हाइब्रिड राष्ट्रवाद र राजनीतिक अन्योल
२० साउन २०८३
•
७ मिनेट पाठ
हाइब्रिड राष्ट्रवाद र राजनीतिक अन्योल
इतिहास साक्षी छ, जब–जब कुनै समाजले आफ्नो आन्तरिक स्वाभिमान र रैथाने चिन्तनको धरातल गुमाउँछ, तब त्यसको मानसिक संकट लुकाउन ‘उग्र र प्रदर्शनकारी देशभक्ति’को जन्म हुन्छ। त्यसले एकप्रकारले अन्योलता  वा द्विविधा उत्पन्न गराउँदै जान्छ। त्यही प्रसंगसँग मेल खाने विचार इटालेली चिन्तक एन्टोनियो ग्राम्सीले ‘शासक वर्गले आफ्नो शक्ति जोगाउन समाजमा एउटा यस्तो झुटो चेतना पैदा गरिदिन्छ, जहाँ सर्वसाधारण नागरिक आफ्ना वास्तविक समस्या बिर्सेर सत्ताकै स्वार्थलाई आफ्नो भाग्य ठान्न पुग्छन्।’




फ्रान्ज फ्याननले यसलाई अझ स्पष्ट पार्दै लेखेका छन्– ‘तेस्रो विश्वका बुद्धिजीवीहरू बाहिर जतिसुकै उग्र राष्ट्रवादको नारा लगाए पनि भित्रभित्रै पश्चिमा मालिकहरूको विकृत अनुकरण र गुलामी गरिरहेका हुन्छन्।’

यस्तै विरोधाभासलाई समात्दै अर्का विद्वान् थिओडोर एडोर्नोले चेतावनी दिएका थिए कि आधुनिक युगको राष्ट्रवाद कुनै आत्मिक विवेक होइन, बरु बजार र सत्ताले आफ्नो स्वार्थका लागि नागरिकलाई अल्झाउन तयार पारेको एउटा ‘देखावटी भावुकता’ मात्र हो।’

यिनै झुटो चेतना, मानसिक गुलामी र देखावटी भावुकताको आधुनिक रूपलाई नै ‘हाइब्रिड राष्ट्रवाद’ भनिन्छ। त्यसलाई नेपालीमा  वर्णशंकर राष्ट्रवाद हुन्छ।संसारमा कुनै पनि मानव सभ्यता, भाषा, संस्कार–संस्कृति र विचारहरू निरपेक्ष वा शुद्ध हुँदैनन्। ऐतिहासिक आदानप्रदानको क्रममा यिनीहरू कुनै न कुनै रूप एकअन्तर भई वर्णशंकर बनेकै हुन्छन्। सभ्यताको विकासक्रममा यस्तो विचार वा संस्कृतिको शंकरणले समाजलाई गतिशील र रूपान्तरणकारी बनाउन कति योगदान दियो भन्ने कुरा नै महत्त्वपूर्ण पाटो हो तर समकालीन नेपालको सन्दर्भमा भने यस्तो वर्णशंकर विचार वा राष्ट्रवादले समाजलाई कुनै सकारात्मक रूपान्तरण र निकास दिनुको सट्टा झन् उग्र, छद्म र अन्योलग्रस्त बनाएको छ।

यस परिप्रेक्ष्यमा ग्राम्सीले भनेको झुटो चेतना, फ्याननले औंल्याएको मानसिक गुलामी र एडोर्नोले देखाएको नक्कली भावुकताको कसीमा उभिएर अनि ‘सायारेम्मा’ले निर्देश गरेको मुन्दुमी स्वाभिमानको ऐना हेरेर आजको यो खोक्रो हाइब्रिड राष्ट्रवादको मनोवैज्ञानिक एवं दार्शनिक शल्यक्रिया गर्नु अपरिहार्य भइसकेको छ। त्यसैले यहाँ  क्रमशः इतिहासको विद्रोही चेत, वर्तमानको वैचारिक परनिर्भरतालगायत वर्णशंकर, राजनीतिक विचार सिद्धान्त र   आयामहरूलाई समेट्दै, नेपाली बौद्धिक वृत्त र युवा मानसमा जरो गाड्दै गएको हाइब्रिडराष्ट्रवादी भ्रमको मुकुण्डो उतार्ने र वास्तविक, स्वाभिमानी राष्ट्रप्रेमतर्फको यात्रालाई पुनर्जीवित गर्ने प्राज्ञिक प्रयास गरिएको छ।

मेरो पूर्ववर्ती पुस्तक ‘सायारेम्मा: राष्ट्रवाद कि राष्ट्रप्रेम’मा मीमांसा  गरिएझैं सायारेम्मा भनेको मानिसको भित्री शीर उठाउने र रैथाने स्वाभिमान जागृत गराउने कुरा, जुन सात्विक राष्ट्रप्रेमको शाश्वत धरातल र विविध राष्ट्रियताहरूको संयुक्त विचारधारा राष्ट्रवादको अर्गानिक स्वरूप हो।

हाइब्रिड राष्ट्रवाद बहस: हाइब्रिड राष्ट्रवादको वकालत गर्नेहरू एउटा कुनामा मात्र छैनन्, उनीहरू राष्ट्रका प्रायः सबै स्थानमा ह्वात्तै बढिरहेका छन्। दिन दुई गुणा रात चौगुणा बढिरहेको हाइब्रिड राष्ट्रवादीहरू बाहिर प्रगतिशील र क्रान्तिकारी देखिने शीर्ष राजनीतिक नेतृत्वदेखि लिएर, कुनै विचारबिनाको उग्र नारा बेच्ने नयाँ ‘पपुलिस्टहरू’ र पश्चिमा फन्डिङमा हुर्किएका सुकिला थिंक–ट्यांकका ‘बौद्धिक दलाल’हरू सबैको विचार आज एउटै बिन्दुमा छन्। दक्षिणपन्थी संकीर्णता र वैचारिक आत्मसमर्पणजस्ता पश्चगामी विचारबाट ग्रसित, दृश्य–अदृश्य पात्रहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई वास्तविक रूपमा संस्थागत गर्ने  मुद्दाहरूलाई ओझेलमा र आफ्नो असफलता लुकाउन जनतालाई खोक्रो र कृत्रिम राष्ट्रवादको अफिम खुवाइरहेका छन्।

आजको दिनसम्म आइपुग्दा राजनीतिक र प्राज्ञिक परिदृश्यमा ‘हाइब्रिड राष्ट्रवादी विचार’को वकालत कुनै एउटा व्यक्ति वा दलले मात्र गरेका छैनन्, विभिन्न शक्ति, समूह र पात्रहरूको एउटा अनौठो गठजोडबाट सञ्चालित छ, जहाँ सबैको राजनीतिक र वैचारिक पृष्ठभूमि फरक–फरक छन् तर पनि भित्रभित्रै उनीहरूको चरित्र एउटै छ। बाहिर प्रगतिशील/उग्र नारा, भित्र दक्षिणपन्थी अजेन्डा र वैचारिक परनिर्भरता।

त्यसो हुनाले नेपालको सन्दर्भमा यो हाइब्रिड राष्ट्रवादको वकालत सैदान्तिक रूपमा कसले गर्छ र कसले मलजल गर्छ भन्ने मूलतः चार प्रमुख पात्र/समूहमा वर्गीकरण गरी चिरफार गर्‍यो भने बुझ्न अझै सहज हुनेछ।

पहिलो कुरा उनीहरू प्रगतिशील मुकुण्डोधारी राजनीतिक नेतृत्व गरिरहेका हुन्छन्। नेपालमा हाइब्रिड राष्ट्रवादका सबैभन्दा ठुला वाहक स्थापित ठुला दल कम्युनिस्ट र समाजवादी/प्रजातान्त्रिक पार्टी र शीर्ष नेताहरू नै छन्। उनीहरूको चरित्र बाहिर समाजवाद, संघीयता, समावेशिता र साम्राज्यवाद–विरोधी चर्का भाषण दिन्छन् तर व्यवहारमा उनीहरूको विचार पूरै दक्षिणपन्थी, पश्चगामी र वैदेशिक शक्तिहरूसँगको गुप्त सम्झौतामा आधारित हुन्छ। विशेषतः उनीहरूको चरित्र भाषण र व्यवहारमा विरोधाभासपूर्ण देखिन्छ। उनीहरू  सडक  र चुनावी सभाहरूमा ‘राष्ट्रिय स्वाभिमान’को उग्र नारा उराल्दै बेच्ने तर सत्तामा पुगेपछि राज्यका स्रोतसाधन शक्ति राष्ट्रहरूको पुँजीपतिहरूलाई बुझाउने र भूराजनीतिक शक्तिहरूसँग आत्मसमर्पण गर्ने दोहोरो चरित्र नै उनीहरूको हाइब्रिड रूप हो।

यति मात्र होइन, उनीहरूबाहेकका उदाइरहेका नयाँ शक्ति नयाँ ‘लोकप्रियतावादी’ र भर्चुअल भिडका अगुवाहरू पनि हाइब्रिड राष्ट्रवादी हुन्। उनीहरूको चरित्र प्रणालीको विरोध गरेझैं गर्छन् र कुनै वैचारिक धरातल वा दर्शनबिनाको ‘विशुद्ध देशभक्ति’को नारा दिन्छन्। उनीहरूसँग संघीय गणतन्त्रलाई सुदृढ बनाउने वा देशको वर्गीय संकट हल गर्ने कुनै स्पष्ट राजनीतिक–आर्थिक मार्गचित्र छैन। त्यो पक्षमा खासै अगाडि बढ्न चाहँदैनन्। उनीहरूले फैलाउने राष्ट्रवाद केवल सतही, भर्चुअल आक्रोश र दक्षिणपन्थी संकीर्णता (जात, धर्म वा कृत्रिम शत्रु) मा आधारित हुन्छ। त्यसैगरी तेस्रो आधार भनेको ‘प्रोजेक्टेड’ बुद्धिजीवी र दाता–पोषित थिंक–ट्यांकहरू पनि हाइब्रिड राष्ट्रवादीहरू हुन्। उनीहरू नेपालका प्रमुख विश्वविद्यालय, काठमाडौंका ‘सुकिला–मुकिला’ अध्ययन संस्थान थिंक थ्यांक र विदेशी अनुदान संस्थाहरूमा आधारित प्राज्ञिक दलाल र विश्लेषकहरू आदि पर्छन्। मूलतः उनीहरूको चरित्र आफूलाई स्वतन्त्र, नागरिक समाज वा भू–राजनीतिक विज्ञका रूपमा प्रस्तुत गर्छन्। तर उनीहरूको विचार र व्यवहारमा यथेष्ट विरोधाभास हुन्छन्। उनीहरू प्रायः पश्चिमा ज्ञानका कारखाना वा बाह्य दातृ निकायबाट उत्पादित भाष्यहरूलाई नेपाली माटोमा राष्ट्रिय हितको लेबल लगाएर आयात गरिरहेका हुन्छन्। बाहिर रैथाने वा समावेशी कुरा गर्ने तर भित्रभित्रै नेपालको रैथाने दर्शन सायारेम्मा र मौलिक आलोचनात्मक चेतलाई ध्वस्त पार्ने काम उनीहरूबाटै गराइरहेका हुन्छन्।

त्यसैगरी अर्को आधार भनेको दक्षिणपन्थी–संरक्षक मिडिया र डिजिटल इको–चेम्बर मुख्यधारका कर्पोरेट मिडिया हाउसहरू र सामाजिक सञ्जालका संगठित ‘ट्रोल’ वा ‘पेज’ सञ्चालकहरू। मूलतः उनीहरू  राष्ट्रवादलाई एउटा बिक्री हुने सामग्री बनाउँछन्। जस्तै देशमा भ्रष्टाचार, संघीयताको निष्प्रभाविता वा नीतिगत टाटपल्टाइमाथि प्रश्न उठ्नेबित्तिकै उनीहरूले कुनै उग्र भावनात्मक वा दक्षिणपन्थी मुद्दा उछालेर जनताको ध्यान मोड्न उद्दत हुन्छन्। दक्षिणपन्थी संरक्षकहरूले नै सत्य बोल्ने अर्गानिक बुद्धिजीवीहरूलाई देशद्रोहीको बिल्ला भिराउने काम गर्छन्।

हाम्रो यथार्थ: हाम्रो समाजको मौलिक धरातल पूरै खण्डित कर्म अन्त्य हुनुपर्ने र स्वतःस्फुर्ट राष्ट्रप्रेम र राष्ट्रवादी भावनाले उद्देलित हुनुपर्ने थियो तर वर्तमान राजनीतिको विरूप यो व्यवस्थाले संस्थागत आकार लिन नपाउँदै हाइब्रिड राष्ट्रवादको चपेटामा परेर अन्योलता र दिशाहीनको बाटोमा पुग्यो। दलहरू उनीहरूको आदर्श र ऐतिहासिक अजेन्डाहरूबाट पूरै च्युत भई नीतिगत रूपमा शून्यमा प्रायः हुनुपुग्यो। बाहिरी लेपबाट हेर्दा यो व्यवस्था बलियो र स्थिरजस्तो देखिए पनि भित्रभित्रै दलहरू भित्रको वैचारिक परनिर्भरता र शक्ति संघर्षले गर्दा संघीयताको जग नै हल्लिएको छ। यो छद्म राष्ट्रवादी होहल्लाले व्यवस्थाका वास्तविक चुनौतीहरूजस्तै प्रदेशहरूको स्वायत्तता, साधन–स्रोतको न्यायिक बाँडफाँड र संवैधानिक निकायहरूको निष्पक्षतामाथि हुनुपर्ने गम्भीर राजनीतिक विमर्शहरू पूरै ओझेलमा परेको छ। जसले समग्र गणतान्त्रिक पद्धतिलाई नै एउटा अकल्पनीय अन्योलको भुमरीमा धकेलिदिएको अवस्था छ। संसद् जनताको निम्ति नीति निर्माणको थलो हुनुको सट्टा क्षणिक चुनावी दाउपेच र दक्षिणपन्थी विचारसँगको गुप्त लेनदेनको अखडा बन्न पुग्यो। यी कमजोरीले गर्दा समग्र गणतान्त्रिक पद्धतिमाथि नै आमनागरिकको अनास्था तीव्र रूपमा बढ्दै गयो।

यसरी एकातिर राज्यको संघीय संरचना चरम नीतिगत शून्यताबाट गुज्रिनु र अर्कातिर प्रगतिशील भनिएका शक्तिहरूको विचार पूरै दक्षिणपन्थी अजेन्डासँग मिल्न जानुले नेपाली राजनीतिलाई कतै नभेटिने अँध्यारो सुरुङनजिकै पु¥याएको छ र समग्र व्यवस्था नै कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने गम्भीर खतरा पैदा भएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस