बरालिएका वामदेव
२७ पौष २०८१
•
८ मिनेट पाठ
बरालिएका वामदेव
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेव गौतम अहिले कुनै पार्टीमा छैनन्। उनले विगतमा आफ्नै पार्टी घोषणा नगरेका पनि होइनन् तर त्यो अहिले अस्तित्वमा देखिन्न। जान चाहेका पार्टीमा पनि उनको उपस्थिति कमजोर हुने अवस्था छ।




नेकपा विभाजित हुँदा तटस्थ बसेर पार्टी मिलाउन लागेका गौतमले अन्ततः नयाँ पार्टी घोषणा गरी आफ्नो पूर्वपार्टी एमाले र एमालेबाट विभाजित भएर पूर्वसहकर्मीले निर्माण गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जान बार्गेनिङ गरिरहेका छन्। तर दुवै दलका नेताहरूले उनलाई खास महत्त्व दिइरहेका छैनन्। गौतमले यतिबेला एमालेमा जाने कि एसमा भन्ने निधो गरिसकेका छैनन्। उनी चौबाटोमा उभिएर कता जाने भनेर अलमलमा छन्। उनलाई एमाले र नेकपा एसले पनि झट्ट लिइहाल्न सकेका छैनन्।

विगतमा राजनीतिका प्रभावशाली खेलाडी रहेका गौतम बेलाबखत फरक मत र फरक निर्णयका कारण चर्चाको शिखरमा पुग्ने गरेका थिए। तर उनी त्यो चर्चाले मूर्तरूप लिन नपाउँदै अलमलिने गरेका थिए। उनको राजनीतिक जीवन उतारचढावमै बढी केन्द्रित छ। समकालीन राजनीतिको विभिन्न कालखण्डमा कुनै न कुनै हिसाबले सधैं चर्चामा रहिआएका वामदेव अहिले पनि बेलाबेलामा चर्चामा आउने गरेका छन्।

२०७७ पुस ५ मा संसद् विघटन भएपछि बिहान एउटा विज्ञप्ति जारी गरेर आफू पर्ख र हेरको नीतिमा रहेको बताउने वामदेवले त्यही दिन दिउँसो १२ बज्दा विघटनको खुलेरै विरोध गरेका थिए। तर उनी कुनै समूहमा सहभागी भएनन्।

पहिला एउटा विज्ञप्ति जारी गर्ने र माहोल फरक पर्दै गएपछि अर्कातर्फ मोडिने उनको व्यवहार अहिले पनि बदलिएको छैन। नेकपा एसमा कुरा मिलिसक्दा एमालेले निलो बत्ती झिलिक्क पारेपछि उनी उतै लोभिएका छन्। तर कतै पनि निर्णय गर्न नसक्नु उनको पुरानै बानी हो।

वामपन्थीबिच टुटेको एकतालाई पुनः सार्थक पार्ने भन्दै नेकपा पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका थिए। सुरुमा तीन सयभन्दा बढी केन्द्रीय सदस्य बनाइएको उक्त अभियानमा अहिले जम्मा ७२ जना मात्र छन्।

सर्वोच्च अदालतले नेकपालाई भंग गरेर एमाले र माओवादी केन्द्रकै रूपमा क्रियाशील भई पुनः एकताको प्रस्ताव लैजान आदेश दियो। त्यसपछि वामदेवको अभियानको नामबाट नेकपा हटेर नेकपा एमाले पार्टी एकता राष्ट्रिय अभियान रहन पुग्यो। पहिला माओवादीसहितको एकता गराउँछु भनेका उनले पछि एमालेबिच आएको फाटोलाई साम्य बनाउने घोषणा गरे। एकता अभियानका नाममा उनले केपी ओली र माधव नेपालसँग बेग्लाबेग्लै भेटेर पहल गरे तर दुवैले मानेनन्।

माधव नेपालले २०७७ फागुन पहिलो साता ललितपुरको सानेपामा आयोजना गरेको आफू पक्षको राष्ट्रिय भेलामा बोलाए तर गएनन्। त्यतिबेला पनि एमाले मिलाउँछु भनेरै उनी लागिरहे। तर उनको समूहमा रहेका नेताहरूले आफ्नो राजनीतिक भविष्य खोज्दै लाखापाखा लाग्ने संकेत गरेका थिए।

