मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबारबाट मौन अवधि सुरु हुँदैछ । अर्थात्, भोलिबाट मतदानको दिन (मंसिर १६) सम्म चुनावी प्रचारप्रसार वा घरदैलो कार्यक्रम गर्न पाइँदैन ।
त्यसको पूर्वसन्ध्यामा तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बिहीबार कीर्तिपुरमा चुनावी सभाको आयोजना गरे ।
कीर्तिपुरमा नगर प्रमुख र दुई वडाध्यक्षको निर्वाचन हुँदैछ । यसपटकको उपनिर्वाचनमा दलहरूले कीर्तिपुरलाई मुख्य मानेका छन् । सङ्घीय राजधानी काठमाडौंको नगरपालिका हुनाले पनि ठूला दलहरूले त्यसलाई प्राथमिकतामा राखेका छन् ।
आज कांग्रेसको चुनावी सभालाई पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सम्बोधन गरे । यस्तै एमालेको सभा सम्बोधनका लागि महासचिव शंकर पोखरेल कार्यक्रम स्थल पुगेका थिए ।
कांग्रेसको चुनावी सभा ।माओवादी केन्द्रको सभा सम्बोधनका लागि भने अध्यक्ष पुष्पकमल दाहाल आफैँ गएका थिए । साथमा उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायतका नेताहरू पनि सहभागी थिए ।
नगर प्रमुखमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट डा. शिवशरण महर्जन उम्मेदवार छन् । सङ्गठनात्मक शक्तिका हिसाबले क्रमश:कांग्रेस, एमाले र माओवादी केन्द्र छन् ।
एमालेको चुनावी सभा ।यसअघि कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए तर, उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेसका नकर्मीले नौ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य पाँच हजार ५०७ मतमा सीमित थिए ।
माओवादी केन्द्रको चुनावी सभा ।यता माओवादी केन्द्रबाट भने अहिलेकै शिवशरण महर्जन उम्मेदवार थिए । उनले दुई हजार २८० मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा कस्तो मतरिणाम आउँछ, हेर्न बाँकी छ । तर, यसपटक के भनिँदैछ भने त्यहाँ उम्मेदवारका व्यक्तित्वले पनि 'भोट प्याटर्न'मा फेरबदल आउनेछ ।
रास्वपा कामपा १६ केन्द्रित
पहिलो, दोस्रो र तेस्रो ठूला दलले कीर्तिपुरमा चुनावी सभा गरिरहँदा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने काठमाडौं महानगरपालिका १६ केन्द्रित भएको छ ।
रास्वपाबाट त्यहाँ रोजिना श्रेष्ठ उम्मेदवार छिन् । रास्वपाका सबै केन्द्रीय नेताहरू वडा नं. १६ मै केन्द्रित भएका छन् । शिशिर खनाल, सोबिता गौतम, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, असिम शाह, सुमना श्रेष्ठलगायत नेताहरू रोजिना श्रेष्ठलाई लिएर मतदाताका घरदैलो पुगिरहेका छन् ।
रास्वपाको चुनावी अभियान ।काठमाडौं १६ मै स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका प्रकाश पन्तले रोजिना श्रेष्ठलाई नै समर्थन जनाएका छन् । यसलाई रास्वपा नेताहरूले श्रेष्ठ जित्ने एउटा आधार भएको बताउन थालेका छन् ।
अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । कीर्तिपुमा उम्मेदवारी नदिएको रास्वपाले आफ्नो मुख्य चुनावी स्थान काठमाडौं १६ लाई बनाएको छ ।
स्थानीय तह उपनिर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । अब तीन स्थानमा मात्रै बाँकी छ ।
बाँकी रहनेका स्थानहरूमा कीर्तिपुर नगरपालिका (मेयर), गौरीशंकर गाउँपालिका (उपाध्यक्ष) र बेलका नगरपालिका (वडा नं. ९ को वडाध्यक्ष) छन् ।
अहिलेसम्म कांग्रेसले १६ वडामा जित हासिल गरेको छ । ४१ स्थानमा उम्मेवारी दिएको कांग्रेसले अध्यक्ष/मेयर र उपाध्यक्ष/उपमेयरमा भने जित निकाल्न सकेको छैन ।
माओवादी केन्द्रले एक अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्षसहित ६ वटा वडा जितेको छ । ४० स्थानमा उम्मेदवारी दिएको माओवादीले भने अपेक्षित नतिजा हात पारेको छ ।
यस्तै एमालेले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा जितेको छ । ३९ स्थानमा उम्मेदवारी दिएको एमालेले अपेक्षित नतिजा ल्याउन सकेन ।
रास्वपा त झन् एउटा वडामा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाले अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा मात्रै जित हासिल गरेको छ ।
***
मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा भएको उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एम उपमेयर र एक उपाध्यक्षसहित ९ स्थानमा जित हालिल गरेको छ ।
यसलाई माओवादी केन्द्रका नेताहरूले 'माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने अर्थका रूपमा बुझेका छन् । माओवादी केन्द्रका नेता सरल सहयात्रीले भने, 'उपनिर्वाचनको मतपरिणामले माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने सन्देश दिएको छ । मत सधैँ एक ठाउँ मात्रै बसिरहँदैन रहेछ ।'
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा पार्टीले उकालो गति लिएको बताउँछन् । 'माओवादी केन्द्र उकालो लागेको छ भन्ने कुरा मतपरिणाममा देखियो । हामी उत्साहित छौँ,' प्रवक्ता सापकोटाले भने ।
त्यसो त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले नै जित्यो, जहाँ दुई ठूला दलहरू कांग्रेस-एमालेले गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाको भयो ।
सत्तारूढ दलहरू कांग्रेस र एमाले भने मतपरिणामबाट उत्साहित हुन सकेनन् । कांग्रेसले त पहिले जितेको पालिका नै गुमायो । उसले एउटा पालिकासमेत जितेको छैन । कांग्रेसले जम्माजम्मी १६ वटा वडा मात्रै जितेको छ ।
त्यो नतिजा कांग्रेसका लागि अपेक्षित नभएको नेता मीन विश्वकर्मा बताउँछन् । 'हाम्रो लागि यो अपेक्षित भएन,' नेता विश्वकर्माले भने, 'पहिला जस्तो मतदाताहरू मत हाल्नकै लागि पनि नफर्किने रहेछन् । तर, समग्रतामा भन्दाखेरि पहिले हामीले जितेको स्थानमा अरु दलहरूले जिते, पहिले अरु दलहरूले जितेको ठाउँमा हामीले जित्यौँ । तर, परिणाम अपेक्षित होइन ।'
एमालेले पनि अपेक्षित नतिजा ल्याउन सकेन । समानुपातिक समर्थनका हिसाबले पहिलो दल एमाले तेस्रो माओवादी केन्द्रभन्दा पनि पछि पर्दा नेताहरूले यसको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । एमाले नेता महेशकुमार बर्तौला जनताले गरेको निर्णयको सम्मान गर्ने बताउँछन् ।
'जनताले गरेको निर्णयलाई ठीक वा बेठीक भनेर भन्दैनौँ हामी,' नेता बर्तौला भन्छन्, 'हारिएको ठाउँमा तयारी पुगेन होला । जनताले अर्कोपटकलाई प्रतीक्षा गरे होलान् । तर, समीक्षा गरेर अगाडि बढ्छौँ ।'
यद्यपि, एमालेभन्दा कांग्रेसको नतिजा सम्मानजनक देखिन्छ । कीर्तिपुर नगरपालिकाको मेयर कांग्रेसले जित्ने सम्भावना छ । अहिलेसम्मको नतिजाअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धनभन्दा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल झन्डै पाँचसय मतान्तरले अघि छन् ।
उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि झड्का दिएको छ । ऊ अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाको दर्जनभन्दा बढी स्थानमा त जमानत नै जफत भएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपालाई संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचन भने फापेन, रास्वपा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...