निराश जनता, शिथिल संयन्त्र र महाप्रलय
०५ जेष्ठ २०७८
•
१० मिनेट पाठ
निराश जनता, शिथिल संयन्त्र र महाप्रलय
प्रजातन्त्रको इतिहासमा नेपालले विचित्रका दृष्टान्तहरू टिपाएको छ। करिब दुईतिहाइ बहुमतसहित निर्वाचित भएर पनि कार्यकाल बाँकी नै रहेको संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सर्वोच्च अदालतद्वारा पुनस्र्थापित संसद्ले दोहोराएर विश्वास गर्न अस्वीकार गर्‍यो। उनी तत्काल पदमुक्त भए। तर संसद्ले उत्तराधिकारी दिन सकेन। केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने एकसूत्रीय अजेन्डा बोकेर जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै टोल टोल र जिल्ला जिल्लामा भिड जम्मा गर्ने, माइतीघर मण्डलको अति व्यस्त सडकमा पलेटी कसेर धर्ना दिने एमालेको एउटा समूह र माओवादी तथा नेपाली कांग्रेसले ओलीको विकल्प दिने कबुल पूरा गर्न सकेनन्। 




‘देश र लोकतन्त्रको भविष्यलाई खतरातर्फ धकेलिरहेको र राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने गतिविधि गरेको’ सङ्गीन आरोप लगाएका सत्तासीन पार्टीका दुवै पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेको समूह त ओलीलाई टिकाउने सञ्जीवनी बूटी पो बन्यो। अनि जसलाई विश्वास छैन भन्ने घोषणा विधिवत्रूपमा गरेको थियो उसैलाई तीन दिनपछि आफ्नो नेता मान्न संसद् विवश भयो। परिणाममा आफैँले दिएको विश्वास फिर्ता लिएर अपदस्थ गरेको व्यक्तिलाई नै आफ्नो नेता स्वीकार गर्न संसद् बाध्य भएको अकल्पनीय दृष्टान्त संसदीय प्रजातन्त्रको इतिहासमा अभिलिखित भएको छ।  

प्रधानमन्त्रीमा पुनर्बहाल भएका केपी ओलीले अब केही दिनभित्र संसद्बाट विश्वासको मत लिने कोसिस फेरि गर्नुपर्नेछ। तर व्यूहरचना र दाउपेच रचनामा देखाएको चातुर्यता हेर्दा उनले विश्वासको मत पाउन मरिहत्ते गर्ने छैनन्। अनि फेरि घटनाक्रम दोहोरिन थाल्नेछ। ओलीको पदमुक्ति र पुनः नियुक्तिको औपचारिकता दोहोराइनेछ। यी सबैको निष्कर्ष संसदीय प्रजातन्त्रको इतिहासलाई अवाक तुल्याउँदै संसद्को एउटै कार्यकालमा लगातार विश्वास गुमाउँदै तेस्रो पटक प्रधानमन्त्री बन्ने व्यक्ति केपी ओली हुनेछन्। संसद्मा भएका साढे तीनवटा पार्टीले भरमग्दुर प्रयास गर्दा पनि, विश्वासको मत दुई पटकको मतदानबाट अस्वीकृत हुँदा पनि प्रतिपक्षले विकल्प दिन नसकेका कारण प्रधानमन्त्री अर्थात संसद्को नेता रहिरहन बाध्य हुने परिचय बनाएर ओली संसदीय प्रजातन्त्रको इतिहासमा अभिलिखित हुनेछन्। विश्व प्रजातन्त्रलाई नै त्यस्तो संकोचको अवस्थामा वर्तमान संविधानका रचनाकार तथा ‘विश्वकै उत्कृष्ट संविधान’ भनेर झ्याली पिट्दै हिँड्नेहरूले पुर्‍याएका हुन्। संसदीय पद्धतिलाई यस्तो प्रहसनको विषय बनाउने नेताहरूले आफ्नो गम्भीर त्रुटि र कमजोरी सकार्दै आत्मआलोचना गरेर सुधारको बाटो खोल्ने नैतिक साहस देखाउन सक्छन् ?  

संसद् विघटन गरेर मतदातासमक्ष जाने अडानसहित मध्यावधि चुनाव घोषणा गर्ने कार्यपालिका प्रमुख केपी ओली एकातिर उभिएका थिए अर्कोतिर विघटनविरुध्द अन्य सबै पार्टी। सर्वोच्च अदालतले विघटनको घोषणा खारेज गर्‍यो। तर पार्टीहरू संसद् पुनस्र्थापनाको विधायिकी र राजनीतिक औचित्य पुष्टि गर्न असफल भए। यसपछि घटनाक्रम जसरी जुन दिशातिर अग्रसर भएको छ त्यसले आखिरीमा प्रधानमन्त्री ओलीको हाँसो नै निर्णायक र अन्तिम सावित हुने बताउँछ। यस्तै भयो भने राजनीतिक र शासकीय रङ्गमञ्चमा गुञ्जिने कार्यपालिका प्रमुख ओलीको अट्टहाँस सुनेपछि शक्ति पृथकीकरणका शेष दुई अङ्ग (विधायिका र न्यायपालिका) ले आफ्नो मूल्याङ्कन कसरी गर्लान् भन्ने कुरामा इतिहासको चिन्ता हुनेछ। संविधानले नचिनेका व्यक्तिबीच अँध्यारो कोठामा मिलेमतोमा गरिएको अन्तरिम संविधान २०६३ को प्रस्तावना र प्रजातन्त्रको मूल सिद्धान्त शक्ति पृथकीकरण विपरितको संशोधनलाई २०७० मा दोस्रो संविधानसभाले टेबल ठटाएर सहमति जनाएको थियो। त्यसबेलादेखि संसद्को भविष्यमा ‘डमोक्लिजको धारिलो तरबार’ झुण्डिरहेकै छ। यस पटकका घटनाक्रमले आत्मकेन्द्रित र अदूरदर्शी सावित भएका कार्यपालिका, विधायिका र न्यायपालिकाको नैतिक आधारमा पैहिरो गएको अनुभूत गरायो भने प्रजातन्त्रको इतिहास कसरी अगाडि बढ्नेछ ?  

२३२ वर्ष पहिले लागु भएको संविधानलाई अभ्यास गर्दै, सुधार्दै र त्यसप्रतिको निष्ठालाई अविचलित राख्दै सयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा शक्तिशाली प्रजातन्त्र बन्यो। ७२ वर्ष पुरानो संविधानको अविरल अभ्यासद्वारा स्थिर तथा सफल प्रजातन्त्रको उदाहरण बन्न भारत समर्थ भयो। सन् १९४९ मा लागु भएको पाँचौँ संविधानबाट विभाजित देशको शान्तिपूर्ण एकीकरण गरी जर्मनी युरोपको सबै भन्दा ठूलो अर्थतन्त्र र विश्वको प्रमुख पुँजी निर्यातक बनेको छ। विश्व प्रजातन्त्रका यी सार्थक उदाहरण विपरीत भारत र जर्मनी भन्दा एक वर्षपछि मात्रै प्रजातान्त्रिक संविधानको अभ्यास सुरु गरेको नेपालमा पाँचवटा संविधान च्यातिसकेपछि बनाएको छैटौँ संविधानले पनि यस्तो हविगत किन भोग्नुपर्‍यो ? संविधानको घोषणा गर्ने राष्ट्रपति डा. रामवरण यादवले ‘देशलाई विभाजित गर्ने यो संविधानको घोषणा गर्न आफूलाई बाध्य पारिएको थियो’ भन्ने गुगलमा अभिलेख भएको छ।  

संविधानको सार्थक अभ्यास तथा अनुभव र जनमतका आधारमा आवश्यक संशोधन गर्ने परिपक्वताको त कुरै छाडौँ, संविधान कार्यान्वयनमा अनिवार्य ऐन/कानुनसमेत पाँच वर्षमा बन्न सकेन। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशले पदभार ग्रहण गर्नुअघि लिनैपर्ने पद र गोपनीयताको सपथसम्बन्धी कानुन पनि नबनाइकनै पाँच जना प्रधानमन्त्रीको फोटो सिंहदरबारको भित्तामा थपियो। छैटौँ संविधानअन्तर्गत पालैसँग सरकारको नेतृत्व गर्दै आएका, राज्यसत्ताको भागबन्डामा समझदारी बनाउँदै आएका तीनवटै प्रमुख पार्टीका शीर्षस्थ नेतृत्वले पछिल्ला चार महिनामा सार्वजनिक गरेका निराशा र आक्रोश भरिएका आरोप र प्रत्यारोपहरूले कस्तोखालको प्रजातन्त्रको अभ्यास भइरहेको छ भन्ने खुलस्त गरिसकेकै छ।  

यतिमात्र पनि हैन, संसद् विघटन, पुनस्र्थापना र संसद्मा प्रधानमन्त्री ओलीको पराजयको क्रममा समेत ‘विदेशी चलखेल निर्णायक भएको’ सत्ता र प्रतिपक्ष दुवैथरीले सार्वजनिकरूपमै सकारेका छन्। व्यक्तिगत अभिव्यक्तिमा व्यक्त भइरहेका यस्ता डरलाग्दा ठहर नेतृत्वले संयुक्तरूपमा सार्वजनिकसमेत गरेका छन्। ‘विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल नै मुख्य कारण भएको निष्कर्ष वैशाख ३१ गतेको त्रिदलीय बूढानीलकण्ठ बैठकको थियो। अर्कोतिर द हिन्दुस्थान टाइम्सका अनुसार भारतीय सुझावअनुसार जनता समाजवादी पार्टीका महन्थ ठाकुरले तटस्थ बस्ने अडान लिएको धेरैले ठानेका छन् किनभने केपी ओलीलाई भारतीय सहयोग छ।  

नेपाली कांग्रेसका सभापतिले ‘ओली भारतको टाङमुनी छिरे’ समेत भने। भारतका लागि ‘कम्फरटेबल’ सरकार बनाउने आश्वासन सार्वजनिकरूपमा दिँदै हिँडेका माओवादी अध्यक्ष प्रचण्डले त ‘कम्युनिस्ट पार्टीको एकता संविधानप्रति असन्तुष्ट विदेशी शक्तिले भङ्ग गराएको दाबी गरेका छन्। उनले दाबी गरेअनुसार ‘संविधान निर्माण भएदेखि नै गणतन्त्र समावेशी समानुपातिक, धर्म निरपेक्षतालगायतका अजेन्डाप्रति असन्तुष्ट विदेशी पक्षले खेलेकै कारण नेकपा विभाजन भयो। विदेशी राजदूतदेखि राष्ट्रपतिसम्म नेताहरूका घर–घर धाएर कम्युनिस्ट पार्टीको फुटेको हाँडी टाल्ने प्रयास भइरहेको पनि देखिएकै थियो। यी सबै अशोभनीय र चिन्तापूर्ण अवस्था बन्नुका पछाडि नेतृत्वमा कब्जा जमाएर बसेको असफल पुस्ता नै मूल कारण हो।  

इतिहास मूल्यवान अनुभवहरूको संगालो हो। भविष्यका लागि पथप्रदर्शक पनि हो। यसैले इतिहासलाई वर्तमानको अहङ्कार अथवा स्वार्थबाट सेन्सर गर्नु प्रत्युत्पादक हुन्छ। तर इतिहास दोहोराउने बानी परेको नेपाली नेतृत्वले नजिकैका पीडादायी अनुभवहरू पनि बिर्सिसकेको रहेछ। २०७२ सालको नाकाबन्दी र महाभूकम्पबाट नेपाली नेतृत्वले केही पनि सिकेको रहेनछ। देश विपत्तिमा परेका बेला प्रतिस्पर्धी राजनीतिक शक्तिबीच कसरी समझदारी र सहकार्य हुनुपर्छ भन्ने पाठ घोकेकै रहेनछ। नेपालको सुरक्षा, स्थायित्व र विपत्ति व्यवस्थापनमा कूटनीतिक सिप महत्वपूर्ण हुन्छ र यस्तै अप्ठ्यारो बेलामा अन्तर्राष्ट्रिय सम्बन्ध कसरी सञ्चालन भइरहेको रहेछ भन्ने खुलस्त हुन्छ।  

कोरोना महामारीको दोस्रो लहरले नेपालको शासकीय संयन्त्रमा समन्वयको अभाव, राजनीतिको संस्कारगत अपाङ्गता र दुवै छिमेकीसँगको सम्बन्धमा विश्वास र परेको बेलामा स्वस्फूर्त गतिमा प्रदर्शित हुनैपर्ने सद्भावनाको खडेरी परेको प्रष्ट गरेको छ। कूटनीतिमा शब्द प्रयोगमा दानी हुन वर्जित छ। ‘नेपाल र भारतबीच अत्यन्त उत्कृष्ट दुईपक्षीय सम्बन्ध’ रहेको वर्षौँपहिले, भिन्न अनुभव र पृथक सन्दर्भमा सार्वजनिक गरिएको दाबीलाई दोहोराउँदै वेदवाक्य बनाउँदै नेपाल सरकार परराष्ट्र मन्त्रालयको वेबसाइटमा दाबी गरिएको छ– ‘निचोडमा नेपाल–भारत सम्बन्ध आपसका सन्धि/सम्झौताको सार भन्दा बढी छ।’ यसैगरी राष्ट्रपति सि चिनफिङद्वारा ‘सहयोगको सामरिक साझेदारी’ मा स्तरोन्नति गरिएको नेपाल–चीन सम्बन्ध तथा प्रधानमन्त्री केपी ओलीले ‘नेपाल–चीन हिमालय वारपार उच्चतम तहको सम्बन्ध बनाउन प्रतिबध्द’ भनिएको थियो। तर अहिले विपत्ति पर्दा यस अनुकूल सम्बन्धको अवस्था अनुभूत भएन।  

कोरोना महामारीले विपत्तिमा परेका आमनेपाली नेपालका लागि भारत र चीन ‘टाढाका छिमेकी’ हुँदै गएका महसुस गर्न थालेका छन्। तथ्यहरू पनि यसै भन्छन्। अन्तर्राष्ट्रिय खोप आपूर्तिमा ६० प्रतिशत योगदान दिँदै भारत कोरोना खोप उत्पादनको विश्व केन्द्र बनेको छ। मार्च २०२१ सम्ममा भारतले ६ करोड मात्रा खोप बिभिन्न देशलाई दिइसकेको थियो। भारतीय विदेश मन्त्रालयको वेबसाइटअनुसार उसले आफ्ना सबै छिमेकीलाई साढे ४ करोडदेखि दश लाख खोप उपलब्ध गराएको थियो। सबैभन्दा कम नेपालले पायो। अरू अपेक्षाको त कुरै भएन। एकै दिन दुई जना मन्त्रीले टेलिफोन कूटनीतिक अग्रसरता देखाए पनि नेपालले मूल्य बुझाइसकेको कोरोना खोप पनि पाउन नसकेर पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिन सकेको छैन।  

साउथ चाइना मर्निङ पोस्टका अनुसार ‘विकासोन्मुख देशहरूलाई खोप दिन पश्चिमा देशहरू असमर्थ भएपछि बेइजिड खोप शून्यता पूर्ति गर्दै गरिब देशहरूमा प्रभाव बढाउन सक्रिय भएको छ। चीनले ६५ करोड मात्रा खोप बिक्री र १७ लाख मात्रा सहयोगमा उपलब्ध गराएको छ।’ चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराउँछु भनेकोमध्ये केही आइपुगेको छ। नेपाल सरकारका अधिकारीले वैशाख ३० गते बिबिसीलाई बताएअनुसार नेपाल कोरोना संक्रमितहरूको संख्या बढिरहेका विश्वका दश राष्ट्रमध्ये परेको छ। तर जनताको अत्यधिक हिस्साले खोप पाउन सकेको छैन। जति चाँडो खोप लगायो त्यति नै धेरै बाँच्ने विज्ञहरूको सल्लाहले सरकारलाई प्रभाव पार्न सकेको छैन। यथार्थ लाजलाग्दो छ। सहयोगमा पाउन कूटनीति सक्षम छैन, किनेर ल्याउन निर्णयकर्ताहरू र कमिसन एजेन्टहरूबीच हुर्किएको भ्रष्टाचारको माखेसाङ्लो कसले तोड्ने ? एनसेललाई ७२ अर्ब रुपियाँ माफी दिने सरकार कोरोना महामारीका रूपमा विदेशीसँग नगद लिइरहेको छ। यो नगदले उपचार नपाएर मरेका लासहरूको डंगुर र मसानको फैलावट हेर्न नेताहरूको निर्वाचन क्षेत्रमा भ्युटावर बनाउने ?  

विपत्ति झेल्न शासकीय क्षमता चाहिन्छ, राज्य संयन्त्रहरू चुस्त हुनुपर्छ। उनीहरूबीच समन्वय चाहिन्छ। यस्तो सिप आफ्नो मान्छेमा हैन, योग्य मानिसमा मात्रै हुन्छ। प्रतिभाले जिम्मेवारी किन्दैन, किनेर नियुक्ति लिएको व्यक्तिले पदको हुर्मत लिन्छ भन्ने सामान्य कुरा नेतृत्वलाई सम्झाउन कति पटक विपत्ति दोहोरिनुपर्छ ? अस्पतालमा बेड छैन, अक्सिजन छैन, भेन्टिलेटर छैन। मसानमा लास जलाउन लाममा बस्नुपर्ने बिजोग छ। ‘कोही मर्ला र अस्पतालमा बेड पाइएला’ भनेर कुर्नुपर्ने अवस्था आयो भन्दै चाँगुनारायणका मेयरले गरेको विलाप सरकार सुन्दैन। सम्पूर्ण जनता त्रस्त भएका छन्। नेपालीको अनुहारमा हाँसो हराइसकेको छ। मानिस मरिरहेको सुनेर त्रस्त, उपचार नपाएर छट्पटाएकाहरूको दुर्दशा देखेर आत्मा नै रुन थाल्दा पनि सरकारले आमजनतालाई आफ्नो उपस्थिति महसुस गराउन सकेको छैन।  

यसैले, संसदीय प्रजातन्त्रको इतिहासले कहिल्यै अनुभव नगरेको जिल्लाराम पर्ने अभ्यास नेपालमा भइरहेको अहिले हेर्दैछ। आमजनतामा अपार धैर्य हुन्छ। तर धैर्यको बाँध भत्किएपछि प्रलय जान्छ। प्रलयको प्रतीक्षा गर्नुको सट्टा राजनीतिक संस्कार तथा शासन सञ्चालनमा व्याप्त विकृति हटाइनुपर्छ। जनताको डर मान्नुपर्छ। कोरोना महामारीबाट जनतालाई बचाउन राजनीति, कूटनीति र प्रशासनलाई समन्वयात्मकरूपमा परिचालन गरेर यसको प्रारम्भ हुनुपर्छ ।  

(पूर्वपरराष्ट्रमन्त्री)
अर्को समाचार
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ
०९ असार २०७९
•
६ मिनेट पाठ
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ
सन् १९८९ मा बर्लिन पर्खाल भत्केको घटनालाई फ्रान्सिस फुकुयामाले आर्थिक तथा राजनीतिक उदारवादको विजयको संज्ञा दिए पनि यो त्यतिमा मात्र सीमित थिएन। यो राष्ट्रियताको पतन पनि थियो। विश्वको अर्थतन्त्र तीव्ररूपमा एकीकृत भैरहेको अवस्थामा सर्वसाधारणले राष्ट्रिय पहिचान त्याग्ने आकलन गरिएको थियो। युरोपियन एकीकरण परियोजनालाई शिक्षित तथा उपल्लो तहमा जाँदै गरेका युवाहरूले आत्मसात गरेका थिए। यो सुप्रा–नेसनल मात्र नभई पोस्ट–नेशनल चरित्रको थियो।  




हाल राष्ट्रियताको विषय पुनः चर्चामा छ र यसले अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिका खेलेको छ। यो उपक्रम अमेरिका, फ्रान्समा मात्र सीमित छैन। राष्ट्रियताको अभियान अहिले हंगेरी, भारत, टर्कीलगायतका अन्य कैयन् देशमा जीवन्त छ। चीनले समेत नयाँ राष्ट्रवादी अधिनायकवादलाई आत्मसात गरेको छ भने रुसले राष्ट्रियताका आधारमा युक्रेन युद्ध अगाडि बढाएको छ।  

नयाँ राष्ट्रवाद जन्माउने तीन प्रमुख कारण छन्। पहिलो, कतिपय देशसँग ऐतिहासिक गुनासो छ। वेलायती उपनिवेशका कारण भारतको व्यवस्थित शोषण भएको थियो भने उन्नाइसौँ शताब्दीको अफिम युद्धमा चिनिया साम्राज्य कमजोर, अपमानित तथा वंशीभूत भएको थियो। आधुनिक टर्किस राष्ट्रवाद पनि पहिलो विश्व युद्धपछि आफ्नो ठूलो भूभाग पश्चिमा राष्ट्रले अधीनस्थ गरेको सम्झनाले ओतप्रोत बनेको छ।

दोस्रो, विश्वव्यापीकरणले यसअघि रहेको तनावलाई बढावा दिएको छ। यसले विभिन्न देशमा असमानतालाई गहिरो बनाएको छ। यी देशमा राजनीतिक सम्पर्कका आधारमा अनुचित फाइदा लिने प्रचलन बढेको देखिएको छ। यसले परापूर्वकालदेखि चल्दै आएका प्रचलन र सामाजिक मान्यतासमेत भत्काएको छ।  

तेस्रो, आफ्ना स्वार्थ पूरा गर्न राजनीतिक नेताहरू राष्ट्रियतालाई दुरूपयोग गर्न निर्लज्जतवरले सिपालु बनेका छन्। उदाहरणका लागि चिनिया राष्ट्रपति सि जिन पिङका अधिनायकवादी शासनअन्तर्गत राष्ट्रियताको भावना बढाउन विद्यालयका पाठ्यक्रमको प्रयोग गरिएको छ भने प्रोपोगान्डा अभियान अगाडि बढाइएको छ।  

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण हिन्दुत्वको नाममा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा बहुमतीय अनुदारवादले प्रश्रय पाएको छ। उता, टर्कीका राष्ट्रपति रेसेप टायिप इर्दाेगानले सन् २०१० को सुरुमा कुर्दहरूसँग शान्ति प्रक्रिया अगाडि बढाए तापनि राष्ट्रवादका नाममा स्वतन्त्र सञ्चार माध्यम, प्रतिपक्ष नेता र असन्तुष्टहरूलाई कारबाही गर्दै आएका छन्।

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।  
हालको राष्ट्रवाद शीतयुद्धपछिको विश्वव्यापीकरण परियोजनाअन्तर्गत आफैँलाई सुदृढ पार्ने प्रतिक्रिया पनि थियो। सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले स्वतन्त्र व्यापारलाई महत्वपूर्ण सहयोगी बताएका थिए भने रोनाल्ड रेगनले यसलाई स्वतन्त्रताका लागि अग्रगामी रणनीति भनेका थिए। रेगनले भनेका थिए– चीनसँग स्वतन्त्रतवरले व्यापार गरौँ, समय हाम्रो पक्षमा हुनेछ।

विश्व व्यापार र सञ्चारले सांस्कृतिक तथा संस्थागत सम्मिलन हुने अपेक्षा थियो। यसैगरी अमेरिकी र युरोपियन बजार तथा वित्त आफूले गुमाउन सक्ने डरमा विकासोन्मुख देशका लागि व्यापारको विषय महत्वपूर्ण बन्न गयो भने पश्चिमा कूटनीति झन बलियो हुन पुग्यो।  

तर सबै अपेक्षा पूरा भएनन्। विकासोन्मुख देशलाई विश्वव्यापीकरणले ठूलो फाइदा दिने र यसले उनीहरूको अर्थतन्त्र र औद्योगिक निर्यात बढाउने र ज्याला घटाउने अपेक्षा थियो। तेल र ग्यासका धनी राष्ट्रलाई यसले झन बढी फाइदा दिने आशा गरिएको थियो। तर यही क्रममा राष्ट्रवादी नेताहरूको पनि उदय भएको छ।  

संसाधनको जोहो गर्न सफल रहेका विकासोन्मुख देशले प्रोपोगान्डा चलाउन र गठबन्धन निर्माण गर्ने क्षमता बढाएका छन्। तर त्यो भन्दा पनि बढी महत्वपूर्ण ्वैचारिक आयामको पक्ष रहेको छ। पश्चिमी देशको कूटनीतिले मानव अधिकारको सुरक्षा, प्रेस स्वतन्त्रता तथा कतिपय देशमा प्रजातन्त्र स्थापनाका लागि प्रयास गरे पनि यसलाई हस्तक्षेपका रूपमा हेरियो। टर्कीको उदाहरण हेरौँ। युरोपियन युनियनमा आबद्ध हुँदा मानव अधिकारको रेकर्ड र प्रजातान्त्रिक संस्थाहरूको विकास हुने अपेक्षा गरिएकामा तत्कालका लागि त्यस्तो देखिएको छ। तर युरोपियन युनियनका प्रतिनिधिहरूको माग बढ्दै जाँदा राष्ट्रवादको मुकुण्डोलाई टर्कीले महत्ता दिएको छ। युरोपियन युनियनमा प्रवेश गर्ने प्रक्रिया अवरुद्ध भएको छ भने टर्कीमा प्रजातन्त्र कमजोर हुँदै गएको छ।  

युक्रेन आक्रमणपश्चात रुसमा विकास भएको राष्ट्रवादका लागि पनि माथि चर्चा गरिएका ३ कारण सान्दर्भिक देखिन्छन्। रुसको राजनीति तथा सुरक्षा क्षेत्रसँग सभ्रान्त वर्ग बर्लिन पर्खाल भत्केपछि पश्चिमा देशले रुसलाई अपमानित गरेको ठान्छ। विश्व अर्थतन्त्रमा एकीकरण भएपछि रुसका सर्वसाधारणले थोरै मात्र फाइदा पाएका छन् भने राजनीतिक सम्र्पक भएका, बेइमान तथा आपराधिक पृष्ठभूमि भएका खास वर्गले अकल्पनीय फाइदा लिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकातिर ग्राहकवादको बृहत् प्रणालीबाट फाइदा लिएका छन् भने अर्काेतिर राष्ट्रियताको भावनालाई कुशलतापूर्वक विकास तथा प्रयोग गरिरहेका छन्।  

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ। आफ्ना स्वार्थ परिपूर्ति गर्ने सहयोगी र राष्ट्रियताको भावनाबाट ओतप्रोत भएका जमातबाट पुटिन सुरक्षित छन्। रुसलाई अलगथलग पार्ने प्रयासले पुटिनलाई झन सुदृढ पार्ने देखिएको छ। युद्धले पुटिनको सत्तालाई कमजोर पारेन भने अर्थतन्त्र नकारात्मक रहे पनि उनको सत्ता अनन्तकालसम्म जानेछ।  

यसरी राष्ट्रवादको पुनर्उत्थान युगले केही सिकाइ दिएको छ। हामीले आर्थिक विश्वव्यापीकरणको प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको छ। खुला व्यापारले विकासोन्मुख र विकसित अर्थतन्त्रलाई फाइदा पुग्नेमा कुनै शंका छैन तर यसले असमानता बढाएको छ, पश्चिमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्य घटाएको छ भने रुस र चीनका खास वर्गलाई फाइदा पुर्‍याएको छ।  

यो सन्दर्भमा वैकल्पिक अवधारणालाई आत्मसात गर्न आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको थोरै ज्याला र कमजोर श्रम व्यवस्थाबाट फाइदा लिने मल्टिनेसनल कर्पाेरेसनलाई मात्र फाइदा पुग्ने विद्यमान व्यवस्था परिवर्तन गर्न जरुरी छ। व्यापार सम्बन्धको आधार सस्तो र अनुदान प्राप्त खनिज इन्धनको मूल्य बन्नुहुँदैन।  

यसैगरी, पश्चिमा राष्ट्रले व्यापारको नातामा आफ्ना व्यापारिक साझेदारलाई राजनीतिक हस्तक्षेप गर्न मिल्दैन। यसैगरी भ्रष्ट र अधिनायकवादी सत्ताले आफ्नै राजनीतिलाई प्रभाव पार्न नसक्ने सुनिश्चतता पश्चिमा राष्ट्रले गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने पश्चिमा नेताले आफ्ना विगतका गल्ती र दुर्रव्यवहारलाई स्वीकार गर्दा विश्वासको वातावरण बन्न सक्छ।  

त्यसैले पश्चिमा राष्ट्रको अन्य राष्ट्रमा सीमित भूमिकाको अर्थ मानव अधिकार हननको विषयलाई कम आकलन गरिएको मान्न हुँदैन। बरु, पश्चिमा सरकारले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ। यसका लागि एमनेस्टी इन्टरनेसनल अथवा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता संस्थामार्फत नागरिक समाजका गतिविधिलाई थप प्रोत्साहन दिनुपर्छ। राष्ट्रवादमा आधारित निरंकुशतालाई रोक्न निर्दिष्ट उपाय नहोलान् तर यसलाई रोक्ने राम्रा विकल्प छन्।  

(लेखक एसमोग्लु एमआइटीका अर्थशास्त्र विषयका प्राध्यापक हुन। प्रोजेक्ट सिन्डिकेटबाट)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
खोप संङ्कीर्णताले खति
नीरज लवजू नीरज लवजू • · २० पौष २०७८ · ७ मिनेट पाठ
रेलमा झेल
रमेश घिमिरे रमेश घिमिरे • · ११ पौष २०७८ · ९ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस