नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।
चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।
सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।
यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।
शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
६ मिनेट अघि
•
१ मिनेट पाठ