त्यही क्रममा पत्नी तुलसी थापा एमालेका तर्फबाट समानुपातिक सांसद थिइन्। उनीचाहिँ एमालेकै रूपमा क्रियाशील रहिन्। कतै केही सीप नलागेपछि केपी ओलीसँग पार्टीमा भूमिका माग गरे। ओलीसँग भेटेर कुराकानी गरे पनि जिम्मेवारी भूमिका पाउने विषय त टाढाको कुरा पार्टीमा ल्याउने संकेत पनि वामदेवले पाएनन्। त्यसपछि २०७७ भदौमा माधव नेपालले नयाँ पार्टी खोलेपछि निर्वाचन आयोगले एमाले सांसदहरूलाई रुचाएको दलमा सनाखत गर्ने मौका दियो।

वामदेवले पत्नी तुलसीलाई माधव नेपालको पार्टीमा सनाखत गर्न पठाए तर कार्यालय समय सकिएपछि पुग्नाले उनले सनाखत गर्न पाइनन्। त्यसपछि उनी एमालेमै रहिन्। अहिले उनी कुन पार्टीमा छिन् भन्नेबारे न वामदेवलाई थाहा छ न एमालेलाई।

माधव नेपालको पार्टीमा प्रवेश गर्न वामदेवले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको दस्ताबेज निर्वाचन आयोगमा दर्ता गरे आफू उक्त पार्टीमा सामेल हुने बताए। तर झलनाथ खनालले जबजको सान्दर्भिकता समाप्त भएको भन्दै वामदेवको बाटो रोकेपछि त्यहाँ पनि हाम फाल्न सकेनन्।

विभिन्न चरणमा नेकपा एससँग भएको छलफल सफल नभएपछि ६ महिनाअघि एमाले मुख्यालय च्यासलमै पुगेर केपी ओलीका नाममा सम्बोधन गर्दै उनले भने, ‘मलाई पार्टीमा काम दिनुस्, बस्ने टेबुल कुर्सी दिनुस्।’

ओलीले वामदेवको आग्रहलाई सुनेको नसुन्यै गरे। फेरि नेकपा एससँगै कुराकानी चल्यो। नेपालले जबजका विषयमा वामदेवको कुरासँग आफ्नो विमति नरहेको बताए। पछिल्लो एक महिना गौतमको पार्टी एकता राष्ट्रिय अभियानलाई नेकपा एसमा एकता गराउन वार्ता जारी छ तर कुरा मिलेको छैन। वामदेवले वरिष्ठ नेतासहित संगठन विभागको प्रमुख मागेका छन्। अध्यक्ष नेपालले वरिष्ठ नेता दिइसके, संगठन विभाग दिन माानेका छैनन्।

यता एमालेको केन्द्रीय कमिटी बैठकले पनि पार्टी छोडेर गएका नेताहरूलाई पर्कन आग्रह गरेको छ। वामदेव गौतम मौन छन्। अहिले वामदेव गौतम पुनः कहीँ कतै सक्रिय भएर पार्टी बनाउने देश बनाउने अभियानको भूमिकाको खोजीमा छन्।

कुनै बेला वामदेव गौतमका भाषणले एमालेका कार्यकर्ता निकै उत्साहित हुन्थे। पार्टीभित्र पनि उनी हक्की स्वाभावका नेताका रूपमा चिनिन्थे। पार्टीको आन्तरिक बैठकमा अरू नेताहरूले बोल्न नसक्ने, फरक विचार राख्न नसक्ने अवस्थामा पनि उनीहरूको प्रतिनिधित्व गर्ने आँट उनकै थियो।

कुनै पनि निर्णय गर्न–गराउन सक्ने नेताका रूपमा उनले परिचय बनाएका थिए। २०६२/६३ सालमा माओवादीसँग सहकार्य गर्ने हिम्मत वामदेव गौतमले नै गरेका हुन्। तत्कालीन समयमा केपी ओलीले माओवादीको विरोध गर्दागर्दै उनी माओवादीसँग नै वार्ता गर्न रोल्पासम्म पुगेका थिए। यसले पछि सकारात्मक परिणाम पनि ल्याएको थियो। तर तिनै वामदेव गौतम अहिले न एमालेमा छन् न एमालेबाट बाहिर रहेको नेकपा एसमा छन्, न त उनी माओवादी केन्द्रकै हुन सकेका छन्।

तत्कालीन माले कालमा वामदेव पञ्चालयकालमा नारायणी पश्चिमको तराईमा हलीको भेष धारण गरेर भूमिगत संगठन गरेका नेतालाई अहिले एमालेले साथमा राख्न सकेन भन्ने देखिएको छ। तर उनी नै एमालेका बस्न नचाहेका हुन् वा पछिल्लो परिस्थितिमा एमालेले उनलाई लिन नचाहेको हो भन्ने अवस्था देखिएको छ। वामदेवनिकट नेताहरू यतिबेला नेकपा एसमै बढी क्रियाशील छन्। केशवलाल श्रेष्ठ, बलराम बाँस्कोटा, सावित्रा भुसाल, हरि पराजुली, किसान महासंघका रहेका सबै नेता नेकपा एसमा छन्।

पत्रकारहरूको संगठनका अध्यक्ष विश्वमणि सुवेदी पनि नेकपा एसमै छन्। उनी लामो समयदेखि वामदेवकै प्रेस हेर्ने गर्थे। वादेवको सचिवालयमा रहेका तर एमालेतिर रहेका विजयविराज विष्ट प्युठान जिल्लाको दोस्रो कार्यकालको अध्यक्ष भएका छन् भने कुनै बेला वामदेवसँग निकट रहेका सूर्य थापा पनि अहिले प्युठानबाट एमालेका चर्चित सांसद हुन्। विगतमा उनीनिकट रहेका सबैजसो कार्यकर्ता दुवैतिर बाँडिएका छन्। तर पनि दुवै पार्टी उनका लागि घरको आँगन टाढा भनेजस्तै भएका छन्।

२०५१ सालमा एमालेले नौ महिने सरकार चलाएका बेला केन्द्रीय संगठन हाँकेका गौतमलाई त्यसबेला एमालेभित्र कुशल संगठक पनि मानिन्थ्यो र त्यसबेला पश्चिम तराईमा उनी लोकप्रिय नेताका रूपमा परिचित थिए। उनलाई एमालेले त्यतिबेला विधानमै नभएको व्यवस्था गरेर उपमहासचिवको जिम्मेवारी दिएको थियो। त्यही बेलादेखि पार्टी सत्ता र सरकारमा शक्ति देखाउनुपर्ने सोचेका वामदेवको महत्त्वाकांक्षा बढ्दै गयो।

संगठनमा राम्रो पकड राखेका वामदेव गौतम २०५४ सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि पार्टीभित्र र बाहिर उनको चर्चा चुलिँदै गयो। त्यही बेला एमालेको छैटौं महाधिवेशन भयो। त्यसपछि तत्कालीन महासचिव माधव नेपालले हालका पार्टी अध्यक्ष ओली र वामदेवलाई फरकफरक राजनीतिक प्रतिवेदन पेस गर्न दिएर दुवैलाई भिडाएपछि परिणामतः पार्टी नै विभाजन हुन पुग्यो। २०७४ सालको स्थानीय निकायको चुनावबाट सबैभन्दा ठुलो दल बनेको एमाले फुट्यो।

२०५१ सालको मध्यावधि निर्वाचनमा बहुमत नपाए पनि एमालेले सबैभन्दा ठुलो दलको हैसियतले अल्पमतको सरकार बनायो। तर अर्को चुनाव नआउँदै २०५४ सालमा विभाजन भयो। एमाले कालमा वामदेव गौतम पहिलो पटक ठुलो राजनीतिक दुर्घटनामा परे। पार्टी विभाजन भएर वामदेव र सिपी मैनालीको नेतृत्वमा नेकपा माले त बन्यो तर २०५६ सालको निर्वाचनमा एक सिट पनि प्राप्त गर्न सकेन। २०५८ सालमा एमाले र मालेबिच एकीकरण भयो।

सिपी मैनालीलगायत केही नेता एमालेमा आउनबाट छुटे। त्यसपछि पार्टी राजनीतिमा उनको यात्रा ओरालो लाग्यो। पार्टीभित्र उनले विश्वास गुमाए। पार्टीभित्र कुशल संगठक भनिए पनि नेता गौतमले आफ्नो गुटका मानिसहरूलाई साथमा राख्न सकेनन्। आफैं पनि कहिले झलनाथतिर, कहिले ओलीतिर दौडधुप गर्दा उनी ‘सेनाबिनाको सेनापति’ जस्तै भए। अहिले पनि एमाले र नेकपा एसमा नरहेका वामदेव सेनाबिनाकै सेनापतिको रूपमा बार्गेनिङ गरिरहेकाले दुवैले नपत्याएका हुन्।

कम्युनिस्ट आन्दोलन र एमालेको विरासतमा हेर्ने हो नेकपा एसमा गए, माधव नेपाल र झलनाथ खनाल तथा एमालेमा गए केपी ओलीपछिको वरीयताक्रम रहेका अहिलेको अवस्था हो। पार्टी इतिहासको हिसाबले उनी केपी ओलीको विकल्पमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको समेत हैसियत दाबी गर्न सक्ने वरिष्ठ नेता हुन्। तर उनले आफैंलाई त्यो रूपमा कहिल्यै प्रस्तुत गर्न सकेनन् र जहिले पनि वामदेवकै कारण पार्टीभित्र अस्थिरता निम्तिएको भन्दै एमालेले उनलाई किनारामा धकेलिरह्यो। महत्त्वपूर्ण जिम्मेवारीमा उनलाई लामो समय राखिएन।

तीन पटक उपप्रधानमन्त्री एवं गृहमन्त्री भएर सरकारमा गएका वामदेवसँग सरकार सञ्चालनको अनुभव पनि छ। मनमोहन अधिकारी र माधव नेपालका पालामा उपमहासचिव भइसकेका गौतमसँग पार्टी सञ्चालनको पनि अनुभव थियो। उपप्रधानमन्त्री र गृहमन्त्री बनेर सरकारमा रहँदा पनि नेता वामदेवले आफ्नो छवि लोकप्रिय बनाउने भूमिका खेल्न सकेनन्।

पहिलो कार्यकालमा आइजिपी नियुक्तिको विवादमा परे। पछि गृहमन्त्रीले ट्राफिक नियम उल्लंघन गरेको तस्बिर भाइरल भयो। कोसी नहरको डिलमा बसेका सुकुम्बासीको घर भत्काएको भनेर संसद्मा तत्कालीन एमालेकै सांसदले गौतमको विरोध गरे।

आफ्नै कर्मक्षेत्र बर्दियाबाट पछिल्लो समय उनले चुनाव जित्न सकिरहेका छैनन्। २०७० सालमा बर्दिया र प्युठानबाट विजयी भएका गौतम बर्दिया छोडेर प्युठान उक्लिए। तर २०७४ सालको चुनावमा उनी बर्दियाबाट हारे। कुुनै बेला नेकपाकालीन राजनीतिक परिदृश्यमा पार्टीभित्र गौतम जता लाग्यो, त्यतै पल्लाभारी हुन्थ्यो। त्यसलाई उनले उपयोग गर्न सकेनन्। बरु उल्टै उनी प्रयोग भए। त्यसको परिणाम यतिबेला उनी एक प्रकारले पार्टीविहीनजस्तै भएर छटपटाइरहेका छन्। आँट भए पनि अडान नभएका नेताका रूपमा उनलाई लिएका कारण पनि बरालिएजस्तो देखिएको हो। उमेरले नेटो काट्दै गए पनि राजनीति हो, गौतम फेरि सक्रिय भएर आउँछन् भन्ने आशा अझै छ।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
७ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस