प्रदेश ५ को बर्दिया जिल्लाका बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु नगरप्रमुखको कुर्सी सम्हाले लगत्तै अभिभावकविहीन बालबालिकाको अभिभावक बनेका छन्।
गरिबी र अभिभावकविहीनतालाई नजिकबाट नियालेका उनी अभिभावकविहीन भएकै कारण अरु कोही बालबालिकाले गरिबी र अशिक्षाको अवस्थाबाट गुज्रन नपरोस भन्ने उद्देश्यका साथ मेयर थारुले आफ्नो नगरपालिकाभित्र अभिभावकविहीन बालबालिकाहरुको लागि आवास गृहसहितको बाल संरक्षण केन्द्रको व्यवस्था गरेका छन्।
अभिभावकविहीन बालबालिकाको अभिभावक सरकार भन्ने लक्ष्यसहित मेयर थारुले जनतासँग मेयर कार्यक्रम अन्तर्गत बाल संरक्षण केन्द्रको स्थापना गरेका हुन्।
बारबर्दिया नगरपालिका वडा नम्बर ११ को बेलभारमा स्थापित यस संरक्षण केन्द्रमा अभिभावकविहीन २२ बालबालिका बस्दै आएका छन्।
सानैमा आमा गुमाएका र कक्षा ९ मा पढ्दापढ्दै बाबु गुमाएका मेयर थारुलाई अभिभावकविहीन भएका बालबालिकाहरुको अवस्थाबारे राम्ररी थाहा छ। अवस्था बुझेरै उनले आफू मेयरको सपथ ग्रहण गर्दा पहिलो फाइलनै अभिभावकविहीन बालाबलिकाको लागि बाल संरक्षण केन्द्र स्थापना गर्नेमा हस्ताक्षर गरी कामको थालनी गरेको उनी सुनाउँछन्।
संरक्षण केन्द्र पुग्दा बालबालिकाहरु निकै खुसी थिए। साँझको समय चिसो मौसममा सबै साथै बसेर आगो तापिरहेका भेटिए। खाना खाँदा पनि एकले अर्कोलाई पुग नपुग ख्याल गर्ने संस्कार बालबालिकामा देखियो।
केन्द्रमा भेटिएकी संझना चौधरी १४ वर्षकी भइन्। अभिभावकविहीन उनले तीन वर्षअघि यस संरक्षण केन्द्रमा आएपछि बल्ल जिवन अलि सहज बनेको अनुभव सुनाइन्। ‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’
राजकुमार थारु पनि केही दिन अघि मात्र यस बाल संरक्षण केन्द्रमा आएका हुन्। आमाबुवाविहीन भएका उनी पढाइमा भने अब्बल छन्। अरुको घरमा भाडा माझ्ने काम गर्दा उनलाई मेयर थारुको सहयोगमा संरक्षण केन्द्रमा ल्याइएको हो। १७ वर्षीय राजकुमारको डाक्टर बन्ने सपना छ। ‘डाक्टर बनेर आफूजस्तै गरिब र अभिभावकविहीनहरुको निःशुल्क सेवा गर्ने मेरो लक्ष्य छ’, कक्षा १२ मा विज्ञान विषय अध्ययन गरिहेका उनले नागरिकसँगको भेटमा भने, ‘हामी जस्ता अनाथको यो बाल संरक्षण केन्द्र परिवार बनेको छ। खाना, बस्ने, पढ्ने सबै चिजको राम्रो सुविधा दिएको छ। सरहरुले संरक्षण केन्द्रमै आएर हामीलाई टिउसन पनि पढाइदिनु हुन्छ।’ उनी भावना पोख्छन्, ‘हाम्रो आफन्तकहाँ मैले काम गरेर पनि राम्ररी खान पाएको थिइनँ। पढ्ने कुरै भएन। तर संरक्षण केन्द्रले मुख्य रुपमा हाम्रो भविष्यको बारेमा ख्याल गरेको छ।’
मेयर थारुका अनुसार उनले आफूले पनि सानैमा अभिभावक गुमाएको र पीडा खेपेको अनुभव त छँदै थियो मेयर हुनु अघि पनि बारबर्दियाका होटेलमा चिया पिउँन जाँदा धेरै बालबालिकाहरु स्कुल नगएर होटेलमा भाडा माझ्ने गरेको दृश्यले छोएको थियो।
‘हामी म मेयर हुनु पूर्व धेरै बालबालिकाहरु विद्यालय बाहिर थिए, उनीहरु स्कुल नगएर होटेलमा काम गरिरहेको मैले देखेँ,’ मेयर थारुले नागरिकसँग भने, ‘त्यही बखत मैले म मेयर भएपछि पहिलो काम अभिभावकविहीनहरुका लागि बाल संरक्षण स्थापना गरी यस्ता नानीको स्याहार, आहारदेखि शिक्षा र समाजमा स्थापित गराउनेसम्मको काम गर्ने अठोट लिएँ। त्यही क्रमममा मेयर पनि भएँ।’ उनी थप्छन्, ‘हाम्रो बारबर्दिया नगरपालिकामा अभिभावकविहीनको अभिभावक सरकार बनेको छ। सबै बालबालिकाहरु विद्यालयभित्र छन्। बाल संरक्षण केन्द्रका सबै नानीहरु श्री सिम्हा मावि बर्दियामै पढ्छन्। हाम्रो पालिकाभित्रका सबै बालबालिकाहरु हाल विद्यालयभित्र छन्।’
शिक्षामा अब्बल बारबर्दिया
बारबर्दिया नगरपालिकाले सबैभन्दा महत्व शिक्षा क्षेत्रलाई दिएको छ। शिक्षामा ३० प्रतिशतमाथि बजेट छ। त्यही भएर मेयर थारुले शिक्षा क्षेत्रको दश वर्षे शिक्षा क्षेत्र योजनानै (सन् २०२१—२०३०) कार्यन्वयनमा ल्याएका छन्। यो शिक्षाको कुनै तहको योजना नभएर शिक्षाको समग्र योजना भएको मेयर थारुले बताए।
हालको अवस्थामा शैक्षिक अवस्था हेर्दा यहाँ बालविकासमा खुद भर्ना दर ९६.८३ प्रतिशत, कक्षा १ देखि ५ सम्मको खुद भर्नादर ९७.७ प्रतिशत र कक्षा १ देखि ८ सम्मको खुद भर्नादर ९७.१ प्रतिशत रहेको छ। भने कक्षा ९ देखि १२ सम्मको खुद भर्नादर ४७ प्रतिशत छ।
यसैगरी नगरपालिकाले सार्वजनिक गरेको १० वर्षे शैक्षिक क्षेत्र योजनामा तीन वर्षको कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुमा विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः बढेको छ। कक्षा १ मा ०७५ मा ६३.९१, ०७६ मा ६६.०६ र ०७७ मा यो थप वृद्धि भएर ७०.२६ प्रतिशत उपलब्धि पुगेको छ। यसैगरी कक्षा ८ को शैक्षिक उपलब्धि ०७५ मा ४७.१७ प्रतिशत थियो भने यो ०७६ मा ५३.७९ प्रतिशतमा कायम भएको थियो। ०७७ मा कक्षा ८ को अनिवार्य विषयको सिकाइ उपलब्धिमा थप वृद्धि भएर ६४.४९ प्रतिशत पुगेको छ।
कक्षा १० को ०७५ मा अनिवार्य विषयको सिकाइ उपलब्धि २.१३ प्रतिशत थियो भने ०७६ मा २.६५ प्रतिशतमा पुगेको थियो।
‘बढ्दो विद्यार्थी संख्याको तुलनामा शिक्षक अपर्याप्ततालाई मध्येनजर गर्दै हाम्रो नगरपालिकाले सामान्यीकरण अनुदानबाट प्राथमिक तहमा ३३, निम्न माविमा ४२ र मावि तहमा ३७ शिक्षक थप नियुक्ति गरेको छ।’ उपमेयर अंजु दहितले नागरिकसँगको भेटमा भनिन्, ‘संविधानले व्यवस्था गरेको आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा हाम्रो पालिकामा पूर्णत कायम गरिएको छ।’ उनले थपिन्, ‘कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुको तीन वर्षको शैक्षिक उपलब्धि क्रमशः बढेको छ।’
यस्तै, नगरपालिकाले शिक्षामा ३२.१० प्रतिशत बजेट विनियोजन गरेको उनले बताइन्।
कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ। बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो।
उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको छ। बाँकी जग्गा राजनीतिक पहुँचका आधारमा स्थानीय बासिन्दाले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। जग्गा अतिक्रमण गरी बसेका स्थानीयले २०६० सालसम्म जग्गा प्रयोग गरेबापत सरकारलाई राजस्व बुझाउने गरेका थिए। त्यसपछि बुझाउन छाडे।
कपास विकास समितिको टोली कुम्भर पुगी जग्गा उपभोग गर्दै आएका सेयर किसानसँग कपास खेतीको सम्भावना र जग्गाका बारेमा छलफल गरेको छ। व्यावसायिक रूपमा कपासको उत्पादन गर्ने योजना बढेकाले स्थानीयसँग सहमति गरी उक्त जग्गा फिर्ता लिने प्रक्रिया अघि बढाइने कपास विकास समितिका कार्यकारी निर्देशक बुद्ध थापा घर्तीले जानकारी दिए।
समितिले किसानको सहयोगमा कपास उत्पादन, अनुसन्धान, कपास खरिद तथा प्रशोधन, प्रशोधित कपास कपडा उद्योगलाई बिक्री गर्ने उद्देश्य लिएको छ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो। तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो। उक्त जग्गा कपास विकास समितिलाई उपलब्ध गराइए पनि हालसम्म सरकारले जग्गाको लालपुर्जा भने समितिलाई उपलब्ध गराएको छैन।
कपास खेती गर्ने जग्गामा स्थानीयले धान, गहुँ, मकै, मुसुरो र तोरीबाली लगाउँदै आएका छन्। आफूले उपभोग गर्दै आएको जग्गा आफ्नो नाममा सरकारले उपलब्ध गराउनुपर्ने कपास विकास सेयर किसान समितिका अध्यक्ष बुद्धि थारूले बताए। समितिसँग अहिले बाँकेको खजुरा गाउँपालिकामा १० बिघा जग्गा, कार्यालय भवन कपास प्रशोधनशाला तथा ६ गोदाम घर, पाँच कर्मचारी आवास गृह र आवास गृह छ।
यसैगरी बर्दियाको मधुवन नगरपालिमामा तीन बिघामा पक्की आवास गृह, गोदाम घर, कार्यालय भवन, बर्दियाकै बढैयाताल गाउँपालिकाको जमुनीमा पाँच बिघा १२ कठ्ठामा पक्की आवास गृह, गोदाम र कार्यालय भवन छ। दाङको तुलसीपुर उपमहानगरपालिकाको टरीगाउँमा तीन बिघा तारबार गरी राखिएको छ। मधुवन र जमुनीमा रहेको जग्गा तथा संरचनामा अहिले सशस्त्र प्रहरी बल बस्दै आएको कार्यकारी निर्देशक घर्तीले जानकारी दिए।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा २०३८ सालमा बर्दियाको कुम्भरमा स्थापना भएको यो समितिसँग मेसिनरी
उपकरण पर्याप्त भए पनि कपासको अभावमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छैन। बाँकेकोे, खजुरास्थित प्रधान कार्यालयमा तत्कालिन बिद्रोही नेकपा माओवादीले बम विस्फोट र आगजनी गर्दा करिब रु पाँच करोड ९३ लाख बराबरको क्षति भएको थियो।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...