देश जोड्दै क्रिकेट
२४ माघ २०८२
•
८ मिनेट पाठ
देश जोड्दै क्रिकेट
सन्दर्भ, टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठुलो उपलब्धि र महत्त्वको कुरा हो । 




भारत र श्रीलंकामा हुने विश्वकपका खेलहरूको प्रारम्भ शनिबार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्यान्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात् आइतबार (फेब्रुअरी ८)को खेल भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्ड (बेलायत)बीच हुँदैछ । नेपालले आफ्ना सबै खेल यसै रंगशालामा खेल्नेछ । 

यो यस्तो अवसर हो, जसप्रति सम्पूर्ण देशवासीहरूले समान रूपले खुसीयाली मनाइरहेका छन् । केही सम्बद्ध व्यक्तिकाअनुसार अहिले नेपालमा टेलिभिजनको बिक्री बढेको छ भने घरमा भएको टेलिभिजनमा क्रिकेट हेर्न सकिने प्रविधिको जोहो गर्नेको संख्या पनि अत्यधिक छ । 

खेलकुदसँग सम्बद्ध नेपालको पहिलो संस्था निर्माण गर्न सफल नेपाली क्रिकेट ‘राष्ट्रिय’ हुन  निकै वर्ष लाग्यो । तर जब यो खेलले राष्ट्रिय स्वरूप ग्रहण गर्न सक्यो, यसप्रतिको आकर्षणमा अत्यधिक वृद्धि भयो । 
यस्तै विभिन्न ठाउँमा विश्वकपअन्तर्गतका नेपालको खेल हेर्न ठुला टेलिभिजन जडान गर्ने कार्यले पनि तीव्रता पाएको छ । झट्ट हेर्दा यी कार्य खासै विचार गर्न योग्य नहुन पनि सक्छन् । तर मिहिन ढंगले विश्लेषण गर्ने हो भने यसको निकै ठुलो भावनात्मक महत्त्व छ । एक समय थियो, जब नेपाललाई क्रिकेटले छुने गरेको थिएन । 

खेलकुदसँग सम्बद्ध नेपालको पहिलो संस्था निर्माण गर्न सफल नेपाली क्रिकेट ‘राष्ट्रिय’ हुन  निकै वर्ष लाग्यो । तर जब यो खेलले राष्ट्रिय स्वरूप ग्रहण गर्न सक्यो, यसप्रतिको आकर्षणमा अत्यधिक वृद्धि भयो । यो आकर्षणमा यति वृद्धि भयो कि आज नेपाली क्रिकेटका दर्शक र प्रशंसक विश्वव्यापी रूपमा चिनिन थालेका छन् । यसको प्रभाव वानखेडेमा पनि पर्ने निश्चित छ ।

ठुलो संख्यामा नेपाली क्रिकेट प्रेमी यस पटक मुम्बई पुग्नेछन् । सञ्चारमाध्यममार्फत सार्वजनिक जानकारीअनुसार त नेपालको खेल हुने दिनका रंगशालाका सबै सिटका टिकट बिक्री भइसकेका छन् । महत्त्वपूर्ण कुरा त के भने यसरी विश्वमा चर्चित भएका नेपाली क्रिकेट प्रेमीहरू कुनै खास जात, वर्ग, समुदाय, भूगोल र धर्मका छैनन्, सबैथरि छन् । यसैले पनि क्रिकेटले वास्तवमा ‘राष्ट्रिय’ स्वरूप ग्रहण गरेको स्वीकार गर्न सकिन्छ । 

पछिल्लो समयमा यसको महत्त्व नेपालको राष्ट्रियता प्रवर्द्धनसँग जोडिएको छ भनेर भनियो भने अनुचित हुनेछैन । विभिन्न देशमा राष्ट्र जोड्ने राष्ट्रियताका विविध प्रतीकलाई आमजनताले स्वीकार गरेका हुन्छन् । दक्षिण एसियाली देशहरू भारत, पाकिस्तान र श्रीलंकामा अन्य धेरै यस्ता प्रतीक छन्, एक प्रतीक भने क्रिकेट पनि हो । 

May be an image of text that says "CAN t TROPHY TOUR GOPWORLD"
यस्तै राष्ट्र जोड्ने एक प्रतीकका रूपमा नेपालमा पनि क्रिकेटप्रतिको स्वीकृतिमा बढोत्तरी भएको पाउन सकिन्छ । नेपालमा पञ्चायत कालमा राष्ट्रियताका अनेक प्रतीकको विकास गर्न खोजियो । यसमा टोपी, झन्डा, गाई आदि प्रमुख थिए । यस्तै प्रतीकका रूपमा सगरमाथालगायतका हिमालहरूको पनि प्रयोग गर्ने गरेको पाइन्छ । तर वास्तवमा विश्लेषण गर्ने हो भने यीमध्ये कुनैले पनि राष्ट्रिय रूपमा आम स्वीकृति प्राप्त गर्न सकेनन्, हाम्रो यथार्थ यही हो, स्विकार्नै पर्छ । यसका अतिरिक्त राष्ट्रियताको प्रतीक बन्न सक्ने सम्भावना रहेका बुद्ध, जानकीलगायतलाई विगतमा खासै महत्त्व दिइएको पाइएन । 

अचम्म छ, विगतमा क्रिकेटलाई जहिले पनि विदेशीको खेल भनेर पन्छाइयो र फुटबललाई अन्तर्राष्ट्रिय खेलका रूपमा स्वीकार गरियो । फुटबलमा त लगानी पनि निकै ठुलो गरिएको हो । तर खासै उपलब्धि प्राप्त हुन सकेन । यस विपरीत क्रिकेटमा जनस्तरको रुचि र लगानी रह्यो । प्रतिफल अहिले प्राप्त भइरहेको छ, कुनै न कुनै रूपमा यो राष्ट्रियताको प्रतीक बन्दै छ र आम नेपालीबाट स्वीकृति पाउँदै छ । 

वास्तवमा राष्ट्र निर्माण एक प्रक्रिया हो, जो कुनै न कुनै रूपमा सधैँ नै निरन्तर जारी रहन्छ । राष्ट्र निर्माणलाई सूक्ष्म रूपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुई वटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा राष्ट्र निर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र समृद्ध बनाउने कुरा । 

तर उपयुक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ । त्यो के भने त्यहाँ बसोबास गर्ने जनताको इच्छा–आकांक्षा, समाज, धर्म–संस्कृति, भाषा–साहित्य आदिको समान स्वीकृति र प्रस्फुटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ । राष्ट्र निर्माणको सम्बन्ध खास भूगोलको राष्ट्रियतासँग छ । यी विषयहरू तिनले निर्माण गर्न चाहेको तिनका राष्ट्र निर्माण पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहित हुन्छ ।

यस दृष्टिले पनि क्रिकेट महत्त्वपूर्ण छ । अर्कोतर्फ, राष्ट्र निर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ । 

त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्र निर्माणको सन्दर्भ जोडिएको हुन्छ । यसरी हेर्ने हो भने हामीकहाँ माथि उल्लेख गरिएजस्तै राष्ट्र निर्माणको दुवै सन्दर्भको उपस्थिति रहेको पाउन सकिन्छ । यसै आधारमा कतिपयले नेपाल अझै राष्ट्र निर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन् ।  

May be an image of one or more people, skateboard, crowd and text
यस विश्लेषणका आधारमा, विद्वान् पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । उनले राष्ट्र निर्माणलाई राष्ट्र«को संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार बृहत् प्रक्रियाहरूका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्र निर्माणको लक्ष्य राज्यभित्र जनताहरूको एकीकरण हो, यसबाट अगाडिका दिनमा राज्यले राजनीतिक रूपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ । निष्कर्षमा भन्ने हो भने राष्ट्र निर्माणका लागि जनताको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ । 

राष्ट्र निर्माता राष्ट्र निर्माणको महत्त्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र, राज्य र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ । जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शब्दलाई एक अर्काको पर्यायवाचीका रूपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्र निर्माता र राष्ट्र निर्माणको प्रक्रिया नै दोषपूर्ण रूपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनै रूपमा यस्तै खतरासँग पौँठा जोरी खेलिरहेका छौँ । 

वास्तवमा राष्ट्र, राज्य र देश फरक फरक अर्थमा उभिएका फरक फरक शब्द हुन् । राष्ट्र सांस्कृतिक एकाइ हो । यस्तै राज्य प्रशासनिक र राजनीतिक एकाइ हो भने देश भौगोलिक एकाइ हो । अंग्रेजीमा यी तीन वटै शब्दको अनुवाद क्रमशः नेसन, स्टेट र कन्ट्री हो । यस आधारमा राष्ट्र निर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने एउटा राजनीतिक भौगोलिक सीमाभित्र सांस्कृतिक रूपमा जनता (राष्ट्र निर्माता)लाई प्रशासनिक र राजनीतिक रूपमा आबद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ । यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्त्व दिइन्छ र यसमा कानुनी रूपमा राज्यले अर्थात् प्रशासनिक एकाइले आवश्यक बन्दोबस्त मिलाउने अपेक्षा गरिन्छ । 

May be an image of temple and text
यसको सोझो अर्थ के बुझिनुपर्छ भने–देशका रूपमा विकसित भूगोलमा विविध इतिहास, संस्कृति, मूल्यमान्यता, विश्वास, आदर्श हुन सक्छन् । राष्ट्र निर्माणमा यी सबैको समाहित करण आवश्यक हुन्छ, जसले समग्र राष्ट्र निर्माताको निर्माण र प्रवर्द्धन गर्ने विश्वास गरिन्छ । यसो हुन सके देशप्रति सबैको अपनत्व भावमा अभिवृद्धि हुन्छ र देशले सिङ्गो स्वरूप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया  राष्ट्र निर्माण हो, जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ । 

राष्ट्र निर्माणका सन्दर्भमा थुप्रै अवयवले जोड्ने र तोड्ने तत्त्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यीमध्ये कतिपय सुषुप्त हुन्छन् भने कतिपय जाग्रत् । यीमध्ये कतिपय तत्त्वले कुनै सन्दर्भमा जोड्ने र कुनै सन्दर्भमा तोड्ने तत्त्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । भाषा, प्रतीक, चिह्न, झन्डा, सिद्धान्त, आदर्श, विचार, संरचना आदि यस्तै तत्त्व वा माध्यम हुन् । कतिपय अवस्थामा यो बोधगम्य हुन्छ भने कतिपय अवस्थामा बोधगम्य हुँदैन । यस्तै एक सशक्त माध्यम हो, खेलकुद । राष्ट्र निर्माणका सन्दर्भमा खेलकुदले प्रायः सधैँ जोड्ने तत्त्वका रूपमा नै भूमिका निर्वाह गरिरहेको मान्न सकिन्छ । 

नेपालका सन्दर्भमा पछिल्लो दिनमा क्रिकेटले पनि जोड्ने भूमिका निर्वाह गरिरहेको छ भन्दा अतिशयोक्ति ठहरिँदैन । यसको पछिल्लो सशक्त उदाहरणका रूपमा वानखेडेमा विश्वकप खेल्ने समग्र नेपाली क्रिकेट टिमलाई लिन सकिन्छ । यो टिम सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक रूपमा समावेशी छ ।

नेपाली क्रिकेटले सम्पूर्ण देशवासी समान रूपले माया पाउनुको एउटा कारण सायद नेपाली क्रिकेटको समावेशी स्वरूप पनि हो । वास्तवमा, माथि जसरी चर्चा गरियो, नेपाल अहिले राष्ट्र बन्ने क्रममा छ  । यस सन्दर्भमा यहाँ हामीले थुप्रै तत्त्वलाई राष्ट्र जोड्ने तत्त्वका रूपमा विकसित गर्न सक्नुपर्छ । राज्यको भूमिका यहाँनिर महत्त्वपूर्ण हुन्छ । क्रिकेट उदाहरण हो, यसरी नै राज्यका अन्य पक्ष पनि पूर्ण समावेशी हुन सके देश निर्माणको प्रक्रिया सकारात्मक रूपमा प्रभावित हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

(लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुन्)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस