घर नै पाठशाला
१९ जेष्ठ २०७७
•
६ मिनेट पाठ
घर नै पाठशाला
देवेन्द्रप्रसाद उप्रेती




यतिखेर सबै बालबालिका घरभित्र थुनिएका छन् । यो अवस्था रहर नभएर बाध्यता हो । घर नै हाम्रा लागि संसार बनेको छ । आमाबुबा, हजुरबा, हजुरआमा सबैले बालबालिकालाई घरबाहिर जानबाट रोक्नुभएको छ । सबैको हित पनि यसैमा छ । संसारमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले शक्तिशाली देशहरूलाई समेत तहसनहस पारिरहेको छ । दिनहुँ समाचार आइरहेकै छन् । समाचारकै आधारमा बालबालिका डराउनु पनि स्वाभाविक नै हो । तर, हामी डराउनुको कुनै अर्थ छैन । डराउनु त त्यसले पर्छ, जो मनपरी गरेर हिँड्छ । बुबाआमाले भनेको मान्दैन अनि साथीसँग हूल बाँधेर हिँड्छ । हामी त घरभित्रै छौं । त्यसैले त सुरक्षित छौं । हामी समाचार बन्नुपरेको छैन, त्यसैले खुसी छौं ।

गएका वर्षहरूमा यतिबेला हामी धेरै जना बालबालिका रुघाखोकी, ज्वरो, निमोनिया, टाइफाइड, जन्डिस आदि धेरै रोगको शिकार भएका थियौं होला । यसपालि हामी त्यसबाट बचेका छौं । पक्कै पनि हामी सबै होसियार र चनाखो बनेका छौं । उमालेको तातो पानी पिउँछौं, ताजा खानेकुरा खान्छौं । जंकफुड, चटपटे, पानीपुरी जस्ता हानिकारक खानेकुरा हामीले खाएका छैनौं । बारम्बार साबुनपानीले हात धोइरहन्छौं अनि हरेक कुरा राम्रोसँग पखालेर, राम्रोसँग पकाएर मात्र खान्छौं । हामीले ठीक समयमा खाना, खाजा खाएका छौं । यसकारण त हामी स्वस्थ भई सुहाउँदिलो रूपपमा मोटाएका पनि छौं । 

घरमा टेलिभिजन हेर्ने, बालकथा, बालकविता, निबन्ध पढ्ने काम पनि गरेका छौं । बुबाआमा, दाजु, दिदीसँग कुरा गर्न पाएका छौं । उहाँहरूसँग खेल्न पाएका छौं । हामी विभिन्न उमेर समूहका बालबालिका आफ्नो रुचि र प्रतिभाअनुसारको काम गर्दै छौं । केही समयअघि सहज वातावरण भएको बेला हाम्रो अधिकांश समय विद्यालयमा नै बितेको हुन्थ्यो । अहिलेको पूरै समय घरमा बितेको छ । यो समय हाम्रा लागि ठूलो अवसर पनि हो । चुनौतीसँगै अवसर पनि साथमै हिँडेको हुन्छ । हामी कतिपयलाई साइकल चलाउन आउँदैन्थ्यो होला, कतिलाई खाना बनाउन, लुगा धुन, सरसफाइ गर्न, लुगाफाटो मिलाउन, करेसाबारीमा तरकारी लगाउन, गोडमेल गर्न, पानी लगाउन, गमलामा फूलहरू रोप्न, त्यसको हेरविचार गर्न आदि धेरै काम सिक्ने अवसर पनि पाएका छौं ।

नाच्नमा रुचि हुनेले नाच्ने, गाउनमा रुचि हुनेले गाउने, वाद्यवादनमा रुचि हुनेले बजाउने, लेख्नमा रुचि हुनेले लेख्ने, पढ्नमा रुचि हुनेले पढ्ने आदि कामहरू धेरै छन् । तर, हामी काम नै नभएजस्तो दिक्क मानेर बसिरहेका हुन्छौं । 
विद्यालय जान पाइएन भनेर चिन्ता गर्छौं । विद्यालय लागेको बेला एक दिन अचानक बिदा हुँदा हामी औधी रमाउँथ्यौं । विद्यालयमा पढ्ने, साथीहरू भेट्ने, आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाउनु पक्कै पनि राम्रो पक्ष हो । के यस्ता कुरा गरेर हामी घरमा केही पनि नगरी बस्ने त ? अवश्य पनि यो ठीक होइन । हामीले केही न केही गरेर आफूलाई व्यस्त राख्नुपर्छ । हुनुपर्ने कुरा त भएरै छाड्छ नि । हामी हिँड्दाहिँड्दै लडेर घाइते हुन सक्छौं, दुर्घटनामा पर्न सक्छौं,  विभिन्न रोगले दुःख दिन सक्छ । यसकारण पनि पहिला हामी समस्यामा नै हुने गथ्र्यौं । अहिले अस्पतालमा बिरामीको चाप घटेको कुरा समाचारबाट प्राप्त हुन आएको छ । यसको मतलब हामी स्वस्थ बनेका छौं । सधैँभरि यसरी नै सचेत हुने हो भने हाम्रा धेरै समस्या हटेर जान्छन् ।

हामी बालबालिका विभिन्न स्थानमा छरिएर रहेका छौं । कोही शहरबजारमा बसोबास गर्छौं भने कोही गाउँघरमा । अहिले विद्यालयहरूले अनलाइन कक्षाको व्यवस्था गरेका छन् । हामी कतिपयसँग इन्टरनेटको सुविधा छ भने कतिपयसँग त्यो सुविधा छैन । सुविधा नभएकाले पनि डाटा किनेर चलाएको पाइन्छ । नेपालमा कतिपय स्थानमा डाटा पनि चल्दैन । यसका साथै सबैलाई प्रविधिको ज्ञान पनि छैन । विद्यार्थीसँग महँगो मोबाइल, ल्यापटप, ट्याब, डेस्कटप क्म्प्युटरको सुविधा नहुन सक्छ । यति हुँदाहुँदै पनि कतिपय स्थानमा अनलाइन कक्षा चलिरहेका छन् । पढाइलेखाइको स्रोत कक्षाकोठा मात्र नभएर त्यसलाई घरमै पनि सदुपयोग गर्न सकिने रहेछ भन्ने बलियो आधार पनि पाएका छौं । हामी फेसबुक म्यासेन्जर, भाइबर, गुगल क्लास,जुम क्लाउड आदि विभिन्न माध्यमबाट समूह बनाई जोडिन थालेका छौं । घरका अभिभावक समेत यो नयाँ सिकाइको प्रक्रियामा जोडिन थाल्नुभएको छ । आफ्ना साना बाबुनानीहरूलाई अनलाइन कक्षामा सहभागी गराउने, कक्षाकार्य तथा गृहकार्यमा सहयोग गर्ने कार्यमा उहाँहरूको सक्रियता बढ्न थालेको छ । आफ्ना बाबुनानीहरूको पढाइ, लेखाइ, सुनाइ, बोलाइको स्तर मापन गर्न पनि सहज भएको छ । लकडाउन, विद्यार्थीले आफ्नो स्तरमा सुधार ल्याउने सुवर्ण अवसर पनि हो ।

देशमा लोडसेडिङ भएको अवस्थामा यो अनलाइन कक्षाको कल्पना समेत गर्न सकिँदैनथ्यो । तर, अहिले नेपालमा लोडसेडिङ छैन । कहिलेकाहीँ प्राविधिक समस्या भए मात्र बत्ती जान्छ । यसकारण बिजुली बत्तीले पनि हामीलाई साथ दिएको छ ।  

हो, हाम्रो देशमा सबै बालबालिका एउटै स्तरका छैनन् । कसैले पढ्न पाउने र कसैले नपाउने वातावरण बन्नु राम्रो होइन । यसो भन्दैमा पहुँच हुनेहरू पनि चूपचाप बस्नुपर्छ भन्ने कुरा पनि त ठीक होइन । अनलाइन कक्षाले प्रविधिमा नयाँ खोजीको सम्भावनालाई बाटो देखाइदिएको छ । अहिले हामीले धेरै नयाँ कुरा सिक्न थालेका छौं । उपयोगी युटुब भिडियो खोज्ने, आफ्नो स्तरअनुकूलको सामग्री गुगलमा खोज्ने, विभिन्न सिर्जनात्मक सामग्री हेर्ने, पुस्तकहरू डाउनलोड गर्ने, अरूका लेखरचना पढेर लेख्न प्रोत्साहित हुने आदि सकारात्मक पक्ष रहेकै छ । विद्यार्थीहरू नेपाली, अंग्रेजी टाइप गर्ने कार्यमा पनि सिपालु बन्न थालेका छन् ।  

प्रविधिको विरोध गर्ने होइन, त्यसलाई मित्र बनाई अघि बढ्नु एक्काइसौं शताब्दीको आवश्यकता पनि हो । अहिले विविध कारणले अनलाइन कक्षामा जोडिन नसक्नेले पछि कक्षाकोठामा पाठहरू सुरुदेखि नै पढ्नै पर्छ । शिक्षकले पनि सुरुदेखि नै पढाउनै पर्छ । हालको अनलाइन कक्षा भनेको समयको सदुपयोग, प्रविधिसँगको निकटताका साथै मन बहलाउने माध्यम समेत बनेको छ । यसका साथै ज्ञानको क्षितिज फराकिलो बनाउने माध्यम पनि हो । अनलाइन कक्षाले विभेद निम्त्याउँछ भनेर कतिपय व्यक्तिबाट आवाज उठेको पनि पाइन्छ । तर, मेरो दृष्टिकोणमा यो विभेद नभएर सिक्ने अवसर हो ।  

कोरोना भाइरसको संक्रमण कहिलेसम्म बढ्दै जान्छ भन्ने निश्चित छैन । जटिल अवस्थामा लकडाउन खुकुलो पार्दा पनि भयानक अवस्था आउन सक्छ । कतिपय विद्यालय सञ्चालकले ‘अब विद्यालय खोल्नुपर्छ’ भनेर आवाज उठाउन थालेका छन् । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्दा संक्रमण फैलियो भने त्यसको जिम्मा कसले लिन्छ ? संक्रमण नफैलिएका जिल्लामा भने सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ । तर, सबै ठाउँमा अहिलेकै अवस्थामा विद्यालय सञ्चालन गर्ने अवस्था देखिंदैन ।  

साना बालबालिका हिजोआज बिहानदेखि बेलुकासम्म मोबाइल, ल्यापटप, ट्याब, टेलिभिजन र कम्प्युटरमा झुम्मिन थालेका छन् । अभिभावकको निगरानी नभएको ठाउँमा अनलाइन कक्षाबाट पनि भाग्न थालेका छन् । पठनपाठनको गतिविधि शून्य भएको छ । यस्तो अवस्थामा अभिभावकवर्ग निकैसचेत बन्नु आवश्यक छ । आफ्ना नानीबाबुलाई व्यस्त राख्न अनेक योजना बनाउनु आवश्यक छ । बालबालिकालाई घरभित्रै खेल खेलाउने, आफू पनि उनीहरूसँगै खेल्ने, चित्र बनाउन, रङ भर्न लगाउने, साना साइकल कुदाउन दिने, क्यारम, चेस, बाघचाल खेल्ने, खेलाउने, कथा सुन्न, सुनाउन लगाउने, घरायसी कामकाजमा सघाउन लगाउने आदि कार्यले उनीहरू व्यस्त रहन्छन् ।  
बिहान, साँझ योग, ध्यान गरौं,  आफू नाचौ. अनि बालबालिकालाई पनि नचाऔं । कलिला बालबालिकाले हाम्रो क्रियाकलापलाई टपक्क टिप्ने भएकाले त्यसतर्फ सचेत बनौं । अहिलेको अवस्थामा बालबालिकामा नकारात्मक भावनाको विकास हुन सक्छ । प्रविधिको गलत प्रयोग हुन सक्छ । बालबालिकालाई कर्तव्यनिष्ठ बनाउन निकै समय लाग्छ तर बिग्रिन कत्ति पनि समय लाग्दैन । लकडाउनपश्चात् धेरैमा डिप्रेसन देखिन सक्ने कुरा कतिपय मनोविद्हरूले बताउन थालेका छन् । यसर्थ अभिभावक सचेत बनौं र बालबालिकालाई मायालु वातावरणमा सचेत बनाऔं ।आफू सुरक्षित रही बालबालिकालाई जोगाऔं । चुनौतीलाई अवसरमा बदलौं । घर नै पाठशाला बनाऔं ।
अर्को समाचार
पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
३१ भदौ २०८०
•
६ मिनेट पाठ
पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ। तर, धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन्।  




सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ भन्दा अचम्म लागेको थियो। दुई सन्तानकी आमा भइसकेकी बुहारी पाठशाला जाने भनेपछि उनका सासूससुरालाई त सोनालीभन्दा बढी अचम्म लागेको थियो।  

‘सन्तानलाई पढाउने बेला आफूले पाठशाला जानुपर्छ भनेपछि कसलाई अचम्म नलाग्ला ? सुरुमा त अफ्ठ्यारो मानिमानी पाठशाला गइयो। यहाँ आएपछि पो थाहा भयो, यहाँ त अक्षर होइन आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पढाइ हुनेरहेछ’, सोनालीले भनिन्, ‘विस्तारै बानी लाग्यो, सरसफाइ, बानीव्यहोरा, सन्तुलित खानपिनका बारेमा जानकारी पाउन थालँे, जसले गर्दा मेरो कुपोषित बच्चा र म स्वयंको पोषण सुधारका लागि ज्ञान पाएँ।’

सोनालीका अनुसार पोषण पाठशालामा आउँदा उनको छोराको स्वास्थ्य जाँच हुँदा कुपोषित रहेको र आमाले पोषणयुक्त खानपिन नखाएका कारण यस्तो समस्या भएको सुनाइएको थियो। अहिले भने पाठशालामा पढेको कुरा व्यवहारमा लागू गरेपछि छोरा सुपोषित भएकामा सोनाली दङ्ग छिन्।

यस्तै समस्या सोही ठाउँकी पिङ्की महतोलाई पनि थियो। ‘सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ। अहिले मेरो कुपोषित बच्चा सुपोषित छ’, महतोले भनिन्।

अमिरकला कुमारी साहले पनि आफ्नै बारीमा सजिलै पाइने खानेकुराबारे जानकारी नहुँदा पोषणमा समस्या भोग्नुपरेका आमा तथा बच्चामा पाठशाला गएपछि चेतनामा वृद्धि भएको धारणा राखिन्।  

पिङ्की, पुनम र अमिरकलाजस्तै यो समूहका २५ जना सुत्केरी र गर्भवती आमालाई दुई वर्षसम्म पठनपाठन गराइएको थिएन। सहजकर्ता पुनम झाले सुरुका कैयन दिन घरघरमा गएर पाठशाला जाँदाका फाइदा र यहाँ सिकाउने कुराबारे जानकारी गराएकी थिइन्।  

पुनमले सुरुका दिन सम्झिँदै भनिन्, ‘सुरुमा घर–घर गएर सम्झाउँदा पनि कोही घरबाहिर निस्किन मान्दैनथे। आमाले माने पनि घरका अभिभावकले किन जानुपर्यो, किन पढ्नुपर्यो भनेर अवरोध गर्ने समस्या थियो तर धेरै सम्झाएपछि यहाँ आउन थाल्नुभएको हो।’

'सुरुका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको पुनमको मानसपटलमा ताजै छ । ‘उहाँहरू कडा अनुशासनको नाममा घरबाट सित्तिमित्ति ननिस्किने, निस्के पनि अनुहार छोप्ने, खुलेर कुरा नगर्ने समस्या थियो। सबैभन्दा ठूलो समस्या त संस्कारका नाममा आफ्नै घर र बारीमा रहेका पोषिला खानेकुरा नखाने, सागपात, कुखुरा, हाँसलगायतको मासुसमेत खानुहुन्न भन्थे। गर्भावस्था वा सुत्केरीको समयमा सामान्य अवस्थाभन्दा बढी र सन्तुलित खानापानमा ध्यान दिने कुरा त धेरैलाई थाहा नै थिएन। थाहा भएकाहरू पनि आर्थिक अभाव देखाएर खान नसकिने बताउँथे तर पाठशालामा आइसकेपछि भने अहिले धेरै सुधार भएको छ’, पुनमले सुनाइन्।

धनुषा र महोत्तरीमा ३६ पोषण पाठशाला  

कार्यक्रम कार्यान्वयन गरिरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ धनुषाका प्रमुख सुकेश्वर झाले आयोजनाको लाभग्राहीका रूपमा रहेका आर्थिक र सामाजिकरूपमा पछि परेका महिला, भूकम्प र बाढीपीडित, गरिब, आद्य असुरक्षित, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यो कार्यक्रमले मातहतका दुई जिल्लाका चार पालिकामा प्रभाव क्षेत्रका साना कृषक समुदायको जलवायु समायानुकूलनमा सुधार, कृषि उत्पादकत्वमा वृद्धि र पोषण सुधारमा काम गरिरहेको आयोजना प्रमुख झाले बताए।  

परियोजनाको महत्त्वपूर्ण क्रियाकलापमध्ये पोषण सुरक्षामा सुधारअन्तर्गत यी दुई जिल्लामा दुई सय ३० पोषण समूह गठन गरी तीमध्ये सुनौला हजार दिनका आमाहरू तथा २४ महिनासम्मका बच्चाहरूमा पौष्टिक आहार खाने दरमा सुधार ल्याउन ३६ समूह बनाई पाठशाला सञ्चालन गरिएको उनले बताए।

ती समूहलाई दुई वर्षसम्म २४ पटक (महिनामा एकपटक) पोषणको अवस्था विश्लेषण गरी परिकार बनाउने, हरेक दिन चारपटक खानुपर्ने फरक–फरक खाना, मातृशिशु स्वास्थ्य र सामाजिक व्यवहार सुधारबारे सिकाएको बताए। उनले भने, ‘त्यही सिकाइले गर्दा नौ जना मध्यम शीघ्र कुपोषित बच्चा सुपोषित अवस्थामा फर्के भने समूहका नौ सय जना आमाको स्वास्थ्य, खानपानको व्यवहार परिवर्तन, स्थानीय उत्पादनको उपयोग र जङ्कफुड प्रयोगमा नियन्त्रण भई प्रत्यक्ष लाभान्वित भए।’

पोषण पाठशालामा स्थानीय उत्पादन फर्सीको खिर, पराठा, पोषिलो जाउलो, लिटो, प्यानकेक, घरबारी पोषण बगैँचा स्थापना, कुखुरा तथा हाँसका चल्ला वितरण गरी महिला तथा बालबालिकालाई पोषणयुक्त तरकारी, फलफूल, अण्डा र मासुलगायत आवश्यक स्वच्छ आहार उपभोगमा अभिप्रेरित गरिएको कृषि अधिकृत रितेशकुमार झाले बताए। स्थानीय सहजकर्ता पुनम झाले अहिले पाठशालामा पढेका आमामार्फत टोल–टोलमा पोषण शिक्षा सिकाई विस्तार भइरहेको बताए।  

एक सय ६८ कृषि र ६१ पशु पाठशाला

पोषण समूहजस्तै आयोजनाले कृषिमा बालीतर्फ दुई सय ३२ र पशुपक्षीतर्फ दुई सय दुई गरी चार सय ३४ समूह गठन गरेको छ। त्यसमध्ये हालसम्म ४१ वटा पशु, एक सय ६८ वटा कृषक र १२ वटा कृषि व्यवसाय पाठशाला सञ्चालन गरिएका छन्।

यी पाठशालामा खाद्यान्न बीउ उत्पादन, डुबान तथा सुक्खा सहने धान तथा गहुँ बालीको उन्नत बीउ वितरण, संरक्षण, रोपण तथा रेखदेख, पुशपक्षीको गोठ सुधार तथा गोठेमल व्यवस्थापन, नश्ल सुधारमार्फत मासु तथा दूध उत्पादनमा गुणस्तरीय सुधार, तरकारीमा मौसमी र बेमौसमी तरकारीका उन्नत बीउ वितरण र त्यसको प्रयोगबारे सिकाउने गरिएको कृषि अधिकृत झाले जानकारी दिए।  

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ निवासी सहारा कृषक समूहका अध्यक्ष विजय यादवले उन्नत बीउबिजन, किटनाशक औषधि र अनुदानमा कृषि उपकरण उपलब्ध भई त्यसको प्रयोगले उत्पादन बढाउनमा सहयोग पुगेको जानकारी दिए। उनले पहिले धान र गहुँखेती गर्न पनि अरु जिल्ला र छिमेकी भारतीय बजारबाट बीउ ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले भने समूहमा आबद्ध किसानले आफूलाई पुग्ने र अरुलाई बेच्न मिल्ने गरी बीउ संरक्षण गर्न सफल भएको बताए।

त्यसैगरी पहिले आफूलाई खान पुग्ने तरकारी पनि उत्पादन गर्न कठिन हुने गरेकामा अहिले हिउँदे तथा वसन्ते तरकारीबाट चारै गाउँपालिकाका लक्षित किसानले राम्रो आम्दानी गरिरहेका छन्। गत आव २०७९/८० मा तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाट पाँच प्रतिशत घरायसी खपतमा प्रयोग गरी १५ करोड बराबरको तरकारी बेचेर आम्दानी गरेको परियोजनाको तथ्याङ्क छ।  

त्यसैगरी पशुपक्षीतर्फ नश्ल सुधार र दूध उत्पादनका लागि उन्नत जातको बोयर बोकालगायत आवश्यक पशुको मूल बीउ वितरण तथा त्यसको क्रसबाट कसरी लाभ लिने भन्ने विषयमा सिकाउने गरिएको छ। 

आयोजनाले बाख्राको नश्ल सुधारका लागि बोयर जातको बोका चार पालिकामा दुई–दुईवटाको दरले प्रदान गरेपछि अहिले बाख्राको नश्लमा सुधार आएको मुखियापट्टी गाउँपालिकास्थित श्री तराई बाख्रा समूहका अध्यक्ष रामनन्द यादवले जानकारी दिए। उनले आफूसँग भएको बोयर बोकाबाट मात्र तीन सय ७५ वटा स्थानीय बाख्रामा गर्भाधान गराएर बाख्राको नश्ल सुधार गराएका र नश्ल सुधारपछि बाख्राको दुई गुणाले वृद्धि भई किसानको आयआर्जनमा सुधार भएको बताए।  

विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन कोषबाट प्राप्त आर्थिक सहयोग, विश्व बैंकको सुपरीवेक्षण र खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा आव २०७५/७६ देखि २०८०/८१ सम्म सञ्चालन हुने यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजनामार्फत कार्यान्वयन गरिरहेको छ। यसको कार्यक्षेत्रका रूपमा देशभरका आठ जिल्लाका १६ वटा पालिका रहेका छन्। त्यसमध्ये मधेस प्रदेशका चार जिल्लाका आठ पालिकामा कार्यक्रम कार्यान्यनमा छ। 

आयोजना क्लष्टर एकाइ धनुषाले धनुषाका दुई पालिका धनौजी र मुखियापट्टी मुसहरनियाँ, महोत्तरीका पिपरा र एकडारा गाउँपालिका तथा आयोजना क्लष्टर एकाइ सप्तरीले सप्तरीका विष्णुपुर र राजगढ तथा सिरहाका औरही र बरियारपट्टी गाउँपालिकामा कार्यक्रम कार्यान्वयन गरिरहेका छन्। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस