जीवन र समाजमा हुने विचार परिवर्तन
०२ जेष्ठ २०८३
•
११ मिनेट पाठ
जीवन र समाजमा हुने विचार परिवर्तन
विचार र आस्था जीवनका मार्गदर्शक सिद्धान्त हुन्, जसले हरेक व्यक्तिको पहिचान र स्वभाव निर्धारण गर्छ । झट्ट हेर्दा मानिसहरू आफ्नो आस्थामा आजीवन अडिग रहन्छन् जस्तो लाग्छ । कतिपय त जीवनपर्यन्त एउटै धार्मिक आस्था र संस्कारले बाँधिएका हुन्छन् । खानाको परिकारजस्तो एक सामान्य चाखको विषयमा समेत वर्षौंसम्म एउटै स्वाद रुचाइरहेका  हुन्छन् । खेलजगत्मा पनि क्रिकेट या फुटबल प्रेमीहरूले आजन्म एउटै टिमको समर्थन गरेको पाइन्छ । यथार्थमा भने समय बित्दै जाँदा तिनको विचारमा केही न केही परिवर्तन भएकै हुन्छ, यद्यपि सो परिवर्तनका दायरा, कारण र परिवेश फरकफरक हुन सक्छन् । अध्ययन र अनुभवबाट अर्थात् ‘पढेर या परेर’ मानिसले निरन्तर ज्ञान आर्जन गरिरहेको हुन्छ, जसले नयाँ विचार निर्माण गर्न अभिप्रेरित गर्छ । कतिपय अवस्थामा उसले जीवनको लक्ष्य हासिल गर्न सबैभन्दा उपयोगी लागेको विचार अंगीकार गर्न सक्छ । जीवनत एक मार्ग हो भन्ने ज्ञान प्राप्त भएपछि गन्तव्यमा पुग्नका लागि मानिस आफ्नो चिन्तन र व्यवहारमा परिवर्तन र परिमार्जन गर्न सक्छ । विश्वविख्यात रुसी उपन्यासकार फ्योदर दोस्ताएभ्स्कीले  भनेका थिए, ‘मानव जीवनको रहस्य फगत जिउनुमा होइन, जीवनको उद्देश्य जान्नुमा छ।’




मानिसले पहिलाको धारणा त्यागी नयाँ अवस्थाको जीवनमा आफूलाई उच्चस्तर र दूरगामी प्रभावको विचारमा प्रवर्तन गरेका कैयन् उदाहरणहरू छन् । सिद्धार्थ गौतम राजकुमार थिए । उनको विवाह र सन्तानप्राप्ति पनि भइसकेको थियो । उनीसामु राजदरबारमा बसेर सुखसयलको जीवन जिउने अवसर मौजुद थियो तर उनले त्यो विचार त्यागे र तपस्वी बनेर ज्ञानको खोजीमा लागे । भगवान् बुद्धकै मार्गमा लागेर सम्राट अशोकले पनि राजगद्दी त्यागे । युद्धले ल्याउने रक्तपात र कैयन् मानिसको दुःख–दर्द जीवनको आदर्श हुन सक्दैन भन्ने मनन गरी उनले बुद्धको अहिंसा, सहिष्णुता र शान्तिको सन्देश फैलाउँदै हिँडे । पौराणिक कथामा पनि नारदको प्रभावमा परेर रत्नाकर डाँकु वाल्मीकि ऋषिमा परिणत भएको कुरा पढ्न पाइन्छ । आधुनिक कालमा विचार परिवर्तन गरेर महापुरुष भएकामध्ये लियो टाल्सटाय (रुसी उच्चारण– लेभ तोल्सतोय) सर्वाधिक उल्लेखनीय व्यक्ति हुन् । तोल्सतोय अभिजात वर्गको परिवारमा हुर्केका थिए र उनलाई ‘ग्राफ तोल्सतोय’ (अंग्रेजीको काउन्ट समान) को दर्जासहित बोलाइन्थ्यो । सानै उमेरमा आमा, बुबा र उनको हेरविचार गरिरहेकी हजुरआमा पनि गुमेका घटनाहरूले तोल्सतोयको हृदयमा ठुलो छाप पर्‍यो । उनलाई सुखसयलभन्दा सादा र आध्यात्मिक जीवन, ज्ञान र अहिंसाको विचारले आकर्षित गर्‍यो । कालान्तरमा उनले अनिष्टको पनि हिंसात्मक प्रतिकार निषेध गरिनुपर्छ भन्ने धारणा अघि सहारे । यसै धारणाको अनुसरण गरेर आधुनिक युगमा अहिंसावादी आन्दोलनको शिखरमा पुगेका महात्मा गान्धी, मार्टिन लुथर किंग र नेल्सन मन्डेला सबैले तोल्सतोयलाई गुरु माने।  

हरेकको जीवनमा राजकुमार सिद्धार्थ या ग्राफ तोल्सतोयका जस्तो निर्णायक मोड आउँदैन र आए पनि त्यसलाई विवेकपूर्ण ढंगले प्रयोग गर्ने ज्ञान र साहस हुँदैन । अधिकांशले आफू हुर्केको परिवार, समाज र वातावरणबाट प्राप्त सूचना र ज्ञानबाट विचार बनाएका हुन्छन् । उमेर बढ्दै जाँदा या जीवनयापनको परिस्थिति भिन्न हुनाका कारण मानिसका पहिलाका विश्वासहरू फेरिन सक्छन् । गाउँबाट सहर पस्दा, कुनै नौलो ठाउँ पुग्दा या विदेश भ्रमणमा जाँदा या रोजगारीको प्रकृति र स्थानमा भएको परिवर्तन आदिबाट प्राप्त गरेको अनुभवले मानिसको दृष्टिकोण बदल्न सक्छ । सो वातावरण बदलिएको र त्यसबाट उनीहरूको जीवनयापनमा प्रत्यक्ष प्रभाव पारेको अनुभूति नभई वर्षौंदेखि स्थान जमाएर बसेको विचारमा परिवर्तन आउन सक्दैन । बौद्धिक दृष्टिले सक्रिय सीमित संख्याका व्यक्तिहरू मात्र निरन्तर नयाँ सूचनाको खोजीमा रहन्छन् र तिनले समाजमा हुने परिवर्तनसँगै पहिला आर्जन गरेको ज्ञान पनि अद्यावधिक गरिरहेका हुन्छन् । बेलायतका प्रख्यात अर्थशास्त्री जोन किन्सले भनेका थिए, ‘जब नयाँ तथ्यहरू फेला पर्छन्, म आफ्ना पुराना विचार बदल्छु।’

नयाँ तथ्यको ज्ञानले मात्र मानिसको विचार या व्यवहारमा परिवर्तन ल्याउन सक्छ भन्ने कुरामा विशेषज्ञहरू विश्वस्त देखिँदैनन् । यसको मुख्य कारण उनीहरूले वर्षौंदेखि पालेर राखेको पूर्वाग्रह हो । कतिले त आफ्नो त्यही पूर्वाग्रहलाई अनुकूल हुने तथ्य मात्र खोजिरहेका हुन्छन् । त्यस्तो तथ्य सामुन्ने आए ग्रहण गर्छन् र प्रतिकूल भए अस्वीकार गर्छन् । उदाहरणका लागि मादक पदार्थमा लत भएका मानिसहरू त्यसबाट स्वास्थ्यमा हुने नोक्सानबारे अनभिज्ञ भएर होइन, त्यो ज्ञान उनीहरूको चाहनाको प्रतिकूल भएकाले आफन्त या चिकित्सकहरूको रायलाई बेवास्ता गर्छन् र सीमित परिमाणमा सेवन गर्दा दुखाइ कम गर्ने, मानसिक तनाव हटाई राम्रो निद्रा पर्ने जस्ता वैकल्पिक र आफूअनुकूलका तर्क अघि सार्छन् । यसरी नै धुम्रपान गर्ने मानिसहरू यसले मन आनन्दित गर्छ, वजन कम गर्न मद्दत गर्छ र चिन्ता हटाउँछजस्ता मनगढन्ते कुरा गर्छन् । जुवाडेहरूसँग पनि आफ्नो लतको सफाइ दिन मात्र होइन, अरूलाई पनि फकाइफुल्याइ खालसम्म पुर्‍याउन सक्ने पर्याप्त तर्क हुन्छ । यी सबै व्यक्तिहरूको साझा समस्या के हो भने उनीहरू आफ्नो विचार या आनीबानीमा परिवर्तन ल्याउन सक्दैनन्।

राजनीतिक आस्थाको क्षेत्रमा पूर्वाग्रह नै साबिकको धारणामा परिवर्तन या परिमार्जनमा सर्वाधिक कठिन व्यवधान बनेको हुन्छ । नेपालमा कम्युनिस्ट नामका धेरै पार्टी भएको सन्दर्भमा उनीहरूकै उदाहरण लिऊँ । प्रायः सबै त्यस्ता पार्टीहरूलाई स्टालिनको लालआतंक या माओको सांस्कृतिक क्रान्तिको समयमा लाखौंलाख मानिसहरूको निर्मम हत्या भएको तथ्यको जानकारी छ । यो कुरा तिनै देशले आधिकारिक रूपमा नै धेरै पटक पुष्टि गरिसकेका छन् । तर ती दुवै देशमा माओ र स्टालिनका समर्थकहरूको संख्या उल्लेखनीय छ । अर्को उदाहरण हिटलर हो, जसको ग्यास च्याम्बरको अस्तित्व नकार्ने र उसबाट भएको नरसंहारलाई फगत दुष्प्रचार मान्नेहरू छन् । नेपालमै पनि माओवादीहरूको हत्या र हिंसाबाट हजारौं मानिसको संहार भएको तथ्य सर्वविदितै छ तर ‘जनयुद्ध’को जयजयकार गर्नेहरूको कमी छैन । तथ्य–तथ्यांकले मात्रै विचारमा परिवर्तन ल्याउन सक्दैन भन्ने आशयलाई स्विकार्दै अमेरिकी स्वाधीनता संग्रामकालका राजनेता तथा दोस्रा राष्ट्रपति जोन आडम्सले भनेका थिए, ‘हाम्रो दिमाग तथ्यहरूभन्दा धेरै हठी हुन्छ।’

मेरो पुस्ताका धेरै नेपालीहरूको किशोरावस्था सूचनाको अभावमा बित्यो । राजाको शासनकालमा गाउँघरमा पत्रपत्रिका पुग्दैनथ्यो । समाचारको एक मात्र स्रोत रेडियो थियो, जसमा हरदम राजाको गुनगान गरिन्थ्यो । गाउँका थोरै  पढेलेखेका मानिस बेलाबेलामा अचानक हराउँथे, राजाको विरोध गरेकाले पुलिसले पक्राउ गरेर लग्यो भन्ने सुनिन्थ्यो । देशमा दमनचक्र तीव्र थियो । एउटा वनपालेले पनि गाउँलेलाई तर्साउन सक्थ्यो । रेडियोबाट आउने देशबाहिरको समाचारमा भियतनाम युद्ध, प्यालेस्टिनी मुक्तिसंघर्ष, चिलीमा सैनिक सत्तापलट आदि प्रमुख हुन्थे । जताततै बलियाले निर्धोमाथि अत्याचार गरेको सुन्दा हामीलाई हिंसाको औचित्य समय र लक्ष्य सापेक्ष हुन्छ भन्ने लाग्थ्यो । जीवनको उत्तरार्धमा मैले आफ्नो प्रारम्भिक उद्देश्य पूरा गर्न हिंसा असफल भएका धेरै घटना देखेँ । नेपालमै पनि हिंसात्मक आरम्भबाट विद्रोह गरेका माओवादीहरू उनकै कारण उत्पन्न चर्को प्रतिहिंसाबाट पराजित भई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न असफल भए । हिंसाको निरपेक्ष अस्वीकार गर्ने थप प्रेरणा मलाई तोल्सतोयको ‘हिन्दुलाई एक पत्र’ नामक पुस्तक पढेर प्राप्त भयो । सो पत्र उनले भारतीय क्रान्तिकारी तथा विद्वान् तारकनाथ दासलाई सन् १९०८ मा लेखेका थिए । तारकनाथले हिन्दुस्तानीहरूले हिंसाको पर्याप्त प्रतिकार गर्न नसकेको कारण सानो संख्यामा रहेका अंग्रेजहरूले लाखौंलाई अधीनमा राख्न सके भनी लेखेका थिए । प्रत्युत्तरमा तोल्सतोयले लेखेका थिए– अंग्रेजहरूले हिन्दुस्तानीहरूलाई आफ्नो अधीनमा राख्न सक्नुको कारण उनीहरू स्वयंले अंग्रेजले लादेको हिंसालाई स्विकार्नु, त्यसलाई आफ्नो जीवनशैलीमा ढाल्नु र त्यसैको बलमा आफैंबिच लड्नु हो । उनले प्रेमको नियममा चल्न, हिंसामा भाग नलिन र हिंसात्मक प्रतिकारलाई निषेध गर्न सल्लाह दिए । सो पत्र गान्धीले पनि पढेर त्यसैको प्रभावमा उनले हिंसाको बाटो त्यागी सत्याग्रहलाई आफ्नो आन्दोलनको मुख्य सिद्धान्त बनाएरस्वाधिनता संग्राम जिते।

विचार परिवर्तन एक व्यक्तिमा मात्र सीमित हुँदैन । यसको प्रभाव सम्पूर्ण समाजमा पनि पर्न सक्छ । प्रारम्भमा व्यक्ति विशेषको चेतना र आचरण सामाजिक विश्वास र मान्यताको आधारमा निर्माण हुन्छ । त्यो आचरण पालना नभएको घटना नगण्य भए समाजले त्यसलाई विकृति या अपवाद मान्छ । तर समय बित्दै जाँदा पुराना धारणा र विश्वासलाई चुनौती दिनेहरूको संख्या बढ्दै जान्छ र समाजले नयाँ विश्वास र आचरण धारण गर्छ । मेरा पिताजीले हलो जोतेको कारण आफू बाहुन समाजबाट वहिष्कृत हुनुपरेको घटना स्मरण गर्नुहुन्थ्यो । उसबेला जनै लगाउनेलाई हलो जोत्न वर्जित थियो । कालान्तरमा उहाँ एक सामाजिक अभियन्ताका रूपमा चिनिनुभयो भने वहिष्कार गर्नेहरू परिवर्तनको बाधकका रूपमा एक्लिए । जातीय भेदभाव र छुवाछुतमा आधारित पुराना आस्थाहरू सामाजिक चेतनाको परिवर्तनको क्रममा अन्धविश्वास मानिन थाले भने पहिला अक्षुण्ण ठानिएका मर्यादा पछि तिरष्कृत हुन थाले । आजकल जातीय तथा लैंगिक भेदभाव, पर्यावरण तथा जलवायु परिवर्तन, विज्ञान तथा प्रविधि आदिलाई हेर्ने दृष्टिकोण पहिलाभन्दा धेरै भिन्न भएको महसुस गर्न सकिन्छ । यो भिन्नता हासिल हुनुमा सामाजिक जागरण, आधुनिक शिक्षा तथा सञ्चार, नागरिक अगुवाहरूको सामूहिक प्रयासको ठुलो योगदान छ।

भरखर हामी देशको युवाजगत्मा आएको विचार परिवर्तनको साक्षी भएका छौं । २००७ सालको क्रान्तिले उपल्लो जात, सामन्ती ठालु र शासकहरूप्रति देखाउनुपर्ने बफादारीको आचरणबाट सामूहिक श्रम र अनुशासन, वैचारिक आस्था, दल या संगठनप्रति प्रतिबद्धताको धारणातर्फ संक्रमण ल्याउन मद्दत गरेको थियो । तर क्रान्तिपछिको चिन्तनमा पुरानो पुस्ताको बलियो प्रभाव रहेकाले सामूहिक श्रममा कुलीन व्यवहार देखाउने, प्रतिबद्धतामा बफादारी खोज्ने र आस्थाको आधारमा भन्दा निर्देशनअनुसार गरिएको कामको मूल्यांकन उच्च हुने प्रवृत्ति केही दशक नै हाबी भयो । तर सो सम्मिश्रित चेतना बोकेको पुस्ता जीर्ण हुँदै गएको तथ्यलाई राजनीतिक संस्थापनले ध्यान दिएन या ध्यान नदिनुमा फाइदा देख्यो । नेपालीहरूको उमेर संरचनामा भने उल्लेखनीय परिवर्तन हुँदै थियो । पछिल्लो उपलब्ध तथ्यांकअनुसार हाल देशको जनसंख्यामा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भइसकेपछि जन्मेकाहरूको बाहुल्य छ । विभिन्न दृष्टिकोणबाट यो पूरै नयाँ पुस्ता हो, जसलाई बफादार रहेर ‘ठुला’को निर्देशनमा चल्न मञ्जुर भएन । पुस्तान्तरण फगत जनसंख्याको उमेर समूहमा आउने भिन्नता होइन । यो त सामाजिक चिन्तनमा अभिव्यक्त हुने परिवर्तन हो । नयाँ पुस्ताले पूर्ववर्ती मान्यता, आस्था र जीवनशैलीको औचित्यलाई चुनौती दिन्छ । हालैको निर्वाचनको नतिजा राजनीतिक पदका उम्मेदवारको योग्यता सम्बन्धमा मतदाताले साबिकका मापदण्डहरूको अवज्ञा गरेको रमतदान गर्दा विगत तीन दशकको दौरानमा स्थापित कांग्रेस–कम्युनिस्ट सिन्डिकेट र तिनले ‘भोट बैंक’ बनाउन उपयोग गर्ने गरेको जातीय, क्षेत्रीय र दलीय विभाजनको धारणाभन्दा बिलकुल भिन्न विचारबाट निर्देशित भएको प्रमाण हो।

व्यक्ति या समूहको विचार परिवर्तनमा श्रमको ठुलो भूमिका हुन्छ । वैज्ञानिक समाजवादका एक मूर्धन्य दार्शनिक फ्रेडरिक एंगेल्सले आफ्नो प्रख्यात कृति ‘बाँदरबाट मानिसमा संक्रमणमा श्रमको भूमिका’ मा लेखेका थिए, ‘श्रम केवल मानव अस्तित्वको स्रोत होइन, मानव नै श्रमको उपज हो ।’ श्रमले मानिसको चेतनाको विकास गर्दै वरपरको वातावरण परिमार्जन गर्न उत्प्रेरित गर्छ । श्रमकै हेतु मानिस प्रकृतिमाथि प्रभुत्व आर्जन गर्छ, आफ्ना औजारहरूसँग अन्तरक्रिया गर्छ । त्यसले उसको जिज्ञासा बढाउँछ, दृष्टि फराकिलो बनाउँछ र वैज्ञानिक अनुसन्धानका लागि आधार खडा गर्छ । आधुनिक प्रविधिले श्रमको प्रकृति, रोजगारदाता र श्रमिकहरूबिचको सम्बन्ध र श्रमका औजारहरू प्रयोग गर्न आवश्यक ज्ञान र सिपमा आधारभूत परिवर्तन ल्याएको छ । वर्गीय दृष्टिले प्रविधि निरपेक्ष छैन र नयाँ युगमा पनि डिजिटल पुँजीजीवी र डिजिटल सर्वहाराबिच वर्गीय विभाजनले निरन्तरता पाएको छ तर उनीहरूको सम्बन्धको स्वरूप फेरिएको छ । उदाहरणका लागि डिजिटल सर्वहारा वर्गमा पर्ने पठाओ, फुडमान्डौं, दराजजस्ता कम्पनीमा काम गर्ने अर्थात् आधुनिक प्रविधिको भाषामा ‘गिग’ या ‘प्लाटफोर्म कामदार’ भनिने श्रमिकहरू प्रत्यक्ष रूपमा कम्पनी मालिकबाट नभई स्वचालित डिजिटल प्रणालीबाट सञ्चालित हुन्छन् । भूमण्डलीकरणका कारणले पनि श्रमिक र रोजगारदाताबिचको दुरी बढाएको छ । सूचना क्षेत्रका प्राविधिकहरू नेपालबाटै सात समुद्रपारका कम्पनीलाई आफ्नो सेवा बिक्री गर्छन् र आय आर्जन गर्छन् । पुँजीजीवी र श्रमिकहरूबिचको अन्तरविरोध अहिले अप्रत्यक्ष र अव्यक्त हुँदै गएको छ । फलस्वरूप वर्ग विभाजन र वर्गसंघर्षको विश्लेषणका लागि साबिकका परिभाषा फितला हुँदै गएका छन्।

अस्ट्रियाका प्रख्यात मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले समाज या जीवनमा हुने विचार परिवर्तनलाई सुविधाजनक  भ्रमहरू त्यागेर सप्रमाण आएका नयाँ र तर्कसंगत वास्तविकता स्विकार्नुपर्ने अत्यन्त कठिन र सुस्त प्रक्रियाका रूपमा व्याख्या गरेका थिए । यसलाई उनले बालहठबाट सुरु भएर बौद्धिक स्वायत्ततातर्फ परिपक्व हुँदै गएको प्रक्रियाका रूपमा हेरेका थिए । जीवनका अन्य साधनमा जस्तै विचारमा पनि मानिस आफ्नो सुविधा खोज्छ । अन्तरआत्मा या विवेकको आवाज मधुर भएर भन्दा पनि पुराना धारणा र सोचाइमा परेको बानी छुटाउन कठिन भएकाले मानिस परिवर्तनबाट जोगिन चाहन्छ । बाल्यकालदेखि नै पालेका कतिपय भ्रमलाई उसले आफ्नो जीवनको सपनाका रूपमा साँचेको हुन्छ र त्यसबाट छुटकारा पाउन निकै कठिन हुन्छ । यो कार्य कठिन भएकाले नै समयमै विचार परिवर्तन गर्न समर्थ व्यक्तित्वहरू बुद्ध, तोल्सतोय  र गान्धीजस्तै महान् भएका हुन् । ज्ञानी हुन सरल छैन । गीतामा पनि भनिएको छ, ‘अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः’ अर्थात् वास्तविक ज्ञानलाई अज्ञानको आवरणले ढाकेको हुन्छ । जति छिटो ऊ त्यसबाट निवृत्त हुनसक्छ, उति नै चाँडो उसले वास्तविकता बुझ्न सक्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस