दी नदीलाई थुनेर बनाइएको यो ड्याममा सङ्कलित पानी सुरुङमार्फत लगेर आँबुखैरेनी र मुग्लिनको बीचमा रहेको पावर हाउसबाट ६९ मेगावाट विद्युत् निकालिएको छ। राजमार्ग किनारको ऐनापहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गाउँपालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको उनले बताए।

प्रकाशित: ३ वैशाख २०८१ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App