तापवृद्धिको त्रास
०६ जेष्ठ २०८३
•
७ मिनेट पाठ
तापवृद्धिको त्रास
विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ) पृथ्वीको औसत तापक्रम क्रमशः बढ्दै जाने प्रक्रिया हो, जुन मुख्यतः मानव गतिविधिका कारण तीव्र बनेको छ। उद्योग, सवारी साधन, कारखाना तथा कोइला, पेट्रोलियम र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वातावरणमा कार्बनडाइअक्साइड, मिथेन लगायत हरितगृह ग्यासहरूको मात्रा बढिरहेको छ। यी ग्यासहरूले सूर्यबाट आएको तापलाई वायुमण्डलभित्रै रोक्ने भएकाले पृथ्वीको तापक्रम बढ्ने अवस्था सिर्जना हुन्छ, जसलाई हरितगृह प्रभाव भनिन्छ । वन विनाश, प्रदूषण र अनियन्त्रित सहरीकरणले पनि वातावरणीय सन्तुलनलाई थप कमजोर बनाइरहेका छन्। परिणामस्वरूप जलवायु प्रणाली असन्तुलित हुँदै अनियमित वर्षा, खडेरी, बाढी, पहिरो, हिमनदी पग्लिने तथा अत्यधिक गर्मीजस्ता प्राकृतिक विपद्हरूको आवृत्ति र तीव्रता बढिरहेको छ । यसले मानव जीवन, कृषि उत्पादन, स्वास्थ्य अवस्था, जैविक विविधता र समग्र वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ।




विश्वव्यापी तापवृद्धिको अवस्था

पृथ्वीको औसत तापक्रम पछिल्ला दशकहरूमा तीव्र गतिले बढिरहेको छ । हिमनदी पग्लिनु, समुद्री सतह बढ्नु, वर्षाको ढाँचा परिवर्तन हुनु तथा प्राकृतिक विपद् बढ्नु यसको प्रत्यक्ष संकेत हुन् । नेपालमा विशेषगरी हिमाली तथा तराई क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिएको छ । तापक्रम वृद्धि, अनियमित मनसुन तथा लामो खडेरीका कारण कृषि प्रणाली प्रभावित भइरहेको छ।

कृषि क्षेत्रमा विश्वव्यापी तापवृद्धिको प्रभाव

नेपालको अधिकांश जनसंख्या कृषि पेसामा निर्भर छ । जलवायु परिवर्तनले कृषि उत्पादन, पशुपालन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पुर्‍याइरहेको छ । नेपालजस्तो कृषि प्रधान तथा भौगोलिक रूपमा संवेदनशील देशमा जलवायु परिवर्तनको असर अझ बढी देखिएको छ । विशेषगरी ग्रामीण समुदाय, किसान, महिला, बालबालिका तथा विपन्न वर्ग यसको प्रत्यक्ष मारमा परिरहेका छन् । कृषि उत्पादन घट्नु, खाद्य असुरक्षा बढ्नु, महिला स्वास्थ्यमा असर पर्नु तथा मानसिक तनाव बढ्नु आज गम्भीर सामाजिक तथा आर्थिक चुनौती बनेको छ।

यसको प्रत्यक्ष प्रभाव भनेको उत्पादनमा कमी आउनु हो । अनियमित वर्षा, अत्यधिक गर्मी तथा लामो खडेरीका कारण धान, गहुँ, मकै, कोदो लगायतका बालीको उत्पादन घट्दै गएको छ । समयमै वर्षा नहुनु वा अत्यधिक वर्षा हुनु दुवै अवस्थाले खेती प्रणालीमा समस्या ल्याएको छ । विश्वव्यापी तापवृद्धिले विश्व कृषि उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारेको अध्ययनहरूले देखाएका छन्।

त्यसैगरी माटोको उर्वराशक्ति घट्नु अर्को समस्या देखिन थालिएको छ । बाढी तथा पहिरोका कारण उब्जाउ माटो बग्ने समस्या बढेको छ।

अत्यधिक तापक्रमले माटोमा चिस्यान कम भई उत्पादनशीलता घट्दै गएको छ । यसले दीर्घकालीन खाद्य संकट निम्त्याउन सक्छ । यसकै प्रभावले पानीको अभाव हुने संकेत देखिएको छ । हिमनदी पग्लिनु तथा पानीका स्रोत सुक्दै जानुले सिँचाइमा समस्या सिर्जना गरेको छ । ग्रामीण क्षेत्रमा महिलाहरूलाई टाढाटाढाबाट पानी ल्याउनुपर्ने बाध्यता बढेको छ। यसले उनीहरूको श्रम तथा स्वास्थ्यमा थप बोझ सिर्जना गरेको छ। यस्तै कारणले गर्दा रोग तथा किराको वृद्धि भइरहेको छ । तापक्रम वृद्धि भएपछि विभिन्न रोग तथा किराहरू फैलिने सम्भावना बढ्छ । बालीमा नयाँ नयाँ किसिमका रोग तथा किरा देखापर्ने साथै पशु स्वास्थ्यमा असर पर्ने समस्या बढ्दै गएको छ । यस्तै समस्या जोडिँदै जानुको कारण नै  खाद्य असुरक्षाको महसुस हुन थालेको छ । कृषि उत्पादन घट्दा खाद्यान्न अभाव, मूल्य वृद्धि तथा कुपोषणको समस्या बढ्ने गर्छ । ग्रामीण तथा गरिब परिवारहरू विशेष प्रभावित हुन्छन् । महिलाहरूले परिवारको खाद्य व्यवस्थापन गर्न थप संघर्ष गर्नुपरेको अवस्था देखिन्छ।

महिला स्वास्थ्यमा विश्वव्यापी तापवृद्धिको प्रभाव

जलवायु परिवर्तनले महिलाहरूलाई पुरुषभन्दा बढी असर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । सामाजिक, आर्थिक तथा लैंगिक असमानताका कारण महिलाहरू बढी जोखिममा रहने गरेका छन् । नेपालमा पुरुष वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै कृषि तथा घरायसी कामको जिम्मेवारी महिलामाथि बढेको छ । पानी, दाउरा तथा पशुचारा संकलन गर्न टाढा जानुपर्ने अवस्थाले महिलाको शारीरिक थकान तथा स्वास्थ्य समस्या बढेको पाइएको छ।

त्यसैगरी खाद्य अभावका कारण महिलाले पर्याप्त पोषण प्राप्त गर्न कठिन हुने गरेको छ । धेरैजसो परिवारमा महिलाले अन्तिममा खाना खाने परम्परा भएकाले उनीहरू कुपोषणको बढी जोखिममा पर्छन् । गर्भवती तथा स्तनपान गराउने महिलामा यो समस्या अझ गम्भीर देखिएको अनुसन्धानले बताएका छन् । त्यति मात्र नभएर प्रजनन स्वास्थ्यमा असर बढ्दै गएको छ । अत्यधिक गर्मी, दूषित पानी तथा स्वास्थ्य सेवामा पहुँचको कमीले महिलाको प्रजनन स्वास्थ्य प्रभावित हुन्छ । गर्भावस्थामा गर्मी तथा पोषण अभावले जटिलता बढ्न सक्छ । विपद्का समयमा सुरक्षित स्वास्थ्य सेवा नपाउनु पनि ठुलो समस्या हो । यसले सरसफाइ तथा स्वास्थ्य जोखिम बढ्दै जान्छ । बाढी तथा खडेरीका समयमा सफा पानीको अभाव हुन्छ । जसले गर्दा  झाडापखाला, छालासम्बन्धी रोग तथा संक्रमणको जोखिम बढाउँछ। महिनावारी सरसफाइ व्यवस्थापन गर्न कठिन हुने हुँदा किशोरी तथा महिलाहरू थप समस्यामा पर्छन्।

घरेलु हिंसा तथा सामाजिक जोखिम

एउटा कुराको धेरैतिर असर भनेझैं बढ्दै जाने आर्थिक संकट, बेरोजगारी तथा खाद्य असुरक्षाका कारण घरेलु तनाव बढ्ने संकेत गर्छ । यस्तो अवस्थामा महिलामाथि घरेलु हिंसा, मानसिक दबाब तथा सामाजिक विभेद बढ्ने जोखिम हुन्छ । जसको सिधै प्रभाव मानसिक स्वास्थ्य तथा मनोसामाजिक प्रभाव हो । विश्वव्यापी तापवृद्धिले मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याएको छ । प्राकृतिक विपद्, आर्थिक संकट तथा भविष्यप्रतिको डरले मानिसमा तनाव, चिन्ता तथा निराशा बढिरहेको छ। खेती नष्ट हुनु, पशुपन्छीको मृत्यु तथा आम्दानी घट्नुले किसानहरू मानसिक तनावमा पर्ने गरेका छन् । ऋण तिर्न नसक्ने अवस्था तथा परिवारको भविष्यप्रतिको चिन्ताले मानसिक दबाब बढाउँछ । यही कारणले महिलामा मानसिक बोझ थपिन जान्छ । महिलाले घर, खेती, बालबालिका तथा वृद्धहरूको जिम्मेवारी एकसाथ वहन गर्नुपर्दा उनीहरूमा मानसिक थकान बढ्ने गर्छ । खाद्य असुरक्षा तथा गरिबीका कारण महिलामा चिन्ता तथा डरको अवस्था बढी देखिन्छ।

विपद्पछिको मानसिक आघात

विपद्पछिको मानसिक आघात जलवायु परिवर्तनको एक गम्भीर तर अक्सर कम ध्यान दिइने प्रभाव हो । बाढी, पहिरो, आगलागी वा खडेरीजस्ता विपद्ले घर, जमिन, जीविकोपार्जन तथा प्रियजन गुमाउँदा मानिसहरूमा गहिरो मानसिक चोट पर्छ, जसले दीर्घकालीन तनाव, डर, चिन्ता र कहिलेकाहीं डिप्रेसनसम्मको अवस्था सिर्जना गर्न सक्छ।

विशेषगरी बालबालिका र महिलाहरू बढी संवेदनशील हुने भएकाले उनीहरूमा असुरक्षा, डर र भावनात्मक अस्थिरता अझ प्रबल देखिन्छ । जलवायु संकटका कारण बढ्दो बसाइँसराइले परिवार र समुदायबिचको परम्परागत सम्बन्ध कमजोर बनाइदिन्छ, जसले सामाजिक सहयोग प्रणाली टुट्ने र एक्लोपन बढ्ने अवस्था ल्याउँछ । यससँगै लगातार असफल खेती, बेरोजगारी र आर्थिक संकटले मानिसहरूको आत्मविश्वास घटाउँदै निराशा र भविष्यप्रतिको अनिश्चितता बढाउँछ । विशेषगरी कृषिमा निर्भर समुदायमा यो समस्या अझ गहिरो रूपमा देखिन्छ, जहाँ जीवनयापन नै जोखिममा पर्दा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ।

ग्रामीण महिलाहरूको विशेष अवस्था

नेपालका ग्रामीण महिलाहरू जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी प्रभावित समूहमध्ये पर्छन् किनभने उनीहरू दैनिक जीवनमा प्राकृतिक स्रोतहरूसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । खेतीपाती, पशुपालन, पानी संकलन, दाउरा ल्याउनेदेखि लिएर घरको खाद्य व्यवस्थापनसम्मका सबै जिम्मेवारी उनीहरूकै काँधमा पर्ने भएकाले जलवायु परिवर्तनका कारण आएको अनियमितता र अभावले उनीहरूको श्रम र समय दुवै बढाइदिन्छ । यसले शारीरिक थकान मात्र होइन, मानसिक तनाव पनि बढाउने गर्छ। यद्यपि उनीहरूको योगदान अत्यन्त महत्त्वपूर्ण भए पनि निर्णय प्रक्रियामा उनीहरूको पहुँच सीमित रहनु ठुलो चुनौती हो। धेरै महिलासँग जमिनको स्वामित्व नहुनु, कृषि तालिम तथा आधुनिक प्रविधिमा कम पहुँच हुनु र मौसम तथा बजारसम्बन्धी सूचनाबाट वञ्चित रहनुका कारण उनीहरू अझ बढी जोखिममा पर्छन् । यस्तो अवस्थामा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमहरूमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु आवश्यक छ, ताकि उनीहरू केवल प्रभावित समूह मात्र नभई समाधानका सक्रिय साझेदार पनि बन्न सकून्।

समाधान तथा अनुकूलनका उपायहरू

जलवायुमैत्री कृषि प्रविधि: सुखापन सहन सक्ने बाली, जैविक खेती, वर्षा पानी संकलन तथा आधुनिक सिँचाइ प्रणालीको विकास आवश्यक छ । जलवायु स्मार्ट कृषि प्रणालीले महिलाको श्रम घटाउन सहयोग पुर्‍याउन सक्छ।

महिला सशक्तीकरण: महिलालाई कृषि तालिम, ऋण सुविधा, प्रविधि तथा बजार पहुँच उपलब्ध गराउनु आवश्यक छ । निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउनुपर्छ।

मानसिक स्वास्थ्य सेवा: विपद्प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक छ । समुदायस्तरमा सचेतना तथा सहयोग समूह  निर्माण गर्नुपर्छ।

वन संरक्षण तथा हरित विकास: वन संरक्षण, वृक्षारोपण तथा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । यसले कार्बन उत्सर्जन कम गर्न मद्दत गर्छ।

सरकारी नीति तथा स्थानीय

सहभागिता: सरकारले जलवायु परिवर्तनसम्बन्धी योजनामा महिला, किसान तथा विपन्न समुदायलाई प्राथमिकता दिनुपर्छ । स्थानीय ज्ञान तथा समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस