त्रिपक्षीय प्रतिस्पर्धा
२४ कार्तिक २०७९
•
७ मिनेट पाठ
त्रिपक्षीय प्रतिस्पर्धा
कमल थापा र महालक्ष्मी उपाध्याय डिना,दीपक सिंह।
चार दशकसम्म कमल थापाको राजनीतिक सहयोगी थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंह। तर २०७८ फागुनबाट सिंह र कमल थापाको बाटो अलग बन्न पुग्यो। राप्रपा अध्यक्षमा पराजित भएपछि थापा राप्रपा नेपाल ब्युँताउन लागे भने सिंह आफ्नै बाटोमा हिँडिरहे। पहिला एकअर्काका सहयोगी थापा र सिंह अहिले मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।  




थापा र सिंह मात्र होइन, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छिन्। राप्रपा नेपालका अध्यक्ष थापा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार बनेका छन्। यसैकारण उनलाई एमालेको साथ छ। कांग्रेसबाट उम्मेदवार बनेकी सहमहामन्त्री उपाध्यायलाई सत्ता गठबन्धन दलको साथ छ। सिंह राप्रपाबाट उम्मेदवार बनेका हुन्।

सत्ता राजनीतिमा चतुर थापाले एमालेले रामेश्वर रानालाई दिइसकेको टिकट फिर्ता गराएर उम्मेदवारी दिएका हुन्। यिनै थापा २०७४ सालको चुनावमा कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन लगाएर कांग्रेसकै समर्थनमा चुनाव लडेका थिए। २०४८ सालदेखि २०७० बाहेकका सबै निर्वाचनमा थापाले प्रतिस्पर्धा गरेका छन्। २०४८ सालमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०७० मा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।  

कांग्रेसकी उपाध्याय २०७४ सालमा प्रत्यक्षबाट चुनाव लडिन्। तर उनी वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विरोध खतिवडासँग पराजित भइन्। २०६४ र २०७० सालमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी उनी २०५१ र २०५६ सालका निर्वाचनमा भने उम्मेदवार बनिनन्।  

निर्वाचन प्रतिस्पर्धामा उत्रिए पनि राप्रपाका सिंह अहिलेसम्म जनअनुमोदित हुन सकेका छैनन्। २०५४ सालमा पहिलोपटक हेटौंडाको मेयरका लागि उम्मेदवार बनेका सिंह एमालेका डोरमणि पौडेलसँग पराजित भए। उनी २०५६ सालमा एमालेका खतिवडा र २०७० सालमा एमालेकै अनन्तप्रसाद पौडेलसँग पराजित भए। गत वैशाख ३० गते भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पराजित सिंह अहिले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनमा यिनै तीन नेताबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

सूर्य चिह्न लिएर चुनावमा उठेका थापालाई यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन। थापाका ‘खास मान्छे’का रूपमा चिनिएका सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। थापाकै मान्छे भएर वर्षौं काम गरेका मधु अधिकारी नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ र खिलप्रसाद चौलागाईं एमालेतर्फ लागेका छन्। पार्टीको आन्तरिक निर्वाचनमा हार्नेबित्तिकै पूर्वराजा र दरबारलाई दोष देखाउँदै थापाले राप्रपा नेपाल ब्युँताएका थिए। यो कदमबाट थापाका आफ्ना भनिएका मानिस पनि असन्तुष्ट छन्। सूर्य चिह्नमा उम्मेदवार बनेका थापालाई एमालेका नेताकार्यकर्ता रिझाउनुपर्ने र राप्रपा नेपालका नेताकार्यकर्तालाई सूर्य चिह्नमा मतदान गर्न फकाउनुपर्ने अवस्था आइलागेको छ।  

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणाम हेर्दा एमालेको समर्थनमा उम्मेदवार बनेका थापालाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ। स्थानीय तह निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा उम्मेदवार नउठाएर राप्रपा नेपालले एमालेलाई सहयोग गरेको थियो। थापाले स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने आश्वासन दिए पनि उनको पार्टीका कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई मत दिएको आरोप त्यतिबेलै लागेको थियो।  

स्थानीय तह निर्वाचनमा मकवानपुरका १० वटा पालिकामध्ये ८ वटाको नेतृत्वमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्थानीय तह निर्वाचनमा उम्मेदवारी नै नदिएको राप्रपा नेपालको पक्षमा कति मत छ भन्न सकिने अवस्था छैन। मकवानपुर १ मा चारवटा पालिकाका ४० वटा वडा पर्छन्। हेटौंडाका १५ वटा वडा, मकवानपुरगढीका चारवटा वडा, बकैया गाउँपालिकाका १२ वटा वडा र वाग्मतीका नौवटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन्। ४० वटा वडामध्ये १४ वटा वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन्। यो क्षेत्रमा पर्ने चारवटै पालिकामा एमालेका प्रमुख उपप्रमुख विजयी भएका छैनन्। यस निर्वाचन क्षेत्रमा १ लाख ५० हजार १५५ मतदाता छन्।

उपाध्यायलाई कांग्रेसकै डर

पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरमा संस्थापन पक्षबीच नै फाटो देखिन्छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको बीचमा खटपट रहेको नेताहरूको भनाइ छ। मकवानपुर १ (ख) बाट प्रदेशसभा सदस्यका लागि कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार छन्। उनलाई उपाध्यायकै जोडबलमा उम्मेदवार बनाइएको चर्चा छ। तर कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले भने कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाउन चाहेका थिए। कांग्रेसको १४औं महाधिवेशनका क्रममा जिल्ला सभापतिमा कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पराजुली र लामाबीच दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएको थियो। तर पराजुलीले दोस्रो चरणको चुनावमा लामालाई सभापतिमा सघाएका थिए। २०७४को स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा झिनो मतले पराजित पराजुली यस क्षेत्रका लोकप्रिय नेतामध्येमा पर्छन्।  

पछिल्लो स्थानीय तह निर्वाचनमा पराजुली हेटौंडा उपमहानगरपालिकाको मेयर पदको दाबेदार रहेका थिए। भागबन्डामा हेटौंडाको मेयर नेकपा एसको भागमा परेपछि पराजुलीले आफ्नो दाबी छाडेका थिए। त्यसपछि उनी गठबन्धनबाट नेकपा एसका उम्मेदवारलाई मेयरमा जिताउन लागेका थिए।

कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रदेश सभापति बानियाँ विशिष्ट अतिथि रहने भनिएको थियो। तर उनी कार्यक्रममा उपस्थित भएनन्। उनी मात्रै होइन, जिल्ला सभापति लामा, उपसभापति, सचिव, सहसचिवलगायतका नेताहरू कार्यक्रममा नआउनुले कांग्रेसमा असन्तुष्टि रहेको चर्चा सुरु भएको छ।  

धेरै नेताकार्यकर्ताले आन्तरिक लडाइँ र प्रतिशोधका कारण नेताहरू कार्यक्रममा सहभागी नभएको आंकलन गरेका छन्। तर प्रदेश सभापति बानियाँले भने अर्को कार्यक्रममा व्यस्त भएकाले उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन्। पार्टीको आन्तरिक निर्वाचनको विषयलाई लिएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसकै केही नेताले आफ्नै उम्मेदवारलाई धोका दिनसक्ने अड्कलबाजी पनि भैरहेको छ। एमालेका उम्मेदवारले समेत कांग्रेसमा आन्तरिक विवाद रहेकाले आफूहरूको जित सुनिश्चित रहेको भाषण गर्दै आएका छन्।

एमाले नेताकार्यकर्ता फकाउँदै थापा

जिल्लामा बलियो शक्तिका रुपमा रहेकोे एमालेको समर्थन र चिह्नमा उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ। वर्षांैदेखि एमालेसँग चुनावमा पराजित हुँदै आएका उनलाई अहिले एमाले नेतृत्वले समर्थन गरे पनि कार्यकर्ता भने असन्तुष्ट छन्। थापाको चुनावी अभियानमा एमालेका कार्यकर्ता खुलेर हिँडेको देखिँदैन। थापालाई एमालेका रुष्ट कार्यकर्तालाई फकाउनुपर्ने र आफ्नै दलका कार्यकर्तालाई एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न लगाउनुपर्ने बाध्यता छ। थापाका धेरै नेताकार्यकर्ता राप्रपामा गएका छन्।

थापाले हेटौंडामा भएका हरेक कार्यक्रममा सूर्य चिह्नमा निर्वाचन लड्न पाउनु गर्वको विषय भएको बताउँदै आएका छन्। यसपटक जित्नैपर्ने भएकाले एमालेको चुनाव चिह्न लिएर चुनावमा उठेको उनले बताउने गरेका छन्। थापाले सूर्य चिह्नबाट निर्वाचित भएपछि एमाले संसदीय दलको ह्विप स्विकार्नुपर्ने भएकाले राप्रपा नेपालका कार्यकर्तामा पनि उत्साह देखिएको छैन।

आआफ्नै दाबी

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उपाध्याय र एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाबीचमै मुख्य प्रतिस्पर्धा हुने आकलन छ। दुवै नेताले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्। ‘बाहिर विरोधीले हल्ला गरेजस्तो कांग्रेस मकवानपुरमा कुनै विवाद छैन। गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ। मकवानपुरलाई नै भूगोल बनाएर यहाँको जनताको सुखदुःखमा वर्षौंदेखि साथ रहँदै आएको र गठबन्धनप्रति इमानदार भएकाले मेरो जित सुनिश्चित छ’, उपाध्ययाले भनिन्, ‘मकवानपुरको पूर्वी भेगमा माओवादीको पनि राम्रो स्थान छ, कांग्रेसको पनि राम्रो छ, गठबन्धनमा रहेका दलका नेताकार्यकर्ता पनि इमानदार भएर चुनावमा लागेका छन्।’ समानुपातिकतर्फ १ नम्बरमै पाएको टिकट छोडेर प्रत्यक्ष निर्वाचन लड्न आएको बताउँदै उनले यसपटक आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन्।

राप्रपा नेपाल अध्यक्ष थापाले गाउँसम्म बलियो संगठन रहेको एमालेको समर्थन रहेको र पूर्वी क्षेत्रमा आफ्नो पार्टीको पनि राम्रो अवस्था रहेकाले जित्नेमा ढुक्क रहेको बताएका छन्। ‘प्रदेशको राजधानी हेटौंडा बनाउन मैलै भूमिका खेलेको छु। मकवानपुरको समग्र विकासमा वर्षाैंदेखि योगदान दिँदै आएको छु। यसर्थ यसपटक जित्नेमा म विश्वस्त छु’, थापा भन्छन्, ‘जिल्लावासीले एकपटक जिताएर मकवानपुरसहित मुलुककै विकासका लागि काम गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास छ।’ असन्तुष्टि जनाउँदै आएका एमालेका नेताकार्यकर्तासँग पनि छलफल भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।

राप्रपाका उम्मेदवार सिंहले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका प्रत्यासी सिंहले राम्रो मत पाएका थिए। स्थानीय निर्वाचनमा हार भए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित्ने उनको दाबी छ।
अर्को समाचार
भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा
२५ कार्तिक २०७६
•
७ मिनेट पाठ
भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा
काठमाडौं – आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमानेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो।




गाविस हुँदादेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए। मस्तिष्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो। प्रदेशसभाको गत निर्वाचनमा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए। नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए।

उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसअघिको संविधानसभामा उम्मेदवार रहेका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ। नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ। यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताउँछन।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा होमिएको बताउँदै ढकालले भने, ‘मेरो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्छु, मुख्यरूपमा संगठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ।’ कांग्रेस उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती छ। गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताले अन्तर्घात गरेकाले पराजय भोग्नुपरेको दाबी गर्दै कांग्रेस उम्मेदवार भँडेल यसपटक अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गर्छन। यसपटक राप्रपा संयुक्तसँग समर्थन गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ। राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उनले बताए।

२०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ। नेमकिपा आफ्नो प्रतिस्पर्धी नै नभएको उनी बताउँछन। यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत जोगाइ यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ। भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ। यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ। राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ। अर्को उम्मेदवार नपाएर नभई पार्टीका युवा, जुझारु, बौद्धिक वर्गको उम्मेदवार भएकाले यसपटक पनि लवजूलाई नै दोहो-याएको नेमकिपाको भनाइ छ। नेमकिपाको पकड देखाउन पनि यसपटकको निर्वाचनमा जित्नैपर्ने बताउँदै लवजू ठूला शासक दलहरुबाट आजित भएका जनताले नेमकिपालाई समर्थन गर्ने भएकाले यसपटक जितेर देखाउने बताउनुहुन्छ। लवजू जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रूपमा नेमकिपा उभिएको बताउँछन। जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएकाले पनि यसपटक जित सुनिश्चित रहेको उनको दाबी छ।

विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा (संयुक्त)का उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन। त्यसैले पनि राप्रपा (संयुक्त)ले जसलाई समर्थन ग-यो उसलाई सहज हुने आँकलन पनि गर्न थालिएको छ। यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बिपी)का मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनाव प्रचार अभियानमा लागेका छन। त्यस्तै स्वतन्त्र उम्मेदवार सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, संगीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन।रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस