काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।
देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।
नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।
‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।
विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
७ मिनेट अघि
•
१ मिनेट पाठ