१९ गते बाट सुरु बुढीगंगा नगरपालिकामा सर्वाधिक धनराशिको प्रथम मेयर कप भलिबल प्रतियोगिता जारी छ। कंचनपुर, बैतडी, अछाम, डोटी र बाजुराका गरी १६ टिम सहभागी प्रतियोगितामा विजेताले १ लाख ५७ हजार ७ सय ७७ रुपैयाँ पाउने छन्।
रुकुमपश्चिममा १६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त
भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तथ्याङ्क सङ्कलन जारी रहेकाले यो संख्या बढ्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको भनाइ छ।
दाङमा पहिलो पटक गैर आवासीय नागरीकता प्रदान
गृह मन्त्रालयको नयाँ नियम र परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङबाट सोमबार पहिलो पटक गैर आवासीय नागरीकता प्रदान गरिएको छ। नागरीकता पाउने पहिलो गैर आवसीय नागरिकमा घोराही उपमहानगरपालिका–१७ का पुष्पराज आचार्यका छोरा किशोर कुमार आचार्य रहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको भनाइ छ।
रोकिएका आन्तरिक उडान सुरु गर्न व्यवसायीको अनुरोध
नेपालका पूर्वी सहरसम्मको सिधा हवाई पहुँच नियमित गर्न ‘जाउँ है पोखरा अभियान’ चलाउन होटल संघ पोखराको माग गरेका छन्। पहिलेदेखि नै सञ्चालनमा रहेका विराटनगर, भद्रपुर, जनकपुर र सिमराका उडान नियमित भए आन्तरिक र भारतीय पर्यटकको आउजाउ बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ।
सयपत्री फूलको मालाको मूल्य निर्धारण
व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै चितवनका किसानले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका छन्। बजारलाई एकरूपता ल्याउन होलसेल र खुद्रा मूल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाको भनाइ छ।
मूल्य निर्धारण नहुँदै चिनीमिल संचालनमा
सरकारले उखुको मूल्य निर्धारण नगर्दै रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिलले चलान वितरण कार्य सुरु गरेको छ। गत वर्षको मूल्यमा किसानलाई उद्योगले भुक्तानी गर्दै जाने र बाँकी रकम मूल्य निर्धारण भएपछि भुक्तानी गरिने उद्योगका महाप्रबन्धक बैजु बाबराको भनाइ छ।
एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने
केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने नेकपा एमाले संसदीय दलले निर्णय गरेको छ। विश्वासको मत कायमै राखे पनि विपक्षमा बस्ने निर्णय गरेको एमाले संसदीय दलका उपनेता रामबहादुर रानाको भनाइ छ।
कार्यालय नै स्थापना गरी बैंकका खाता ह्याक गर्ने गिरोहका ९ जना धनगढी प्रहरी नियन्त्रणमा, गिरोहका मुख्य नाइके विशाल सुनारको घरबाट झण्डै ४७ लाख नगद सहित १० ल्यापटप बरामद।
०००
कांग्रेस र एमालेले बनाए दुई सय ५० टहरा
नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताद्वारा भूकम्प प्रभावित जिल्ला जाजरकोटमा झण्डै तीन सय टहरा निर्माण, एमालेले डेढ सय अस्थायी टहरा निर्माण गर्दा कांग्रेसले गर्यो एक हजार घर निर्माणको घोषणा।
०००
हत्या आरोपमा आठ जना पक्राउ
गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयद्वारा आठ जना प्रहरी नियन्त्रणमा, पक्राउ गरिएकाहरूको नाम गोप्य, उक्त घटनामा संलग्न थप तीनजना अझै फरार।
०००
केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा क्रिकेट मैदानमा केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, १२ टिमबीच हुने प्रतिस्पर्धामा विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने।
०००
वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनभित्र होटल निर्माण गर्न दिएको आरोपमा १२ जना विरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर, निकुञ्जका संरक्षण अधिकृत, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध मुद्दा दायर गरेको अख्तियारको भनाइ।
०००
मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते
सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु एक गम्भीर घाइते, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको निधन हुँदा घाइते १५ वर्षीय युवराजकुमार यादवको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार हुँदै।
०००
आगलागीमा परी मृत्यु हुने संख्या तीन पुग्यो
उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये मृत्यु हुनेको संख्या ३ पुगो, ४ जना प्रहरीसहित २८ जना घाइतेको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै।