३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

वर्ष दिनपछि ढालियो बिस्काको लिंगो

२०८० को अन्तिम दिन चैत ३० गते शुक्रबार साँझ उठाइएको भक्तपुरको बिस्का जात्राको यसिंद्य (लिंगो) २९८१ शनिबार साँझ ढालिएको छ। वर्षको अन्तिम दिन उठाउने र अर्काे वर्ष ढालिने (एक दिन मात्रै ठड्याइने भए पनि) भएकाले यसलाई स्थानीय एक वर्षपछि ढालिने भन्ने चलन रहेको बताउँछन्।

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण नै यही लिंगो उठाउनु र ढाल्नु हो। ५५ हात लामो लिंगो शनिबार साँझ सवा ५ बजे ढालिएको थियो। लिंगो शुक्रबार साँझ साढे ६ बजे सुरु गरी ७ः४४ बजे ठड्याइएको थियो।

लिंगो उठेपछि हिजो चर्किएको र ढाल्दा दुर्घटना हुन सक्ने भनी सचेत पारिएको थियो। सौभाग्यवश दुर्घटना हुन पाएन। बिस्काको क्रममा हालसम्म कोही कतै कुनै दुर्घटना हुन पाएको छैन।

बिस्का जात्रा शनिबार बिहान ६ बजेदेखि भैरवनाथको पूजा गरेर जात्रा सुरु भएको थियो। एवं प्रकारले ५ बजे लिंगो ढाल्ने तालिका राखिएकामा सवा ५ बजे ढालिएको हो। लिंगो ढालिएपछि भैरवनाथ र भद्रकालीको रथ गःहिटीमा ल्याइएको थियो। त्यहाँ ल्याएर दुईवटा रथ जुधाइएको थियो। योसँगै शनिबारको बिस्का जात्रा सकिएको थियो।

जात्रास्थल योसिंखेलमा शुक्रबारदेखि नै भीड थियो। जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत हजारौं जात्राप्रेमी जात्रास्थल योसिंखेलमा भेला भएका थिए।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खिमा ओलीले यो वर्षको जात्रा शान्तिपूर्वक रूपमा सम्पन्न भएको बताइन्। बाँकी दिनमा पनि शान्तिपूर्ण रूपमा मनाउन सबैको सहयोगको अपेक्षा राखेको उनले बताइन्।

यसअघि नयाँ वर्ष चार दिनअघि अर्थात् २०८० चैत २७ गते मंगलबार प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो।

प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

इतिहास एवं संस्कृतिविद् प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेला यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए।

तर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो।

अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत जिल्लाबाट हजारौं मानिस आउने गर्दछन्। बिस्का जात्रा प्रत्येक वर्ष वैशाख ५ गते सकिन्छ।

प्रकाशित: २ वैशाख २०८१ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App