त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेलाजस्तै देखियो। शव व्यवस्थापनमा खटिएकाहरू कोरोना कालमा जस्तै मास्क तथा सुरक्षा कवचमा थिए। खटिएका सुरक्षाकर्मी, आफन्तको शव खोज्न आएकाहरू र एम्बुलेन्स चालकहरू मास्कमा देखिन्थे। विभागको हाता सडेका शवले दुर्गन्धित बनेको थियो। शव खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी, प्रहरी तथा चालकहरूलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन।
एम्बुलेन्स चालक सीताराम वली बुधबार दिउँसो नुवाकोटबाट शव लिएर आइपुगे। उनको एम्बुलेन्स रोकिनेबित्तिकै दुर्गन्ध थप कडा बन्यो। उनले रसुवामा बाढी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा शव बोक्न थालेका हुन्। उनी बुधबार त्रिशूली ब्यारेकबाट सेनाले संकलन गरेर पठाएको शव बोकेर फरेन्सिक विभाग आइपुगेका हुन्। ‘बाढी आएको तीन दिनपछि शव गनाउन थालेको हो, अहिले त कडा दुर्गन्ध आइरहेको छ,’ उनले भने, ‘तर बाध्यताले शव नबोकी सुखै छैन, तेब्बर मास्क लगाएर बोक्छु।’ उनका अनुसार नुवाकोटमा संकलन गरिएका थप डेढ दर्जन शव ल्याउन बाँकी छ।
फरेन्सिक विभागको हातामा काठमाडौं जिल्लाले सञ्चालन गरेको संयुक्त एम्बुलेन्स चालक संघका ध्रुव लाकौर र हिमालयबहादुर राना पनि भेटिए। हिमालय राना नुवाकोटदेखि काठमाडौं हुँदै सबैतिर शव बोकिरहेका छन्।
उनीहरू पनि रसुवामा बाढी गएको भोलिपल्टदेखि नै शव बोक्न व्यस्त छन्। तीमध्ये ध्रुव र हिमालयबहादुर विभागदेखि आर्यघाट र शव व्यवस्थापन गरिएको जंगलसम्म शव बोकिरहेका छन्। उनीहरूले पनि सडेकै शव बोकिरहेको बताए। ‘के गर्नु, नबोकी सुखै छैन। अब बानी परिसक्यो,’ चालक ध्रुव लाकौरले भने।
संघमार्फत निःशुल्क सेवा दिइरहेको उनीहरूले सुनाए। शवको दुर्गन्धका भुक्तभोगी एम्बुलेन्स चालक मात्र नभई शवलाई विभागको हातामा व्यवस्थापन गर्ने, शवको तस्बिर खिच्ने र आफन्तलाई शव देखाइदिने कर्मचारी तथा शवको अभिलेख राख्न हाताभित्रै खटिएका र खोजपडतालमा सहयोग गर्ने प्रहरी कर्मचारी पनि उत्तिकै प्रभावित देखिए। सोही हातामा काम गरिरहेका प्रहरी हेडक्वार्टरका डिआइजीसहित अन्य प्रहरी कर्मचारी शवको दुर्गन्धमा मास्क लगाएर काम गरिरहेका भेटिए।
पछिल्ला दिनमा फेला परेका शवहरू अत्यन्त सडेका कारण चिन्नै नसकिने अवस्थामा रहेको शव व्यवस्थापनका संयोजक तथा प्रहरी केन्द्रीय कार्यालयका डिआइजी ओमबहादुर रानाले बताए। उनका अनुसार पहिचान हुन सकेका शव आफन्तले बुझेका छन् भने पहिचान हुन नसकेका शव काठमाडौंस्थित गोकर्ण जंगलमा गाडिएका छन्।
धेरैजसो शव पहिचान हुने स्थितिमै छैनन्। पछिल्लो पटक फेला परेका शव पुरै सडिसकेको डिआइजी राना बताउँछन्। रानाका अनुसार बुधबारसम्म शिक्षण अस्पतालमा विभिन्न जिल्लाबाट संकलन भएका १६५ मध्ये १५ शव आफन्तले सनाखत गरी बुझेका छन्। ८५ शव भने गोकर्ण जंगलमा माटोमुनि राखिएको राना बताउँछन्। शरीरमा ट्याटु भएका, कानमा कोठी भएका र शरीरमा रहेका अन्य चिह्नका आधारमा पहिचान भएका शव मात्र आफन्तले बुझेका हुन्।
‘सडेर हातखुट्टाको मासु झरेका र कुहिएका छन्,’ उनले भने। गन्ध व्यवस्थापनका लागि स्प्रे र फिनेल छर्किए पनि दुर्गन्ध हटेको छैन। डिआइजी रानाका अनुसार शव व्यवस्थापनका लागि २० जना कर्मचारी शव मिलाउने काममा मात्र खटिएका छन्।
उनका अनुसार गाड्नुअघि डिएनए परीक्षणका लागि प्रत्येक शवको नमुना राखिन्छ। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी शव पुरै गलिसकेको अवस्थामा पहिचान गर्न कठिन हुने भएकाले अबको व्यवस्थापन डिएनए परीक्षणका आधारमा मात्र हुने बताउँछन्।
गलेको शवमा दुर्गन्ध हटाउने रासायनिक औषधि प्रयोग गर्दा शव व्यवस्थापनमा खटिएका कर्मचारीमा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने जोखिम भएकाले कुनै रसायन प्रयोग नगरी शव राखिएको उनले बताए। ‘दुर्गन्धले एकछिन एलर्जी भए पनि रसायनले फोक्सोमा गम्भीर खालको रोग लाग्छ,’ उनले भने।
यस्ता कुहिएका शव जमिनमुनि गाडेर राख्दा नै सुरक्षित हुने उनी बताउँछन्। थप शव भेटिने क्रम जारी रहेकाले अब भेटिने शव थप सडेका हुने र त्यसको एक मात्र व्यवस्थापन भनेको शवको हड्डीको टुक्रा राखेर डिएनए म्याच गरी पहिचान गर्नु मात्र उपाय रहेको उनले बताए।
सबै शवमा नमुनासहित ट्याग राखिएकाले महिनौंपछि पनि डिएनए म्याचिङका आधारमा पहिचान गर्न सकिने उनको भनाइ छ तर म्याचिङ प्रक्रिया महिनौं लाग्ने उनले बताए। प्रहरीको तथ्यांकअनुसार देशभरमा चार हजार ८८५ जना बेपत्ता भएकामध्ये एक हजार ११८ वटा शव फेला परेका छन्। तीमध्ये ९५ वटा शव हस्तान्तरण भएका छन्।
बेपत्ता आफन्तको खोजीमा थाक्न थाले आफन्त
शव खोज्न आएका कैयौं आफन्त दुर्गन्धले फरेन्सिक विभागभित्र जानै सकेनन्। रसुवा बाढीमा बेपत्ता परिवारका ६ जना आफन्त खोज्न आएकी प्रकृति गुरुङसहित अन्य चार जना विभागबाहिरै भेटिए। आफूहरू भित्र पस्न नसकेर अरूलाई पठाएको उनीहरूले बताए।
गुरुङका पिता नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरमा पसल राखेर जीविका चलाउँथे। उनका ठुलो बुवा, ठुली आमा, आमा, भाउजू र एक भदासहित ६ जना आफन्त बाढीमा परी बेपत्ता भएका छन्।
बेपत्तामध्ये उनका पिताको शव भदौ ११ गते नै त्रिशूलीमा देखिए पनि सेनाले तस्बिर खिच्न नदिएको उनीहरूको गुनासो छ। छोरी आएपछि अन्त्येष्टि गर्ने उद्देश्य राखेर बिचमा खोज्न आउँदा विभागले पहिलो चरणमा गाडिसकेको जानकारी दिएपछि थप अप्ठेरोमा परेको गुरुङले बताइन्। ‘भेटेको बुवाको शव पनि न यता छ न उता। अब के गर्ने?’ उनले भनिन्।
सोही विभागको हाताबाहिरको भित्ताका तस्बिरहरू नियालिरहेकी काभ्रेकी गीता रिजाल बेपत्ता पति राजकुमार रिजालको शव खोजीका लागि आएकी हुन्। पति कतै नभेटिएपछि बुधबार डिएनए परीक्षणका लागि आफन्तसहित शिक्षण अस्पताल आइपुगेको उनले बताइन्।
पति राजकुमारको खोजीका लागि उनी चितवन, नवलपरासी पूर्व, नुवाकोट सबैतिर पुगेर थाकेपछि शव खोज्न फरेन्सिक विभागमा भेटिन सक्ने भन्दै आएकी हुन्। राजकुमार भदौ १० गते काठमाडौंबाट पर्यटक बोकेर रसुवातर्फ गएका थिए।
बाढीमा बेपत्ता भएका दाइ खोज्न बुधबार शिक्षण अस्पताल आएकी सिन्धुपाल्चोककी लक्ष्मी तामाङ अलमलमा देखिइन्। एक साता बितिसक्दा पनि दाइ नभेटिएपछि पाइन्छ कि भन्ने झिनो आशा बोकेर शिक्षण अस्पताल आएको उनले बताइन्। ‘चितवन, नुवाकोट, रसुवा गएर दाइहरूले खोजिसक्नुभएको छ तर कतै उपचारमा हुनुहुन्छ कि भन्ने आशाले आएकी हुँ,’ उनले भनिन्।
बुधबार नै अस्पतालमा जुम्लाबाट १० जनाको टोली तीन दिन हिँडेर काठमाडौं आएको थियो। कृष्णभिरको पहिरोका कारण थप घुमाउरो बाटो आउनुपरेको जुम्लाका चन्द्र विष्ट र राजबहादुर बुढाले बताए। जुम्लाको एउटै क्षेत्रका ३२ जना रसुवा बाढीमा बेपत्ता भएपछि जुटेर खोज्न आएको उनीहरूले बताए। ‘सास या लास जे भए पनि भेटिन्छ कि भनेर आयौं,’ विष्टले भने।
सर्लाही हरिपुरकी शिवानी मिरवाहा पनि टिचिङमै पुगेकी छन्। अस्पतालमा अन्तिम खोजीका लागि हिँडेका थुप्रै आफन्त भेटिए। अस्पतालमा नयाँ घाइते आउन छाडेपछि वार्डमा पुराना घाइते उपचाररत छन्। सात दिन बितिसक्दा पनि आफन्त नभेटिएपछि उनीहरू निराश हुँदै हिँडेको भेटिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।
मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।
पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।
एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।
थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।
बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।
आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।
उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।
महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।
एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...