कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले एउटा कोठामा बढीमा तीनदेखि ६ जनासम्म राख्न सकिने । उनीहरुलाई ओढ्ने, ओछ्याउने र झुलको व्यवस्था गर्नुपर्ने । क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहान चिया खाजा, त्यसपछि खाना, दिउँसो खाजा तथा रात्रिकालिन समयमा खानाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, यो भन्दा विपरीत छ अहिले गाउँका क्वारेन्टिनको अवस्था ।
पिउनका लागि हेण्डपम्पको गन्हाउने पानी, शौचालय पनि उस्तै फोहोर, एउटै कोठामा १५÷२० जना लहरै भूइँमै गुन्द्री ओछ्याएर सुतेका छन् । मच्छर धपाउन सबैको हातमा रुमाल छ । न मच्छरदानी छ न त मच्छर धूप नै । पानी पर्दा चुहिने छानो छ । छानो चुहिएपछि सबै गोलबद्ध भएर एउटै ठाउँमा टाउको लुकाउँछन् । यस्तै अवस्थामा दिन गुजारिरहेका छन् क्वारेन्टिनभित्रका ‘मूर्ति मानवहरू’ ।
पानी परेपछि अस्ती रातभर जाग्रम बसेको बताउँदै गौरीगंगा–७, मट्कानास्थित सिंहासैन आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका लालबहादुर जोगीले भने,‘पानी परेपछि हामी बसेको भवन पूरै चुहिने रहेछ, रातभर एउटै ठाउँमा गोलबद्ध भई जाग्रम बस्यौँ ।’ खाना र खाजाको प्रबन्ध वडा कार्यालयबाट भए पनि साँझ बिहानको खाना बाहेक दिउँसो खाजा नपाएको बताउँदै क्वारेन्टिनमा बसेकाहरुले दुःख पोख्दै भने,‘बिहानै खाना खाएपछि दिनभर पानी पिएर बेलुकी मात्रै खाना खान पाउँछौँ ।’
सरकार राहतमा मात्रै सीमित रहँदा क्वारेन्टिन व्यवस्थापनमा खासै चासो नदेखाएपछि त्यहाँ बसेकाहरुले मापदण्ड अनुसारको सेवा लिन पाएका छैनन् – मानव अधिकारवादी
भारतबाट फर्केका नेपालीहरु अभावै अभावमा गुज्रिरहेको मापदण्डविपरीतको गाउँकै क्वारेन्टिनमा बस्न पाउँदा पनि मख्ख छन् । ‘कमसेकम हामी गाउँकै क्वारेन्टिनमा आएर त बस्न पाएका छौँ,’ मट्कौनाकै बमबहादुर चौधरीले भने,‘अभावै अभावमा भए पनि यसैमा सहेर बसेका छौँ ।’ रातभर मच्छरले सताउने गरेको बताउँदै तालबहादुर चौधरीले भने,‘मच्छर झुल नभएका कारण सुत्न समस्या त छँदैछ, त्यसमा पनि न्यूनतम सुविधा नहुँदा दिन कष्टकर वितिरहेको छ ।’ तर, पनि आफ्नै गाउँको स्कुलमा बस्न पाउँदा केही नबोलेको उनी बताउँछन् ।
सरकारले भने बमोजिमको न्यूनतम सुविधा नहुँदा पनि गाउँका क्वारेन्टाइनमा बसेकाहरु ‘मूर्ति मानव’ जस्तै बसिरहेको गौरीगंगा–६, का सुरत रावत बताउँछन् । उनले भने,‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ बारे जानकारी नहुँदा पनि यहाँ भित्रका मानिसहरु ‘मूर्ति मानव’ भएर बसिरहेका छन् ।’ उनीहरुको न्यूनतम आधारभूत आवश्यकताका बारेमा अहिलेसम्म न त मानवअधिकारबादीहरुले नै आवाज उठाइदिएका छन्, न त सामाजिक अगुवाहरुले नै ।
‘भारतबाट फर्केर आएकाहरुलाई स्कुलको कोठामा भेडा बाख्रा झैँ हुलेर राखिँदा उनीहरुको स्वास्थ्य तथा अधिकारका बारेमा कसैले बोल्नु त परै जाओस् अनुगमन समेत गरिदिएको छैन,’ उनले भने,‘क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहले छुट्याएको बजेट बारे कसैले पनि चासो नदेखाउँदा न्यूनतम मापदण्ड पनि स्थानीय तहले पूरा गरिदिएको छैन ।’
सामूहिक खाना खाँदै क्वारेन्टिनमा बसेकाहरु ।राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख झंकर रावलले सरकारी मापदण्डअनुसार यहाँका क्वारेन्टिन नरहेको बताउँदै भने,‘स्वास्थ्य, आवास, खाद्य अधिकारका क्षेत्रमा कुनै पनि क्वारेन्टिन गतिला छैनन् ।’ देश लकडाउनको अवस्थामा पुगेको अढाई महिना भइसक्दा पनि प्रदेश सरकार र स्थानीय तहले गतिलो क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेको बताउँदै उनले भने,‘यहाँका स्थानीय तह र प्रदेश सरकारको आपसी समझदारी पर्याप्त मात्रामा नभएका कारण पनि त्यसको असर क्वारेन्टिनमा बसिरहेकाहरुले दुःख झेल्नु परेको छ ।’
सरकारसँग विनियोजित बजेट हेर्दा पनि राहतमा केन्द्रीत भएको देखिएको बताउँदै उनले भने,‘सरकार राहतमा मात्रै सीमित रह्यो, क्वारेन्टिन व्यवस्थापनमा खासै चासो नदेखाउँदा त्यहाँ बसेकाहरुले मापदण्ड अनुसारको सेवा लिन पाएका छैनन् ।’ यहाँका क्वारेन्टिनहरु प्रायः सबै सामुदायिक भवन र स्कुलहरुमा रहेको उनले बताए । ति भवनमा पर्याप्त पानी र शौचालय तथा सरसफाई नहुँदा त्यहाँ बास बसिरहेकाहरुको स्वास्थ्यमा झनै नकारात्मक असर पर्ने उनी बताउँछन् ।
‘जसो तसो गरेर ७ दिन र १४ दिन कटेकाहरु सँगै नयाँ आएकाहरुलाई एकै ठाउँमा बसाल्दा उनीहरुको स्वास्थ्यमा झनै असर पर्छ,’ उनले भने,‘यसतर्फ पनि प्रदेश तथा स्थानीय तहले सोच्नु पर्ने बेला आयो ।’ यहाँ रहेको क्वारेन्टिनहरु क्वारेन्टिन नभई थुनुवा गृह भन्दा पनि कम मापदण्डको रहेको कुरा बाहिर आएको उनले बताए ।
क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा स्वास्थ्यकर्मी व्यवस्थापन निर्देशिकामा एमपिएच÷एमडी डाक्टर, मेडिकल अधिकृत, स्वास्थ्य परिचालिका, प्यारामेडिक, ल्याब टेक्निसियन, फर्मासिष्टका साथै २४ सै घण्टा एम्बुलेन्स सेवा तैनाथ गरिनु पर्ने उल्लेख छ । तर, यहाँ एक जना अहेव अधिकृत र एक जना अनमीले वडामा रहेका तीन वटा क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य जाँच सोधपुछका भरमै गर्नु परेको छ । ‘पर्याप्त स्वास्थ्य सामग्री नहुनु र स्वास्थ्यकर्मी नहुँदा पनि निर्देशिका अनुसार क्वारेन्टिनमा बसेकाहरुको चेकजाँच गर्न गाह्रो छ,’ गौरीगंगाका एक स्वास्थ्यकर्मीले भने,‘यस्तो अवस्थामा हामी मात्रैले कसरी स्वास्थ्य जाँच गर्न सक्छौँ ?’
स्थानीय तहसँग भएका स्रोत साधन तथा जनशक्ति परिचालन गरेर क्वारेन्टिन सञ्चालन गरिरहेको बताउँदै गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत ईश्वरी भुसालले भने,‘हामीसँग जे छ त्यही प्रयोग गरेर काम चलाइरहेका छौँ ।’
सुदूरपश्चिमका ९ जिल्लाका ८८ स्थानीय तहमा १ हजार ५ सय ४० स्थानमा क्वारेन्टिन निर्माण गरिएका छन् । ती क्वारेन्टिनमा अहिलेसम्म ५४ हजार ७ सय ५७ जना मानिस आश्रय लिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
२०७७ वैशाख ४ गते मुगुको खत्याड गाउँपालिका खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो। यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केस थियो। पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो। स्थिति भयावह बन्यो। आरडिटी परीक्षणमै कोरोनाले कर्णालीमा पहिलो पटक प्रवेश पायो। कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो। उतिबेला कामको सिलसिलामा कालापहाड जाने कर्णालवासी फर्कने क्रम जारी थियो। भारत हुँदै आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीव्र खतरा बढ्यो।
खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो। त्यो टोलीको नेतृत्वमा थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी। उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सूचना अधिकारीका रुपमा तोकिएका थिए।
डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउँदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौती थियो। नयाँ रोग, नयाँ भूगोल र नयाँ अनुभूतिसहित डा. बुढाथोकीले टोली खत्याड पुर्याए। पहिलो पटक पोजेटिभ देखिएकाले मनमा त्रास थियो। तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापबारे जानकार भएकाले खासै समस्या थिएन। उनले भने, ‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो। मानवको अस्तित्व संकट पार्ने गरी सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौती थिएन। तर स्वास्थ्यकर्मीको सक्रियता, नागरिकको जागरुकता र सरकारको जिम्मेवारीका कारण खत्याडमा संक्रमण दर बढेन। ’
डा. बुढाथोकीको टोली २०७७ वैशाख ५ गते नै खत्याडतिर प्रस्थान गर्यो। जतिसक्दो आरडिटी परीक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो। टोलीले रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर संक्रमितलाई राख्यो। लक्षणअनुसार औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो। १४ दिनको आइसोलेसन बसाइपछि संक्रमितको रिपोर्ट नेगेटिभ आयो। विस्तारै गाउँबस्तीमा खुसियाली छाउन थाल्यो।
खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो र आरडिटी परीक्षण गर्न थाल्यो। त्यो समयमा स्थानीयमा निकै त्रास थियो। कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो। कोरोना के हो ? कोरोनाको पहिलो चरण के हो भन्ने विषयमा अन्योल थियो। जुम्लादेखि हिँडेको चिकित्सकको टोली देखेर बाटामा स्थानीय आत्तिन्थे।
डा. बुढाथोकीले भने, ‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौं। जनता आत्तिएका थिए। हरेक बस्तीमा त्रास फैलिएको थियो।’ टोलीले संक्रमितको पिसिआर गर्यो। रिपोर्ट नेगेटिभ आयो। गाउँमा पोजेटिभ देखिँदा फैलिएको त्रास कम भयो।’ झन्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो।
जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रित भयो। आफू पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो। चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो। आरडिटी नगर्दा त्रास थियो। कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभूति हुन्थ्यो। तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे। औषधि बोकेर टोली गएकाले खासै समस्या थिएन।
यो रोग नयाँ भएकाले मृत्युदर बढ्ने र संक्रमण भयावह हुने निश्चित थियो। औषधि उपचार र उच्च सतर्कता अपनाउन थालिएको थियो। खत्याडमा पुगेर टोली जुन हिसाबले प्रस्तुत भयो। त्यही हिसावको हार्दिकता स्थानीयले देखाए। संकटभित्रको खत्याड बसाइ निकै आनन्ददायी र उपलब्धिपूर्ण बन्यो। डा. बुढाथोकीले भने, ‘कोरोना मैदानमा सेता एप्रोनधारी लडाकुको रुपमा प्रस्तुत भएर जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु। सजिलोमा सबैले साथ दिन्छन् तर संकटमा साथ दिनुको मज्जा अर्कै रहेछ।’
डा. बुढाथोकीसँगै डा. विशाल पोखरेल, डा. कपिल गुरागाईं, निशान्त लामा, विष्णुदत्त आचार्य र नवराज खड्का पनि खटिएका थिए। मुगुको खत्याडबाट फर्किएको टोली १० दिन क्वारेन्टिनमा बस्यो। खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको समूहलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो।
त्यसलगत्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय ग¥यो। डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए। क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परीक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो। उनीसँगै फार्मेसिस्ट सूक्ष्मा काफ्ले थिइन्। तीन हप्ता तातोपानीमा खटिएका उनी हरेक बस्ती पुगे। गाउँबस्तीमा कोरोना संक्रमणविरुद्धको कार्यक्रम गर्न थाले। सचेतना फैलाउन थाले। उनले भने, ‘जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मूर्त रुप पाउँदैनन्। त्यही भएर पहिलो जोड नै सचेतना बन्यो।’
संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो। बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो। जब चिकित्सकको टोली भित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो। पछिल्लो समयमा नजिकै गएर खानापानी छोड्न थालियो। जसले संक्रमितको मनोबल बढ्यो। उनले भने, ‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्नेबित्तिकै संक्रमित निकै उत्साहित हुन्थे। कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाबारे चासो राख्थे।’
दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो। सबैलाई अस्पताल ल्याएर राख्न नसकिने अवस्था रह्यो। बिरामीको प्रकृतिअनुुसार निगरानी गर्नुपर्ने भयो। हरेक पालिकामा कोभिड अस्पताल बने। सामान्य लक्षण देखिएका र लक्षण नदेखिएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।
डा. बुढाथोकीले भने, ‘कोरोनाले मानिसमानिस बीचको भौतिक दुरी मात्र बढाएन, एक मानवले अर्को मानवलाई गर्ने व्यवहार र सहयोगबारे समेत राम्रो पाठ सिकायो। स्वास्थ्य शिक्षा दिलायो। स्वास्थ्यप्रति संवेदनशील हुन प्रेरित गर्यो।’ पछिल्लो समय कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकाले सचेत रहन आग्रह गरिएको छ। सामाजिक दुरी कायम नगर्नु, मास्कको प्रयोग नहुनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। विगत तीन वर्षदेखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएका छन्। दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ। उनले भने, ‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ।’ डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्न आग्रह गरेगरेर मात्र अघि बढ्न आग्रह गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...