प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित
२९ कार्तिक २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित
प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिर ६ गते अर्थात् २२ नोभेम्बरदेखि प्रस्तावित भारत भ्रमणले राजकीय यात्राको समयसम्बन्धी एउटा विचारणीय प्रश्न उठाएको छ। हाम्रो समाजमा विवाह, व्रतबन्ध, गृहप्रवेश तथा देवप्रतिष्ठाजस्ता शुभकार्यमा मुहूर्त विचार गर्ने परम्परा छ। 




तर राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व दिइएको पाइन्छ।

भद्रबाहुसंहिता, बृहत्संहिता, मुहूर्तचिन्तामणि तथा मुहूर्तमार्तण्डजस्ता ग्रन्थमा राजकीय यात्राको विस्तृत विवेचन छ। ती ग्रन्थमा प्रयुक्त ‘राजा’ शब्द तत्कालीन शासनप्रमुखका लागि हो। आजको लोकतान्त्रिक व्यवस्थामा त्यसलाई सरकारप्रमुख तथा राष्ट्रको प्रतिनिधित्व गर्ने उच्चपदस्थ पदाधिकारीहरूको राजकीय जिम्मेवारीसँग सान्दर्भिक रूपमा जोडेर बुझ्न सकिन्छ।

राजयात्रामा भद्रबाहुको दृष्टिकोण

भद्रबाहुसंहिताको तेह्रौँ अध्यायमा राजकीय यात्रासम्बन्धी १८६ श्लोक सङ्कलित छन्। अध्यायको आरम्भमै शासकको विनय, विवेक, कृतज्ञता तथा आचरणलाई महत्त्व दिइएको छ। पाँचौँ श्लोकमा भनिएको छ: 

राज्ञा बहुश्रुतेनापि प्रष्टव्या ज्ञाननिश्चिताः।
अहङ्कारं परित्यज्य तेभ्यो गृह्णीत निश्चयम्॥

(भद्रबाहुसंहिता, १३।५)

अर्थात् राजा धेरै ज्ञानी भए पनि अहङ्कार त्यागेर विषयका ज्ञाताहरूसँग परामर्श गरी निर्णय लिनुपर्छ। यो उपदेश आजका शासनप्रमुखहरूका लागि पनि उत्तिकै विचारणीय छ।

त्यसपछिको श्लोकमा ग्रह, नक्षत्र, तिथि, मुहूर्त, करण तथा शुभाशुभ निमित्त विचार गर्ने उल्लेख छ। यद्यपि यस्ता परम्परागत मान्यतालाई निश्चित भविष्यवाणीका वैज्ञानिक प्रमाणका रूपमा लिन मिल्दैन। यस ग्रन्थको विशेषता के हो भने यसले यात्राको सफलतालाई ग्रहस्थितिमा मात्र सीमित नराखी शासकको आचरण, योग्य सल्लाहकार, विवेक र अनुशासनलाई पनि महत्त्व दिएको छ।

मुहूर्तचिन्तामणिमा यात्राको विशेष स्थान

रामदैवज्ञकृत मुहूर्तचिन्तामणिको एघारौँ प्रकरण यात्रासम्बन्धी छ। यसमा जन्मराशि, जन्मलग्न, ताराबल, तिथि, नक्षत्र, दिशाशूल तथा यात्रालग्नको सूक्ष्म विवेचन पाइन्छ। दोस्रो श्लोकमा भनिएको छ—

जननराशितनू यदि लग्नगे तदधिपौ यदि वा तत एव वा।
त्रिरिपुखायगृहं यदि वोदयो विजय एव भवेद्वसुधापतेः॥

(मुहूर्तचिन्तामणि, यात्राप्रकरण ११।२)

यसमा जन्मराशि, जन्मलग्न, तिनका स्वामी तथा यात्रालग्नको पारस्परिक सम्बन्धलाई महत्त्व दिइएको छ। यसबाट यात्राको मुहूर्त केवल पात्रोमा शुभ दिन खोज्ने विषय नभई सम्बन्धित व्यक्तिको जन्मस्थिति र प्रस्थानकालीन ग्रहस्थितिसमेत विचार गरिने प्रक्रिया रहेको बुझिन्छ।

