३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

दोस्रो पटक छेडाए सुजनले जिब्रो

विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।

भक्तपुरको विस्काः जात्राअन्तर्गत प्रत्येक वर्ष वैशाख २ गते मध्यपुर थिमिको बोडेमा ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुन्छ। यसअनुसार यस वर्ष श्रेष्ठले जिब्रो छेडाएका हुन्। स्थानीयले नै जिब्रो छेडुनुपर्ने मान्यताअनुसार हालसम्म स्थानीय युवाले जिब्रो छेडाउँंदै आएका छन्। जिब्रो छेड्ने जात्रा हेर्न आइतबार बोडेमा हजारांैको भीड लागेको थियो।

जिब्रो छेडेपछि उनलाई नगर परिक्रमा गराइएको थियो। सुजनले टिगनीस्थित नीलबाराही मन्दिरको परिक्रमा गरी बोडेको महालक्ष्मी मन्दिर पुगेर परम्पराअनुसार जिब्रो छेडिएको सियो झिकिएको थियो।

विस्काः जात्रामा वैशाख २ गते बोडेको पाचो गणेश मन्दिर परिसरबाट जिब्रो छेड्ने जात्रा सुरु हुन्छ। करिब एक फिट लामो सुइरोले जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसले निर्माण गरिएको भ्यय् (बत्तीसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादीप) काँधमा बोकेर बोडे परिक्रमा गर्नुपर्छ।

जिब्रो छेड्ने क्रममा जात्रालुबाट वाहवाही हुने गर्छ। जिब्रो छेड्ने जस्तो संवेदनशील काम साहसी व्यक्तिले मात्रै गर्न सक्ने भएकाले नगरभरि जिब्रो छेड्ने व्यक्तिलाई उच्च सम्मानका साथ हेरिन्छ। प्रत्येक वर्ष जिब्रो छेड्न नयाँ व्यक्ति अघि नसर्ने भएकाले पनि जिब्रो छेड्ने व्यक्तिको वाहवाही हुने गरेको हो।

दोस्रो पटक जिब्रो छेडेका सुजनको परिवारले नै त्यसअघि जिब्रो छेडेर जात्रालाई थाम्दै आएका थिए। त्यसअघि सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए। गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै सुजनले जिब्रो छेड्ने निर्णय गरेका थिए।

सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौपटक जिब्रो छेडेर नौ वर्ष जात्रालाई निरन्तरता दिएका थिए। साथै सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएका थिए। बुद्धकृष्णले पहिलो पटक २०६१ साल जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले २०६४ सालसम्म लगातार चारपटक जिब्रो छेडेका थिए।

२०६५ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाएका थिए। जुजुभाइले २०६५ देखि २०७२ सम्म आठपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए। २०७३ सालमा जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए।

जात्राको हालसम्म प्राप्त प्रमाणअनुसार विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं  १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीनपटक, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले दुईपटक जिब्रो छेडाएको तथ्यांक छ।

त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास रहेको छ।

बोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेको निलबाराही दायाँबायाँ बस्ने भूत पिसाचले बोडेबासीलाई दुःख दिन्थे।

जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारे। त्यसपछि  कसैले कपाल काटिदिए त कसैले जिब्रोमा सियो घुसाइदिए। अनेक दुःखपछि वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए। त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिन वाचा गराइएको किम्बदन्ती रहेको छ।  

प्रकाशित: ३ वैशाख २०८१ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App