कानुनी प्रक्रिया पूरा नहुँदा करोडौं रुपयाँको सखुवाको काठ नियन्त्रित अवस्थामै सडेर जान थालेको छ। विभिन्न समयमा चुरे क्षेत्रबाट बरामद सखुवा र त्यसमा प्रयोग भएका सयौं सवारी साधन भण्डारण गरिएकै स्थानमा सड्न थालेका छन्।
माई नगरपालिकास्थित दानाबारी र चुलाचुली गाउँपालिकास्थित वन सब–डिभिजन परिसरमा कति वर्षदेखि यसरी सखुवा र सवारी साधन भण्डारण गरिएका हुन् भन्नेसम्मको एकीकृत तथ्यांकसमेत छैन। अवैध रूपमा कटान र ओसारपसार गर्नेक्रममा बरामद गरिएको सखुवा र सवारी साधन थुप्रिएर राख्ने ठाउँकै अभाव हुन थालिसकेको छ। समयमा मुद्दा किनारा नलाग्दा र किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा करोडौंको सम्पत्ति नष्ट भइरहेको हो।
वनको गस्ती टोलीले पटक–पटक बरामद गरेको सखुवाको काठ वर्षाैंसम्म माटोमा राख्दा कुहिएर जाने अवस्थामा पुगेको हो। त्यही काठ ओसार्न प्रयोग भएका ट्रक, बस, जीप, साइकललगायत सयौं सवारी साधनसमेत नष्ट हुने अवस्थामा पुगेको सम्बन्धित वन कार्यालयले जनाएका छन्। वनको गस्ती टोलीमात्र नभई प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेका काठसमेत वन कार्यालयलाई बुझाउँछन्। यस्तो काठ वन कार्यालयले मुद्दाको प्रक्रियामा लैजान्छ। मुद्दामा गएपछि फैसला नहुञ्जेल बरामद सामान वनले नियन्त्रणमा राखेको हुन्छ।
दानाबारी वन सब–डिभिजन परिसरमा अहिले यस्तो अवैध रूपमा ओसारपसार गर्दा बरामद सखुवाको डंगुर छ। दर्जनौं सवारी साधनसमेत छन्। सब–डिभिजन प्रमुख टेकेन्द्र विष्ट यहाँ कति काठ छ भन्ने तथ्यांकसमेत भेट्न समय लाग्ने बताउँछन्। ‘यहाँ वर्षाैंदेखि बरामद गरिएका काठको डंगुर छ, मुद्दा किनारा नलाग्दा धेरै काठ सडेर जान थालिसकेका छन्,’ उनले भने, ‘यो काठ र सवारी साधन कति वर्षदेखि थुुप्रिएको हो भन्ने पनि थाहा हुन सकेको छैन।’
वरपरका सामुदायिक वनबाट सखुवा बरामद गरिएको हो। तस्करहरूले रातारात कटान गरेको सखुवा बरामद गरेर ल्याएर यहाँ राखिएको उनले बताए। तर, काठको डंगुर ठूलो हुँदैगएकाले कुन काठ कुन मुद्दाको हो भन्ने खुट्याउनसमेत समस्या देखिने सम्भावना बढेको छ। ‘यति धेरै काठ बरामद भएको छ कि, अब मुद्दा किनारा नै लागेपनि कुन काठ कुन मुद्दाको हो भनेर खुट्याउनै जटिल पर्ने सम्भावना भइसकेको छ,’ उनले भने, ‘पछिल्लो समय सखुवा तस्करी र बरामद धेरै छैन तर यहाँ कति वर्षाैंदेखिको सखुवा छ भन्ने विवरण पाउन पनि निकै दिन लाग्छ।’
दानाबारी सब–डिभिजन परिसरमा बस, ट्रक, ट्र्याक्टर, जिप, साइकल, मोटरसाइलकलगायत सयौं सवारी साधन बरामद गरी राखिएका छन्। ‘ती सवारी साधनसमेत नष्ट भएर जान थालेका छन्,’ उनले भने, ‘सवारी साधनको धनी को हो भन्ने पनि यकिन छैन। बरामद भएपनि यो काठ र सवारी साधन मेरो हो भनेर दाबी गर्न पनि कोही आउँदैनन्।’
काठ ओसार्न प्रयोग भएका सवारी साधन फलानाको हो भन्नेसम्म थाहा भएपनि सवारीधनीको संलग्नताबिनै चालकले दुरुपयोग गर्नेगरेको पाएको उनले जनाए। ‘धेरैजसो सवारीधनीले आफ्नो सवारी साधनले अवैध रूपमा सखुवा ओसारेको थाहै पाउँदैनन्,’ विष्टले भने, ‘यात्रु बोक्ने बस, अरू सामान बोक्ने ट्रकका चालकले सवारीधनीलाई थाहै नदिइ सखुवा ओसार्दा सवारीधनी फस्नेगरेको पनि पाइएको छ।’
मुद्दा दर्ता गर्दा आरोपीलाई सजाय माग गरिएपनि बरामद काठबारे कुनै मागदाबी नहुँदा भण्डारण गरिएको सामान नष्ट हुने अवस्थामा पुगेको हो। किनारा लागेका मुद्दामा पनि व्यक्तिको बारेमा मात्रै फैसला हुने तर बरामद काठ वा सवारी साधनको बारेमा फैसलामा केही उल्लेख नभएकाले लिलामीमा जान नसकिएको विष्टले बताए। ‘मुद्दा किनारा लाग्दा जो आरोपी हो, उसको बारेमा फैसला हुन्छ तर बरामद सामानबारे केही उल्लेख हुँदैन,’ उनले भने, ‘यो अवस्थाबारे हामीले वन विभागका विभिन्न इकाईमा छलफल पनि गरेका छौं।’
माई नगरपालिकामा मात्रै ६५ सामुदायिक वन छन्। यी वनबाट बरामद कतिपय काठ सामुदायिक वन उपभोक्ता समितिलाई पनि जिम्मा दिने गरेको विष्ट बताउँछन्। ‘बरामद काठ यहाँ ल्याएर सडाउनुभन्दा सामुदायिक वन समितिलाई पनि दिनेगरेका छौं,’ उनले भने, ‘यसरी दिइएको काठ ती समितिले प्रक्रिया पु¥याएर लिलाम गर्छन्।’ सामुदायिक वनले आफ्नो वन क्षेत्रअनुसार हरेक वर्ष निश्चित परिमाणको काठ लिलाम गर्न पाउँछन्।
यो क्षेत्रमा बर्सेनि ४ सयदेखि २ हजार २ सय क्युबिक फिटसम्म काठ लिलाम गर्ने सामुदायिक वन समिति रहेको विष्टले जनाए। सखुवाको हरियो रुख काट्न नपाउने व्यवस्था छ। वन समितिले प्रक्रिया पु¥याएर उपभोक्ताभित्रै खपत गर्न सुकेको खडा सखुवा पनि काट्न पाउँछ तर बाहिर विक्री गर्ने प्रयोजनका लागि भने सुकेकै भएपनि खडा सखुवा काट्न नपाउने व्यवस्था छ।
दानाबारीमा मात्र होइन, चुलाचुली सब–डिभिजनमा पनि यस्तो सखुवाको भण्डारण गरिएको छ। यहाँ चाहिँ सयौंको संख्याका साइकल र मोटरसाइकलसमेत बरामद गरी भण्डार गरिएको छ। तर, आधाभन्दा बढी साइकल राखेकै ठाउँमा नष्ट भएका छन्। काठ कुहिएर काम नलाग्ने भएको छ। चुलाचुलीमा चाहिँ करिब ३ सय क्युविक फिट सखुवा भण्डारण रहेको अनुमान गरिएपनि दानाबारीमा कति छ भन्ने यकिन हुन नसकेको सदरमुकामस्थित वन डिभिजनले जनाएको छ।
डिभिजनले बरामद भएर थन्किएका सखुवा र सवारी साधनको विवरण एकीकृत गर्न बाँकी रहेको जनाएको छ। कार्यालयका सहायक वन अधिकृत सञ्जीव ढकालले बरामद भएको सखुवा र सवारीका साधनको विवरण संकलन भइरहेको बताए। ‘कति वर्षदेखि ती सखुवा र सवारी साधन भण्डारण गरिएका हुन् र कति संख्यामा छन् भन्ने पनि विवरण संकलन गर्न सकिएको छैन,’ उनले भने ‘यो विवरण संकलनका लागि डिभिजनले छुट्टै समिति बनाएको छ, समितिले आफ्नो काम गर्दैछ।’
उनले वर्षाैंदेखिको विवरण वनका विभिन्न कार्यालयको रजिस्टरमा रहेपनि त्यसलाई एकीकृत गर्न बाँकी रहेको जनाए। ‘विवरण त सबै राखेकै हुन्छ तर बरामद काठ र सवारी कति छन्, कहिलेदेखि भण्डारण गरिएका हुन् भन्ने हिसाब संकलन गर्न अझै केही समय लाग्छ,’ उनले भने, ‘बरामद कतिपय काठ र सवारी साधन बेवारिसे अवस्थामा पनि फेला परेकाले त्यसको आरोपी नै पत्ता लागेको छैन।’
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...