भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व
१४ फागुन २०८१
•
५ मिनेट पाठ
भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व
भगवान् शिवजी उत्पत्तिभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।




प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।  

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्रदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ। पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ। नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ। यो करिब पौने १२ बजे सकिन्छ। करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ। पौने तीन बजे हाराहारीमा यो सकिन्छ। चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ। जप, ध्यान, पूजा, अघ्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ। प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ। यसबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ। यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए। सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उनले बताए। निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ।

बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ला

महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको कोषले जनाएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन्। गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ। नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।  

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए। सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए। नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ। आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ। यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ। रासस
अर्को समाचार
शिवरात्रि : एक पवित्र पर्वोत्सव
१४ फागुन २०८१
•
४ मिनेट पाठ
शिवरात्रि : एक पवित्र पर्वोत्सव
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्थ्व भएको पर्वोत्सव हो। शिव, रुद्र, महेश अर्थात् महादेव आदि विभिन्न नामले विभूषित ईश्वर यी पशुपतिनाथ ज्योतिर्मय लिङ्ग विराजमान हुनु भएको देश नेपाल हो। यो पर्वोत्सव प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ।




फाल्गुन महिना शिशिरऋतुको दुई महिना मध्ये पहिल्लो महिनामा पर्दछ। यस महिनामा माघ महिनाको बखत महादेवको रुद्रतव्व अर्थात जगतलाई रुवाउनेमा संहार गर्ने तत्वले गर्दा पत्र विहीन भई जीर्ण–शीर्ण भईरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवतत्व अर्थात् जगतको कल्याण गर्ने तत्वले गर्दा चलाउन थाल्दछन्। त्यसरी जीर्ण–शीर्णलाई समाप्त गरी नवीनताको रुप प्रदान गर्ने शिवतत्व स्पष्ट रुपले प्रकट हुने महिना भएकोले फाल्गुन महीनामा यो शिवरात्रि पर्वोत्सव मनाउने गरिएको हो भन्ने कथन छ। यो पर्वोत्सव मनाइने प्रकार बारे विहान सबैरैदेखि मानिसहरूले अरु चाड–पर्व मनाउँदा झै यस दिन पनि स्नानादि अनेक शुद्ध गर्ने कार्यहरू गरिसकेपछि देशभरका प्रायः सबै शिव मन्दिरहरूमा आ–आफ्ना श्रद्धा–भक्ति विभष अनुसार दर्शन, पठन–पाठन, प्रहर–प्रहरका पूजन, जप, ध्यान, दान, नाच गान, भजन आदि गर्दछन्।

ब्रत उपवास बस्नेहरूले घर घरमा पनि त्यस्तै कार्य गर्दछन्। यस दिन खास गरिकन पशुपति नाथको मन्दिरमा ठूलो मेला लाग्दछ र त्यहाँ नेपाल अधिराज्यभरका अर्थात् पहाड, तराई र उपत्यकाका लाखौं नरनारीहरू र हजारौं संख्यामा विदेशीहरू समेत जम्मा हुन्छन्। तिनीहरूले त्यहाँ शिवरात्रिको रातमा चार प्रहरको चार किसिमको पूजा गर्नको साथै महादीप, अखण्ड दीप, लखबत्ती आदि दीपोत्सवका साथ लख विल्वपत्र अर्पणादि गर्दछन्। यसको अतिरित्त शिवरात्रिको व्रत लिने मानिसहरूले त्रयोदशीको दिनमा एक छाक मात्र खाई चतुर्दशीको दिन बिहान कालो तिल आदिले नुहाएर प्रत्येक प्रहरमा षोडयोपचारले शिवजीको पूजा गर्दछन्। पूजा गर्दा धतुरो, बेलपत्रादि पनि चढाउँछन्। यो पर्वोत्सवको दिन दिउँसो टुंडिखेलमा बढाइँ गर्ने भनी तोप र बन्दुकको ब्ल्याङ्क फायर गरिन्छ र राति शिव–मन्दिरहरू र अरु अरु पनि देव देवीहरूका मन्दिर अगाडि आगो बालेर भजन, कीर्तन गरी जाग्राम बस्ने गरिन्छ। त्यसरी राति बालिएका आगोमा हलुवा पकाउने तथा मकै, मटमास, बदाम आदि भूट्ने पनि गरिन्छ। यी वस्तुहरू जाग्राम बस्ने मानिसहरूले आपस आपसमा बाँडेर खान्छन्। यो भन्दा अघि शिवरात्रिको दिन बेलुकीपख टोल टोलका केटाकेटीहरू एकएक हुल बाँधी “महादेवलाई जाडो भयो दाउरा दुइ दुइ कप्टेरा पाउँ” भनी दाउरा माग्दै हिँडेको दृश्य खुब रमाइलो देखिन्छ। तर आजकल यस प्रकारले यो पर्वोत्सव मनाइएको कमै मात्रामा देख्न पाइन्छ।  

यो पर्वोत्सवमा पशुपतिनाथको दर्शन गर्न काठमाडौँ उपत्यकामा आउने यात्रीहरूको सुखसुविधाको लागि सरकार तर्फबाट केही दिन अगाडिदेखि नै ठाउँठाउँका पाटी, पौवा, सतल, धर्मशालाहरू खुला र सफा सुग्घर गराई ठाउँ ठाउँमा छप्पड समेत बनाउन लगाई चाहिने ठाउँमा अस्थायी अस्पतालहरू, पाइखाना र इत्यादि चाहिने कुराको सबै बन्दोबस्त गराइन्छ। यात्रीहरू र भरियाहरूको लागि बढी भाग, महसूल र ज्याला लिन नपाइने प्रबन्ध पनि सरकारबाट मिलाइन्छ। साथै शिवरात्रिको केही दिन अघिदेखि दुई–तीन दिन पछिसम्म शिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आएका सिद्ध, यति, साधु, सन्त तथा महात्माहरूलाई सरकार तर्फबाट सौदा, हण्डी र खाने कुरो तथा लत्ता–कपडाहरू पनि बाडिन्छ। यस बाहेक सामाजिक संस्थाहरू, स्वयंसेवकहरू र स्कूल–स्कूलका बालचरहरूले पनि अनेक प्रकारले यो शिवरात्रि चाड पर्वोत्सवको बेला यात्रीहरूको सेवानार्थ गर्नमा तल्लीन हुन्छन्।  

फाल्गुन कृष्ण त्रयोदशीको दिन स्नानादि कार्य गरी ब्रतोपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी सिद्धिई चतुर्दशी लाग्ना साथ महादेव र शिवलिङ्ग परिक्रमा गरी अर्ध दिने र शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्ने कार्यहरू गर्नाले सर्व शिद्धि लाभ हुन्छ भनी यो शिवरात्रि पर्वोत्सवको महत्व बारे लिङ्गपुराणे ‘महादेव वचन’ भनी लेखिएको छ। साथै ‘भारतीय ब्रतोत्सव’ नामक पुस्तकमा पनि अमान्तमासको दृष्टिकोटबाट भनी यस शिवरात्रि पर्वोत्सवको महत्व बारे शिवजीले पार्वतीलाई बताउनु भएको कुरा लेखिएको छ। पार्वतीले शिवजीसँग व्रतोत्सव मध्ये सर्वोत्तम व्रतोत्सव कुन हो भनी सोध्दा शिवले व्रतोत्सवहरू मध्ये सर्वोत्तम व्रतोत्सव शिवरात्रिको व्रतोत्सव हो र यस दिन जो व्यक्तीले शुद्ध भई शुद्ध चित्त राखेर ब्रतोपवास बस्दछ त्यो व्यक्तियमलोक जानु पर्ने कार्यबाट मुक्त हुन्छ भन्नु भयो। यस प्रकार यस पर्वोत्सवको महत्व बारेका कुराहरू लेखिएको देखिन्छ।

उपर्युक्त कथनहरूको आधारमा मात्र मनन गर्दा यो पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू धार्मिक तथा आध्यात्मिक कुराहरू मात्र हुन् कि भने जस्तो लाग्छ। तर अलि बढी विचार गरेर हेर्दा यो शिवरात्रि पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू उपर्युक्त कारणहरूको अतिरिक्त वैज्ञानिक, आर्थिक, तथा स्वास्थ्य–रक्षा आदिका कारणहरू पनि हुन् भन्ने कुरा स्पष्ट तवरले देखिन आउँदछ। यो पर्वोत्सवको बखतमा स्नान तथा शुद्धीका कार्य गरिने हुनाले स्वास्थ्य रक्षा हुने कुरा पनि देखिन्छ। साथै यो बखतमा देश–विदेशबाट धेरै मानिसहरू आउने हुँदा यहाँ बनाइएका विभिन्न प्रकारका वस्तुहरू बिक्री भई देशको लागि आर्थिक लाभ पनि हुन्छ। यो पर्वोत्सव मनाउनाले आफ्नो संस्कृतिको रक्षा भइरहन्छ। कारण यो शिवरात्रि नेपाल अधिराज्यको राष्ट्रिय सांस्कृतिक पर्वोत्सव हो भन्नुमा दुई मत छैन। तसर्थ हामी सबैले यो पर्वोत्सवको महत्व बुझ्न जरुरी देखिन्छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस