शैली नवीन छ, अब नतिजा चाहिन्छ
०९ असोज २०८३
•
७ मिनेट पाठ
शैली नवीन छ, अब नतिजा चाहिन्छ
नेपाल अहिले सामान्य अवस्थामा छैन। एकातिर राजनीतिक परिवर्तनपछि जनतामा नयाँ आशा र अपेक्षा छ, अर्कातिर भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। यस्तो संवेदनशील समयमा हामीले हाम्रो राष्ट्रिय बहसको दिशा नै पुनर्विचार गर्नुपर्छ। विगतमा के भयो, कसले के गर्‍यो, कुन संरचना भत्कियो वा कुन पुरानो अभ्यास बदलियो भन्ने बहस आफ्नै ठाउँमा छन्। लोकतन्त्रमा यस्ता बहस आवश्यक पनि हुन्छन् तर राष्ट्र सधैं विगतकै बहसमा अड्किएर बस्न सक्दैन। अहिलेको मूल प्रश्न हो -अब हामी के गर्ने? नेपाललाई कता लैजाने?




भोटेकोसी बाढीको पीडालाई हामीले सामान्य प्राकृतिक घटना भनेर बिर्सन सकिँदैन। पछिल्लो सरकारी विवरणअनुसार उक्त बाढीमा परेर एक हजार चार सय ५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ६ सय ४४ जना बेपत्ता छन्। हालसम्म १३ हजार सात सय ९५ जनाको उद्धार भएको छ। यो संख्यासँगसँगै त्यसपछाडिको मानवीय पीडा भयावह हुन्छ।

हरेक मृतकका पछाडि एउटा परिवार छ, हरेक बेपत्ता व्यक्तिका पछाडि आशा र प्रतीक्षामा बसेका आफन्त छन्। अहिले हाम्रो पहिलो जिम्मेवारी पीडितलाई उद्धार र राहत दिनु मात्र होइन, उनीहरूको जीवनलाई पुनःस्थापित गर्नु हो।

बाढीले घर गुमाएका परिवारलाई केही दिनका लागि आश्रय दिएर मात्र समस्या समाधान हुँदैन। उनीहरू भोलि कहाँ बस्ने? बालबालिकाले कहाँ पढ्ने? रोजगारी गुमाएकाले कसरी फेरि आम्दानी सुरु गर्ने? किसानले बाढीले बगाएको जमिन, पशुधन र उत्पादन प्रणाली कसरी पुनःस्थापित गर्ने? साना व्यवसायीले आफ्नो व्यवसाय कसरी पुनःसञ्चालन गर्ने? परिवारको कमाउने सदस्य गुमाएकालाई दीर्घकालीन सामाजिक र आर्थिक सुरक्षा कसरी दिने? यी प्रश्नको उत्तरसहितको स्पष्ट पुनःस्थापना योजना आवश्यक छ। राहत क्षणिक हुन्छ। समस्याको दीर्घकालीन समाधानको उपाय पुनःस्थापना हो। पीडित नागरिकलाई दयाका पात्रका रूपमा होइन, अधिकारप्राप्त नागरिकका रूपमा हेर्नुपर्छ।

प्राकृतिक विपद् रोक्न सकिँदैन त्यसबाट हुने क्षति घटाउन सकिन्छ। त्यसका लागि अब नेपालको विपद् व्यवस्थापन प्रणालीमा आधारभूत परिवर्तन आवश्यक छ। विपद् आएपछि उद्धार गर्ने परम्परागत सोचबाट माथि उठेर जोखिम पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती, वैज्ञानिक भूउपयोग नीति, नदी तथा जलाधार संरक्षण र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ। सडक, पुल, विद्यालय, अस्पताल, जलविद्युत् आयोजना र आवास निर्माण गर्दा भविष्यको बाढी, पहिरो र जलवायु जोखिमलाई अनिवार्य रूपमा ध्यान दिनुपर्छ।

यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र भोटेकोसी बाढीको प्रभाव उठाउने तयारी गर्नु महत्त्वपूर्ण अवसर हो। विश्वमञ्चमा नेपालको आवाज स्पष्ट रूपमा पुग्नुपर्छ तर त्यो आवाज केवल सहयोग माग्ने आवाज हुनु हुँदैन। नेपालले जलवायु न्याय, अनुकूलनका लागि वित्तीय स्रोत, प्रविधि हस्तान्तरण, वैज्ञानिक अनुसन्धान, पूर्वसूचना प्रणाली र जलवायुजन्य क्षति तथा नोक्सानीको न्यायोचित सम्बोधनका लागि आफ्नो अधिकारका आधारमा आवाज उठाउनुपर्छ।

नेपालले विश्वलाई भन्न सक्नुपर्छ– जलवायु संकट सबैको समस्या हो तर यसको असर सबैले समान रूपमा भोगिरहेका छैनन्। कम उत्सर्जन गर्ने हिमाली देशले ठुलो मूल्य चुकाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी पनि त्यत्तिकै गम्भीर हुनुपर्छ।

जलवायु न्याय माग्दै गर्दा हामीले आफ्नो घरभित्रको जिम्मेवारी पनि बिर्सनु हुँदैन। हामीले जोखिमयुक्त ठाउँमा अव्यवस्थित बस्ती बसाउने, वातावरणीय अध्ययनलाई बेवास्ता गर्ने, नदीकिनार अतिक्रमण गर्ने र कमजोर पूर्वाधार निर्माण गर्ने प्रवृत्तिलाई रोक्नुपर्छ। अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ तर हाम्रो आफ्नै संस्थागत क्षमता, स्थानीय सरकारको तयारी र नागरिकको चेतना पनि बलियो हुनुपर्छ। विपद् आउनुअघि तयारी गर्ने राज्य नै सक्षम राज्य हो।

अब अर्को ठुलो राष्ट्रिय अजेन्डा हो - अर्थतन्त्र। हामीले जतिसुकै राजनीतिक परिवर्तनको कुरा गरे पनि बलियो अर्थतन्त्रबिना देश अघि बढ्न सक्दैन। पुनर्निर्माणका लागि स्रोत चाहिन्छ, शिक्षा र स्वास्थ्य सुधारका लागि स्रोत चाहिन्छ, रोजगारी सिर्जना गर्न स्रोत चाहिन्छ, सुरक्षित पूर्वाधार बनाउन स्रोत चाहिन्छ। त्यसैले नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ।

कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, उद्योग, साना तथा मझौला उद्यम र नयाँ पुस्ताको सिर्जनशीलतालाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्छ। आयातमा निर्भर अर्थतन्त्रबाट उत्पादन, निर्यात र रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ जानुपर्छ।

यससँग जोडिएको अर्को प्रश्न हो– युवा। नेपालका युवालाई विदेश नजान आग्रह गरेर मात्र उनीहरूलाई रोक्न सकिँदैन। देशमै अवसर सिर्जना गर्नुपर्छ। युवालाई रोजगारी मात्र होइन, उद्यम गर्ने वातावरण दिनुपर्छ। विश्वविद्यालयदेखि स्थानीय तहसम्म उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ।

आज विदेशमा आफ्नो क्षमता प्रमाणित गरिरहेका युवाले नेपालमै काम गर्ने र अरूलाई रोजगारी दिने वातावरण निर्माण गर्न सकियो भने ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’मा बदल्न सकिन्छ। विश्वविद्यालय र उद्योगबिच सहकार्य बढाउनुपर्छ। आजको विद्यार्थीले पढाइ सकेपछि आफ्नो भविष्य नेपालमै देख्न सक्ने वातावरण बनाउन सके मात्र देशको मानवपुँजी देशभित्रै उपयोग हुन्छ।

विपद्पछि झन् धेरै ध्यान दिनुपर्ने विषय हुन्, सफा पानी, सरसफाइ, औषधि, रोग नियन्त्रण र मानसिक स्वास्थ्य। आफन्त गुमाएका, घरबार गुमाएका र भविष्य अनिश्चित भएका परिवारलाई मनोसामाजिक सहयोग र सामाजिक सुरक्षा आवश्यक हुन्छ। पुनर्निर्माणको अर्थ इँटा र सिमेन्ट जोड्नु मात्र होइन, मानिसको जीवन पुनः जोड्नु पनि हो।

यी सबै कामका लागि सुशासन अनिवार्य छ। विपद्का नाममा आउने राहतदेखि पुनर्निर्माणका लागि छुट्याइने ठुलो बजेटसम्म प्रत्येक रुपैयाँ पारदर्शी रूपमा खर्च हुनुपर्छ। सरकारले नयाँ सोच र प्राथमिकताको कुरा गरिरहेको छ भने अब त्यसको परीक्षा परिणामबाट हुनुपर्छ।

जनताले भाषणभन्दा सेवा, युवाले अवसर, उद्यमीले सहज वातावरण, विद्यार्थीले गुणस्तरीय शिक्षा, बिरामीले भरपर्दो स्वास्थ्य सेवा, किसानले बजार र उचित मूल्य, विपद्का पीडितले राज्य आफ्नो साथमा रहेको अनुभूति खोजेका छन्। त्यसैले कुनै पनि सरकारको वास्तविक सफलता नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनबाट मापन हुन्छ।  

यस अवस्थामा सञ्चारमाध्यमको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। हामीले परम्परागत राजनीतिक विवादलाई मात्र बारम्बार दोहोर्‍याएर राष्ट्रिय बहस सीमित गर्नुहुँदैन। सञ्चारमाध्यमले सरकारलाई प्रश्न गर्नुपर्छ -भोटेकोसीका कति पीडित परिवार पुनःस्थापित भए? कति घर बने? कति बालबालिकाको पढाइ पुनः सुरु भयो? पुनर्निर्माणमा कति बजेट खर्च भयो? त्यो रकम कहाँ खर्च भयो? भविष्यमा यस्तै विपद् आएमा हाम्रो तयारी कति बलियो छ? युवाका लागि कति रोजगारी सिर्जना भयो? शिक्षा र स्वास्थ्यमा के परिवर्तन आयो? भ्रष्टाचार नियन्त्रणका लागि के प्रणालीगत सुधार भए? जलवायु जोखिम घटाउन के काम भइरहेको छ? यस्ता प्रश्न नै आजको जिम्मेवार पत्रकारिताका प्रश्न हुन्। अब हाम्रो राष्ट्रिय बहस ‘कसले के गर्‍यो?’ बाट ‘हामीले के गर्नुपर्छ?’ तर्फ जानुपर्छ।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालको जलवायु संकटको आवाज उठाउँदै गर्दा त्यो आवाज नेपालभित्रको कार्ययोजनासँग जोडिनुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मागसँगै देशभित्र जलवायु–प्रतिरोधी विकास सुरु हुनुपर्छ।

अब हामीले राष्ट्रिय सोच नै परिवर्तन गर्नुपर्छ। विपद्लाई केवल संकटका रूपमा होइन, सुरक्षित विकास सिकाउने अवसरका रूपमा लिनुपर्छ। युवालाई समस्याका रूपमा होइन, आर्थिक शक्तिका रूपमा हेर्नुपर्छ। महिलालाई लाभग्राहीका रूपमा मात्र होइन, अर्थतन्त्रका सक्रिय नेतृत्वकर्ताका रूपमा स्वीकार गर्नुपर्छ। शिक्षालाई खर्च होइन, भविष्यको लगानीका रूपमा बुझ्नुपर्छ। जलवायु नीतिलाई वातावरणको विषय मात्र होइन, राष्ट्रिय विकास र आर्थिक सुरक्षाको विषय बनाउनुपर्छ।

नेपालले विगतलाई दोहोर्‍याएर समृद्धि हासिल गर्न सक्दैन। नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ कार्यशैली आवश्यक छ। के भयो, त्यो परिवर्तन गर्न सकिँदैन तर अब के हुन्छ भन्ने कुरा हाम्रो हातमा छ। हामीले नेपालमै भविष्य छ भन्ने विश्वास नयाँ पुस्तामा जगाउन सक्छौं। त्यसैले अब नेपालको राष्ट्रिय बहस विगतको विवादमा होइन, भविष्यको निर्माणमा केन्द्रित हुनुपर्छ।

अब प्रश्न कसले जित्यो भन्ने होइन, नेपालले कसरी जित्छ भन्ने हो र त्यो जित तब मात्र हुनेछ, जब भोटेकोसीका पीडितले सुरक्षित घर पाउनेछन्, युवाले नेपालमै अवसर पाउनेछन्, विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनेछन्, नागरिकले भ्रष्टाचाररहित सेवा पाउनेछन्, अर्थतन्त्रले उत्पादन र रोजगारी सिर्जना गर्नेछ र नेपाल जलवायु संकटसँग जुध्न सक्षम बन्नेछ।

अब समय बहस मात्र गर्ने होइन, परिणाम दिने हो। अब समय विगत दोहोर्‍याउने होइन, भविष्य निर्माण गर्ने हो। यति ठुलो उद्देश्यका साथ यो सरकार आएको छ, खालि पारम्पारिक शैलीमा नअल्झियोस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस