किन भएन पुँजीगत खर्च?
१८ चैत्र २०७१
•
८ मिनेट पाठ
किन भएन पुँजीगत खर्च?
केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा कुल १ खर्ब १६ अर्ब ७५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य रहेकोमा आवको ७ महिनामा १७ अर्ब ९३ करोड रुपैयाँमात्रै खर्च भएको छ। यो विनियोजत पुँजीगत बजेटको १५.३ प्रतिशतमात्र हो।पुँजीगत खर्च देशमा आर्थिक बृद्धिलाई गति दिने आधारभूत खम्बा हो। अर्थतन्त्रलाई गतिशील बनाउने, भौतिक निर्माणलाई आधार प्रदान गर्ने तथा सामाजिक, आर्थिक रूपान्तरणको मार्गप्रशस्त हुने पनि पुँजीगत खर्चबाटै हो। पुँजीगत खर्च कम हुनुको अर्थ सरकारको आर्थिक क्रियाशीलता र गतिशीलता कमजोर हुनु हो। पुँजीगत खर्च एवं लगानी कम हुँदा आर्थिक बृद्धि कम हुनुका साथै गरिबी न्यूनीकरण, रोजगारी सृजना आदिमा प्रत्यक्ष असर पर्छ। चालु खर्चमात्रै बढ्दै जाने र पुँजीगत खर्च घट्दै जाने अवस्थाले आर्थिक असन्तुलन उच्च दरमा बढ्दै गएको छ। २०६२/०६३ को परिवर्तनपछिका सरकारले ल्याएका कुनै पनि बजेटका पुँजीगत खर्चको प्रगति लक्ष्यअनुरूप हुनसकेको छैन। यसबाट अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेका छन्। सरकारी खर्चको कमजोर कार्यान्वयनका कारण आगामी ७ वर्षभित्रमा नेपाललाई मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य पूरा हुन कठिन पर्ने देखिन्छ।
विगतका प्रबृत्ति हेर्दा नेपालमा आर्थिक वर्षको प्रथम ६ महिनाको तुलनामा पछिल्ला ६ महिनामा पुँजीगत खर्चका साथै समग्र खर्चको मात्रा व्यापक ढंगमा बढ्ने गरेको देखिन्छ। ठूला पूर्वाधार निर्माणको ठेक्कापट्टा भई काम सुरु हुने, निर्माण कार्यका लागि मौसमी अनुकूलता पनि हुने गरेको देखिन्छ।
सरकारले पुँजीगत खर्चको अवस्था कमजोर रहनुमा जग्गा प्राप्तिको समस्या, वन क्षेत्रका रुखको कटान समयमा नहुने, ठेकेदारहरूको व्यवस्थापकीय अक्षमता, निर्माण सामग्रीको अभाव, प्राविधिक जनशक्तिको अभाव, स्थानीय वासिन्दाको अस्वाभाविक माग र अनुगमन मूल्यांकन प्रभावकारी हुननसक्नु जस्ता समस्या देखाएको छ। तर समस्या यतिमा मात्र सीमित छैन। केन्द्रीकृत अधिकारका कारण खर्च गर्ने अख्तियारीको प्रवाह र कार्यक्रम स्वीकृतिलगायतका कार्य अत्यन्तै प्रक्रियामुखी छन्। जसका कारण बजेट आइसकेपछि कार्यक्रम स्वीकृत हुनै पनि ३–४ महिना लाग्ने अवस्था छ। सार्वजनिक खरिदसम्बन्धी वार्षिक प्रतिवेदन २०७१ मा उल्लेख भएअनुसार सार्वजनिक खरिद प्राविधिक र प्रक्रियागतरूपमा जटिल बन्दै गएको, खरिदसम्बन्धी चुस्त संगठनात्मक संरचना र दक्ष जनशक्तिको अभाव रहेकोलगायतका समस्या पनि पुँजीगत खर्चको प्रभावकारितामा बाधक बनेका छन्। पुँजीगत खर्च कम हुनुमा नेपालको कर्मचारीतन्त्र र विकास प्रशासन पनि प्रत्यक्षरूपमा जिम्मेवार छ। एकातिर राजनीतिक हस्तक्षेपले कर्मचारीतन्त्रलाई गिजोलेको छ भने अर्कोतिर नियामक निकायहरू र अव्यावहारिक कानुनी व्यवस्थाले पनि इमानदार कर्मचारीको मनोबल गिराएको छ। विकास आयोजनाहरूको अनुगमन गर्ने धेरै निकाय भए पनि यिनीहरूबीच समन्वय हुनसकेको छैन।
नेपाल विकासमा पछि पर्नुको कारण पैसा वा आर्थिक स्रोतको अभाव नभई खर्च गर्न नसकेर हो। खर्च गर्ने क्षमता अभिवृद्धिका लागि धेरै सुधार आवश्यक छ। बजेट खर्च गर्ने उपयुक्त समय र बजेट तयार गरी संसद्मा पेस गर्ने, छलफल र पारित गर्ने, अख्तियारी प्रवाह गर्ने तथा कार्यक्रम स्वीकृत गराउनेजस्ता प्रक्रियागत काममा बढी खर्च भइरहेको छ। यसका लागि बैशाख मसान्तसम्म संसद्मा बजेट प्रस्तुत हुनेगरी ‘अर्ली बजेट'को अवधारणा कार्यान्वयन आवश्यक छ।
आयोजना कार्यान्वयनको प्रगतिलाई आयोजना प्रमुख र कर्मचारीको कार्यसम्पादन मूल्यांकनसँग जोड्ने, कर्मचारीलाई इमानदारीका साथ दायित्वबोध गर्न उत्प्रेरित गर्ने एवं दण्ड–पुरस्कारको व्यवस्था गर्न पनि ढिला भइसकेको छ। निर्माण व्यवसायीहरू पनि पुँजीगत खर्चका महत्वपूर्ण अंग हुन्। कार्यक्रम वा आयोजना जतिसुकै राम्रा भए पनि व्यवसायीको सहयोग र सहकार्यबिना खर्चको प्रगति हासिल गर्न सकिँदैन। अतः व्यवसायीहरूको क्षमता अभिबृद्धि र निर्माणको गुणस्तर सुधार पनि उतिकै आवश्यक छ। राष्ट्रिय गौरव र ठूला आयोजनाहरूको निर्माणमा बहुवर्षीय ठेक्का व्यवस्थापन प्रणालीको अवलम्बन, समयसारिणीसहितको आयोजना कार्यान्वयन योजना र  सोअनुरूपको नतिजामुखी अनुगमन र मूल्यांकन, राजनीतिक स्थिरता र शान्तिसुरक्षाको प्रत्याभूतिमा पनि सुधार आवश्यक छ। राष्ट्रिय महत्वका ठूला एवं जटिल खरिद सम्झौता र कार्यान्वयनमा सार्वजनिक निकायका उच्च तहका पदाधिकारीको सहभागिता र जिम्मेवारी तोकिनु आवश्यक छ। खरिदसम्बन्धी दक्ष जनशक्तिको उपलब्धताका लागि छुट्टै सार्वजनिक खरिद समूह गठन गरी विशेषज्ञ सेवा लिन पनि जरुरी भइसकेको छ। यसैगरी, स्थानीय स्तरमा आयोजनाको कार्यान्वयनबाट स्थानीय समुदायले प्राप्त गर्नसक्ने सुविधा र आयोजनाको गरिमा एवं महत्वका बारेमा आयोजना सुरु हुनुअगावै नागरिकलाई राम्रोसँग बुझाउन सकिएमा स्वामित्वबोध र अपनत्व ग्रहण गर्न सक्छन्।

शाखा अधिकृत, स्वास्थ्य सेवा विभाग
अर्को समाचार
कसरी खर्चने पुँजीगत बजेट ?
१६ पौष २०७६
•
२० मिनेट पाठ
कसरी खर्चने पुँजीगत बजेट ?
मुलुकमा पुनः एकपटक पुँजीगत बजेट खर्च भएन भनेर हल्लाखल्ला मच्चिएको छ। यो नियमित आकस्मिकता हो। २००८ सालमा सुवर्णशमशेरले बजेट जारी गरेउप्रान्त नेपालमा पुँजीगत बजेट खर्चको प्रवृत्ति प्रायः सबै आर्थिक वर्षमा समान छ। पहिलो ६ महिनामा १० देखि २० प्रतिशत जति खर्च हुने, दोस्रो चौमासिक अवधिमा करिब ३० प्रतिशत खर्च हुने र असारसम्ममा अर्को ३० प्रतिशत खर्च भई कुल लक्ष्यको अधिकतम् ८० प्रतिशतसम्म खर्च हुने कुरा सबैलाई जगजाहेर छ। तथापिपहिलो अर्धवार्षिक अवधि पूरा हुने संघारमा आइपुग्दा पनि खर्च कम भएपछि समाचार बन्ने नै भयो।

अर्थशास्त्री विद्वान्हरूका तर्साउनेखालका कोट आउने नै भए। जसले पुँजीगत खर्च भएन भनेर ‘लौ बित्यो’ भन्नुभएको छ, उहाँ स्वयं नै अर्थमन्त्री भए पनि हालकै कार्यशैलीले पुँजीगत बजेट खर्च हुन सक्तैन। यसो भनेर सरकारले ‘क्या गजब गर्‍यो’ भन्न खोजिएको होइन। पुँजीगत बजेट खर्च हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण छ। तर पोहोर, परार, झन् परारको खर्चको प्रवृत्ति पनि यस्तै थियो। आगामी वर्षमा पनि खर्चको प्रबृत्ति यस्तै रहनेछ भनी यथार्थता अनुभवका आधारमा बताइदिएको मात्रै हो।

पहिलो कुरा, नेपालमा प्राजेक्ट बैंंकको अवधारणा नै लागु हुन सकेन। अर्थ मन्त्रालयलाई सबै मन्त्रालयले अबको ५–७ वर्षको वार्षिक बजेटमा समावेश गर्ने योजना यी हुन् भनी सूची दिएकै छैनन्। अर्थ मन्त्रालयसँग पनि यस्तो सूची तयार गर्ने छुट्टै जनशक्ति छैन वा तोकिएको जिम्मेवार पदाधिकारी छैनन्। राष्ट्रिय योजना आयोगले करिब ७–८ सय पृष्ठको आवधिक योजना तर्जुमा गर्छ तर ‘टु दि प्वाइन्ट’ को योजनाको सूची बनाउँदैन। नेपालमा हाल नीति प्रतिष्ठान (थिङ्क ट्यांक) पनि क्रियाशील छ। यसलाई पनि प्रोजेक्ट बैंकको काम गर्ने म्यान्डेट छैन।

खेतमा पाकेको धान हेरेर छिटै भात पकाएर ल्याउ भन्दा मान्छेलाई जति समय लाग्छ, नेपालमा बार्षिक बजेटमा परेका योजना सम्पन्न गर्न पनि उति नै बढी समय लाग्ने गरेको यथार्थता नबुझी बुर्लुक्क उफ्रिएर केही हुनेवाला छैन।

प्रत्येक मन्त्रालयले बिजनेस प्लान बनाउने भनिएको थियो। केहीसँग छ, केहीसँग छैन। केही वर्षपूर्वका ३१ ओटा मन्त्रालय हाल २२ मा खुम्चिँदा कुन काम कता परे, लथालिङ्ग, भताभुङ्ग भएको छ। मन्त्रालयको ‘थिर मानिस’ भनेको सचिव हुनुपर्ने हो। उनी स्थायी सरकारका मन्त्रालयका हाकिम हुन् तर उनी नै सरुवा आतंकका कारण सर्वाधिक अस्थिर छन्। पुरुषप्रधान प्रशासनमा ‘जुङ्गा चलेपछि कुरा बुझ्ने’ प्रचलन अझै हटेको छैन। यसर्थ हालका राष्ट्रिय राजनीतिक दल नेकपा, नेका, राजपा, फोरमलगायतको न्यूनतम् सहमतिबाट योजनाको सूची तयार गरी सोही आधारमा वार्षिक बजेट तयार गर्न सकेमात्रै समयमै पुँजीगत खर्च हुनेछ।

दोस्रो कुरा, वर्तमान कानुनमै खरिद योजना तर्जुमा गरी बजेट प्रस्तावित गर्नुपर्ने व्यवस्था छ। यसो गर्ने गरिएको छैन। खरिद योजना तर्जुमा गर्दा प्रस्तावित÷संभावित योजनाको पूर्वसंभाव्यता अध्ययन, संभाव्यता अध्ययन, विस्तृत परियोजना प्रस्ताव निर्माण र वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको हुन्छ। यी सबै प्रारम्भिक काम भएर वार्षिक बजेटमा योजना पर्नु भनेको ‘रेडी टु इम्प्लिमेन्टेसन’ भन्ने बुझिन्छ। भात छिटो पाक्न पहिल्यै धान कुटेर चामल बनाउनुपर्छ। सो चामल समयमै केलाएर बियाँ र कनिका तथा ढुटो फाल्नुपर्छ। भात पकाउनुपूर्व चामल भिजाएर राखेमा छिटो पाक्छ, भात नरम पनि हुन्छ। खेतमा पाकेको धान हेरेर छिटै भात पकाएर ल्याउ भन्दा मान्छेलाई जति समय लाग्छ, नेपालमा बार्षिक बजेटमा परेका योजना सम्पन्न गर्न पनि उति नै बढी समय लाग्ने गरेको यथार्थता नबुझी बुर्लुक्क उफ्रिएर केही हुनेवाला छैन।

तेस्रो कुरा, हामीले ‘अर्ली बजेट’ ल्याएमा पुँजीगत खर्च हुने सोच्यो, यो ठीक कुरा हो। जसअनुसार संघ सरकारको बजेट जेठ १५ का दिन संसद्मा पेश हुन थालेको छ। यस्तो बजेट असारपूर्व नै पारितसमेत भएको छ। यसबाट पूरै १२ महिना र ३६५ दिन खर्च गर्न सकिने परिस्थिति निर्माण भएको छ। यो निकै सकारात्मक पक्ष हो। यसैगरी प्रदेश सरकारको बजेट असार १ गते र स्थानीय सरकारको बजेट असार १० गतेभित्र पेश भइसक्नुपर्ने कानुनी व्यवस्था छ। यी दुई तहका सरकारको बजेट पनि असारभित्रै पारित भइसकेको अनुभवले देखाएको छ। केही पालिका अपवादस्वरूप समयमा बजेट जारी गर्न र पारित गर्न अक्षम सावित भएका छन्। ती पालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले लाज मान्नुपर्ने हो। सबै कुरामा लाज पचाउन मिल्दैन।

यो पंक्तिकारले पनि कुरा बुझेकै छ। कतै पालिकामा नेकपा र नेकाको विवाद छ। कतै मेयर र उपमेयरको जुँगाको लडाइँ छ। कतै वडाध्यक्षहरू पालिकामा ताल्चा लगाउन जुर्मुराएका छन्। यी सबै जे÷जे कारण भएपनि असार १० गतेभित्र बजेट जारी नगर्ने छूट कुनै पनि निर्वाचित जनप्रतिनिधिलाई छैन। नैतिकता भएकै मुलुक भएको भए, अक्षमले गर्न सक्नेलाई मैदान खाली गरिदिनुपर्ने हो। मूलकुरो, हामीले संघीय सरकारको पुँजीगत खर्च भएन भनेर टिप्पणी गरिरहँदा प्रदेश सरकार र स्थानीय सरकारको हविगत पनि औसत भन्दा माथि नभएको बुझ्न ढिला गर्नुहुँदैन। यसर्थ यी तीनै तहका सरकारमा पुँजीगत बजेट समयमै खर्च हुनेतर्फ हामी जागरुक हुनुपर्छ।

चौथो कुरा, तीन तहकै सरकारका चर्काचर्की, हात हालाहाल, मुख छोडाछोड, बजेट तानातान गरेर बजेट वक्तव्य जारी हुने, त्यसपछि सबैजना काम सम्पन्न भएको सम्झी सुत्ने प्रचलनले हामीलाई ‘मार खाए हिन्दुस्तान’ को उखानचरितार्थ पार्ने गरेको छ। यथार्थमा यसरी लडेर ल्याएको बजेट कार्यान्वयनमा पो हात हालाहालसम्म पुग्नुपर्ने हो। जनता पनि कागजमा बजेट परेको देखेपछि नेतासँग खुसी हुने गरेका छन्। यथार्थमा योजना सम्पन्न भएपछि जनता खुसी हुने बानी विकास गर्नुपर्छ। योजनाको प्रभावकारी कार्यान्वयनका लागि त्यसको कार्ययोजना तर्जुमा गर्नुपर्छ। भविष्यमा यस्तो कार्ययोजना प्रतिनिधि सभा, प्रदेश सभा र नगर÷गाउँ सभामा बजेट वक्तव्यसँगै टेबुल गर्नुपर्ने कानुन जारी गर्न जरुरी ठान्छु।

यस्तो कार्ययोजनामा बजेट वक्तव्यको प्रत्येक बुँदाअनुसार के÷के काम गर्ने, कति अवधिमा कुन काम सम्पन्न गर्ने, कुन कामका लागि कुन पदाधिकारी जिम्मेवार हुने, जिम्मेवारी पूरा गरेमा के पुरस्कार पाउने र नगरेमा के दण्ड हुने, काम सम्पन्न भएको सूचकांक के हुने, कुन कुन निकाय र पदाधिकारी सहयोगी निकाय हुने, सोको अनुगमन कसले गर्ने र देखिएका समस्या समाधान गर्ने संयन्त्र के हो भन्ने खुलेको मेट्रिक्स तयार गरी काम गर्नुपर्छ। वार्षिक बजेटमा परेको कार्यक्रम सम्पन्न गर्न ‘मर या गर’ (डु अर डाइ) को सिद्धान्त अवलम्बन गर्न सुझाउन चाहन्छु।

पाँचौँ कुरा, नेपालको बजेटमा पुँजीगत बजेटको करिब ७५ प्रतिशत हिस्सा पूरै वा आंशिक दातृ निकायको योगदानमा प्रस्तावित हुने गरेको छ। दाताले बजेटरी सपोर्ट नदिन थालेको धेरै भयो। सबै सहयोग आयोजना आबद्ध हुने गरेको छ। प्रत्येक आयोजना सञ्चालनपूर्व दाताको पनि कुरा सुन्नुपर्ने, सर्तहरू मान्नुपर्ने, अंग्रेजीमा कागजात तयार पार्नुपर्ने हुन्छ। यसमा नेपालका नेता र कर्मचारी अभ्यस्त भइसकेका छैनन्। मन्त्रीले मन्त्रीलाई छिनका छिन समय मिलाएर भेट्न सक्छन् भने दातासँग भेट्न एक महिना पहिलाको अप्वाइन्टमेन्ट मिलाउनुको तुक छैन। तिनलाई पनि छिनका छिन भेट्न नसकिने होइन।

दाताका सर्त सामान्य छन्, हामीले असाधारण हो भनी अर्थ लगाउँछौँ। यथार्थमा नेपाली स्रोतको बजेट खर्च गर्दाका सर्तझैँ दाताका बजेट खर्चका सर्त छन्। अर्कोकुरा, दाताका प्रतिनिधि निकै विद्वान् होलान म कमजोर छु भन्ने लघुताभासबाट बाहिर निस्किनै पर्छ। हाकाहाकी भन्नुपर्दा दाताका नेपालमा आउने प्रतिनिधि पनि एक प्रकारले दुर्गम मुलुकमा खटिएका र संगठनले सोही श्रेणीमा मूल्याकंन गरेका हुन्छन्। अपवादस्वरूप कोही उत्कृष्ट पनि हुन्छन्। तथापि हामी पनि जननिर्वाचित मन्त्री, लोक सेवा पास गरेका सचिव हौं, निकृष्ट छैनौँ भन्ने आत्मबलका साथ दाताको रकम सकारात्मक अर्थमा च्यापचुप पारेर खर्च गर्नुपर्छ।

छैटौँ कुरा, हामीसँग आयोजनागत काम गर्ने प्रचलन छैन। आयोजनाको साइट अफिस खोल्दैनौँ। कैयौँ मन्त्रालयमा त सहसचिवहरू नै ४–५ वटा आयोजनाको प्रमुखसमेत हुने गरेका छन्। कैयौँ योजना स्वयं महानिर्देशकले नै सञ्चालन गरेका छन्। यो पूर्णतः गलत अभ्यास हो। प्रत्येक कामका लागि छुट्टै जिम्मेवार पदाधिकारी तोक्नुपर्छ। होटलमा भित्र किचेनमा काम गर्नेले वेयरा भएर सर्ब गर्न आउँदैन। बिल दिने एकाउन्टेन्टले भाँडा माझ्दैन। अर्थात् कामको बाँडफाँटअनुसार काम गर्ने हो।

यसर्थ प्रत्येक योजनाका छुट्टै आयोजना प्रमुख र कर्मचारी तोक्ने, सो बजेट सोही आयोजना प्रमुख र तोकिएको लेखापालको हस्ताक्षरबाट खर्च हुने, सो योजनाको ठेकेदारको पछि लाग्ने र काम गराउने जिम्मेवारी तिनै आयोजना प्रमुखको हुने, काममा लापरबाही भई ठेकेदारलाई कारबाही गर्नुपरे, आयोजना प्रमुख पनि समानरूपमा दण्डित हुने प्रबन्ध गर्नुपर्छ। यो काम ढिलोमा साउन १५ वा साउन मसान्तभित्र सम्पन्न भइसक्नुपर्छ। यसका लागि आयोजना प्रमुखसँग कार्यसम्पादन करार गर्नुपर्छ। तोकिएको अवधिमा काम सम्पन्न भए आयोजनाका कर्मचारी पुरस्कृत हुने र ठेकेदारले पनि पुरस्कारस्वरूप १० प्रशित बढी भुक्तानी पाउने हुनुपर्छ। काम हुन नसके, स्पष्ट कारण भएको अवस्थामा बाहेक काम गर्ने र काम लगाउने दुवै दोषी ठहरिनुपर्छ। यसो भएमा पुँजीगत बजेट खर्च हुन्छ।

सातौँ कुरा, कम्तीमा प्रत्येक महिना बजेट कार्यान्वयनको नियमित समीक्षा बैठक बस्नुपर्छ। यस्तो समीक्षा बैठकमा स्थलगत निरीक्षणको प्रतिवेदन पेश गरिनुपर्छ। सो बैठकमा यदिथप निकासा दिएमा, रकमान्तर वा स्रोतान्तर गरिदिएमा काम हुने रहेछ भने सोही बैठकबाट यी काम गरिदिनुपर्छ। यदी साइटमा जनताले काममा अवरोध गरेको भए त्यसको निदानका लागि सम्बन्धित पदाधिकारीलाई जिम्मा दिनुपर्छ। गर्नुपर्ने काम अक्षमताका कारण नभएको भए जिम्मेवार पदाधिकारीलाई चेतावनी दिने र जिम्मेवारीबाट हटाउने निर्णय गर्नुपर्छ। समीक्षा बैठकमा कागजी घोडा दौडाउने, मोबाइल, उठाउने, खाजा खाने, भत्ता लिने होइन। यो बैठक कन्ट्रोल रुम सञ्चालन सरह हाइ अलर्टमा काम गर्ने संयन्त्र हुनुपर्छ।

आठौँ कुरा, ठेकेदारलाई २० प्रतिशत मोबिलाइजेसन दिने÷नदिने तर्क÷वितर्कले पनि अप्ठ्यारो पारेको छ। यस्तो रकम दिएपछि सो रकमबाट निजले निर्माण सामग्री खसालेको, उपकरण खरिद गरेको, प्राविधिक जनशक्ति परिचालन गरेको, आवश्यक पूर्वाधार निर्माण गरेको हुनुपर्छ। साथै निज ठेकेदारको काम सम्पन्नताका आधारमा रनिङ बिलअनुसार भुक्तानी दिने गरिन्छ। कैयौँ ठेकेदारले एकैपटक भुक्तानी लिन्छु भनी रकम नलिँदा पनि पुँजीगत खर्च भएको देखिन्न। कैयौँ योजनामा गलत डिजाइनका कारण काम आरम्भ गरेपछि अलमल हुन्छ। यसमा डिजाइनकर्ता पनि दण्डित हुनुपर्छ। काठमाडौँंमा रहेका वाग्मतीसहितका १३ वटा खोलामा नजिकै बनेका पुल पनि कोही खोलाभन्दा दश मिटर अग्ला त कुनै बीस मिटर होचा छन्। यस्तो अग्लो र होचो पुलको डिजाइन गर्ने इन्जिनियरमध्ये एउटा दण्डित हुनुपर्ने हो, भएको छैन। यी कुरामा पनि सुधार गर्नुपर्छ।

नवौँ कुरा, आपसी समन्वयको अभावमा पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन। सडक निर्माणमा वा ट्रान्समिसन लाइन तान्न वन प्रशासनले झमेला गरेको सुनिन्छ। पुनर्निर्माणको काम गर्दा पुरातŒव विभागले खोचे थाप्ने गरेको सुनिन्छ। वातावरण प्रभाव मूल्यांकनको स्वीकृति दिनेले झुलाउनसम्म झुलाउँछन् भनिन्छ। वार्षिक बजेटको कार्यान्वयनमा आइपरेका समस्या लिएर जाँदा अर्थ मन्त्रालय बोल्दै बोल्दैन भनिन्छ। यी दुर्गुणबाट नहटेसम्म पुँजीगत बजेट खर्च हुन सक्तैन। सरकार एउटै हो, मुलुक साझा हो। हाम्रो जिम्मेवारी मात्रै फरक हो। यसर्थ एकले अर्काको काममा कम्प्लिमेन्ट्री र सप्लिमेन्ट्री गर्ने जापानी ढाँचाको ग्रुप डाइनामिक्स, वर्क कल्चर विकास गर्न जरुरी छ।

दशौँ कुरा, र यस आलेखको अन्तिम कुरा, वर्तमान सार्वजनिक खरिद ऐनका कारण कामै गर्न सकिएन भन्ने आवाज उठ्न थालेको एक दशक नै भयो। यदि समस्या नै छ भने कानुन बदलौँ। समस्या छैन भने समस्या देखाउनेलाई जिम्मेवारीबाट हटाऔँ। राजनीतिमा क्रान्तिकारी भएझैँ योजना कार्यान्वयनमा पनि क्रान्तिकारी मन्त्री, क्रान्तिकारी सचिव र क्रान्तिकारी आयोजना प्रमुख जन्माऔँ। पुँजीगत खर्च भएन भनेर तर्क÷वितर्क पनि गरौँ। तर पुँजीगत खर्च गर्नेलाई सघाऔँ नगर्नेलाई हटाऔँ, अनि पुँजीगत खर्च हुन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस