वर्षौंदेखिका मुद्दा मिलाउँदै न्यायिक समिति
११ पौष २०७७
•
६ मिनेट पाठ
वर्षौंदेखिका मुद्दा मिलाउँदै न्यायिक समिति
स्थानीय तहमा गठित न्यायिक समितिले झगडियाबीच मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएका छन्। सानोतिनो विवादलाई लिएर कहिले प्रहरी, कहिले अदालत धाउने झन्झट हटेपछि स्थानीयलाई न्याय खोज्न राहत मिलेको हो।  




नाता सम्बन्ध कायम गर्ने, पति–पत्नीबीच कलह भएर सम्बन्धविच्छेद हुने अवस्था, जग्गाको साँधसीमा, घरेलु हिंसालगायतका मुद्दामा वडा–वडामै मेलमिलाप भइरहेको छ। वर्षौंदेखि परिवार र गाउँमा कचल्टिएर बसेका मुद्दामा समेत न्यायिक समितिमा आएपछि मेलमिलाप भएको छ। झगडियाबीचको विवादमा फैसलाले भन्दा पनि मेलमिलापले चाहिँ प्रभावकारी समाधान दिएको सम्बन्धित पक्षकै अनुभव छ।  

स्थानीय तहमा पालिकास्तरका न्यायिक समिति मात्र होइन, वडास्तरका मेलमिलाप केन्द्रसमेत गठन भइसकेका छन्। सेवाग्राहीले न्यायिक समितिमा निवेदन पेश गरेपछि छलफलका लागि मेलमिलापकर्ता समेत रोज्न पाउने भएकाले न्यायमा विश्वास बढेको देखिन्छ। जिल्लाका सबैजसो वडामा तालिमप्राप्त मेलमिलापकर्ता रहेकाले न्याय सम्पादन सजिलो भएको न्यायिक समिति संयोजकहरू बताउँछन्।  

न्यायिक समितिमा आफ्ना बुबासँगको नातासम्बन्ध कायम गरिपाउँ भनी निवेदन दिएका माई नगरपालिकाका एक बालकले न्याय अनुभव गरेको सुनाए। ‘सुरुमा त मैले मेरो बुबा पाउँछु भन्ने विश्वास थिएन,’ ती बालकले सुनाए, ‘तर, वडामा धेरैपटक छलफल गरेपछि कुरा मिल्यो।’ उनी अहिले बाबुसँगै घर बस्छन्, स्कुल जान्छन्। ती बालकले बाबु दाबी गरेको व्यक्तिले पहिले त छोरो स्वीकारेका थिएनन्। तर, मेलमिलाप केन्द्र र न्यायिक समितिले पटक–पटक प्रयास गरेपछि मेलमिलाप भएको हो। नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक विष्णुमाया रिमाल भन्छिन्, ‘त्यो (नाता सम्बन्धको) मुद्दा निकै समस्यामा थियो तर धेरैपटकको प्रयासपछि मिलेको छ। बालकले न्याय पाएका छन्। अहिले दुवै पक्ष खुसी पनि छन्।’  

देउमाई, इलाम र सूर्योदय नगरपालिका तथा चुलाचुली, माङ्सेबुङ, सन्दकपुरलगायत गाउँपालिकामा निकै वर्षदेखि मिल्न बाँकी मुद्दासमेत न्यायिक समितिमा आएपछि मिलेका छन्। सूर्योदय नगरपालिकामा पारिवारिक बेमेल भएर झन्डै दशकसम्म अलग्गै बसेका दम्पत्ती अहिले सँगै बस्न थालेका छन्। नगर उपप्रमुख दुर्गादेवी भट्टराईले धेरै लामो प्रयासपछि ती दम्पत्तीको झगडा मिलेको बताइन्। ‘पत्नीले पतिसँग सम्बन्धविच्छेद गरिपाउँ भन्दै न्यायिक समितिमा निवेदन हालेकी थिइन् तर भरसक मिल्ने अवस्था रहेछ भने परिवार नबिग्रियोस् भनेर प्रयास गर्दा सफल भयौं,’ उनले भनिन्, ‘झगडाको विषयवस्तु ठूलो थिएन तर प्रभावकारी समन्वयकर्ता नहुँदा ८ वर्षसम्म यो दम्पती अलग्गै बसेको रहेछ।’  

देउमाई नगरपालिकामा पनि वर्षौंदेखि मिल्न नसकेको दम्पतीको झगडा न्यायिक समितिले मिलाइदिएको छ। नगर उपप्रमुख पविमाया राईले सम्बन्धविच्छेदको माग गर्दै आएको निवेदनमा छलफल हुँदा दम्पतीहरू मिलेर घर फर्किएको बताइन्। ‘विवाद मिलेपछि पति–पत्नी घर फर्किए। सम्बन्धविच्छेद नगरी नहुने अवस्था देखाएर आएको विवाद मिलेर उनीहरूको सन्तानसमेत जन्मिइसकेको छ,’ राईले भनिन्, ‘मेलमिलाप र समन्वय गरिदिने मान्छे नभएको भए त्यो दम्पती सँगै बस्ने अवस्था आउने रहेनछ।’  

न्यायिक समितिदे जग्गाको साँधसीमा, भोगचलन, घरेलु हिंसालगायतका मुद्दामा मेलमिलाप गराएका छन्। वर्षौं अदालत धाउँदा नमिलेका मुद्दा न्यायिक समितिमा मिलेको न्यायिक समितिले जनाएका छन्। यसरी मेलमिलाप गर्दा खर्च थोरै लाग्ने, कानुनी झन्झट खेप्नु नपर्ने र छिटो छरितो हुने भएकाले स्थानीयलाई सजिलो भएको छ। मुद्दामा मेलमिलाप हुँदा दुवै पक्षले जित–जितको अनुभव गर्नेगरेको इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङ बताउँछिन्। ‘न्यायिक समितिमा आएका सबै मुद्दामा मेलमिलाप गर्ने प्रावधान त छैन तर मेलमिलाप गराउन सकिने मुद्दामा चाहिँ यो प्रणाली प्रभावकारी हुँदोरहेछ,’ उनले भनिन्, ‘फैसला गरेर मिलेकोभन्दा मेलमिलाप गरेको चाहिँ भावनात्मक हिसाबले प्रभावकारी बन्छ।’  

कोभिड–१९ का कारण लकडाउन हुँदा जिल्लाका केही स्थानीय तहमा घरेलु हिंसाका मुद्दा ह्वात्तै बढे। कामका लागि घरबाहिर जान नसकेर सबै परिवार घरपरिवारमै रहँदा यसरी घरेलु हिंसाका विवाद बढेको सूर्योदय नगरकी उपप्रमुख भट्टराईले बताइन्। सूर्योदय नगरमा लकडाउनको अवधिमा २८ मुद्दा दर्ता भएका छन्। ‘फुर्सद बढी हुने र खानलाउन अभाव हुने कारणले पनि आर्थिक अवस्था कम भएका परिवारमा हिंसाका घटना धेरै हुँदारहेछन्,’ उनले भनिन्, ‘अरूबेला तुलनात्मक रूपमा घरेलु हिंसाका मुद्दा धेरै थिएनन्।’

न्यायिक समितिहरूका अनुसार १० स्थानीय तहमध्ये ४ नगरपालिका र ६ गाउँपालिकामै जग्गासम्बन्धी विवादका सबैभन्दा बढी मुद्दा आउँछन्। घरेलु हिंसा, अंशवण्डा, कुटपिट, गाली बेइज्जतीलगायत मुद्दा त्यसपछिको संख्यामा छन्। गत आर्थिक वर्ष सन्दकपुर गाउँपालिकामा ३५ मुद्दा दर्ता भएको उपाध्यक्ष शोभा पराजुलीले बताइन्। दर्ता हुन आएका सबैजसो मुद्दामा मेलमिलाप हुनेगरेको उनको भनाइ छ।  

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले न्यायिक समितिलाई मेलमिलाप र विवाद निरूपण गर्ने अधिकार दिएको छ। आली, धुर, बाँध, पैनी, कुलो वा पानीघट्टको बाँडफाँट तथा उपयोग, अर्काको बाली नोक्सान गरेको, चरण, घाँस, दाउरा, ज्याला–मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति–पत्नीलाई इज्जत आमदअनुसार खान–लाउन वा शिक्षा–दीक्षा नदिएको विवाद निरूपण गर्ने अधिकार न्यायिक समितिलाई छ।  

वार्षिक २५ लाख रूपैयाँसम्मको बिगो भएको घरबहाल र घरबहाल सुविधा, अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्नेगरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेंसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनुपर्दा कानुनबमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडिएको विषयको विवाद न्यायिक समितिले निरूपण गर्न पाउँछ। न्यायिक समितिले कसैको हक वा स्वामित्वमा भएपनि परापूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, बस्तुभाउ निकाल्ने निकास, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटीपौवा, अन्त्येष्टिस्थल, धार्मिकस्थल वा अन्य कुनै सार्वजनिकस्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको र संघीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद निरूपण गर्नसक्छ।  

सरकारी, सामुदायिकबाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाइखाएको, आफ्नो हक नपुग्ने अरूको जग्गामा संरचना बनाएको, पति–पत्नीको सम्बन्धविच्छेद, अंगभंगबाहेकको बढीमा १ वर्षसम्म कैद हुनसक्ने कुटपिट, गाली बेइज्जती, लुटपिट, पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा पाल्दा लापरबाही गरी अरूलाई असर पारेको विषयमा मेलमिलाप गराउनुपर्ने व्यवस्था छ। समितिले अरूको आवासमा अनाधिकृत प्रवेश गरेको र अर्काको हकभोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको, ध्वनि प्रदूषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर गरेको, प्रचलित कानुनबमोजिम मेलमिलाप हुनसक्ने व्यक्तिवादी भइ दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवादमा मेलसमलाप गराउनुपर्छ। नमिलेका मुद्दा जिल्ला अदालतमा पुनरावेदन हुन्छन्।

तर, न्यायिक समितिमा आएका सबैजसो मुद्दा मेलमिलापमै टुंगिनेगरेको माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराई बताउँछिन्। ‘भरसक सबै मुद्दामा मेलमिलाप नै होस् भन्ने प्रयास गरिन्छ,’ उनले भनिन्, ‘विवादमा मेलमिलाप भयो नै त्यो स्थायी समाधान हुँदोरहेछ।’  

तर, झगडामा मेलमिलाप र फैसला गर्दा राजनीतिक व्यक्तिलाई अलि अप्ठ्यारो हुनेगरेको रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईको अनुभव छ। ‘हामीले तथ्य हरेर फैसला गर्छौं तर कतिपयलाई चित्त नबुझ्न सक्छ,’ उनले भनिन्, ‘यसले राजनीतिक जीवनमा चाहिँ अलि समस्या ल्याउँछ जस्तो लाग्छ।’ इलाम नगरपालिका उपप्रमुख नेम्बाङ न्यायिक समितिका मेलमिलाप, फैसला कार्यान्वयन गर्न समस्या भएको सुनाउँछिन्, ‘न्यायिक समितिले बोलाउँदा विपक्षी नआइदिने समस्या पनि छ,’ उनले भनिन्, ‘कतिपय फैसला र मेलमिलाप भइसकेपछि कार्यान्वयन गर्न समस्या छ।’
अर्को समाचार
महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी
वीरगञ्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ।  




महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म दर्ता भएका तीन ५३ उजुरीमध्ये दुई सय ८१ वटा किनारा लगाएको हो। उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०/८१ को आठ महिनामा चारवटा उजुरी फछ्र्यौट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए।

न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९/८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए। उनका अनुसार न्यायिक समितिले आव २०७४/७५ मा एक सय २६ वटा, आव २०७५/७६ मा ७७ वटा, आव २०७६/७७ मा ५४ वटा, आव २०७७/७८ मा आठवटा, आव २०७८/७९ मा चारवटा र आव २०७९/८० मा चारवटा उजुरी किनारा लगाएको छ।

वीरगञ्ज महानगरपालिकामा गत आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ। न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको उनको भनाइ छ। न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ। उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ।  

महानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएको छ। न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले जानकारी दिए।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस