तातोपानी-तातोपानीमा दिनहुँजसो सुन बरामद हुन थालेको छ। मंगलबार चार किलो सुनसहित एक पक्राउ परेका छन्। सोमबार मात्र १३ किलो सुन बरामद भएको थियो।
खासाबाट अवैध रुपमा सुन काठमाडौं भित्र्याउने क्रममा अरनिको राजमार्गको लार्चाबाट दोलखाका दावा सोनाम शेर्पा पक्राउ परेका हुन्। लार्चा नजिक सवारी साधन रोकेर जाँच गर्दा उनको साथबाट सुनका चार विस्कुट फेला परे। उनले पेटमा सुन बाँधेका थिए। 'सुन तस्करीका सुराकी बढ्दै जाँदा बरामद हुन थालेको हो,' डिएसपी दीपकराज खरेलले नागरिकसँग भने।
शरिरमा सुनका १३ विस्कुट दबाएर खासाको चोरीबाटो प्रयोग गरी बोक्चेन हुँदै तातोपानी प्रवेश गर्ने क्रममा सोमबार तिब्बती मुलका ३० वर्षीय कान्छा शेर्पा पक्राउ परेका थिए।
यसअघि सुन तातोपानी भन्सार गेटबाटै तस्करी हुन्थ्यो। सुरक्षाका दृष्टिले भन्सार गेटबाट चूनौति देखिएपछि तस्करले चोरी बाटो खोजेको देखिएको प्रहरीले जनाएको छ। भन्सार गेटबाट यसअघि आधा दर्जन पटक सुन बरामद भएको थियो। सुनकोसी बिपत्तिपछि सुन तस्कर फेरि सक्रिय भएको पाइएको छ। कान्ले पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको बखत महिनाबीचमा यसअघि चार पटक गरी २० किलो सुन बरामद भएको थियो। साउनयता सुन बरामद भएको यो छैटौं पटक हो।
पहिलो पटक २०६९ मंसिर १९ गते ९ किलो बरामद भएपछि तातोपानीबाट सुन तस्करी हुने गरेको खुलेको थियो। त्यसयता हालसम्म नाकाबाट भित्रेको (खुलेको आधारमा) सुन बरामद भएको योसहति १६ पटक हो। ती घटनामा १ सय ५० किलो सुन बरामद भएका छन्। २०६९ मा तीन पटक गरेर १४ केजी, २०७० मा ६ पटक गरी ७९ र यो वर्ष सात पटक गरी ५७ केजी सुन बरामद भएको छ।
चाडबाड र बिहेको मौसम नजिकिंदै गर्दा नाकाबाट सुन तस्करी बढ्ने गरेको छ। नाकाबाट भित्रने सुन भारत पुगेर बिक्रीको लागि पुनः नेपालमै आइपुग्छ। नेपाल र चीन हङकङको सुन तस्करी हुने ट्रान्जिट बनेको छ। स्रोतका अनुसार सुन तस्करीमा चिनियाँ संलग्न रहन्छन्। नेपालीले भरियाको काम मात्र गर्ने हुन्। एककेजी सुन भारत पुर्यापउँदा साढे २ लाख रुपैयाँ फाइदा हुने जानकार बताउँछन्।