डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स
डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स
बिग्रिएर थन्किएको कालिकोटको खाडाचक्र नगरपालिकाको एम्बुलेन्स। तस्बिर: नागरिक
कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो। जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन।  




मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गर्‍यो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए।

‘प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुनकुन पार्टपुर्जामा खराबी आएको हो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ।’ एम्बुलेन्सभन्दा पहिले किनिएको नगरपालिका प्रमुख चढ्ने गाडी भने दुरुस्त छ। स्थानीय गेहेन्द्रशमशेर मल्लका अनुसार सदरमुकाममा रहेका चारवटै एम्बुलेन्स अहिले सञ्चालनमा छैनन्। ‘मेयर चढ्ने गाडी बिग्रिएर थन्किएको हामीले देखेका छैनौं,’ मल्लले भने, ‘तर बिरामी, सुत्केरी, गर्भवती र अपांगता भएकालाई सेवा दिन खरिद गरिएका एम्बुलेन्स बिग्रिएर थन्किँदा पनि सरोकारवालाको ध्यान किन जाँदैन ?’

जिल्ला अस्पताल मुगुका प्रमुख उमेश गौतमका अनुसार जिल्लाभरि आठवटा एम्बुलेन्स छन्। तीमध्ये चारवटा सदरमुकाममा छन्। जिल्ला अस्पताल, रेडक्रस सोसाइटी, छायानाथ रारा नगरपालिका र एक सहकारीसँग एकएक एम्बुलेन्स छन्। ‘अरू एम्बुलेन्स बिग्रिएर थन्किएको महिनौं भयो, जिल्ला अस्पतालको एम्बुुलेन्स बिग्रिएको एक साताभन्दा बढी भयो,’ उनले भने, ‘नेपालगन्जबाट सामान आउनेबित्तिकै सञ्चालनमा आउँछ।’ गौतमले नगरपालिका, रेडक्रस र सहकारीलाई पनि एम्बुलेन्स बनाउन भनिएको बताए। ‘बर्खाको समय छ, विपद्को पूर्वतयारीका लागि पनि एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि बनाउने छाँटकाँट देखाएका छैनन्।’

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाकी २२ वर्षीया पार्वती विकले अस्पताल जाँदाजाँदै बाटामै बच्चा जन्माइन्। एम्बुलेन्स नहुँदा चौरजहारी अस्पतालसम्म हिँडेरै जान लागेकी उनले बाटोमै बच्चा जन्माएको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। गाउँमा एम्बुलेन्स भइदिएको भए उनले यसरी बाटामै बच्चा जन्माउनुपर्ने अवस्था हुन्थेन। ‘अस्पतालसम्म पुग्न एम्बुलेन्स छैनन्, भएका पनि बोलाउँदा समयमा आउँदैनन्,’ महिला स्वास्थ्य स्वयंसेविका तुलसी गिरीले भनिन्, ‘अस्पताल जाँदाजाँदै यसरी बाटामा बच्चा जन्माउनेको संख्या धेरै छ।’

कालिकोटको खाडाचक्र नगरपालिकाको एम्बुलेन्स पनि सञ्चालनमा नआएको सात महिना भयो। खाडाचक्र नगरपालिकाको एम्बुलेन्स बाँकेको नेपालगन्जमा मर्मतका लागि राखिएको छ। एम्बुलेन्स किनेको तीन वर्ष भयो। यो अवधिमा आधाभन्दा बढी समय एम्बुलेन्स बनाउनमै समय खेर गयो। ‘बिग्रिएर थन्किएको सात महिनापछि अहिले बल्ल बनाउन नेपालगन्ज पठाएका छौं,’ खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा संयोजक रवीन्द्र सेजुुवालले भने, ‘बनेर कहिले आउने हो पत्तो छैन।’

रेडक्रस सोसाइटी कालिकोटको एम्बुलेन्स पनि जिल्ला अस्पतालबाहिर थन्किएको नौ वर्ष भयो। सामान्य खर्चमा मर्मत हुने एम्बुलेन्स नौ वर्षदेखि त्यत्तिकै थन्किँदा पाटपुर्जा पनि चोरी भइसकेका छन्। रेडक्रस सोसाइटी कालिकोटका सभापति बलप्रसाद सन्ज्यालले धेरै पटक बिग्रिएका कारण मर्मत गर्न नसकेर थन्किएको बताए। तिलागुफा नगरपालिकाले दुई वर्षअघि राजस्व छुटमा एम्बुलेन्स खरिद गर्‍यो।  

दुई वर्षमै एम्बुलेन्स बिग्रिएर थन्किएको छ। नगरपालिका भने भइरहेको एम्बुलेन्स बनाउनेभन्दा पनि नयाँ खरिद गर्नेतर्फ लागेको छ। ‘तिलागुफाका लागि एम्बुलेन्सको आवश्यकता छ,’ नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, ‘यो वर्ष नयाँ एम्बुलेन्स खरिद गर्ने तयारीमा छौं।’ उनले राचुलीमा रहेको नगर अस्पताल र चिलखाया स्वास्थ्या चौकीका लागि दुईवटा एम्बुलेन्स खरिद गर्ने तयारी भइरहेको बताए।  

त्यस्तै रास्कोट नगरपालिकाले तीन वर्षअघि खरिद गरेको एम्बुलेन्स रास्कोट सामुदायिक अस्पताल गौतुकोटमा थन्किएको छ। असारयता सडक अवरुद्घ भएर एम्बुलेन्स चलेको छैन। पलाता, महावै र नरहरिनाथले एम्बुलेन्स किनेका छैनन्। तर जनप्रतिनिधिका लागि सुविधा सम्पन्न गाडी भने किनिएको छ। नरहरिनाथ, पलाता र शुभकालिका गाउँपालिकाका अध्यक्षले स्कोर्पियो गाडी खरिद गरेका छन्। जनप्रतिनिधिका गाडी बिग्रिएको भए तत्काल बनिसक्थे, नबन्ने अवस्था भए नयाँ खरिद गरिन्थ्यो। ‘बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स छैन, हामीले जिताएका नेता करोडौंको गाडी चढ्छन्,’ कालिकोटका नरहरि आचार्यले भने, ‘पालिकाका प्रमुखहरूका लागि गाडी किन्न मिल्ने, जनताका लागि एम्बुलेन्स किन्न नमिल्ने हुन्छ ?’

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। प्रतिष्ठानसँग तीनवटा एम्बुलेन्स छन्। दुईवटा प्रयोगमा छन्। जुम्लाका ६ वटा गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरेका छन्। पातारासी, कनकासुन्दरी, तीला, तातोपानी, हिमा र सिञ्जा गाउँपालिकाले तीन वर्षअघि खरिद गरेका एम्बुलेन्स कहिलेकाहीं चल्छन्। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले गुठीचौर र चन्दननाथ नगरपालिका नयाँ एम्बुलेन्स खरिदको चरणमा रहेको बताइन्।

जाजरकोटको बारेकोट गाउँपालिकामा एम्बुलेन्स छैन। जनप्रतिनिधि भने स्कार्पियोमा चढ्छन्। सर्वसाधारण बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। सदरमुकाम खलंगाबाट एम्बुलेन्स या गाडी आधा बाटोसम्म मगाएर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहोन प्रकाश गिरीले बताए। ‘वर्षासँगै पालिका जाने प्रमुख सडक अवरुद्ध हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, ‘पालिकामा एम्बुलेन्स पनि छैन।’ उनले यसपालि भारतीय राजदूतावासमार्फत एम्बुलेन्स ल्याउने तयारी भइरहेको छ। जाजरकोटकै शिवालय गाउँपालिकाको एम्बुलेन्स पनि मर्मतका लागि सुर्खेतमा रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले बताए।  

दैलेखको ठाटीकाँध गाउँपालिकामा दुईवटा एम्बुलेन्स भएकोमा एउटा एक वर्षदेखि बिग्रिएर थन्किएको छ। एउटा नयाँ जनप्रतिनिधिले सञ्चालनमा ल्याएका छन्। वडामा जाने सडक खोला र पहिरोले अवरुद्ध भएपछि पालिका मुकामबाटै बिरामी दैलेख बजार र सुर्खेत लैजान एम्बुलेन्स प्रयोग गरिने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षाबहादुर शाहीले बताए। बर्खामा सडक बिग्रिएका कारण टाठीकाँधका प्रायः वडामा गाडी चल्दैन। जसका कारण बिरामीलाई बोकेरै पालिकासम्म ल्याउनुपर्ने बाध्यता छ।  

नौमुले गाउँपालिकामा पनि सास्तीपूर्ण रूपमा एम्बुलेन्स पुग्ने गरेको छ। सडकको बिजोग अवस्थाले एम्बुलेन्समा आउने बिरामी झन् बिरामी हुने गर्छन्। नौमूलेका प्रायः वडामा बर्खामा सवारीसाधन पुग्दैनन्। ६ वडा रहेको महावु गाउँपालिकामा ३, ५ र ६ नम्बर वडामा खोला बढेर बर्खामा गाडी चल्दैनन्। जसका कारण बिरामीलाई बोकेरै एम्बुलेन्स भएको ठाउँसम्म लगिन्छ। पालिकासम्म एम्बुलेन्स चल्ने भए पनि केही वडामा ठुला खोला र पहिरोले एम्बुलेन्स चल्न नसकेको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले बताइन्। दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेको एम्बुलेन्स पनि बिग्रेको अवस्थामा छ। छिमेकी पालिकाबाट एम्बुलेन्स बोलाएर बिरामी अस्पताल लैजानुपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकावासीले बताए। गुराँस गाउँपालिकाको प्रायः वडामा बर्खामा एम्बुलेन्स पुग्न सक्दैन। गुराँसमा दुईवटा एम्बुलेन्स गाउँपालिका आफैंले सञ्चालनमा ल्याएको छ।  
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस