पोखरा। पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ। अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका विषयमा राष्ट्रिय संवाद गर्ने उद्देश्यले पोखरामा समिट हुन लागेको हो।
आइतबार र सोमबारसम्म हुने समिटले अपाङ्गता भएकाहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका बारेमा पोखरा घोषणा पत्र जारी गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुने समिटमा समिटमा १० देशका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै, नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने पनि जनाइएको छ। जसमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
समिटमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा रहने समिटका संयोजक रमेश बरालले जानकारी दिए।
समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा छलफल हुने उनले बताए।
नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोगिरहेकाले सो अवस्थालाई सम्बोधन गर्न समिट आयोजना गरिएको समिटका सहसंयोजक रमेश पोखरेलले बताए।
समिटपछि जारी गरिने घोषणा पत्रमा अपाङ्गता भएकाहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरमा भोगिरहेका समस्यालाई उजागर गर्दै त्यसको स्थायी समाधानका लागि गर्नुपर्ने कामहरू औँल्याउने पोखरेलले बताए।
सम्मेलन, गोष्ठीपछि जारी घोषणा पत्र दराजमा थन्किने र पीडितले पीडा भोगिरहनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने गरी घोषणा पत्र जारी हुने बताउँदै उनले भने,‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ।’
उनले घोषणापत्रमा उल्लेख भएअनुसारको कार्ययोजना कार्यान्वयन गराउन टास्क ग्रुप नै बनाइने बताए। जसले कार्यान्वयनका लागि पहलकदमीदेखि कार्यान्वयनमा देखिएका समस्या उजागर गर्नेदेखि खबरदारी गर्ने सम्मका काम गर्ने उनको प्रस्टोक्ति छ।
समिटका अर्का सहसंयोजक अञ्जना केसीले समिट परिवर्तनको संवाहक बनेर आउने विश्वास व्यक्त गरिन्। ‘यसअघिका घोषणा पत्र दराजमा थन्किए होलान्’,उनले भनिन्,‘तर आशा छ यो घोषणा पत्र अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका लागि कोशेढुंगा साबित हुनेछ।’
९ मिनेट अघि
•
१ मिनेट पाठ