मेरो पहिलो पुस्तक
२७ जेष्ठ २०७४
•
१४ मिनेट पाठ
मेरो पहिलो पुस्तक
थोरै डर–त्राससँगै रोमाञ्चक अनुभव हो– एउटा चित्रकारले पहिलोपटक चित्र प्रदर्शनी गर्नु, गायकले पहिलो गीति एल्बम बजारमा ल्याउनु, लेखकले पहिलो पुस्तक प्रकाशन गर्नु र पाइलटले पहिलो उडान भर्नु।

एउटा लेखकका लागि पहिलो पुस्तकको प्रकाशन निश्चय नै गर्व र खुसीको कुरा हो। यसको बिक्री–वितरण आफ्नै ठाउँमा होस्, जब एउटा लेखकले पहिलो कृति प्रकाशन गर्छ, तब उसलाई आफू लेखक भएको भान हुन थाल्छ।

पहिलो पुस्तकपछि कति लेखक पलायन हुन्छन् भने कति झनै सशक्त हुने प्रयास गर्छन्। आख्यानकार ध्रुवचन्द्र गौतम पहिलो पुस्तक रहरले लेखेको बताउँछन्।

अन्यतिर साहित्यको विकास भएपछि मात्रै हाम्रोमा यसको थालनी भएको थियो। लेखपढ र साहित्य रचनामा पहिलेदेखि नै खुकुलो हुन्थ्यो भने समाज परिवर्तनमा नेपाली साहित्यको ठूलो प्रभाव पर्थ्यो।

-ध्रुवचन्द्र गौतम


'बजारमा १० औंलाभित्र अट्ने लेखक थिए, लेखन क्षेत्रमा लाग्ने व्यक्तिलाई त्यतिबेलाको समाज विद्वान् नै ठान्थ्यो,' आख्यानकार गौतम पहिलो पुस्तक लेखन र प्रकाशनको अनुभव भन्छन्, 'बजारमा थोरै मात्रै लेखकको चर्चा थियो, नयाँलाई लेखनीको परिधिमा टेक्न मुस्किलै हुन्थ्यो।'

गौतमको पहिलो उपन्यास 'अन्त्यपछि' ०२३ सालमा पाठकमाझ आयो। ५० वर्षअघिको समय बेग्लै थियो। समाजमा थोरै मात्र पढे–लेखेका मानिसको जमात थियो। लेख्ने रुचि भएकाले आफ्नै डायरी लेख्थे। पहुँच र पैसा हुनेले प्रकाशनमा पनि ल्याउँथे। उतिबेला बजारमा किताब–कापी त्यति सजिलै उपलब्ध थिएनन्। थोरै मात्र पढ्ने–लेख्ने कार्यमा समर्पित थिए।

पहिलो पुस्तक पाठकमाझ ल्याउन धेरै लेखकले उत्तिकै कठिनाइ र दुःख झेलेका छन्। 'हरेक क्षेत्रमा लाग्नेको पहिलो अनुभव र भोगाइ फरक हुन्छ,' गौतम भन्छन्, 'साहित्य क्षेत्रमा लाग्ने लेखकको पहिलो पुस्तक प्रकाशन अनुभव झनै भिन्न हुन्छ।'

गौतमको पहिलो उपन्यास पहिलोपटक रुपरेखामा पनि छापिएको थियो। उनी भन्छन्, 'उतिबेला किताब प्रकाशन गर्ने संस्थाहरु खासै थिएनन्, नेपाल प्रेस इन्स्टिच्युटबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रुपरेखामा मेरो पहिलो उपन्यास प्रकाशित भएको थियो।' गौतमको बुझाइमा पहिलेका धेरै लेखक रहरले साहित्य क्षेत्रमा लागेका थिए। सामान्य नेपाली लेख्न सक्ने किताब लेख्नतिर लाग्थे। उतिबेला आफ्ना कृति बजारमा ल्याउनु कम्ता चुनौती थिएन। धेरै चुनौती र अभावको सामना गर्दै थोरै लेखक मात्रै ०२४ सालभन्दा पहिले साहित्य क्षेत्रमा जमेको पाइन्छ। '०२४ सालपहिले विजय मल्ल, भूपि शेरचन, मदन रेग्मी, गोविन्द गोठाले, द्वारिका श्रेष्ठ, पारिजातलगायत साहित्य क्षेत्रमा देखिन्थे,' गौतम भन्छन्, 'उतिबेला ती लेखकको समाजमा ठूलो छाप थियो।'

गौतमले आफ्नो पहिलो उपन्यास 'अन्त्यपछि' एक महिनामा लेखेर सकाएका थिए। काठमाडौंबाट बाहिरी जिल्लाको अवलोकनमा जाँदा उनी धनगढी बजार पुगेका थिए, बजारको एउटा पुरानो होटलमा चिया पिउँदै गर्दा उनलाई उपन्यासको विषयवस्तु फुरेको थियो। 'काठमाडौंबाट बाहिर जाँदाका तीतामीठा अनुभव नै उपन्यासमा समेटेको थिएँ,' गौतम भन्छन्।

उनको पहिलो उपन्यास ६८ पेजको छ। निजी प्रकाशन नभएकाले पहिला रुपरेखा साप्ताहिक र दोस्रो चरणमा आफैँले सादा कभरको पुस्तक प्रकाशन गरेको गौतम बताउँछन्। उतिबेला नयाँ लेखकलाई पुराना लेखकले पनि उत्तिकै सहयोग गर्थे। '०२३ सालमा झापामा भएको साहित्य सम्मेलनमा गएको थिएँ, त्यतिबेलाका कवि झापा र काठमाडौंमा साहित्यिक गोष्ठी गर्थे,' गौतम भन्छन्, 'यस्ताखाले गाष्ठीले साहित्य क्षेत्रमा पहिलोपटक लाग्ने व्यक्तिलाई ठूलो मद्दत गरेको पनि थियो।'

राणाकालमा जनतालाई जान्ने–बुझ्ने गराउनुहुन्न भन्ने शासकको सोच थियो। त्यसैले नेपाली साहित्य र पुस्तक लेखन प्रजातन्त्रपछि मात्रै फस्टाएको गौतम बताउँछन्। 'अन्यतिर साहित्यको विकास भएपछि मात्रै हाम्रोमा यसको थालनी भएको थियो,' गौतम भन्छन्, 'लेखपढ र साहित्य रचनामा पहिलेदेखि नै खुकुलो हुन्थ्यो भने समाज परिवर्तनमा नेपाली साहित्यको ठूलो प्रभाव पर्थ्यो।'

आफूले सानैदेखि कथा–कविता लेख्न सुरु गरेकाले पुस्तक प्रकाशन गर्न त्यति कठिनाइ नपरेको गौतमको बुझाइ छ। उनले ०२८ सालमा साझा प्रकाशनबाट दोस्रो कृति 'बालुवामाथि' प्रकाशनमा ल्याएका थिए। ०२३ सालदेखि नै नेपाली साहित्यमा सक्रिय गौतमका २५ उपन्याससहित ५० भन्दा बढी पुस्तक प्रकाशित छन्।

'अहिलेका पुस्तक प्रचारप्रसारको भरमा चलेका छन्,' गौतम भन्छन्, 'अहिले नेपाली साहित्यमा भड्किलोपना देखिएको छ, भड्किलो लेखने र चर्को प्रचारबाजी गर्नेले चर्चा कमाएको देखिन्छ।'

०००

'अहिले पुस्तक छाप्न धेरै सजिलो छ, सिर्जना मात्रै गरे पुग्छ,' लेखक आहुति भन्छन्, 'पहिले–पहिले स्तरीय लेख–रचना भए पनि प्रकाशन गर्न निकै कठिन थियो।'

नयाँघर, स्खलित, गहुँगोरो अफ्रिका लगायत आहुतिका ६ कृति प्रकाशित छन्। उनको पहिलो कृति हो– तपस्वीका गीतहरु, कवितासंग्रह, जुन ०४९ सालमा प्रकाशित भएको हो। यतिबेलासम्म पुस्तक प्रकाशन सहज थिएन। पञ्चायतकालमा लेखकहरुले खुलेर लेख्न पाउँदैनथे। राजाविरोधी विषय पुस्तकमा लेखेको भेटाए कारबाही हुन्थ्यो। आहुति भन्छन्, 'उतिबेलाका धेरै लेखक सरकारको पक्ष र सामाजिक विषयमा कलम चलाउँथे।'

उतिबेलाका लेख–रचना स्तरीय भए पनि पाठकको कमी नै थियो। पढ्ने–लेख्ने क्षेत्रमा धेरैको बानी परिसकेको थिएन। 'त्यतिबेला स्कुल पढ्ने सीमित विद्यार्थीले मात्रै पुस्तक पढ्ने गर्थे,' आहुति भन्छन्, 'लेखक अनुसारका पाठक थिए। २० वर्षपहिले लेखन, प्रकाशनमा अहिलेजस्तो अस्वस्थ प्रतिस्पर्धा भने थिएन।'

एउटा पुस्तक बजारमा ल्याउन लेखकले अनेकौँ झमेला खेपेको हुन्छ। पुस्तक बजारमा आएपछि पनि चर्चा–परिचर्चा हुने कुनै ग्यारेन्टी हुँदैन।

०००

शारदा शर्माको पहिलो पुस्तक हो– सीमान्त अुनुभूति कवितासंग्रह। जुन ०३९ सालमा प्रकाशन भएको हो। सानैदेखिको कविता लेख्ने बानीले पनि उनले पहिलो पुस्तक कवितासंग्रह नै प्रकाशन गरेको बताउँछिन्। 'पुस्तक नै हुन्छ भनेर कविता लेख्न बसेकी थिइनँ,' उनी भन्छिन्, 'आफ्नो भावना र सिर्जनालाई अभिव्यक्त गर्न पुस्तक लेखेकी हुँ।' उनी आठ वर्षको उमेरदेखि नै कविता लेख्न थालेकी हुन्। 'पुस्तक निकाल्न सानातिना झमेला हुन्छन् नै, तर मलाई त्यस्तो ठूलो झमेला व्यर्होनुपरेन,' उनले भनिन्।

उनले कथा, कविता, निबन्ध, कथा, संस्मरण लगायत विधामा कलम चलाउँदै आएकी छन्। पहिलो पुस्तक भने उनी आफैँले प्रकाशन गरेकी हुन्। 'सुरुसुरुमा प्रकाशकबारे त्यति थाहा पनि थिएन,' उनी भन्छिन्, 'पहिलो पुस्तक आफैँले बजारमा ल्याएँ।'

उनको बुझाइमा साहित्यका पुस्तकले सामाजिक परिवर्तन पनि गर्न सक्नुपर्छ। उनी भन्छिन्, 'सुरुमा त जानी–नजानी सिक्नकै लागि लेखेँ, जब देश र समाज बुझ्ने भएँ, त्यसपछि अरुका लागि लेख्न सुरु गरें।' उनले हालसम्म विभिन्न विधाका ११ पुस्तक प्रकाशनमा ल्याइसकेकी छिन्। 'सुरुसुरुमा त किताब निस्केपछि बेग्लै खुशीको अनुभूति हुन्थ्यो,' लेखक शर्माले थपिन्, 'लेख्दै जाँदा अहिले जिम्मेवारी र खुसी दुवै थपिएको महसुस भएको छ।'

शारदालाई सुरुमा किताबको प्रचारप्रसारबारे पनि त्यति ज्ञान थिएन। उनी भन्छिन्, 'प्रचारप्रसारको अभावमा पहिलाका स्तरीय पुस्तक पनि चलेका थिएनन्।'

०००

लेखकको रुचि, अध्ययन र बुझाइ विभिन्न विधामा हुन्छ। चारवटा पुस्तक प्रकाशनमा ल्याइसकेकी उमा सुवेदीको पहिलो प्रकाशित पुस्तक हो– तप्किएका अञ्जुलीहरु (गजलसंग्रह), जुन ०६७ सालमा प्रकाशन भएको हो। उनको अनुभवमा प्रायः लेखकले रहरमै पहिलो पुस्तक लेख्छन्। उनी भन्छिन्, 'मैले पहिलो पुस्तक रहर र लहडमा लेखेँ, तर प्रकाशनको जिम्मा लिएको प्रकाशन संस्थाले पुस्तकको डिजाइन बिगारेकाले पहिलो पुस्तक खासै राम्रो हुन सकेन।' उनी प्रकाशन संस्थाले पुस्तकको लेआउट, अक्षर साइज र कभर बिगारेकोप्रति असन्तुष्ट छन्। 'मेरो सानैदेखिको धोको पुस्तक लेख्नु थियो। पहिलो पुस्तक प्रकाशन हुँदा खुसी नहुने कुरै भएन।'

उनको पहिलो पुस्तकमा समावेश 'परदेशमा दुख्यो मन'को गजलप्रेमीमाझ चर्चा भएको थियो। पुस्तक लेखेर इजरायल गएकी उमा उतै हुँदा अन्य सिर्जना पनि गरिन्। उनको पछिल्लो कृति 'तोदा' उपन्यास राम्रै

चलेको उनी बताउँछिन्। 'पहिलो पुस्तकको लेखाइ ठीकै थियो,' उनी भन्छिन्, 'त्यसपछि लेखनलाई अलि गम्भीरतापूर्वक लिएँ।' उमा नयाँ उपन्यासको तयारीमा छन्।

नेपाली विषयमा विद्यावारिधि गरेका डा. राम शर्मा पहिलो पुस्तक प्रकाशन गर्ने प्रायःले संयमता नअपनाउने र लहडमा पुस्तक प्रकाशन गर्ने टिप्पणी गर्छन्। 'रहरले साहित्यमा प्रवेश गर्नेले साहित्यको मर्म नबुझिदिँदा नेपाली साहित्य क्षेत्रमा थोरै विकृति आएको छ,' उनले भने, 'साहित्य समाजको ऐना हो तर केही लेखकको कमी–कमजोरीका कारण यसमा विकृति थपिँदै गएको छ।'
अर्को समाचार
पुस्तक संस्कृतिको विकास
१२ वैशाख २०७०
•
१५ मिनेट पाठ
पुस्तक संस्कृतिको विकास
युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ का दिन विश्वभर पुस्तक दिवसको रूपमा मनाउँदै आएको हो। पुस्तक दिवसको मूल उद्देश्य पुस्तक लेखन, प्रकाशन, अध्ययन र प्रबर्द्धन गर्नु र समाजमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्नु रहेको छ। गत अप्रिल २३ मा नेपालमा पनि नेपाल पुस्तक प्रकाशक संघको अग्रसरतामा एक कार्यक्रमको आयोजना गरी विश्व पुस्तक दिवस मनाइएको थियो। उक्त कार्यक्रममा यस पंंक्तिकारलाई पुस्तक संस्कृतिको विकासबारे आफ्नो अनुभव र विचार सुनाउन आमन्त्रित गरिएको थियो।यस पंक्तिकारले वनस्पतिशास्त्रमा स्नातकोत्तरको अध्ययन पूरा गर्दासम्म पाठ्यपुस्तकबाहेक अन्य पुस्तक पढेको थिएन। त्यतिबेला विज्ञानका विद्यार्थीको मूल लक्ष्य परीक्षामा राम्रो अंक प्राप्त गरेर छात्रवृत्ति प्राप्त गरी डाक्टर वा इन्जिनियर बन्नु हुन्थ्यो। पाठ्युस्तकबाहेकका पुस्तक पढ्नु समय खेर फाल्नु र परीक्षा बिगार्नु हो भन्ने बुझिन्थ्यो। त्यसैले अभिभावकले पनि स्कुल, कलेज वा विश्वविद्यालयमा अध्ययनरत् आफ्नो छोराछोरीको हातमा उपन्यास, कविताजस्ता साहित्य वा अन्य विषयका पुस्तक भेटाएमा गाली गर्थे र यस्ता पुस्तक खोसेर लुकाइदिन्थे।

पंक्तिकारले पनि सन् १९६६ मा भारतको विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तरको अध्ययन पूरा गर्दासम्म कक्षा ९ र १० मा समावेश गरिएका अनिवार्य नेपालीको पाठ्युस्तकबाहेक नेपाली साहित्यका अरू कुनै पुस्तक पढेको थिएन। नेपालीमात्र होइन, अन्य भाषामा लेखिएका अरू कुनै पुस्तक पनि पढेको थिएन। मैले स्नातकोत्तरको अध्ययन पूरा गरी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक भई सन् १९६९ सम्म अध्यापन गर्दा पनि अध्यापनसँग सम्बन्धित विज्ञान विषयका पुस्तकबाहेक अन्य पुस्तक पढेको थिइन। पंक्तिकारमात्र होइन, विज्ञान विषयका अरू विद्यार्थी वा शिक्षकहरूमा पनि पाठ्यपुस्तक वा आफ्नो विषयबाहेकका अन्य पुस्तक पढ्ने संस्कार विकसित भएको थिएन।

पंक्तिकारमा पाठ्यपुस्तकबाहेकका अन्य पुस्तक पढ्ने संस्कृति सन् १९६९ मा उच्च अध्ययनका लागि जर्मनीमा गएपछि मात्र विकास भएको हो। त्यतिबेला जर्मनी पुग्दा मैले त्यहाँ तीन कुरा नेपालमा भन्दा नितान्त फरक पाएँ। पहिलो, त्यहाँ सडकमा विशेषगरी युवा युवतीहरू एक अर्काको हात समातेर हिँड्थे र सबैले देख्नेगरी अंगालो मारेर चुम्बनसमेत गर्थे। दोस्रो, प्रत्येक सय/दुई सय मिटरको दूरीमा सार्वजनिक भित्ते घडी भेटिन्थ्यो। तेस्रो, मानिस बस स्टपमा, बसभित्र, रेलवे स्टेसनमा वा कहिलेकहीँ हिँडदा हिँडदै पनि पुस्तक पढिरहन्थे। भर्खर नेपालबाट जर्मनी पुगेको पंक्तिकारका लागि सडकका यी दृष्य नितान्त नौला र अनौठा थिए।

त्यतिबेला नेपालमा आफ्नो प्रेमी वा पे्रमिकाको हात समातेर सडकमा हिँडनु त परै जाओस्, उनीहरू सबैले देख्नेगरी सँगै हिँडने पनि गर्दैनथे। काठमाडौँमा त्रिचन्द्रको घन्टाघरबाहेक अरू कुनै सार्वजनिक घडी देखेको थिइन। आजपर्यान्त घन्टाघर काठमाडौंको एकमात्र सार्वजनिक घडी रहिआएकोे छ। त्यसैगरी नेपालमा छँदा घरमा, कक्षा कोठामा वा पुस्तकालयमा बाहेक अन्य स्थानमा मानिसले पुस्तक पढ्ने गरेको देखेको थिइन। त्यसैले जर्मनी पुग्दा सडकमा देखिएका ती दृष्य पंक्तिकारका लागि अस्वाभाविक लागेको थियो। समय बित्दै जाँदा थाहा पाएँ– जर्मनीमा सार्वजनिक स्थलमा चुम्बन गर्नु अति सामान्य कुरा रहेछ। यसैगरी जर्मनीमा समयलाई ठूलो महत्त्व दिइने र सानो उमेरदेखि नै मानिसमा पुस्तक पढ्ने संस्कृति विकास हुँदोरहेछ।

जर्मनीमा वैज्ञानिकहरूमा समेत त्यस देशका नाम चलेका स्रष्टाहरूको कृतिबारे राम्रो ज्ञान भएको पाएँ। जर्मनीको पुस्तक संस्कृतिबाट प्रभावित भएर पंक्तिकारले पहिलोपटक जर्मनीमा आफ्नो अध्ययनसँग सम्बन्धित पुस्तकबाहेक अन्य विषयका पुस्तक पनि पढ्न थालेको हो। यसरी पंक्तिकारले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ जस्ता नेपालका ख्यातिप्राप्त स्रष्टाले लेखेका पुस्तक पढ्नुअघि हेरमान हेस्से, थोमस मान, हाइनरिक ब्योल, गुन्टर ग्रास जस्ता जर्मनीका ख्यातिप्राप्त स्रष्टाले लेखेका कृति पढेको थियो। जर्मनीकै बसाइमा विशेषगरी जर्मनी, अमेरिका, रसिया र फ्रान्सका ख्यातिप्राप्त स्रष्टाले लेखेका पुस्तकहरू फुर्सदको समयमा पढ्ने गर्थेँ। यसरी ममा पनि विस्तारै पुस्तक पढ्ने संस्कृति विकास भएको थियो। आज मेरा लागि पुस्तक पढ्नु फुर्सदको समय बिताउने उत्तम उपाय बनेको छ।

मलाई विशेषगरी सरल भाषामा लेखिएका ज्ञानबर्द्धक र जीवनोपयोगी पुस्तक पढ्न मन पर्छ। मलाई सबैभन्दा मन पर्ने पुस्तक साहित्यतर्फ हेरमान हेस्सेको 'सिद्धार्थ' र विज्ञानतर्फ स्टिफन हकिङको 'अ ब्रिफ हिस्ट्री अफ टाइम' हुन्। 'सिद्धार्थ' मैले जर्मनी भाषामै पढेको थिएँ। 'सिद्धार्थ' र 'अ ब्रिफ हिस्ट्री अफ टाइम' दुवै अति सरल भाषामा लेखिएका कृति हुन्। 'सिद्धार्थ' पढेर पूर्वीय दर्शन र जीवनको अर्थबारे बुझ्न सकिन्छ भने 'अ ब्रिफ हिस्ट्री अफ टाइम' पढेर ब्रह्माण्डको उत्पत्ति, विस्तार र भविष्य तथा ब्रह्माण्डको उत्पत्तिमा ईश्वरको भूमिकाबारे रोचक वर्णन पढ्न पाइन्छ। यस पंक्तिकारका लागि साहित्य र विज्ञान दुवै विधा कति सुन्दर हुन्छ भन्नेको अनुपम प्रमाणहरू पनि हुन् यी दुई कृति। पंक्तिकारको विचारमा यी दुई पुस्तक हरेक पुस्तकप्रेमीले पढ्नैपर्ने कृति हुन्।

पंक्तिकारले नेपाली साहित्यका कृतिहरू नियमितरूपमा पढ्न थालेको २०६२ देखिमात्र हो। उही वर्ष मेरो आत्मकथामा आधारित पुस्तक 'वैज्ञानिक गोरेटोमा' रत्न पुस्तक भण्डारले प्रकाशित गरेको थियो। उक्त पुस्तक पाठकबीच लोकप्रिय भएको पाएँ। अहिलेसम्म उक्त पुस्तकको छैटौँ संस्करण प्रकाशित भइसकेको छ। 'वैज्ञानिक गोरेटोमा' को प्रकाशनपश्चात् पंक्तिकार पनि साहित्यिक कार्यक्रममा आमन्त्रित हुन थाल्यो। साहित्यकारहरूसँगको सत्संग र 'वैज्ञानिक गोरेटोमा' को सफलताले मलाई नेपाली साहित्यतर्फ बढी आकषित गर्न थाले। त्यतिमात्र होइन, त्यसपछि नेपाली भाषामा विज्ञान प्रविधिसम्बन्धी लेखहरू पनि कान्तिपुर र नागरिक दैनिकमा नियमित प्रकाशित गर्न थालेँ। २०६७ मा यिनै लेखरचनाको संग्रह 'अँध्यारोमा एक काँटी सलाई : जीवनमा विज्ञान' रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थियो। यस पुस्तकको दोस्रो संस्करण पनि २०६९ मा प्रकाशित भएको छ र नागरिक दैनिकमा प्रकाशित विज्ञान प्रविधिसम्बन्धी लेखरचनाको एक अर्काे संग्रह रत्न पुस्तक भण्डारबाट छिट्टै प्रकाशित हुँदैछ। पंक्तिकारलाई प्राप्त जानकारीअनुसार त्रिविअन्तर्गत स्नातक तहको अनिवार्य नेपाली विषयमा पहिलोपल्ट विज्ञान साहित्य समावेश गरिएको छ र त्यसका लागि पाठ्यसामग्रीको रूपमा पंक्तिकारद्वारा नेपाली भाषामा लिखित विज्ञान प्रविधिसम्बन्धी लेख एवं पुस्तक सिफारिस गरिएका छन्। यसरी पछिल्लो समयमा पंक्तिकार पाठक र लेखकको रूपमा नेपाली साहित्यसित संलग्न हुन थालेको हो।

केही समययता नेपाली समाजमा पुस्तक पढ्ने संस्कृतिमा वृद्धि भएको पाइन्छ। किेही वर्षयता नेपालमा प्रकाशन हुने पुस्तक संख्या पनि निरन्तर बढिरहेको पाइन्छ। पुस्तक प्रदर्शन पनि नियमितरूपमा हुने गरेको छ। यस्ता प्रदर्शनमा जम्मा हुने भिड र पुस्तक बिक्रीबाट पनि नेपाली समाजमा पुस्तक पढ्ने संस्कृति मौलाउँदै गरेको स्पष्ट हुन्छ। तथापि आज पनि नेपाली समाजमा कतिपय विकसित तथा विकासशील देशको तुलनामा पुस्तक पढ्ने संस्कृति सन्तोषजनकरूपमा विकसित भएको देखिँदैन।

विशेषगरी बालबालिका तथा तरूण पिँढीमा पुस्तक पढ्ने संस्कृति अझै त्यति विकसित हुन सकेको देखिँदैन। उनीहरू फुर्सदको समय इन्टरनेटमा बिताउन रुचाउँछन्। तरूण पिँढीमा पुस्तक पढ्ने संस्कृतिको अभावकोे मूल कारण हाम्रो शिक्षा प्रणाली पनि हो। पंंक्तिकारको विद्यार्थीकाल अर्थात् झन्डै आधा शताब्दीदेखि हाम्रो शिक्षा प्रणालीमा उल्लेखनीय परिवर्तन आएको छैन। आज पनि हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई ज्ञान हासिल गर्नुभन्दा पनि परीक्षामा बढी अंक प्राप्त गरी राम्रो श्रेणीमा उत्तीर्ण हुन प्रेरित गर्छ। अभिभावकहरू पनि आफ्ना छोराछोरीलाई पाठ्यपुस्तकबाहेक अन्य पुस्तक पढ्न प्रेरित गर्दैनन्।

समाजमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्ने हो भने बालबालिकालाई सानै उमेरदेखि पाठ्यपुस्तकका अतिरिक्त अन्य ज्ञानबर्द्धक एवं मनोरञ्जनात्मक पुस्तक पढ्न प्रेरित गर्नु आवश्यक छ। यसमा शिक्षक र अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ। उनीहरूले आफ्ना बालबालिका तथा विद्यार्थीलाई पुस्तक पढ्न प्रेरित गर्नुपर्छ। यसैगरी हरेक शैक्षिक संस्थामा विविध विधामा लेखिएका पुस्तकसहितको सुविधा सम्पन्न पुस्तकालय हुनु जरुरी छ। यसका अतिरिक्त सर्वसाधारणका लागि देशभर जिल्लाजिल्लामा र गाउँगाउँमा समेत सार्वजनिक पुस्तकालयको स्थापना हुनु आवश्यक छ। यस्ता पुस्तकालयमा कम्तिमा पनि देशभित्र प्रकाशित भएका राम्रा र ज्ञानबर्द्धक पुस्तकहरू संग्रहित हुनुपर्छ। शिक्षित हुनु स्कुल, कलेज वा विश्वविद्यालयबाट कुनै सीमित विषयमा उपाधि हासिल गर्नुमात्र होइन। समग्र बौद्धिक विकासले मात्र व्यक्ति वास्तविक अर्थमा शिक्षित हुन्छन्। यस्ता व्यक्तिले मात्र देश र समाजमा उचित योगदान पुर्या्उन सक्छन्। मानिसमा बौद्धिक विकास गर्न पुस्तक पढ्ने संस्कारको विकास हुनु जरुरी छ। यसका लागि राज्यले देशभर सुविधायुक्त पुस्तकालय स्थापना गर्न र त्यहाँ हरेक वर्ष नयाँ पुस्तक किन्न पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउनु जरुरी छ। राज्यले पुस्तक र पुस्तकालयमा लगानी गर्नु देश विकासका लागि आवश्यक सक्षम र शिक्षित नागरिक उत्पादन गर्नमा लगानी गर्नु हो भन्ने बुझ्नु जरुरी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस