३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

अस्ताइन् कृष्णा ताम्राकार: टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

‘विशेष गरी समाचार वाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज–यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बिहानै ट्विट गरे, ‘उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना ।’ खड्काले भनेजस्तै ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने आवाज बिहीबार रातिबाट बन्द भएको छ। अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उनको ८६ वर्षको उमेरमा बिहीबार राति १० बजे निधनसँगै रेडियो क्षेत्रको मजबुत तरंग टुटेको छ। उनको आवाज सुन्दै हुर्केकाहरू उनको निधनको खबरले स्मृतिमा डुबेका छन् ।

‘उतिबेला हाम्रा लागि कलाकार भने पनि नायिका भने पनि रेडियोमा बोल्नेहरू नै हुन्थे,’ काठमाडौं गोलढुंगाका ७४ वर्षीय नानीराम ढुंगानाले भने, ‘आफूलाई मन परेको आवाजकी धनीको निधन भएको खबरले दुःख लागेको छ ।’ उतिबेला घरमा खाना खाने बेलादेखि गोठालो जाँदासम्म रेडियोमा उनकै आवाजमा रमाउने गरेको उनले बताए। काभ्रेको बनेपामा जन्मिएकी ताम्राकार रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचक हुन्। २०१८ जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी उनले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। ताम्राकारले सुरुमा हिन्दी र पछि नेपाली भाषामा समाचार वाचन गरेकी थिइन्। रेडियो नेपालमै उनले ‘नासो’, ‘हाम्रो देशको माटो’सँगै वन तथा वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन्।

रेडियो नेपालको अवकाशपछि पनि उनले आफ्नो यात्रालाई जारी राखिन्। पछिल्लो समय पनि उनी रेडियोकर्ममा सक्रिय थिइन्। उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो। त्यसैले उनी रेडियोको अविरल गंगामा पुराना र नयाँ पिँढीका लागि सेतुसमेत बनिन्। समग्रमा भाषिक शुद्धता, शब्दको स्पष्ट उच्चारण, हक्की खालको मौलिक शैली तथा मिजासपूर्ण स्वरको सन्तुलनका कारण कृष्णाको आवाज कर्णप्रिय रहेको धेरैको बुझाइ छ। रेडियोकर्मका क्रममा विभिन्न देश घुमेकी उनी विभिन्न पुरस्कारले सम्मानित पनि भइन्।

संस्कृतविद् तेजेश्वरबाबु ग्वंगः पनि ताम्राकारको निधनको खबरले दुखित छन्। ग्वंगले ताम्राकारसँग संगतसमेत गरेका थिए। उनले ताम्राकार असल पत्रकार भएको धारणा राखे। ‘उनको आवाज मात्र हैन, उनी पनि असल हुन्,’ उनले भने, ‘उनको निधनको खबरले दुखित छु।’

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताम्राकारको निधनको खबरले अत्यन्त दुःखी बनाएको बताएका छन्। ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम–कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो,’ सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘उहाँको निधनको खबरले अत्यन्त दुःखी छु। हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना।’

नयाँ पिँढीले उनलाई प्रेरणाका रूपमा पनि लिने गरेका छन्। ‘सञ्चारकर्मी बन्ने तर्खर गर्दैगर्दा उहाँको स्वर्णिम आवाजले मलाई प्रेरित गरेको थियो,’ ताम्राकारको निधनपछि सामाजिक सञ्जालमा पत्रकार दीपा दाहालले लेखेकी छन्, ‘अब कर्मका कारण उहाँ हामीबीच रहिरहनुहुनेछ।’

प्रकाशित: ११ चैत्र २०७९ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App