सीमान्त समुदायको मुख्य संकट: गाँस र बास
२३ असोज २०८३
•
७ मिनेट पाठ
सीमान्त समुदायको मुख्य संकट: गाँस र बास
२०८२ फागुन २१ को निर्वाचनपछि राजनीतिक संकटमा परेका कांग्रेस, एमाले, माओवादी, मधेसवादीदेखि नयाँ राजनीतिक अवसर पाएका दलका जिम्मेवार नेता–कार्यकर्तासँग छुट्टाछुट्टै संवाद गर्ने अवसर मिल्यो। संवादमा मेरा प्रश्न मुख्यतः मुलुकको जटिल जातव्यवस्था, सामाजिक न्याय, असमानता, समावेशिता र भुइँनागरिकका समस्यामा केन्द्रित थिए। दल र पात्र फरक भए पनि उनीहरूका जवाफमा तात्त्विक भिन्नता भने देखिएन। उनीहरूको तर्क थियो– संविधान छ, समानुपातिक समावेशी व्यवस्था छ, शिक्षा र अवसरमा पहुँच बढेको छ, धेरैलाई सांसद र मन्त्री बनाइएको छ, त्यसो भए पनि विभेदमा परेका समुदायमा एकता र राजनीतिक चेतना किन देखिँदैन ? अवसर पाएकाहरूले आफ्नो समाजलाई किन जोड्न सकेनन्?




मैले प्रतिप्रश्न गरेँ– ती प्रतिनिधिहरू समुदायको आवश्यकता र भावनाअनुसार अवसर पाएका थिए कि दलहरूको स्वार्थ र भोट बैंकका लागि ? तर अन्तिम जवाफ प्रायः एउटै थियो– लोकतान्त्रिक प्रतिस्पर्धाको युग हो, प्रतिस्पर्धा गर्नैपर्छ, कसैले सित्तैमा केही दिँदैन। लामो समयदेखि जरा गाडेर बसेको समस्या बिस्तारै समाधान हुन्छ, लामै समय लाग्छ। परिवर्तन जादुको छडी होइन। बिस्तारै बदलिने कुरा हो। केही बदलियो, केही बदलिन बाँकी छ तर यहींबाट एउटा गम्भीर प्रश्न जन्मिन्छ– जहाँ धनी र गरिबबिच लामो सामाजिक अभ्यासपछि जो आकाश–जमिनको असमानता छ, जहाँ कसैसँग जमिन, पुँजी, शिक्षा, पहुँच र सुरक्षित आवास छ भने कसैसँग दैनिक श्रमबाहेक केही पनि छैन, त्यहाँ सबैलाई एउटै मैदानमा उभ्याएर समान प्रतिस्पर्धाको उपदेश दिनु कति न्यायपूर्ण हुन्छ ? जसलाई गास र बासको ठेगान छैन, उसको पहिलो चिन्ता सत्ता, कुर्सी र राजनीतिक होइन, आजको खाना र रातको सुरक्षित छाना हो।

सामाजिक न्यायको बहस यही वास्तविकताबाट सुरु हुनुपर्छ। संरचनागत असमानता कायम राखेर केवल राजनीतिक प्रतिनिधित्व बढाउँदैमा सीमान्त समुदायको जीवनमा सार्थक परिवर्तन आउँदैन। गरिबी केवल आम्दानीको अभाव होइन, यो भूमि, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, पुँजी र राज्यका स्रोतसाधनमाथिको असमान पहुँचको परिणाम पनि हो। जो शासक सामन्तीहरूले सिर्जना गरेका हुन्। दलित, भूमिहीन, सुकुम्बासी, मुक्त कमैया, हरवाचरवा, मजदुर, सीमान्तकृत आदिवासी जनजाति, मधेसी दलित तथा अन्य विपन्न समुदायका लागि यी समस्या एकअर्कासँग गाँसिएका छन्।

गरिबी: तथ्यभन्दा ठुलो सामाजिक संरचना

सरकारको २०२२/२३ को चौथो राष्ट्रिय जीवनस्तर सर्वेक्षणअनुसार नेपालको गरिबी दर २०.२७ प्रतिशत छ। ग्रामीण क्षेत्रमा यो दर २४.६६ प्रतिशत र सहरी क्षेत्रमा १८.३४ प्रतिशत छ। अर्थात् राष्ट्रिय गरिबीको रेखामुनि करिब प्रत्येक पाँच जनामध्ये एक जना पर्छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ६६ लाख ६६ हजार नौ सय ३७ घरपरिवार छन् तर गरिबी दर जनसंख्याका आधारमा मापन भएकाले त्यसलाई सोझै घरपरिवारमा गुणा गरेर गरिब घरपरिवारको आधिकारिक संख्या निकाल्न मिल्दैन। महत्त्वपूर्ण कुरा संख्या मात्र होइन, गरिबीको प्रकृति पनि हो। भूमिहीन दलित, मजदुर, हरवाचरवा, सुकुम्बासी र विपन्न समुदायका धेरै परिवारको समस्या कम आम्दानीमा मात्र सीमित छैन। उनीहरूसँग उत्पादनको साधन छैन, खेतीयोग्य जमिन छैन, स्थायी रोजगारी छैन र गुणस्तरीय सार्वजनिक सेवामा पहुँच कमजोर छ। त्यसैले उनीहरू गरिबीबाट बाहिर निस्कन पनि तुलनात्मक रूपमा बढी कठिन अवस्थामा छन्। गरिबी पुस्तान्तरण हुनुको एउटा प्रमुख कारण यही संरचनात्मक अभाव हो।

भूमिहीनता: गास र बासको जरो

नेपालको ग्रामीण समाजमा भूमि उत्पादनको साधन मात्र होइन, आर्थिक सुरक्षा, सामाजिक प्रतिष्ठा र राजनीतिक पहुँचको आधार पनि हो। जमिन नभएको परिवारले खेती गर्न सक्दैन। सहरी क्षेत्रमा आफ्नै घर वा जग्गा नभएको परिवार घरभाडा, अस्थिर रोजगारी र महँगो जीवनयापनको दबाबमा हुन्छ। भूमिहीन दलितका लागि यो समस्या अझ जटिल छ किनभने भूमिहीनतासँगै ऐतिहासिक जातीय विभेद र बहिष्करण पनि जोडिएको छ।

भूमि समस्या समाधान आयोगको सार्वजनिक लगतअनुसार भूमिहीन दलितका एक लाख ११ हजार दुई सय ७०, भूमिहीन सुकुम्बासीका एक लाख ९६ हजार सात सय ४४ र अव्यवस्थित बसोबासीका नौ लाख ९२ हजार ३८ आवेदन दर्ता भएका छन्। यी तीन श्रेणीका आवेदन जोड्दा १३ लाख आठ हजार आठ सय ५२ पुग्छन् ।

आवेदन संख्या नै वास्तविक भूमिहीन परिवारको संख्या होइन। दोहोरो आवेदन, स्वामित्व विवाद, अन्यत्र जमिन भएका परिवार र वास्तविक भूमिहीनबिच स्पष्ट वर्गीकरण आवश्यक हुन्छ।

सन् २०२६ मा प्रकाशित एक रिपोर्टमा आयोगको विवरण उधृत गर्दै १२ लाख १३ हजार आठ सय १२ परिवारले जग्गा स्वामित्वका लागि आवेदन दिएको र तीमध्ये करिब दुई लाख ८० हजार परिवार वास्तविक भूमिहीन भएको अधिकारीहरूको अनुमान उल्लेख गरिएको छ। त्यही रिपोर्टले १९९० यता भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न कम्तीमा १९ वटा आयोग गठन भए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको देखाउँछ। झन् समस्या बढेरै गएको छ।

यसबाट एउटा कुरा स्पष्ट हुन्छ– आयोग गठन, आवेदन संकलन र लालपुर्जा वितरणको घोषणा आफैंमा उपलब्धि होइन। उपलब्धि तब हुन्छ, जब वास्तविक भूमिहीन परिवारले कानुनी स्वामित्व, सुरक्षित आवास र जीविकोपार्जनको आधार प्राप्त गर्छ। दशकौंसम्म आयोग फेरिँदै जाने तर नागरिकको जीवन नफेरिने अवस्था आफैंमा राज्यको कार्यसम्पादनमाथिको प्रश्न हो। र, आजसम्म वितरण भएको जग्गाको पनि छानबिन गर्नुपर्नेबेला भएको छ ।

संविधान र कार्यान्वयनबिचको खाडल

नेपालको संविधानले खाद्यसम्बन्धी हक, आवासको हक, दलितको हक र सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। यी अधिकार कार्यान्वयनका लागि जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास, भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा छन्। त्यो पनि पछिल्लो युगको विभेदकै नयाँ सामाजिक शृंखला हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमको आधिकारिक तथ्यांकमा सूचीकृत बेरोजगारको संख्या सात लाख ४५ हजार चार सय ४५ देखाइएको छ भने चालु आर्थिक वर्षको विवरणमा २९ हजार सात सय नौ जनालाई रोजगारीमा संलग्न गराइएको र औसत ६६ दिन रोजगारी प्रदान गरिएको उल्लेख छ। यी तथ्यांक एउटै अवधिका प्रत्यक्ष तुलनायोग्य नहुन सक्छन्। तर एउटा कुरा भने स्पष्ट छ– न्यूनतम अवधिको सार्वजनिक रोजगारीले मात्र व्यापक बेरोजगारी र गरिबी समाधान गर्न सक्दैन। र, त्यो रोजगार पनि लक्षित वर्गले पाएको छैन। कागजी ठगी नै भएको छ। नभए परिणाम देखिन्थ्यो।

सामाजिक न्यायको पहिलो परीक्षा

नेपालले राजनीतिक परिवर्तनका धेरै चरण पार गरिसकेको छ। लोकतन्त्र आयो, गणतन्त्र आयो र संघीय शासन व्यवस्था लागु भयो। राजनीतिक अधिकार र आर्थिक सुरक्षा एउटै कुरा होइनन्। भोकै रहेको नागरिकले संविधानमा लेखिएको अधिकारको अनुभूति तब मात्र गर्छ, जब त्यो अधिकार उसको भान्सामा खाना, टाउकोमाथि सुरक्षित छाना र हातमा सम्मानजनक रोजगारीका रूपमा पुग्छ। त्यसैले राज्यको प्राथमिकता अब घोषणाभन्दा परिणाममा केन्द्रित हुनुपर्छ। सबैभन्दा पहिले वास्तविक भूमिहीन परिवारको विश्वसनीय राष्ट्रिय अभिलेख तयार गर्नुपर्छ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्पष्ट वर्गीकरण गरी पारदर्शी प्रक्रियाबाट जग्गाको स्वामित्व वा सुरक्षित आवास सुनिश्चित गर्नुपर्छ। त्यससँगै खाद्य सुरक्षा, सिप विकास, उत्पादनमूलक रोजगारी, सहुलियतपूर्ण ऋण र सामाजिक सुरक्षालाई एकीकृत गर्नुपर्छ।

गरिबी घटाउने कार्यक्रमको मूल्यांकन कति बजेट खर्च भयो वा कति अनुदान बाँडियो भन्ने आधारमा मात्र हुनुहुँदैन। कति परिवार खाद्य असुरक्षाबाट बाहिर आए, कति भूमिहीनले सुरक्षित आवास पाए, कति बेरोजगारले नियमित रोजगारी पाए र कति परिवारको आम्दानी दिगो रूपमा बढ्यो– मूल्यांकनको आधार यही हुनुपर्छ। यी सूचक जाति, लिंग, भूगोल र अपांगताको अवस्थाअनुसार छुट्याएर सार्वजनिक गर्न सके मात्र राज्यका कार्यक्रम वास्तवमै कसका लागि काम गरिरहेका छन् भन्ने देखिन्छ।

अन्ततः सीमान्त समुदायको मुख्य संकट गास र बास हो भन्नुको अर्थ उनीहरूलाई केही खाना र एउटा छाना दिएर राज्यको दायित्व पूरा हुन्छ भन्ने होइन। यसको अर्थ भोक, भूमिहीनता, बेरोजगारी र बाध्यकारी गरिबी सिर्जना गर्ने संरचनागत अवस्थाको अन्त्य गर्नु हो।

नागरिकले आफ्नो श्रमको उचित मूल्य पाउने, उत्पादनका साधनमा पहुँच राख्ने, सुरक्षित आवासमा बस्ने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्था निर्माण गर्नु नै वास्तविक सामाजिक न्याय हो।

राज्यको सफलता पनि यहींबाट मापन हुनुपर्छ– सबैभन्दा कमजोर नागरिकको जीवन कति बदलियो ? जबसम्म भुइँनागरिकको भान्सामा नियमित खाना, टाउकोमाथि सुरक्षित छाना र हातमा सम्मानजनक रोजगारी पुग्दैन, तबसम्म मुलुकको वास्तविक विकास, समृद्धि र सामाजिक न्यायको सपना पूरा हुन सक्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस