गृह मन्त्रालयको निर्देशन लत्याउँदै सुर्खेतका प्रमुख जिल्ला अधिकारीले यात्रु बहाक बसमा मापदण्डभन्दा बढी यात्रुहरु चढाउन सिफारिस दिएको खुलेको छ। कोरोना संक्रमण रोक्नका लागि प्रशासन कार्यालय आफैले सुर्खेतमा निषेधाज्ञा जारी गरेका बेला प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतीय सेनामा कार्यरतहरुलाई बाँकेको कोहलपुर प्रवेशका लागि भदौ १४ गतेको सवारी पास दिएका थिए।
कोरोना संक्रमण रोक्नका लागि जारी गरिएको गृह मन्त्रालयको परिपत्र अनुसार १४ सिटे फोर्स बसमा सात जना यात्रुका लागि मात्रै सिफारिस दिनुपर्नेमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीले २० जना यात्रुका लागि सिफारिस गरेका हुन् ।
प्रजिअ रेग्ग्मीले हस्ताक्षर गरेको ‘सहजीकरण गरिदिने’ व्यहोराको पत्रमा सवारी चालक संगम विकलाई बा५ख ७०२८ नम्वरको गाडीमा २० जना यात्रुहरुलाई यात्राको अनुमति दिइएको छ। गृहको निर्देशिका अनुसार प्रमुख जिल्ला अधिकारीले १४ सिटे फोर्स बसका लागि सातलाई मात्रै यात्रा गर्नका लागि अनुमति दिइनुपर्ने थियो।
प्रजिअले २० जना यात्रु पु¥याउनका लागि सिफारिस दिएको बा५ख ७०२८ नम्वरको बस बुलबुले यातायात प्रालिमा आवद्ध छ। यो प्रालिसँग फोर्स बस मात्रै छ। संयुक्त यातायात सञ्चालक समितिका संयोजक नारायण चपाईले यातायात व्यवसायीहरुलाई सानो (फोर्स) बसमा सात र ठूलो बसमा १४ जना मात्रै यात्रुहरु बोक्न लगाउने प्रशासनले गृहको निर्देशनविपरित सात यात्रु बोक्न मिल्ने बसमा २० जना यात्रु कोचाकोच गरेर पठाएको बताए।
‘कोरोनाको कारण भन्दै प्रशासन आफैले हामीलाई सीट क्षमता भन्दा आधा यात्रु बोक्न प्रशासनले निर्देशन दिन्छ,’ संयोजक चपाईले भने, ‘प्रशासन भने सात यात्रु बोक्नुपर्ने फोर्स गाडीमा २० जना यात्रु बोक्न अनुमति दिन्छ।’ उनले सार्वजनिक सवारीमा जोर–विजोर लागू गरेर प्रशासनले थप दुःख दिने गरेको बताए।
कोरोना संक्रमणपछि सुर्खेतका सबै समिति मिलेर संयुक्त यातायात सञ्चालक समिति गठन गरेका छन्। समितिमा आठ सय गाडी आवद्ध छन्। ति मध्ये साढे पाँच सय जोड नम्वरका छन् भने बाँकी विजोर नम्वरका छन्। संयोजक चपाईले गाडीको सीट क्षमता नहेरेरै प्रशासनले हचुवाको भरमा यात्रु बोक्नका लागि अनुमति दिने गरेको आरोप लगाए।
‘हामीले रुटपरमिट अनुसार सञ्चालन गरेका सवारीमा अहिलेको मापदण्डभन्दा एक जना मात्रै धेरै यात्रु राख्दा ठाउँठाउँमा प्रहरी जरिवाना काट्ने गर्छ, प्रशासनको चिठ्ठीको भरमा जति पनि यात्रुहरु बोक्दा पनि केही हुँदैन्,’ उनले भने, ‘गृहको निर्देशन पालना गराउने कार्यालयलेनै निर्देशनको उलंघन गर्नु राम्रो होइन।’
प्रमुख जिल्ला अधिकारी रेग्मीले ४० सिटे बसका लागि आफूले अनुमति दिएको दावी गरे। उनीहरु भारतीय सेना भएको र संगोलमा जानुपर्ने भएकाले अनुमति दिइएको उनले बताए। ‘गृहले सार्वजनिक सवारीको क्षमता भन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन दिएपनि संगोल वा समूहमा बस्नेको आवश्यकता हेरेर सिफारिस दिन सकिन्छ,’ उनले भने, ‘भारतीय सेनाका जान लागेका २० जनाका लासग ४० सिटे बसको अनुमति दिइएको हो।’
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...