राजनीतिक उत्तारचढाव र ज्योतिषशास्त्रको सङ्केत
१९ कार्तिक २०८३
•
८ मिनेट पाठ
राजनीतिक उत्तारचढाव र ज्योतिषशास्त्रको सङ्केत
ग्रहहरूको उदय–अस्त र पृथ्वीमा घट्ने घटनाबीच कुनै सम्बन्ध हुन्छ? प्राचीन ज्योतिषाचार्यहरूले आकाशीय ग्रहस्थितिका आधारमा प्रकृति, कृषि, समाज र राजकीय परिस्थितिको फलविचार गर्ने पद्धति विकसित गरेका थिए। भारतवर्षीय ज्योतिषशास्त्रको संहितास्कन्धमा यस परम्पराको महत्त्वपूर्ण स्रोत वराहमिहिरकृत बृहत्संहिताको नवौँ अध्याय ‘शुक्रचार’ हो।




२०८३ सालमा चित्रा नक्षत्रमा भएको शुक्रोदयले यस परम्पराको पुनः अध्ययन गर्ने अवसर दिएको छ। चित्राको मध्यवर्ती स्थान, शुक्रको उदयदिशा, मण्डलविशेषको फल तथा समसामयिक घटनाक्रमबीच देखिएका संयोग विचारणीय छन्।

मंगल यसवर्षको जेठ अधिकमासको अधिपति ग्रह पनि हो। अधिपति ग्रहको महत्वको विषयमा पूर्व लेखमा उल्लेख गरेको छु। यसपटक शुक्र उदय हुँदा मंगलको दृष्टिमा थियो।

शुक्रको दक्षिणमार्गीय उदय र नेपाल तथा विश्वका घटनासम्बन्धी मेरा पूर्वप्रकाशित अध्ययनकै निरन्तरतामा यो विषय प्रस्तुत गरिएको छ।

शुक्रास्त, शुक्रोदय र वर्तमान ग्रहस्थिति

सूर्यको प्रकाशका कारण शुक्र निश्चित अवधिसम्म अदृश्य हुनुलाई शुक्रास्त र पुनः दृश्य हुन थाल्नुलाई शुक्रोदय भनिन्छ। सूर्योदयअघि पूर्वी आकाशमा देखिनु पूर्वोदय र सूर्यास्तपछि पश्चिमी आकाशमा देखिनु पश्चिमोदय हो।

अध्ययन गरिएको सूक्ष्म दृग्गणनामा आधारित पञ्चाङ्गअनुसार २०८३ असोज १७ गते शुक्र वक्री, असोज २६ गते अस्त, कात्तिक १० गते मध्यरातपछि ११ गते बिहान ४ बजेअघि चित्रा नक्षत्रमा पूर्वोदय र कात्तिक २७ गते मार्गी हुने उल्लेख छ। उदयास्तको वास्तविक दृश्यता गणनास्थान र अपनाइएको पद्धतिमा निर्भर हुन्छ। वक्री–मार्गी तथा उदय–अस्त फरक खगोलीय अवस्था हुन्।

शुक्रका तीन मार्ग र चित्राको मध्यवर्ती स्थान

बृहत्संहिताको शुक्रचाराध्यायमा नाग, गज, ऐरावत, वृषभ, गो, जरद्गव, मृग, अज र दहन नामका नौ वीथिको उल्लेख छ। यी उत्तर, मध्य र दक्षिण गरी तीन मार्गमा विभाजित छन्।

अध्यायको पहिलो श्लोकमा ‘कैश्चित्’ अर्थात् केही आचार्यहरूको मतअनुसार अश्विनीदेखि क्रमशः तीन–तीन नक्षत्रका आधारमा नौ वीथि निर्धारण गरिएको छ। भट्टोत्पलको टीकामा यस प्रसङ्गसँग देवल र काश्यपजस्ता प्राचीन आचार्यका मत पनि सम्बन्धित छन्।

यस वर्गीकरणमा गोवीथि नौ वीथिमध्ये पाँचौँ अर्थात् मध्यवर्ती वीथि हो। यसअन्तर्गत हस्त, चित्रा र स्वाती पर्दछन्। चित्रा यी तीनमध्ये पनि बीचको नक्षत्र हो। यसरी चित्रा मध्यम मार्गको मध्यवर्ती वीथिभित्र समेत मध्यस्थानमा रहेको देखिन्छ।

यद्यपि अर्को वीथि विभाजनमा चित्रालाई अजवीथिमा राखिएको छ। यसले प्राचीन आचार्यहरूबीच मतभिन्नता रहेको देखाउँछ। प्रस्तुत अध्ययनमा पहिलो वर्गीकरणलाई आधार मानिएको छ।

बृहत्संहिता ९/८ अनुसार उत्तरमार्गमा शुक्रको उदयास्त सुभिक्ष र कल्याणकारी, मध्यमार्गमा मध्यम फलदायक तथा दक्षिणमार्गमा कष्टप्रद मानिएको छ। त्यसैले चित्रामा शुक्रोदयलाई एउटै आधारमा पूर्णतः शुभ वा अशुभ भन्न मिल्दैन।

तृतीय मण्डल र सामाजिक परिवर्तनको सङ्केत

शुक्रचाराध्यायमा नक्षत्रहरूलाई छ मण्डलमा विभाजन गरिएको छ। मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्त र चित्रा तृतीय मण्डलमा पर्दछन्। यसको फल वर्णन गर्दै वराहमिहिर भन्छन्:

विचरन्मघादिपञ्चकमुदितः सस्यप्रणाशकृच्छुक्रः।
क्षुत्तस्करभयजननो नीचोन्नतिसङ्करकरश्च॥
- बृहत्संहिता ९/१४

अर्थात् मघादि पाँच नक्षत्रको मण्डलमा शुक्र उदित हुँदा अन्नबालीको क्षति, भोकमरी, चोरीको भय तथा तत्कालीन सामाजिक श्रेणीगत स्थितिमा परिवर्तन र मिश्रण हुने फल बताइएको छ।

यहाँ ‘नीचोन्नतिसङ्कर’ पद विशेष विचारणीय छ। प्राचीन सामाजिक संरचनाको उच्च–निम्न स्थितिसँग सम्बन्धित यस पदलाई आधुनिक सन्दर्भमा शक्ति, प्रतिष्ठा र सामाजिक हैसियतमा आउने परिवर्तनसँग तुलनात्मक रूपमा हेर्न सकिन्छ। प्रभावशाली व्यक्तिको स्थिति बदलिनु, नयाँ नेतृत्व अगाडि आउनु वा प्रशासनिक संरचनामा फेरबदल हुनु सम्भावित तुलनात्मक प्रसङ्ग हुन्। तर यस श्लोकले कुनै निश्चित राजनीतिक घटनाको भविष्यवाणी गरेको मान्न मिल्दैन।

पूर्वदिशाको शुक्रोदय र विशेष शुभफल

तृतीय मण्डलको सामान्य फल कष्टप्रद भए पनि शुक्रचाराध्यायमा विशेष व्यवस्था उल्लेख छ:

अपरस्यां स्वात्याद्यं ज्येष्ठाद्यं चापि मण्डलं शुभदम्।
पित्र्याद्यं पूर्वस्यां शेषाणि यथोक्तफलदानि॥

-बृहत्संहिता ९/२२

अर्थात् पश्चिमतर्फ स्वात्यादि र ज्येष्ठादि तथा पूर्वतर्फ मघादि मण्डलसँग सम्बन्धित शुक्रको उदय शुभफलदायक बताइएको छ। अन्य अवस्थामा पहिले वर्णित फल लागू हुने उल्लेख छ।

चित्रा मघादि तृतीय मण्डलमा पर्दछ। यसपटक शुक्रको पूर्वोदय भएको पञ्चाङ्गीय विवरणका आधारमा यो विशेष व्यवस्था सान्दर्भिक देखिन्छ। यसबाट सामान्य मण्डलफल र विशेष उदयस्थितिको फलबीच भिन्नता रहेको बुझिन्छ। शास्त्रीय विवेचनामा एउटै नियमलाई सम्पूर्ण फलादेशको आधार बनाउन नहुने पक्ष यही हो।

चित्रामा शोभन वर्षा, तर कृषिमा क्षतिको सङ्केत किन?

बृहत्संहिता ९/३० मा चित्रा नक्षत्रस्थित शुक्रको फल ‘चित्रास्थे शोभना वृष्टिः’ अर्थात् चित्रामा शुक्र हुँदा राम्रो वर्षा हुने उल्लेख छ। सोही प्रसङ्गमा कुवा खन्नेहरू तथा पक्षीहरूलाई पीडा हुने फलसमेत बताइएको छ।

तृतीय मण्डलमा अन्नबालीको क्षति र चित्रामा राम्रो वर्षा—यी दुई कथन विरोधी देखिन सक्छन्। तर वर्षा हुनु र कृषि उत्पादन राम्रो हुनु सधैँ एउटै कुरा होइन। असमय, अत्यधिक वा असमान वर्षाले पनि कृषिमा क्षति पुर्‍याउन सक्छ। वास्तविक मौसम र कृषि परिणामको मूल्याङ्कन भने तथ्याङ्क तथा वैज्ञानिक अध्ययनबाटै गर्नुपर्छ।

चित्रा, विश्वकर्मा र मङ्गलको सम्बन्ध

चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन्, जसलाई विश्वकर्मासँग सम्बन्धित मानिन्छ। विश्वकर्मा वास्तु, निर्माण तथा शिल्पपरम्पराका आद्य आचार्यका रूपमा सम्मानित छन्। विंशोत्तरी दशापद्धतिअनुसार चित्राका नक्षत्रस्वामी मङ्गल हुन्।

चित्राको मध्यवर्ती स्थान, विश्वकर्मासँगको सम्बन्ध र मङ्गलको नक्षत्रस्वामित्व वास्तु तथा ज्योतिष दुवै दृष्टिले अध्ययनयोग्य छन्। यसै सन्दर्भमा सिंहदरबार परिसर तथा गृह मन्त्रालयका भवनहरूको वास्तुस्थितिबारे मेरो प्रत्यक्ष अवलोकनबाट केही प्रश्न उठेका छन्। त्यसको विस्तृत वास्तुशास्त्रीय अध्ययन छुट्टै प्रस्तुत गर्नेछु।

शुक्रस्वामित्व र समसामयिक राजनीतिक तरङ्ग

यसअघिको शुक्रसम्बन्धी अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहका नामाक्षरबाट विचार गरिने राशिहरू शुक्रस्वामित्वसँग सम्बन्धित रहेको संयोगतर्फ मैले सङ्केत गरेको थिएँ। वृष र तुला दुवै शुक्रका राशि हुन्। यो नामाक्षरमा आधारित ज्योतिषीय परिकल्पना हो, सम्बन्धित व्यक्तिहरूको प्रमाणित जन्मराशि होइन।

शुक्रको चित्रा नक्षत्रमा उदय भएको भनिएको निकट अवधिमा बिचौलियासम्बन्धी सार्वजनिक विवादले राजनीतिक नेतृत्व, न्यायपालिका तथा सुरक्षा प्रशासनसम्म प्रश्न उठाएको छ। यसैबीच २०८३ कात्तिक १८ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको स्थानमा डा. मनोजकुमार केसी नियुक्त भएको विवरण सार्वजनिक भएको छ।

यहाँ एउटा रोचक संयोग देखिन्छ। नौ वीथिमध्ये मध्यवर्ती गोवीथिको पनि बीचमा रहेको चित्रामा शुक्रोदय भएको समयमा बिचौलियासम्बन्धी प्रकरणले व्यापक चर्चा पाएको छ। प्रहरीको सर्वोच्च नेतृत्वमै परिवर्तन भएको घटनालाई समेत बृहत्संहिताको ‘नीचोन्नतिसङ्कर’ सम्बन्धी फलविचारसँग तुलनात्मक रूपमा हेर्न सकिन्छ। तथापि ‘मध्यवर्ती’ र ‘बिचौलिया’ शब्दबीचको समानता आफैँमा शास्त्रीय फलादेश होइन।

महर्षि पराशरको ग्रहदृष्टिसम्बन्धी नियमानुसार मङ्गलले आफ्नो स्थानबाट चौथो, सातौँ र आठौँ स्थानमा विशेष दृष्टि राख्छ। यस आधारमा कर्कट राशिस्थित मङ्गलको चौथो दृष्टि तुला राशिमा पर्दछ। तुला राशिमा शुक्रको स्थिति रहेको अवस्थामा यो ग्रहसम्बन्ध विशेष विचारणीय हुन्छ। परम्परागत ज्योतिषमा मङ्गललाई साहस, पराक्रम, सुरक्षा, सेना तथा कठोर निर्णयको कारक मानिन्छ। मङ्गलबार पनि यसै ग्रहको अधिपत्य भएको वार हो। हालका केही महत्त्वपूर्ण राजकीय नियुक्ति मङ्गलबार सम्पन्न भएका संयोगलाई समेत यस सन्दर्भमा स्मरण गर्न सकिन्छ। तथापि, यस्ता संयोगलाई राजनीतिक घटनाको निश्चित कारण नभई शास्त्रीय फलविचारसँगको तुलनात्मक अध्ययनका रूपमा मात्र लिनुपर्छ।

ऐतिहासिक संयोगले के भन्छन्?

नेपालका २००७, २०४६–४७ र २०६२–६३ सालका राजनीतिक परिवर्तनसँग सम्बन्धित शुक्रको उदयास्त मेरा पूर्वअध्ययनका विषय हुन्। विशेषतः २०६२–६३ र २०८१–८२ का अवधिमा दुई–दुई पटक दक्षिणमार्गीय शुक्रोदय भएको मेरो पञ्चाङ्गीय अध्ययनमा देखिएको थियो।

यस विषयमा नागरिक दैनिकमा प्रकाशित ‘यस्तो छ ज्योतिषशास्त्रको सङ्केत’, ‘शुक्र उदयास्त र राजनीतिक–सामाजिक प्रभाव’ तथा ‘अधिकमास र अधिपति शुक्रको अशुभ उदय’ शीर्षकका लेखहरूमा चर्चा गरिसकेको छु।

विश्वका घटनामा सन् २०२२ जनवरीको शुक्रोदयपछि फेब्रुअरीमा रूस–युक्रेन युद्ध सुरु भएको तथा २०८१ चैतको शुक्रोदयपछि पहलगाम आक्रमण, भारत–पाकिस्तान तनाव र इजरायल–इरान सैन्य सङ्घर्ष भएका उदाहरण उल्लेखनीय छन्।

यी घटनाहरूको समयगत निकटता अध्ययनयोग्य भए पनि कारणात्मक सम्बन्धको प्रमाण होइन। त्यसका लागि शुक्रोदय भएका र नभएका तुलनीय अवधिका घटनाहरूको व्यवस्थित अध्ययन आवश्यक हुन्छ।

बृहत्संहिताबाहेक भद्रबाहुसंहिता, अद्भुतसागर तथा भृगुसंहितामा पनि शुक्रको उदयास्त, वर्षा, कृषि र राजकीय परिस्थितिसम्बन्धी फलविचार पाइन्छ। यी ग्रन्थले यस अध्ययनपरम्पराको व्यापकता देखाउँछन्।

निष्कर्ष

चित्रा नक्षत्रमा शुक्रोदयको विवेचना गर्दा मार्ग, वीथि, मण्डल, उदयदिशा, नक्षत्रविशेषको फल तथा सम्बन्धित ग्रहदृष्टि विचार गर्नुपर्छ। बृहत्संहिता ९/१४ को सामान्य कष्टप्रद फल, ९/२२ को विशेष शुभफल र ९/३० को शोभन वर्षाफललाई समग्र रूपमा बुझ्नु आवश्यक छ।

चित्राको मध्यवर्ती स्थान, विश्वकर्मासँगको सम्बन्ध तथा मङ्गलको नक्षत्रस्वामित्वले थप शास्त्रीय सन्दर्भ प्रदान गर्छन्। ‘नीचोन्नतिसङ्कर’ पदले प्राचीन सामाजिक फलविचारलाई वर्तमानसँग तुलना गर्ने अवसर दिन्छ। तथापि संयोगलाई प्रमाण र परिकल्पनालाई निश्चित भविष्यवाणी बनाउनु हुँदैन।

कृषि, खाद्यान्न आपूर्ति, सार्वजनिक सुरक्षा, प्रशासनिक पारदर्शिता र सामाजिक सद्भावप्रति सजग रहनु आजको आवश्यकता हो। प्राकृतिक घटनाका लागि वैज्ञानिक तथ्याङ्क र सार्वजनिक विवादका लागि प्रमाण, कानुन तथा निष्पक्ष अनुसन्धान नै विश्वसनीय आधार हुन्।

शास्त्रीय सङ्केतको उद्देश्य भय उत्पन्न गर्नु होइन; प्रकृति, समाज र सार्वजनिक जीवनप्रति सजगता बढाउनु हो। प्राचीन ज्ञानपरम्पराको सम्मान शुद्ध पाठ, विश्वसनीय दृग्गणना, विवेकपूर्ण व्याख्या र निष्पक्ष अनुसन्धानबाट नै सम्भव हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस