युक्रेनः शीतयुद्धको बीज वा विश्वयुद्धको निहुँ?
२३ फागुन २०७८
•
९ मिनेट पाठ
युक्रेनः शीतयुद्धको बीज वा विश्वयुद्धको निहुँ?
रुसका परराष्ट्रमन्त्री सेर्गेई लाभ्रोभ अल्जाजीरा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा थिए। युक्रेनमा रुसी आक्रमणको निन्दा देश–विदेशमा तीव्र भैसकेको अवस्था थियो, तर उनले शायद सही आकलन गर्न भ्याएका थिएनन्। त्यसैले एक प्रश्नको उत्तरमा उनी भन्दै थिए–रुस एक्लो पर्ने आशामा बसेका देशहरू निराश हुनेछन्। किनभने “रुसका धेरै मित्र छन्। यसलाई एक्ल्याउन असम्भव छ।




तर घटनाक्रमले उनको कथनलाई तुरुन्तै गलत प्रमाणित गरिदियो। लाभ्रोभको अन्तर्वार्ता प्रसारण भएको केही घण्टाभित्रैमा (१८ फागुनः २ मार्च) संयुक्त राष्ट्रसंघ, महासभाको आकस्मिक अधिवेशनमा युक्रेनमा रुसी आक्रमणको निन्दा गर्ने प्रस्ताव स्पष्ट बहुमतबाट पारित भयो।

मतदानको परिणाम हेर्दा रुसका मित्रहरूको संख्या जम्मा चार देखियोः उत्तर कोरिया, बेलारुस, सिरिया र एरिट्रिया। रुसको आफ्नो भोट त आफ्नै पक्षमा पर्ने नै भयो। १९३ देश सदस्य रहेको संयुक्त राष्ट्रसंघका १४१ सदस्यराष्ट्र रुसले युक्रेनबाट सेना फिर्ता गरिहाल्नु पर्छ भन्ने पक्षमा देखिए; चीन र भारत समेत ३५ देशले मतदानमा भाग लिएनन्।

रुस अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएकोमा दुई मत रहेन। राष्ट्रपति भ्लादिमिर पुटिन सर्वेसर्वा शासक रहेको रुसका सैनिकहरूले सैनिक अखडाहरूलाई मात्र लक्ष्य गरेर ‘विशेष कारबाही’ गरेको छ भनेर प्रचारबाजी गरे तापनि युक्रेनका हजारौं गैरसैनिक नागरिकहरू मारिएका सचित्र खबरहरूले वास्तविकता भिन्दै रहेको देखाउँछ। युक्रेन युद्धको मैदान बनेको छ। 

लाखौंको संख्यामा युक्रेनका बृद्ध–बृद्धा, गर्भिणी र बाल–बालिकाहरू युक्रेनको सिमाना काटेर छिमेकका मुलुकहरूमा शरण लिन गैरहेका छन्। राष्ट्रसंघको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकाय युएन्एच्सीआर र मानव अधिकार परिषद् क्रियाशील भएका छन्।

शुक्रवार मानव अधिकार परिषद् बैठकमा मतदान हुँदा नेपालले युक्रेनको पक्षमा हुनेगरी मत दिएको छ। यसअघि, बुधवार संरासं मुख्यालय न्यूयोर्कमा भएको मतदानमा पनि नेपाल युक्रेनउपरको हमलाको विरोधमा प्रस्तुत भएको थियो। मानव अधिकार र शरणार्थी मामिलासँग सरोकार भएका दर्जनौं अन्तर्राष्ट्रिय संघ,संस्थाहरू रातोदिन विस्थापित मानिसको मद्दतमा खटिरहेका छन्।

असाधारण दृढता

लडाकु हुने उमेरका युवक,युवती भने स्वदेशको रक्षाका लागि सामान्य तालीम लिएर युक्रेनकै मोर्चा–मोर्चामा उभिएका छन्। यता राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तिनको हौसलाका स्रोत बनेका छन् भने उता देशप्रेमी युक्रेनीहरूबाट जेलेन्स्की उत्साही भएका छन्। रङ्गमञ्चीय कलाको क्षेत्रमा काम गरेर हास्य–कलाकारको रूपमा परिचय बनाएका जेलेन्स्की सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका हुन्।

अब उनी गम्भीर भएका छन्, छिमेकी रुसको हमलामा परेको देशको अस्तित्व जोगाउने दायित्व उनको काँधमा आइपरेको छ। उनको लोकप्रियता निरन्तर बढ्दो छ, र प्रभावकारिता पनि सोही अनुपातमा अक्कासिंदो छ।

देशको प्रतिरक्षामा समर्पित हुने उनको आँट र अठोट देखेर पश्चिमाहरू पनि प्रभावित भएका छन्। केही दिनअघि अमेरिकीहरूले उनलाई हवाई–उद्धारको प्रस्ताव गरेछन्, तर उनको उत्तर आएछः मलाई देशबाहिर जाने सवारी–सुविधा होइन यहीं रहेर देशरक्षाको लागि लड्न कामलाग्ने साधन (रुसी ट्याङ्क रोक्ने मेसिनलगायतका) चाहिएको छ।’

जेलेन्स्कीको यस्तो असाधारण दृढता देखेर पुटिन समेत झस्केको हुनुपर्छ। निद्रा नपुगेको वयस्कको जस्ता राता आँखा र दाह्री नखौरेको अनुहार लिएर लडाकु सैनिक बर्दीमा उभिएका युक्रेनका राष्ट्रपतिले विश्वभरि नै मौन सन्देश प्रवाहित गरेका छन्। युक्रेनिस्का प्राभ्दा नामक अन्लाइन समाचार माध्यममा सेभ्गील मुसौभा नामक पत्रकारको कथनः ‘जेलेन्स्की सिंह भएर लडिरहेका छन् र सिङ्गो युक्रेन उनको साथमा छ’। एउटा अनुमान के छ भने तत्काललाई पुटिनका सैनिकले युक्रेनलाई अधीनस्थ प्रदेश बनाएछन् भने पनि युक्रेनभित्रको संगठित विद्रोहले दीर्घकालसम्म रुसलाई तालाबाला खेलाइरहने छन्। चेच्नियाको विद्रोह निकटविगतकै प्रसङ्ग हो।

एक्लिँदो रुस

संयुक्त राष्ट्रसंघ (संरासं) मा युक्रेनी सङ्कटबारेको पहिलो बहस ‘सुरक्षा परिषद्’मा भएको थियो जसमा रुसले आफ्नो विरोध हुन नदिन निषेधाधिकार (भीटो) मत प्रयोग ग–यो। परिस्थिति जटिल हुँदै गएपछि बसेको दोस्रो बैठकमा पनि रुसी प्रतिनिधिले पश्चिमाहरूको दबाबलाई निष्कृय पार्न फेरि भीटो लगाएर मसौदा प्रस्तावलाई निस्तेज पार्नुपरेको थियो।

दुबै बैठकमा परिषद्का बहुसंख्यक सदस्य विरोधमा रहेकोले भीटो प्रयोग गर्नु बाहेक रुससँग विकल्प थिएन। र, त्यो काम फत्ते गर्न रुसलाई अघिपछि भन्दा सजिलो प–यो, किनभने फेब्रुअरी महिनाभर परिषद्को अध्यक्षता गर्ने पालो रुसको थियो। १५–सदस्सीय परिषद्मा बैठकको अध्यक्षता गर्ने पालो महिनैपिच्छे फेरिन्छ।

सुरक्षा परिषद्को निर्णय बाध्यकारी हुने हो, तर दुबै पटक भीटोले निष्प्रभावी तुल्याइदिएको हुनाले त्यो बाटो छेकिन गयो। तसर्थ संरासंका बहुसंख्यक सदस्यले महासभाको आकस्मिक अधिवेशन डाक्न माग गरे। अधिवेशनमा गहन बहस सकिएपछि मतदान भयो जसको नतीजाबारे माथि उल्लेख भैसकेको छ। जे होस्, महासभाबाट पारित प्रस्ताव बाध्यकारी हुँदैन परन्तु यसले युक्रेनमाथिको हमलालाई विश्वसमुदायले कसरी ग्रहण गरेको छ त्यो बुझ्न सजिलो पारिदिन्छ।

पुटिनले पनि वास्तविकता देख्छन्। उनमाथि नैतिक दबाब पर्छ। हो, त्यसलाई बेवास्ता गरी बलमिच्याञी जारी राख्ने सुविधा भने उनलाई र उनका सहयोगी, सल्लाहकारहरूलाई उपलब्ध भैरहेकै छ–रुसभित्र यद्यपि युद्धविरोधी स्वरहरू मत्थर हुन सकेको छैन।

रुसबाहिर भने पुटिनको सरकार सुरक्षित छैन; अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनले कडा आर्थिक नाकाबन्दी लगाएको छ। अमेरिका, बेलाइत, अष्ट्रेलिया समेत कतिपय देशमा स्थायी सम्पत्ति जोडेका रुसका धनाढ्यहरू (ओलिगार्क्स) चेपुवामा परिसकेका छन्। तिनले युक्रेनमाथिको कारबाहीलाई अनुचित नभने पनि अवाञ्छित भने मानेकै छन्।

अनुपस्थितिको होडबाजी 

संरासं महासभाको मतदानमा भाग नलिने ३५ सदस्यराष्ट्रमध्येको एक हो भारत। तर यो देश एक स्वतन्त्र राष्ट्रमाथि आक्रमण हुँदा तटस्थ रहेको कारण विश्वसमुदायको चर्को आलोचनामा परेको छ। सुरक्षा परिषद्मा दुबै पटकका मतदानमा र पछि महासभाको मतदानमा पनि ‘अनुपस्थित’ रहने दिल्लीको कदमलाई रुससँगको सैनिक सम्बन्धलाई गाँसेर हेरिँदै छ।

झण्डै ६०% रक्षासामग्री रुसबाट आयात हुने आपूर्तिमा आधारित भएको तथ्य एकातिर छ भने अर्कोतिर चीनसँग चिढिएको अमेरिकासँग रणनीतिक सम्बन्ध कायम राखेको विषय पनि चर्चित छ। यसरी दुइटा डुङ्गामा खुट्टा हालेर पार लागिंदैन भन्ने बुझेर पनि नरेन्द्र मोदीको सरकार किटान कूटनीतिक बाटो समात्न सकिरहेको छैन।

यसैबीच, युक्रेन मामिलामा अमेरिका, जापान, अष्ट्रेलिया र भारत संलग्न चारपक्षीय मञ्चमा भारतको दोधारे चरित्रले विवाद सिर्जना गरेको छ। राष्ट्रपति बाइडेनले मुखै खोलेर दिल्लीप्रति असन्तुष्टि जनाएका छन्। दिल्लीको यस अन्यौलले छिमेकमा पनि संशय पैदा गरेको छ। र, सुरक्षा परिषद्को स्थायी सदस्य भएर उच्चस्तरको अन्तर्राष्ट्रिय भूमिकामा जाने आकांक्षा भएको दिल्लीले गलत कार्यको निन्दा गर्न जति ढिलो गर्छ उति नै उसलाई हानि गर्छ भनेर भारतकै अनुभवी कूटनीतिक व्यक्तित्वहरूले आफ्ना धारणा प्रकट गरेका छन्।

युक्रेनबारेको संरासंको ताजा बहसपछिको मतदानमा रुसको भत्र्सना गर्ने प्रस्तावमा ‘अनुपस्थित’ रहने चीनको निर्णय पनि विवादमुक्त छैन। चीन पनि रुसजस्तै कम्युनिष्ट शासनप्रणाली भएको देश भएको हुनाले बेइजिङ मास्कोको बचाउमा लागेको अनुमान सामान्य ढङ्गले गर्नसकिने अड्कल हो यद्यपि साम्यवादी सिद्धान्त र सोचमा यी दुईबीच टड्कारो अन्तर पनि नभएको होइन।

फेब्रुअरी महिनाको आरम्भमा पुटिन बेइजिङ पुगेका थिए र आपसी मित्रता बलियो भएको पुष्टि गर्ने वक्तव्य पनि जारी भएको थियो। सन्दर्भ हिउँदे ओलम्पिक खेलको उद्घाटनको थियो, तर पुटिन चिनियाँ समकक्षी सी चिनफिङका साथ गम्भीर वार्तामा संलग्न भएको जानकारी उतिखेरका प्रेस–विवरणले दिईसकेका हुन्। न्यूयोर्क टाइम्स र पश्चिमाजगत्का अन्य केही माध्यमले त केही पछि के पनि सूचना पनि प्रवाह गरे भने पुटिनले त्यही मौकामा सीसँग युक्रेनमाथि सैनिक कारबाहीबारे कुराकानी गरेका थिए। तर चीनका राष्ट्रपतिले ओलम्पिक खेल नसकियुञ्जेल त्यो काम नथाल्न पुटिनलाई राजी गराएका थिए।

हुन पनि काकताली हो वा पूर्वनियोजित, युक्रेनमाथिको रुसी आक्रमण चीनमा ओलिम्पिक सकिनेबित्तिकै प्रारम्भ भयो। तथापि चीनले रुसको साथ दिने प्रारम्भिक सन्देश दिँदादिँदै पनि चीनले परराष्ट्रमन्त्री वाङ् यी मार्फत बेइजिङ कुनै पनि स्वतन्त्र देशको सार्वभौमसत्तामा आँच आउनु हुँदैन भन्ने आफ्नो मूलभूत मान्यता नत्यागेको सार्वजनिक अभिव्यक्ति दियो। ‘युक्रेन अपवाद होइन’ भन्ने वाङ् यीको प्रष्टोक्ति छ। र, मास्को यसबारे अनभिज्ञ नहोला।

पूर्वको मोर्चा 

चीनका आफ्ना बाध्यता र अवधारणा पनि होलान्। संरासं सुरक्षा परिषद्को स्थायी सदस्य चीन रुसभन्दा पनि शक्तिशाली देश भैसकेको छ। यसका दायित्व र आकांक्षा बेग्लै परिवेशका हुने नै भए। अमेरिकाले पनि रुसलाई भन्दा बढी चीनलाई महत्व दिन्छ, प्रतिस्पर्धी ठान्छ। दक्षिण चीन सागर र हिन्द–प्रशान्त (ईण्डो–प्यासिफिक)क्षेत्रको तनाउमा अमेरिका चीनको प्रतिस्पर्धामा छ।

त्यस्तै, ताइवानलाई चीनको अभिन्न अङ्ग मानेर ‘एक चीन नीति’ मा अडेको अमेरिका हाल आएर ताइवानको बारेमा बेग्लै नीति अख्तियार गर्नपट्टि लागेको देखिन्छ। त्यसबाट सशंकित चीन केही वर्षयता प्रशान्त महासागरका स–साना टापू देशहरूसँग दौत्यसम्बन्ध बाक्लो पार्न लागिपरेको छ। अनि अमेरिकाको बाइडेन प्रशासन पनि चीनलाई उछिन्ने ध्येयले अघि बढेको छ। परराष्ट्रमन्त्री एन्थोनी ब्लिन्केन केही साताअघि अष्ट्रेलिया र वरपरका साना–ठूला मुलुकको भ्रमण गरेर तिनलाई आश्वस्त पार्ने कार्यमा व्यस्त थिए।

चीनको प्रभावक्षेत्र विस्तार हुन नपाओस् भन्ने अमेरिकी नीति नै दक्षिण एसियामा पनि बेला–बेलामा प्रकट भैरहेको छ। भारतलाई रुसको निकटताबाट छुटाउन पाए चीनलाई हिमालयको उत्तरतर्फ नै सीमित राख्न सजिलो पर्ने अमेरिकी दृष्टिकोण हुनुपर्छ।

नेपाललाई उपलब्ध गराएको एम्सीसी सहयोगलाई यसै परिप्रेक्ष्यमा हेरिनु उपयुक्त हुन्छ। अफगानिस्तानबाट सैनिक फिर्ता गरेपछि पनि अमेरिका सामरिक हिसाबले कमजोर छैन भनेर भारत र यस भेगका अन्य देशलाई ढुक्क तुल्याउन बाइडेन प्रशासन व्यग्र देखिन्छ। कूटनीतिक भ्रमणका चालू शृङ्खलालाई यसै कोणबाट हेर्नु उपयुक्त हुन्छ।

रुस–चीन–अमेरिका जोडिएको युक्रेन विवाद तत्काल युद्धविराममा टुङ्गिन सकेमा मानवीय र भौतिक संरचनाको हानि–नोक्सानी बढ्न पाउने थिएन। तर विश्वसमुदायको आग्रह उपेक्षा गर्दै रुस युक्रेनमा अल्झिरहे सिङ्गै युरोप लामो समय तनाउग्रस्त हुने जोखिम छ। त्यस अवस्थामा युरोप समेत पश्चिमीजगत्को सुरक्षा हित हेर्ने निकाय ‘नेटो’ हुनाले त्यसको नेतृत्व लिने देश अमेरिका आफ्ना साधन–स्रोत र कूटनीतिक कौशललाई त्यसतर्फ केन्द्रित गर्न बाध्य हुनेछ। एसियामा केन्द्रित चीनको लागि भने त्यो अनुकूल स्थिति हुन जानेछ।

TwitterM@dhrubahari
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस