मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ?
२९ असोज २०८३
•
९ मिनेट पाठ
मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ?
राजनीति जनताको सेवा गर्ने माध्यम हो कि उसको व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने साधन? सार्वजनिक जीवनमा उच्च पद प्राप्त गर्नु राष्ट्रप्रतिको जिम्मेवारी बढ्नु हो कि भविष्यमा पुनः सत्तामा फर्किने भर्‍याङ प्राप्त गर्नु हो? आज नेपाली राजनीतिमा उठेको यो प्रश्न कुनै एक व्यक्ति वा दलमा सीमित छैन। यो राजनीतिक नैतिकता, संवैधानिक संस्थाको गरिमा, नेतृत्वको जवाफदेहिता र लोकतन्त्रको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनले यस बहसलाई थप सान्दर्भिक बनाएको छ।




२०८३ असोजमा एमालेले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि उनी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएको समाचार सार्वजनिक भएको छ। यसले उनको राजनीतिक पुनरागमनलाई व्यक्तिगत आकांक्षाको विषयबाट माथि उठाएर संवैधानिक पदको मर्यादा र दलीय राजनीतिबीचको सम्बन्धबारे राष्ट्रिय बहसको विषय बनाएको छ।

नेपालको संविधानको धारा ६१ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा परिभाषित गर्दै राष्ट्रिय एकताको प्रवर्धन तथा संविधानको पालन र संरक्षणलाई प्रमुख जिम्मेवारी मानेको छ। राष्ट्रपति कुनै दलको राजनीतिक प्रतिनिधि मात्र नभई समग्र राष्ट्रको संवैधानिक संस्थाको प्रतिनिधि हो। त्यसैले राष्ट्रपतिमा निर्वाचित भएपछि दलीय आबद्धताभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नु संवैधानिक पदको आधारभूत अपेक्षा हो।

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने अधिकार छ कि छैन भन्ने प्रश्नभन्दा पनि उनको राजनीतिक पुनरागमनलाई लिएर उठेका प्रश्नको जवाफ व्यक्तिको आलोचना वा समर्थनले मात्र दिँदैन, संवैधानिक मर्यादा, विगतको भूमिका, वर्तमान राजनीतिक आचरण र भविष्यमा स्थापित हुने नजिरको निष्पक्ष मूल्यांकनले दिन्छ।

यहाँ एउटा आधारभूत भिन्नता बुझ्न आवश्यक छ, कानुनले अनुमति दिनु र सार्वजनिक नैतिकताले उचित ठहर्‍याउनु एउटै कुरा होइन। कुनै कार्य कानुनी रूपमा सम्भव भए पनि त्यसले संस्थागत निष्पक्षता र जनविश्वासमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्न सक्छ।

त्यसैगरी, राजनीतिक अधिकारको प्रयोग गरेकै आधारमा कसैलाई अनैतिक ठहर्‍याउनु पनि न्यायोचित हुँदैन। आलोचनाको आधार व्यक्तिको पूर्वाग्रह होइन, सार्वजनिक पदको मर्यादा र व्यवहारबिचको सम्बन्ध हुनुपर्छ। राष्ट्रपतिको पदमा पुगेको व्यक्तिको वास्तविक उचाइ पुनः पार्टीको शक्ति केन्द्रमा पुग्नुमा होइन, आफूले निर्वाह गरेको भूमिकाको गरिमा कायम राख्न सक्नुमा हुन्छ। पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किने निर्णय गर्दा आफ्नो अधिकारसँगै राष्ट्राध्यक्षको संस्थाप्रति जनताले राखेको विश्वास र भविष्यका राष्ट्रपतिहरूका लागि स्थापित हुने राजनीतिक संस्कारबारे पनि विचार गर्नुपर्छ।

पदको मोह र नेतृत्व हस्तान्तरण

नेपालको राजनीतिक समस्याको अर्को गम्भीर पक्ष नेतृत्व हस्तान्तरणको कमजोर संस्कार हो। बहुदलीय लोकतन्त्र पुनःस्थापित भएको दशकौं बितिसक्दा पनि प्रमुख राजनीतिक दलहरूमा नेतृत्वको नियमित परिवर्तन, आन्तरिक प्रतिस्पर्धा र नयाँ पुस्तालाई निर्णायक जिम्मेवारी दिने अभ्यास पर्याप्त संस्थागत हुन सकेको छैन। नेतृत्वमा रहेका व्यक्तिहरू सरकार, पार्टी र विभिन्न शक्ति संरचनामा लामो समयसम्म प्रभावशाली रहिरहने प्रवृत्तिले राजनीतिक अवसरको वितरणलाई सीमित बनाएको छ।

अनुभव आफैंमा कमजोरी होइन। लामो राजनीतिक यात्राले इतिहास, नीति, संस्थागत जटिलता र राष्ट्रिय परिस्थितिको ज्ञान दिन्छ तर अनुभवको अर्थ अनन्तकालसम्म नेतृत्वमा रहने अधिकार होइन। परिपक्व नेतृत्वले आफूले प्राप्त गरेको अनुभवलाई नयाँ पुस्ताको क्षमता विकास गर्न, सक्षम उत्तराधिकारी तयार पार्न र आफूविना पनि संस्था चल्न सक्ने बनाउन प्रयोग गर्छ। आफूलाई अपरिहार्य ठान्ने नेतृत्वले भने संस्थालाई व्यक्तिनिर्भर बनाउँछ।

राजनीतिक दलभित्र पदाधिकारीको सङ्ख्या बढाउनु मात्र लोकतान्त्रिक सुधारको प्रमाण होइन। संगठन विस्तार, जिम्मेवारीको स्पष्ट बाँडफाँट र कार्यसम्पादनको प्रभावकारिताका लागि पद थप्न सकिन्छ तर पदको विस्तार असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न, समर्थकलाई पुरस्कृत गर्न वा नेतृत्वको पकड सुरक्षित राख्न केन्द्रित भयो भने त्यसले संस्थागत लोकतन्त्रलाई कमजोर बनाउँछ। पदको संख्या बढ्दै जाने तर निर्णय प्रक्रियामा पारदर्शिता, आन्तरिक प्रतिस्पर्धा र जवाफदेहिता नबढ्ने हो भने संगठन ठूलो देखिए पनि लोकतान्त्रिक बन्न सक्दैन। यही संरचनाले चाकडीमुखी राजनीति जन्माउँछ। जब अवसर योग्यता, योगदान र प्रतिस्पर्धाका आधारमा भन्दा नेतृत्वसँगको निकटताबाट प्राप्त हुन्छ, तब कार्यकर्ता विचारको प्रतिनिधि नभई व्यक्तिको समर्थक बन्न थाल्छ। नेतृत्वको गलत निर्णयमाथि प्रश्न उठाउनु जोखिमपूर्ण हुन्छ, आलोचनाभन्दा प्रशंसा सुरक्षित बन्छ र स्वतन्त्र सोच राख्नेहरू किनारामा पुग्छन्। नयाँ पुस्ताले यस्तो प्रवृत्तिलाई ‘झोले राजनीति’ भनेर आलोचना गर्नुको पृष्ठभूमिमा यही असन्तुष्टि छ।

यस समस्याको समाधान कार्यकर्तालाई मात्र दोष दिएर सम्भव छैन। नेतृत्वले कस्तो संस्कारलाई पुरस्कृत गर्छ भन्ने कुराले संगठनको चरित्र निर्धारण गर्छ। प्रश्न गर्ने कार्यकर्तालाई अवसरबाट वञ्चित गर्ने र व्यक्तिगत निष्ठालाई योग्यताभन्दा माथि राख्ने नेतृत्वले अन्ततः आफ्नो वरिपरि सत्य बोल्न नसक्ने समूह निर्माण गर्छ। त्यसपछि पार्टीभित्र गलत निर्णय सच्याउने क्षमता घट्छ र जनताको वास्तविक समस्या नेतृत्वसम्म पुग्न कठिन हुन्छ।

सन् २०२५ को सेप्टेम्बरमा नेपालमा भएको जेनजी आन्दोलनले भ्रष्टाचारप्रतिको आक्रोश, रोजगारीको अभाव, असमानता र राजनीतिक नेतृत्वप्रतिको अविश्वासलाई तीव्र रूपमा सार्वजनिक ग¥यो। यस आन्दोलनलाई केवल पुराना नेताविरुद्धको आक्रोशका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो राजनीतिक दलहरूले युवालाई निर्णय प्रक्रियामा कति स्थान दिएका छन्, सार्वजनिक स्रोतको उपयोग कति पारदर्शी छ र राज्यले नागरिकलाई कति अवसर दिएको छ भन्ने प्रश्नसँग पनि जोडिएको छ।

नयाँ अनुहार ल्याउनु मात्र परिवर्तन होइन, निर्णय गर्ने तरिका, अवसर वितरण, सार्वजनिक जवाफदेहिता र शासनको परिणाम बदलिनु वास्तविक परिवर्तन हो। त्यसैले दलभित्र नेतृत्वको कार्यकाल, प्रतिस्पर्धात्मक निर्वाचन, पदको उत्तराधिकार र जिम्मेवारी हस्तान्तरणका स्पष्ट नियम आवश्यक छन्।

निश्चित समयपछि सबैले अनिवार्य रूपमा राजनीति छाड्नुपर्छ भन्ने कठोर प्रस्तावभन्दा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, नेतृत्वको निरन्तर मूल्यांकन गर्ने र नयाँ पुस्तालाई प्रतिस्पर्धाबाट माथि उठ्ने अवसर दिने व्यवस्था बढी लोकतान्त्रिक हुन्छ। नेतृत्व परिवर्तन व्यक्तिको सदाशयतामा मात्र निर्भर हुनु हुँदैन, संस्थागत नियमले त्यसलाई सुनिश्चित गर्नुपर्छ।

सत्ता होइन, राष्ट्र निर्माणको प्रतिबद्धता

लोकतन्त्रको शक्ति निर्वाचनमा मात्र सीमित हुँदैन। निर्वाचनले नेतृत्व चयन गर्छ, तर नेतृत्वको वैधता उसको आचरण, निर्णय र जनताले अनुभव गर्ने परिणामबाट निरन्तर परीक्षण हुन्छ। राजनीतिक दलले चुनाव जिते पनि नागरिकले रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, उत्पादनका अवसर, न्याय र सुशासन अनुभव गर्न पाएनन् भने जनविश्वास कमजोर हुँदै जान्छ। त्यसैले राजनीतिक सफलताको मापन पद, गठबन्धन र सत्तामा बिताएको समयबाट मात्र होइन, जनताको जीवनमा आएको परिवर्तनबाट हुनुपर्छ। पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले पनि यही व्यापक प्रश्न उठाएको छ। उनको निर्णयलाई समर्थन गर्ने वा विरोध गर्ने दुवै पक्षले व्यक्तिगत राजनीतिक अधिकार, संवैधानिक संस्थाको गरिमा र दलीय नेतृत्वको आवश्यकताबीच सन्तुलित बहस गर्नुपर्छ।

कुनै व्यक्तिको राजनीतिक सक्रियताले मात्रै सम्पूर्ण दलको चरित्र प्रमाणित गर्दैन तर यस्ता घटनाले दलभित्रको नेतृत्व चयन, उत्तराधिकारको सम्भावना र राजनीतिक शक्ति वितरणबारे जनतामा रहेका शंकालाई उजागर गर्न सक्छन्। त्यसैले दलहरूले प्रश्नलाई व्यक्तिगत विवादमा सीमित नगरी संस्थागत सुधारको अवसरका रूपमा लिनुपर्छ।

नेपालको राजनीतिमा पुराना दलहरूप्रतिको विश्वास कमजोर हुनुको एउटा कारण नेतृत्व र जनताको अपेक्षाबिच बढेको दुरी हो। दशकौंको राजनीतिक अनुभव भएका दलहरूले लोकतान्त्रिक परिवर्तनमा योगदान दिएका छन्; त्यस योगदानलाई अस्वीकार गर्नु इतिहासप्रति अन्याय हुन्छ तर ऐतिहासिक योगदानले वर्तमानको जवाफदेहिताबाट छुट दिँदैन। विगतको उपलब्धि वर्तमानको कमजोरी ढाक्ने कवच बन्नु हुँदैन। लोकतन्त्रमा कुनै दल वा नेताको मूल्यांकन निरन्तर काम, आचरण र परिणामका आधारमा हुनुपर्छ।

यसका लागि पहिलो सुधार राजनीतिक दलको आन्तरिक लोकतन्त्रमा आवश्यक छ। नेतृत्व चयन नियमित, प्रतिस्पर्धात्मक र पारदर्शी हुनुपर्छ। उम्मेदवार छनोटमा योगदान, क्षमता, सार्वजनिक छवि र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्छ।

दोस्रो, उच्च पदमा पुगेका व्यक्तिहरूका लागि सार्वजनिक नैतिकता र संस्थागत मर्यादासम्बन्धी स्पष्ट आचारसंहिता आवश्यक छ। यस्तो आचारसंहिता राजनीतिक अधिकार खोस्ने माध्यम नभई सार्वजनिक विश्वासको संरक्षण गर्ने साधन हुनुपर्छ। तेस्रो, दलभित्र आलोचना र असहमतिको सम्मान हुनुपर्छ। असहमति विद्रोह होइन, उचित प्रक्रियाबाट व्यक्त गरिएको असहमति संगठनलाई सुधार्ने लोकतान्त्रिक शक्ति हो।

चौथो, नयाँ पुस्तालाई केवल चुनावी अभियानमा परिचालन गर्ने साधनका रूपमा होइन, नीति निर्माण र निर्णय प्रक्रियाका साझेदारका रूपमा स्वीकार गर्नुपर्छ। युवाले जिम्मेवारी पाउन उमेर मात्र पर्याप्त हुँदैन, योग्यता, इमानदारी, कार्यक्षमता र जनतासँगको सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले नयाँ पुस्ताको प्रवेशले पुरानै गुटगत संस्कारको पुनरावृत्ति नगरोस् भन्ने सुनिश्चित गर्न संस्थागत सुधार आवश्यक छ।

पाँचौं, राजनीतिक नेतृत्वको मूल्यांकनलाई उत्पादन, रोजगारी, कृषि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य र सुशासनका ठोस परिणामसँग जोड्नुपर्छ। राजनीतिक दलको शक्ति जनतालाई कति अवसर उपलब्ध गराउन सक्यो भन्नेबाट मापन हुनुपर्छ, कति पद बाँड्न सक्यो भन्नेबाट होइन। सार्वजनिक संस्थाप्रतिको विश्वास बढाउने, राज्यका स्रोतको दुरुपयोग रोक्ने र नागरिकलाई सम्मानपूर्वक सेवा दिने व्यवस्था नै राष्ट्र निर्माणको आधार हो।

अन्तमा, राजनीति गर्नु अधिकार हो, नेतृत्वमा पुग्नु अवसर हो, तर राष्ट्र र जनताप्रति इमानदार रहनु कर्तव्य हो। राष्ट्रको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिको महानता पुनः शक्ति केन्द्रमा फर्किनुमा होइन, पदबाट बाहिरिएपछि पनि संस्थागत मर्यादा र सार्वजनिक विश्वास कायम राख्न सक्नुमा हुन्छ।

त्यस्तै, राजनीतिक दलको परिपक्वता एउटै नेतृत्वलाई निरन्तरता दिनुमा होइन, आफूले निर्माण गरेको संस्थालाई सक्षम उत्तराधिकारीका हातमा जिम्मेवारीपूर्वक हस्तान्तरण गर्न सक्नुमा हुन्छ।

नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाइभन्दा नैतिकताको उचाइ ठुलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमताभन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्त्वपूर्ण हुनुपर्छ।नेतृत्वको वास्तविक सफलता आफू सधैं अगाडि रहनुमा होइन, आफूपछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ।

नेपाली राजनीतिसामु एउटै निर्णायक प्रश्न छ, हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणापत्र र राजनीतिक दाबीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ। यही उत्तरले पुराना दलप्रतिको विश्वास पुनर्निर्माण गर्ने वा उनीहरूबाट जनताको दुरी अझ बढाउने बाटो निर्धारण गर्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस