एक सातादेखि लगातारको वर्षात्ले सुदूरपश्चिमका किसानले लगाएको धानबालीमा क्षति पुगेको छ। दशैंकै दिनदेखि लगातार सात दिनसम्म वर्षात् हुँदा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा खेतमा पाक्नै लागेका धानबाली डुब्दा किसान चिन्तित बनेका हुन्।
अत्याधिक वर्षात्का कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ तथा दार्चुलामा भित्राउनै लागेको धानबालीमा क्षति पुगेको हो। खेतमा ठाडै रहेका धानका बाला डुब्दा धान कुहिने तथा धानको गुणस्तरमा ह्रास आउने हुँदा राम्रो मूल्य पाउन मुस्किल हुने टीकापुर–५, बंगलापुरका किसान पुरन थारूले बताए। उनले भने, ‘यसपालि धान राम्रो फलेको थियो, तर भित्राउन नपाउँदै आएको पानीले धानका बाला डुबेका छन्।’ धान डुब्दा गुणस्तरमा ह्रास आउने उनले बताए।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माका अनुसार सात दिनसम्मको लगातार वर्षातले किसानले धान नकाटे पनि खडा बालीमा केही क्षति पुगेको छ। ‘अघिल्लो वर्षको जस्तो किसानले धान काटिनसकेकाले खडा बाली डुबेका छन्,’ उनले भने,‘खडा रहेका धानका बाला नै डुबेकाले केही ठाउँमा धान विग्रने, ढुसी पर्ने तथा उम्रने हुन सक्छ, जसले धानको गुणस्तरमा ह्रास आउँछ।’
कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीका अनुसार लगातारको वर्षातले सुदूरपश्चिमको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरका किसानले लगाएको धान डुबानमा परेको छ। उनले भने,‘अघिल्लो वर्ष पनि दशैंको दोस्रो दिनदेखि परेको वर्षातले धान भिज्नुका साथै बगाएको थियो, यसपालि पनि दशैंकै दिनदेखि वर्षात हुँदा धानमा खेतीमा समस्या देखिएको छ।’ पानी खेप्न सक्ने धानबाली पनि अत्याधिक वर्षात्ले गर्दा समस्यामा परेको बताउँदै उनले भने,‘पानी खेप्न सक्ने बालीलाई पनि अत्याधिक पानी भएपछि समस्या हुन्छ, अत्याधिक वर्षात्ले बाला डुब्नुका साथै खेतमा पानी जम्दा धानका नल (डाँठ) कुहिएर धान ढल्नुका साथै बाला कुहिन जान्छ।’ खेतमा अत्याधिक पानी जम्दा धानका बाला डुब्दा हिलो तथा लेदोका कारण बालाहरुमा लागेकाले धान कुहिने सम्भावना बढी हुने गरेको उनले बताए।
वर्षातले दूध उत्पादनमा पनि कमी हुन थालेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगीका प्रमुख डा. हेमराज अवस्थीका बताउँछन्। ‘वर्षातले गर्दा घाँस र पराल पनि कुहिएपछि दूध उत्पादनमा समस्या हुने संकेत देखिएको छ,’ उनले भने,‘पशु आहाराको कमी हुनुका साथै दाना तथा आहारा नष्ट भएका कारण दूध उत्पादनमा कमी आउन थालिसकेको किसानहरुको प्रतिक्रिया आउन थालेको छ।’ पशु आहाराका लागि चाहिने घाँसपात तथा दाना पनि अत्याधिक वर्षातका कारण कुहिनुका साथै बगाएपछि कैलालीको भजनी, जोशीपुर, जानकी, कैलारी, घोडाघोडी, लम्कीचुहा लगाएका पशुपालक किसान मर्कामा परेको उनले बताए।
यसअघि पनि असोज पहिलो हप्ता परेको वर्षातले क्षति पुगेको थियो। बचेको धानबालीमा पनि पुनः आएको वर्षातले क्षति पुगेको हो। जसले गर्दा किसान राम्रो फसल नपाउने भन्दै चिन्तित बनेका छन्।
हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ।
अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन्।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ।
मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए। कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ। मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ।
मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा रु पाँच अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ। प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ।
यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा रु एक करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा रु ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा रु तीन करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ।
कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा रु २३ करोडको क्षति अनुमान गरिएको जनाए। डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा रु ७६ लाख बराबरको क्षति भएको छ।
कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ।
रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा रु एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा रु एक अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ।
यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा रु ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ। पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ।
मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन्भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन्। धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ। रासस
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...