७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रालयको बजेटले खेलाउन सकिने लुडो, चेस र बाघचाल मात्रै हाे: खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएका कारण यस्ता खेलहरु मात्रै खेलाउन सकिने बताएका हुन्।

उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको उल्लेख गर्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिएकाे गुनासाे गरे।

‘मन्त्रालय कम बजेटमा चलाउनु परेको छ। देशभरका जनप्रतिनिधिहरू योजना माग्न आउनुहुन्छ। अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुडो र चेस नै हो। लगायत बागचालका खेलहरु मात्रै हुन्।’ उनले भने।

खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको जिकिर गर्दै उनले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको उल्लेख गरे।

‘नारायणी रंगशाला वीरगन्जको अवस्था जीर्ण छ। दशरथ रंगशाला त्यस्तै छ। पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन। बजेटको अभाव हो। नीतिगत रुपमा नै सुधार गर्नको लागि मन्त्रालयले खेलकुद परिषद्लाई स्पष्ट निर्देशन दिएको छ। रंगाशाला सञ्चालन, प्रयोग तथा मर्मत कार्यविधि बनाई सकेको छ परिषद्ले। त्यसलाई आगामी बोर्ड बैठकमा अनुमोदन भएपछि व्यक्तिले होइन कुनै विधिले रंगशाला राम्रोसँग कार्यान्वयन हुने काम भइरहेको छ।’ उनले भने।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आबद्धता त्याग्नुपर्नेमा जाेड दिए। उनले संघहरु/दलहरु अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए।

दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरूले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको उनको भनाइ थियो।  युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने उनले बताए।

मन्त्री श्रेष्ठले दशरथ रङ्गशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २७ वैशाख २०८१ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App