चुनावी तालमेल रणनीति तय गर्दै गठबन्धन
२० फागुन २०७८
•
३ मिनेट पाठ
चुनावी तालमेल रणनीति तय गर्दै गठबन्धन
सत्तारुढ चार दलले स्थानीयसहित तीनै तहको निर्वाचनसम्म वर्तमान गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।




प्रतिनिधिसभाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेपछि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकमा गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने प्रतिबद्धता जनाइएको हो।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका साथै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरेर जाने विषयमा आआफ्ना दलभित्र पहिला छलफल चलाउने निर्णय बैठकले गरेको छ। तीनै तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालेमल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सकारात्मक देखिएका छन्।

तर सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने आवाज उठिरहेकाले त्यसलाई समेत सम्बोधन गर्नेगरी पहिला आन्तरिक छलफल र निर्णयमा पुग्ने समझदारी बनेको स्रोतको दाबी छ।

‘पार्टीहरूभित्र फरकफरक मत छन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘माथिबाट निर्णय गर्दा त्यसको प्रभावकारी कार्यान्वयन नहुन सक्छ। त्यसैले आआफ्ना पार्टीभित्र पनि छलफल गरेर तालमेलका विषयमा निर्णयमा पुगौं भन्ने भएको छ।’

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने अधिकार तल्लो तहलाई नै दिनुपर्छ भन्ने कुरा पनि आएको भन्दै ती नेताले थपे, ‘त्यसले भद्रगोल हुन्छ। अहिलेको गठबन्धनको औचित्य पनि बाँकी हुँदैन। त्यसैले एउटा निर्णयमा पुग्नुपर्छ। त्यस अघि आआफ्नो पार्टीभित्र छलफल गरौं भन्ने सहमति भएको हो।’

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। देउवाले अब सबै राजनीतिक दल एकै ठाउँमा उभिएर यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए।

‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौं’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अनुमोदन प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौं, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ।’

एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा देखिएको मतभेदबारे समीक्षा गर्दै शीर्ष नेताहरूले सरकारको कामलाई अझै प्रभावकारी बनाउने निर्णय गरेका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसिसी अनुमोदनसहित समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा भएको जानकारी दिए।

‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ। त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन्,’ मन्त्री कार्कीले भने, ‘महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यकता भएकाले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्मा जारी अवरोध हटाउन आह्वान गर्ने निर्णय भएको छ।’

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो। त्यसका लागि सहयोग गरेको भन्दै देउवाले गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालको प्रशंसा गरेका थिए।

बैठकमा सहभागी गठबन्धनका शीर्ष नेताहरूले देउवाको परिपक्व भूमिकाको प्रशंसा गरेका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए।
अर्को समाचार
आन्दोलनको तयारी गर्न माओवादी केन्द्रको निर्देशन: पेचिलो बन्दै एमसिसी अल्झन,नैतिक संकटमा दाहाल र नेपाल
०१ फागुन २०७८
•
५ मिनेट पाठ
आन्दोलनको तयारी गर्न माओवादी केन्द्रको निर्देशन: पेचिलो बन्दै एमसिसी अल्झन,नैतिक संकटमा दाहाल र नेपाल
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा पेस गर्ने अडान नछाडेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई नैतिक संकट उत्पन्न भएको छ।




कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसिसी संसद्मा पेस गर्ने विषयमा शनिबार भएको वार्तामा सहमति जुट्न सकेन।

सहमति नजुट्दा माओवादी केन्द्र र नेकपा एसलाई अब सरकारमा बसिरहन नैतिक संकट उत्पन्न भएको हो। सत्ता गठबन्धनमा निरन्तर छलफल हुँदा पनि सहमति नजुट्नु र सरकारमै सहभागी दल एमसिसीविरुद्ध आन्दोलनमा उत्रन खोज्नुले परिस्थिति थप पेचिलो बन्दै गएको देखिन्छ।

तीन नेताबीच शनिबार भएको छलफलपछि सत्ता गठबन्धनमा दलबीच साझा धारणा बन्ने सम्भावना न्यून बनेको छ। प्रधानमन्त्रीसमेत रहेका देउवाको दल नेपाली कांग्रेसबाहेक गठबन्धनमा संलग्न माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूले एमसिसी संसद्मा पेस गर्न आनाकानी मात्रै गरेका छैनन्, तत्काल पेस गर्न नहुने र यसलाई पछि धकेल्नुपर्नेसमेत बताइरहेका छन्। संघीय संसद्बाट एमसिसी पास गर्न नहुने भन्दै गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य साना वाम घटकहरू आन्दोलनमा उत्रन थालेपछि सरकारमा बसिरहन समेत अप्ठेरो महसुस भएको तिनै पार्टीका केन्द्रीय सदस्यहरूले बताउन थालेका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टीभित्र समर्थन जुटाउन नसक्दा संशोधनबिना एमसिसीको पक्षमा जाने वा नजाने अन्योलमा छन् भने नेकपा एस पनि संशोधनबिना एमसिसीको पक्षमा देखिएको छैन। यी दुवै पार्टीको मनशाय एमसिसी ल्याउनु हुन्न पनि नभन्ने पारित गर्ने दिन भने लम्ब्याइरहने देखिन्छ। अहिले संसदीय समितिमा छलफल भइरहेकाले त्यहाँ अल्मल्याउने नीतिमा समेत यी दुई दल छन्।

संसद् अवरोध भइरहेको अवस्थामा एमसिसी पास भए आफू जोगिन सक्ने बाठो रणनीतिमा रहेको एमाले पनि बिस्तारै दबाबमा परेको छ। सबैतिरबाट दबाब झेल्दै गएका दाहालले पार्टीभित्रको समेत दबाब झेल्न नसकेर केन्द्रीय समितिको बैठक पर सारेका छन्।

माओवादी केन्द्रले माघ २८ र २९ गते तोकेको केन्द्रीय समितिको बैठकलाई अनिश्चित समयका लागि पर सारेको छ। तर प्रधानमन्त्री देउवाले एमसिसीलाई जसरी पनि संसद्मा टेबुल गर्ने अडान लिएका छन्। प्रधानमन्त्री देउवाले शनिबार पनि दाहाल र नेपाललाई जसरी पनि एमसिसी पास गर्नुपर्ने र त्यो पास गर्दा गठबन्धन पनि नटुट्ने बताएका थिए। 

तर दाहालले गठबन्धन टुट्न सक्ने सम्भावना रहेको आफूनिकट नेताहरूलाई बताइसकेका छन्। जसले गर्दा सत्ता गठबन्धनसमेत संकटमा परेको भन्दै माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूले एमसिसीको विपक्षमा आन्दोलन गर्ने तयारीसमेत गरिसकेका छन्। त्यसका लागि माओवादीका शीर्ष नेताहरूलाई आन्दोलनको तयारी गर्न निर्देशनसमेत गइसकेको पार्टीनिकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले संसद्मा एमसिसी पेस गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाललाई दबाब दिएकै बेला अमेरिका, युरोपेली संघलगायतले एमसिसी पास नभए नेपाललाई प्राप्त हुने सहयोग अनुदान रोकिने धम्की दिएका छन्।

अमेरिकाले एमसिसी पास नभए सम्बन्धमा पुनर्विचार गर्ने धम्की तथा चीनले एमसिसी पास नगर्न दिएको दबाबका कारण नेताहरू अप्ठेरोमा पर्दै गएका छन्। प्रधानमन्त्री देउवासँगै मिलेर दाहालले एमसिसी मुख्यालयलाई पत्राचार गरेर पास गर्ने आश्वासन दिएको अवस्थामा दाहालले नै बखेडा उत्पन्न गर्दा राजनीतिक वृत्तमा मात्र होइन, कूटनीतिक क्षेत्रमा समेत उनी निकै अप्ठेरोमा परेका छन्।

एमसिसीको विषयलाई लिएर नेताहरूबीच सहमति नजुट्दा एकले अर्कालाई आरोप लगाउँदै तर्कने कोसिस पनि भइरहेका छन्। तर सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस कुनै पनि अवस्थामा एमसिसी संसद्मा टेबुल गरेरै छाड्ने मनस्थितिमा अघि बढेपछि माओवादी केन्द्रले भने आन्तरिक रूपमै आन्दोलनको तयारी थाल्न निर्देशन दिएको स्रोतको दाबी छ। 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र देउवानिकट रहेका कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले त एमसिसी पास गर्दा गठबन्धन टुट्छ कि भनेर पर्खेर नबस्ने अभिव्यक्ति नै दिइसकेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा सकेसम्म आगामी संसद् बैठकमा सम्झौता अनुमोदन प्रक्रिया अगाडि बढाउने अन्तिम गृहकार्यमा छन्।

त्यसकै प्रतिविम्बस्वरूप शनिबार उनले माओवादीका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका थिए। माओवादी केन्द्र, नेकपा एस भने यथास्थितिमा एमसिसी अगाडि बढाउनै नसक्ने अडानमा छन्। अमेरिकाले दिएको समयसीमा (फागुन १६) भित्र जसरी पनि सम्झौता अनुमोदन गर्नुपर्ने दबाबमा सरकार छ। त्यसका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, प्रमुख प्रीतपक्षी दलका नेता केपी शर्मा ओलीलाई वासिङ्टन डिसीबाट अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले टेलिफोन गरेका थिए। उनले समयसीमाभित्र एमसिसी पास गर्न नेताहरूलाई दबाब दिएका थिए।

संसद्बाट एमसिसी पास नभए नेपालसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी अमेरिकाले दिएको छ। करिब पाँच वर्षअघि हस्ताक्षर भएको ५० करोड डलर मिलेनियम च्यालेन्ज कर्पोरेसन अनुदानमा नेपालको राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरलोकन गर्न बाध्य हुने चेतावनी वासिङ्टनले काठमाडौंलाई दिएपछि शुक्रबार माओवादी केन्द्र र एमालेका नेताहरूले यो विषयमा एकले अर्कालाई आरोपित गर्ने कामसमेत गरे। माओवादी अध्यक्ष दाहालको सचिवालयले एमाले अध्यक्षकै कारण एमसिसीबारे निर्णय हुन नसकेको आरोप लगायो। 

ओलीले पनि बहुमत संख्या रहेको सरकारी गठबन्धनभित्रकै विवादले निर्णय हुन नसकेको आरोप लगाए। संसद्मा अवरोध कायम रहेकाले एमसिसीमा एमाले र ओली बाधक रहेको भन्दै सत्ताधारीले पनि आरोप लगाइरहेका छन्। यसरी दलहरूबीच आरोप–प्रत्यारोप चलिरहेका बेला अमेरिकी सहायक विदेशमन्त्रीको फोन आएको थियो।

सन् १९४७ मा नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो। त्यसयता अमेरिकाले नेपाली राजनीतिक नेतृत्वलाई पहिलोपटक कडा शब्दमा दुई देशबीचको सम्बन्ध तोडिने संकेत गरेको हो। प्रधानमन्त्री देउवाले एमसिसीबारे छलफल बढाएपछि गठबन्धनमा रहेको एकीकृत समाजवादी सडक आन्दोलनमा होमिएको छ । पछिल्ला भेटवार्तामा शीर्ष नेताहरूले आ–आफ्ना पूर्ववत् अडान दोहोर्‍याएका छन्। 

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसिसी यथास्थितिमा अगाडि बढाउन तयार नभएपछि प्रधानमन्त्री देउवाले सबै विकल्पसहित आफ्नो रणनीति बनाउन थालेको स्रोतको दाबी छ। सत्ता गठबन्धनमै भएको एकीकृत समाजवादी आन्दोलनमा होमिएकाले सरकारमा रहने वा नरहने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस