रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबिच तनाव सृजना भएको छ। एक हप्तादेखि आमरण अनसनमा बसेका दीपक यादवका समर्थकहरूले इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गरेपछि दुई पक्षबिच झडपको स्थिति भएको थियो।
गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट गरुडा नगरपालिकाको लागि नगर प्रमुख पदमा उम्मेदवार बनेका दीपक यादवले चैत २ गते गरुडा नगरपालिकासित १२ बुँदामा मागहरू पेस गरेका थिए। आफूले पेस गरेका मागहरू तत्काल पूरा हुनुपर्ने दबाब दिँदै यादवले ५ गतेदेखि आमरण अनसनमा बसेका छन्।
आमरण अनसनमा बसेका यादवलाई नगर प्रमुख कन्थमनि प्रसाद कलवार तथा प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले सबै मागहरू पूरा गर्न तयार रहेको र मागहरू पूरा गर्ने प्रतिबद्धता नै जनाए पनि अनसन तोड्न तयार भएका छैनन्।
रौतहटका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकाय तथा विभिन्न राजनीतिक दलका नेताहरुले पनि अनसनमा बसेका यादवलाई नगरपालिकाले लिखित प्रतिबद्धता दिँदा केही दिनको समय दिएर अनसन तोड्न आग्रह गरेका छन्।
कतिपय कागज पत्र नगरपालिकासित रहेको र कतिपय कागजपत्र विभिन्न बैंकसँग लिएर सबै कागजपत्रलाई माग अनुसार क्रमबद्ध सिलसिला मिलाएर दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ। सबै कागजपत्र मिलाउँदा करिब चार हजार पुग्ने र सबैको फोटोकपी गरी सबैमा नगरपालिकाको छाप लगाउनुपर्ने, सबैलाई शिलशिलाबद्ध मिलाउन पनि समय चाहिने तर आफूहरू सम्पूर्ण कागजपत्र दिन तयार रहेको प्रतिबद्धता जनाउँदा पनि अनसनरत यादव नमानेको नगर प्रमुख कलवारको भनाइ छ।
अनसनरत यादवका पक्षधरहरुले नगरपालिकामाथि दबाब बनाउन शनिवार दिउँसो इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गर्न खोजेका थिए। चक्का जाम गर्न खोज्दा प्रहरीले चक्का जाम नगर्न र चक्का जाम गरिरहेकालाई हटाउन खोज्दा प्रदर्शनकारीको तर्फबाट प्रहरीमाथि ढुंगामुढा बर्साइएको थियो।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगाबाट एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको उपचार गरुडस्थित अस्पतालमा भइरहेको छ। प्रहरीमाथि आक्रमण हुन थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। शनिवार साँझसम्म गरुडाको अवस्था तनावग्रस्त रहेको छ।
प्रहरीमाथि आक्रमण गर्ने दुई आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमरण अनसनरत दीपक यादवले प्रहरीले आन्दोलनकारीमाथि अन्याय गरेको प्रतिक्रिया दिएका छन्।
पोखरा। पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ। अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका विषयमा राष्ट्रिय संवाद गर्ने उद्देश्यले पोखरामा समिट हुन लागेको हो।
आइतबार र सोमबारसम्म हुने समिटले अपाङ्गता भएकाहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका बारेमा पोखरा घोषणा पत्र जारी गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुने समिटमा समिटमा १० देशका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै, नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने पनि जनाइएको छ। जसमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
समिटमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा रहने समिटका संयोजक रमेश बरालले जानकारी दिए।
समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा छलफल हुने उनले बताए।
नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोगिरहेकाले सो अवस्थालाई सम्बोधन गर्न समिट आयोजना गरिएको समिटका सहसंयोजक रमेश पोखरेलले बताए।
समिटपछि जारी गरिने घोषणा पत्रमा अपाङ्गता भएकाहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरमा भोगिरहेका समस्यालाई उजागर गर्दै त्यसको स्थायी समाधानका लागि गर्नुपर्ने कामहरू औँल्याउने पोखरेलले बताए।
सम्मेलन, गोष्ठीपछि जारी घोषणा पत्र दराजमा थन्किने र पीडितले पीडा भोगिरहनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने गरी घोषणा पत्र जारी हुने बताउँदै उनले भने,‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ।’
उनले घोषणापत्रमा उल्लेख भएअनुसारको कार्ययोजना कार्यान्वयन गराउन टास्क ग्रुप नै बनाइने बताए। जसले कार्यान्वयनका लागि पहलकदमीदेखि कार्यान्वयनमा देखिएका समस्या उजागर गर्नेदेखि खबरदारी गर्ने सम्मका काम गर्ने उनको प्रस्टोक्ति छ।
समिटका अर्का सहसंयोजक अञ्जना केसीले समिट परिवर्तनको संवाहक बनेर आउने विश्वास व्यक्त गरिन्। ‘यसअघिका घोषणा पत्र दराजमा थन्किए होलान्’,उनले भनिन्,‘तर आशा छ यो घोषणा पत्र अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका लागि कोशेढुंगा साबित हुनेछ।’