वराहमिहिरकृत बृहत्संहिताको शाकुनाध्यायमा पनि पूर्वाचार्यका यात्रासम्बन्धी मत सङ्कलित छन्। मुहूर्तमार्तण्डमा यात्राकाल, तिथि, नक्षत्र तथा दिशाशूलको विवेचन छ।

प्रस्तावित भारत भ्रमणको पञ्चाङ्गीय पक्ष

प्रधानमन्त्रीको भारत भ्रमण प्रारम्भ हुने भनिएको मङ्सिर ६ गते आइतबारको पञ्चाङ्ग अध्ययन गर्दा शुभ र विचारणीय दुवै अवस्था देखिन्छन्।

प्रचलित पञ्चाङ्ग तथा दृक्गणितीय पञ्चाङ्गअनुसार त्यस दिन शुक्ल त्रयोदशी तिथि, अश्विनी नक्षत्र र व्यतीपात योग रहेका छन्। परम्परागत यात्राशास्त्रमा त्रयोदशीलाई ग्राह्य र अश्विनीलाई प्रशस्त यात्रानक्षत्र मानिन्छ। अश्विनीलाई विभिन्न दिशाको यात्राका लागि अनुकूल मान्ने विधानसमेत पाइन्छ।

त्यस दिन आइतबार र अश्विनी नक्षत्रको संयोगबाट सर्वार्थसिद्धि योग पनि बनेको छ। परम्परागत ज्योतिषमा यसलाई कार्यसिद्धिका दृष्टिले शुभ मानिन्छ। यसरी शुभ तिथि, प्रशस्त यात्रानक्षत्र र सर्वार्थसिद्धि योगको संयोग प्रस्तावित यात्राको अनुकूल पक्ष हो।

चन्द्रमा मेष राशिमा र बृहस्पति सिंह राशिमा रहने भएकाले पराशरी दृष्टिविधानअनुसार मेषस्थ चन्द्रमामा बृहस्पतिको नवम दृष्टि पर्छ। शुभग्रह बृहस्पतिको यस्तो दृष्टिलाई सकारात्मक मानिन्छ। त्यसैगरी शुक्ल त्रयोदशी भएकाले पूर्णिमाको समीप पुगेको चन्द्रमा पक्षबलले सम्पन्न हुन्छ।

तर त्यही दिन राति करिब ११:४५ बजेसम्म व्यतीपात योग पनि रहने देखिन्छ। मुहूर्तचिन्तामणिलगायतका ग्रन्थमा व्यतीपातलाई शुभकार्यका लागि वर्जनीय मानिएको छ। यद्यपि एउटा योगका आधारमा मात्रै सम्पूर्ण मुहूर्तको निर्णय गर्नु उचित हुँदैन। चन्द्रमाको शुभत्व, सर्वार्थसिद्धि योग र व्यतीपातको परस्पर सम्बन्ध तथा सम्भावित दोषपरिहारलाई पनि शास्त्रीय आधारमा विचार गर्नुपर्छ।

यात्रादिशा, चन्द्रवास र जन्मराशि

यात्रामुहूर्तको अर्को महत्त्वपूर्ण पक्ष चन्द्रवास हो। परम्परागत ज्योतिषमा मेष, सिंह र धनु राशिमा रहेको चन्द्रमाको वास पूर्वदिशामा मानिन्छ। यात्राका बेला सम्मुख वा दाहिने चन्द्र अनुकूल तथा देब्रे वा पृष्ठस्थ चन्द्र प्रतिकूल मान्ने विधान छ।

काठमाडौँको तुलनामा नयाँदिल्ली मुख्यतः पश्चिमतर्फ पर्ने भएकाले यस यात्राको दिशागत विचारमा चन्द्रमा पृष्ठस्थ हुन्छ। आइतबारको पश्चिम दिशाशूल पनि विचारणीय छ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रचलित जन्मविवरणमा उल्लेख भएको वृष जन्मराशि र रोहिणी जन्मनक्षत्रलाई आधार मान्दा प्रस्तावित दिन मेषस्थ चन्द्रमा उहाँको जन्मराशिबाट बाह्रौँ अर्थात् व्ययस्थानमा पर्छ। नेपालको परम्परागत वृश्चिक राष्ट्रराशिलाई आधार मान्दा भने छैटौँ स्थानमा रहन्छ। षष्ठ चन्द्र सामान्यतः प्रतिकूल मानिँदैन भने द्वादश चन्द्रलाई विशेष अनुकूल मान्ने चलन छैन।

यद्यपि द्वादश चन्द्रलाई अष्टम चन्द्रसमान गम्भीर दोष मान्नु उचित हुँदैन। त्यस दिन चन्द्रमा शुक्लपक्षको बलले सम्पन्न हुनुका साथै बृहस्पतिको शुभदृष्टिबाट प्रभावित छ। मुहूर्तशास्त्रमा शुभग्रहको सम्बन्ध र पक्षबललाई दोषविचारमा महत्त्व दिइन्छ। अतः द्वादश स्थानमा रहेकै कारण चन्द्रमालाई पूर्णतः अशुभ ठहर गर्नु शास्त्रीय दृष्टिले उचित हुँदैन।

प्रस्तावित यात्राको मुहूर्त शुभ कि अशुभ?

प्रस्तावित यात्रामा शुक्ल त्रयोदशी, प्रशस्त अश्विनी नक्षत्र, सर्वार्थसिद्धि योग, चन्द्रमाको पक्षबल तथा बृहस्पतिको शुभदृष्टिजस्ता अनुकूल पक्ष छन्। अर्कोतर्फ व्यतीपात, पश्चिम यात्रामा पृष्ठस्थ चन्द्रमा, दिशाशूल तथा जन्मराशिबाट द्वादश चन्द्र विचारणीय छन्।

मुहूर्तशास्त्रमा शुभ र अशुभ योगहरूको समग्र बलाबल तथा दोषपरिहार विचार गरेर निर्णय गरिन्छ। त्यसैले केही दोष देखिएकै कारण प्रस्तावित दिनलाई सर्वथा अशुभ भन्न मिल्दैन। त्यस्तै सर्वार्थसिद्धि योग रहेकै आधारमा सम्पूर्ण दोष स्वतः निवारण भएको मान्न पनि सकिँदैन।

विशेषतः प्रधानमन्त्रीको वास्तविक प्रस्थानसमय सार्वजनिक नभएकाले प्रस्थानलग्न, लग्नेश, नवमांश तथा होराको अहिले नै निर्णय गर्न सकिँदैन। तसर्थ यो प्रस्तावित दिनको पञ्चाङ्गीय मूल्याङ्कन मात्र हो, पूर्ण प्रस्थानमुहूर्तको अन्तिम निर्णय होइन। यस्ता ज्योतिषीय मान्यताले भ्रमणको वास्तविक परिणाम निश्चित गर्दैनन्।

परम्परागत कालविचार र प्रस्थानमुहूर्त

प्रधानमन्त्री शाहको शपथग्रहणमा पनि परम्परागत कालविचारलाई स्थान दिइएको थियो। २०८२ चैत १३ गते रामनवमीका अवसरमा उहाँले पूर्वनिर्धारित मध्याह्न १२:३४ बजेको साइतमा शपथ लिनुभएको थियो। त्यस अवसरमा शङ्खनाद, वैदिक स्वस्तिवाचन र बौद्ध मङ्गलपाठसमेत गरिएको थियो। आगामी भारत भ्रमणको समय निर्धारणमा पनि त्यस्तो विचार गरिएको हुन सक्छ, तर त्यसबारे सार्वजनिक पुष्टि उपलब्ध छैन।

अन्तर्राष्ट्रिय कूटनीतिक सहमतिका आधारमा निर्धारित भ्रमणको मिति परिवर्तन गर्न सहज हुँदैन। तर निश्चित दिनभित्रै सम्भव भएसम्म अनुकूल प्रस्थानलग्न, नवमांश र शुभग्रहको होरा विचार गर्न सकिन्छ।

मुहूर्तचिन्तामणिको यात्राप्रकरणमा दिग्द्वार लग्नको विशेष महत्त्व बताइएको छ। यात्राको दिशाअनुकूल राशि लग्नमा हुँदा प्रशस्त मानिन्छ। अभिजित् मुहूर्त सामान्यतः शुभ मानिए पनि अन्य त्याज्य कालखण्डसँग यसको सम्बन्ध परीक्षण गर्नुपर्छ। निर्धारित दिनको अधिकांश समय व्यतीपात रहेकाले त्यसको शास्त्रीय परिहारसमेत विचारणीय हुन्छ।

छल्न नसकिने अवस्थालाई स्वीकार गर्दै छल्न सकिने दोषहरू सकेसम्म छल्ने प्रयत्न गर्नु नै सूक्ष्म मुहूर्तविचारको उद्देश्य हो। यद्यपि वास्तविक प्रस्थानसमय उपलब्ध नभएसम्म कुनै निश्चित लग्न वा होरालाई सर्वोत्तम घोषणा गर्नु उचित हुँदैन।

ऋषिपरम्परा र राष्ट्रिय उत्तरदायित्व

वैदिक परम्परामा ज्योतिषलाई वेदाङ्गमध्ये एक तथा वेदको नेत्र मानिएको छ। कालगणना र यज्ञादि कर्मको समयनिर्धारणमा यसको महत्त्वपूर्ण भूमिका छ। यही परम्पराको विकासक्रममा मुहूर्तशास्त्रले यात्रा, राज्याभिषेक, प्रतिष्ठा तथा अन्य महत्त्वपूर्ण कार्यका लागि उपयुक्त समयको विवेचन गरेको पाइन्छ।

नेपाल समृद्ध धार्मिक–सांस्कृतिक तथा ऋषिपरम्परा भएको देश हो। पूर्वाचार्यहरूले प्रतिपादन गरेका कालगणना र मुहूर्तसम्बन्धी विचारलाई अध्ययन नै नगरी उपेक्षा गर्नु उचित हुँदैन। राजकीय विदेशयात्राका अतिरिक्त राष्ट्रिय आयोजनाको शुभारम्भ, उद्घाटन, महत्त्वपूर्ण नियुक्ति, पदभार ग्रहण तथा शपथग्रहणजस्ता अवसरमा पनि सम्भव भएसम्म शास्त्रीय मुहूर्तविचारलाई स्थान दिन सकिन्छ।

नेपालले विगतमा अनेक राजनीतिक उतारचढाव र अस्थिरता भोगेको छ। वर्तमानमा पनि सुशासन, विकास र राष्ट्रिय हितका चुनौती छन्। तिनको समाधान मुहूर्तले मात्र गर्ने होइन। उचित नीति, सक्षम नेतृत्व, पारदर्शिता र जिम्मेवार निर्णय आवश्यक हुन्छन्। तर संवैधानिक दायित्व, कानुनी प्रक्रिया, कूटनीतिक तयारी तथा जनहितसँग नबाझिने गरी परम्परागत समयविचारलाई पनि सम्मान गर्न सकिन्छ।

राजकीय विदेशयात्राको सार्थकता देश र जनताका लागि प्राप्त हुने कूटनीतिक, आर्थिक तथा दीर्घकालीन उपलब्धिसँग जोडिएको हुन्छ।शास्त्रीय परम्पराको सम्मान, समयको उपयुक्तता, विवेकपूर्ण निर्णय र राष्ट्रिय उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु नै आजको आवश्यकता हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस