भैलद्यको २९ ताहामचा प्रर्दशनसहित गाईजात्रा मनाइयो
०४ भदौ २०८१
•
४ मिनेट पाठ
भैलद्यको २९ ताहामचा प्रर्दशनसहित गाईजात्रा मनाइयो
भक्तपुरको गाईजात्राको विशेष आकर्षणका रुपमा रहेको भैलद्यको ताहामचा अर्थात भैरबको प्रतीकका रुपमा (परालबाट बनाइएको गाईको प्रतीक)को घिन्ताङघिसी नाच प्रर्दशन गर्दै यसवर्षको मुख्य गाईजात्रा सम्पन्न भएको छ ।




यस वर्ष भैलद्यको एक परालको तामचासहित अन्य २८ जनाको ताहामचा सहित २९ वटा ताहामचा एकै पटक निकालेर पाँचतले मन्दिर प्राङ्गणलगायत दरबार क्षेत्रमा गोलाकार रुपमा प्रर्दशन गर्दै जात्रा समापन भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

लाकुलाछें (पोटरीक्षेत्र) बाट निकालिने भैलद्यसहितको ताहामचा र घिन्ताङघिसी साँंझ प्रर्दशन गर्दै जात्रा सम्पन्न भएको हो । वर्ष दिनयता दिवङ्गत भएकाको सम्झनामा मंगलबार भाद्र शुक्ल प्रतिपदामा मनाइने यो जात्रामा दिवङ्गत भएकाहरुको परिवारका सदस्य वा आफन्तको स्मृतिमा साँस्कृतिक झाँकी, हास्यव्यङ्ग्यसहित जात्रा प्रर्दशन गरिएको छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाचसँगै ताहामचालाई परिक्रमा गराई मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा यसवर्ष युवाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

ताहामचा चारवटा बाँसबाट बनाइन्छ । करिब १५ फिट लामो चारवटा हरिया बाँसलाई कपडाले बेरेर शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले वेताली बाँधेर बनाइन्छ ।

त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फुलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फुलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिनमाथि गोलाकार तर झण्डा जस्तो देखिने)सजाइन्छ ।  

द्योःगाचा अष्टमातृकाको प्रतीक खास्तो राखी छाता ओढाइन्छ । ताहासाको बीचमा जामाचा लगाई लामो दुईवटा पटुका बाँधिन्छ । अगाडि पछाडि भगवान र मृतकको तस्बिरसहित ऐना राखिन्छ ।

भक्तपुरमा कुमालेहरुले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले पुख्र्यौली पेशाअन्तर्गतको माटोबाट गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिएको छ । साथै केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गरिएको छ ।

गाईजात्रा निकाल्नु अघि ताहामचा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलगायतलाई सगुन दिन मृतकको छोरीहरु र क्रियापुत्रलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला सदस्यहरु रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानका रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रोलगायत फलफुल र दही चिउरा टोल छरछिमेकमा बाँडिन्छ । बाँसको नोल लगाएर ताहामचालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगर परिक्रमा गराइन्छ ।

नगर परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरु र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयहरुले आफनो गच्छेअनुसार रोटी, फलफुल, विस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो, निलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई नगर परिक्रमा गराईन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । त्यसैगरी गर्भवती महिलाको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एक परिवारमा दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ्ग राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास छ । भैरवको ताहामचा ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहामचा पनि भैरवको ताहासाँसँग लानुपर्ने चलन छ ।

भैरवनाथको ताहासालाई नगरपरिक्रमा गराउँदा टौमढी, दरबरा क्षेत्र  र तचपालमा तीन–तीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहामचा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म मनाइन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन  छ ।

गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिँह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्राडा श्रेष्ठ बताउँछन् ।रमेश गिरी/रासस
अर्को समाचार
देशमा बाह्रैमास ‘गाईजात्रा’
०५ भदौ २०८१
•
४ मिनेट पाठ
देशमा बाह्रैमास ‘गाईजात्रा’
आठ रात नौ दिन चल्ने गाईजात्राले भक्तपुरलाई छपक्कै छोपेको छ। दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो। सांस्कृतिक गाईजात्राको यही माहोेलमा रमाइरहेका केही जात्रालुले भने देशको ‘गाईजात्रा’बारे दुखेसो पोखे।




‘हाम्रो समाजमा चल्दै आएको संस्कारको गाईजात्रा त एक सातासम्म रमाइलो गर्दै सकिन्छ,’ भक्तपुरका नवीन प्रजापति भन्छन्, ‘मुलुकमा चलेको यो कुसंस्कार गाईजात्रा कहिले सकिने होला ? मुलुकका हरेक क्षेत्रमा बेथिति बढ्दै गएको र अनियमितता र भ्रष्टाचारले प्रश्रय पाएको बताउँदै नागरिक जीवनमा भने दुःख र अभावको पीडा थपिएको उनको बुझाइ छ । ‘यहाँ वर्षौंदेखि दुःख, पीडा, अभाव र अव्यवस्थापन गाईजात्रा चलिरहेको छ,’ उनले भने, ‘असुरक्षा, दण्डहीनता र अराजकताका कारण नागरिकले भयभीत भएर बाँच्नुपर्ने अवस्था आएको छ ।’  

उनको कुरामा सहमत छन्, नरेन्द्र अवाल पनि । लौरो जुधाएर खेलिने घिन्ताघिसी नाच हेरिरहेका उनले सत्तामा बसेकाहरूले सिङ जुधाएर राजनीति गरिरहेको सुनाए । ‘संस्कृतिका कारण लौरोबाट निस्केको ट्वाक–ट्वाकको आवाज पनि मधुर लाग्छ,’ उनले भने, ‘तर सत्ताको खेलमा भएको टकराव निकै कर्कश लाग्छ।’ मुलुकमा चलिरहेको यही कर्कश जात्राका कारण दैनिक हजारौं युवा बाहिरिनुपरेको उनले बताए।

गाईजात्रा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइन्छ । जात्राको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। तर मुलुकका विकृतिहरूले कहिल्यै पार हुने हो भन्ने सर्वसाधारणको चिन्ता छ।

‘मुलुकको यो अराजक जात्राले कहिले वैतरणी पार गर्ने होला,’ विनेश ग्वाछा भन्छन्, ‘गाईजात्राको झाँकीमा हामी राजनीति गर्नेको अनुहार पनि देखिरहेका छौं । हामी मुलुकको विकृति अन्त्य भएको जात्रा हेर्न चाहन्छौं।’

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कु’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो। उतिबेला गाईजात्राको अवसरमा शासकलाई व्यंग्यसमेत गरिने गरेको सांस्कृतिक तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘शासक जतिसुकै कडा भए पनि मनमा लागेका कुरा भन्ने चलन थियो,’ ग्वगं भन्छन्, ‘शासकले पनि त्यसबाट आफूलाई सुधार्ने अवसर पाउँथे।’

उनले यसो भने पनि पछिल्लो समय शासक आलोचनाबाट रमाउने गरेको कतिपयको बुझाइ छ। ‘अहिले जोसुकैलाई सिधै आलोचना गर्न पाइन्छ,’ अनिश थापा भन्छन्, ‘तर उनीहरू सुध्रने लक्षण देखिन्न ।’ गालीदेखि लाज नमान्ने शासक झनै खतरनाक हुने उनको बुझाइ छ।

मंगलबार बिहानैबाट सुरु भएको यो जात्रा निकै आकर्षक देखिएको छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरालगायतका नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । तर भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालुप्रेमी आउने गर्छन्। जात्रामा रमाउँछन् र फर्कन्छन्।

‘जात्रा हेर्न थानकोटबाट आएको हुँ,’ भक्तपुरमा भेटिएका प्रदीप काफ्ले भन्छन्, ‘जात्रा निकै रमाइलो लाग्यो ।’ सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन्। गाईजात्राको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताए। उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमंग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

‘समाजका विकृति र विसंगतिको उजागर भएको धेरै भयो तर यसको निराकरण हुन सकेको छैन,’ काफ्ले थप्छन्, ‘हामी विकृति र विसंगति दण्डित भएको हेर्न चाहन्छौं ।’ भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ। प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्छ। जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तागिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ। नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइराख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्दै आएको हो। यो क्रमलाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ।

तर मुलुकको चलिरहेको जात्रालाई दण्डित गर्न जरुरी रहेको कतिपय बताउँछन्। गाईजात्राका लागि गथामुँग (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। ‘यो विंसगतिको गाईजात्रा गर्नेलाई जनताले निर्णायक बनेर दण्डित गर्नु जरुरी छ।’ नवीन प्रजापति थप्छन्, ‘अराजकताको घण्टाकर्णको अन्त्यसँगै समग्रमा गाईजात्राले सार्थकता पाउनेछ।’  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस