लट्किएको चेनको रित्तो समय
०७ असार २०७८
•
१३ मिनेट पाठ
लट्किएको चेनको रित्तो समय
हिजोको परिवेश र आजको वास्तविकताअन्तर्गतको छलफल शृंखलाको यो सातौँ पटक हो ‘समय प्रवाह’ को यो पेजमा। गत महिनाको निष्कर्ष थियो– मुलुक प्रोक्सी रुलतिर जाँदैछ। र, यस अवधिका अर्थराजनीतिक गतिविधिहरू र निस्केका सङ्केतहरू झन् प्रगाढ र प्रस्ट देखिएका छन्, प्रोक्सी रुलतिरको यात्रामा अगाडि बढेको। आज लेख्न बस्दा अनायास एउटा पुरानो हिन्दीको कहावत मेरो मनमा आयो। त्यो हो– ‘घडी का पता नहीं है लटक रहा है चेन।’ नेपालको यतिखेरको अवस्थासँगको यसको सन्दर्भ अथ्र्याउनु भन्दा अगाडि म दुइटा कुरा भन्न चाहन्छु।




पहिलो, कुनै पनि तन्त्रको या मन्त्रको शासन पद्धति होस् र कुनै पनि नेपाली चाहे त्यो आलङ्कारिक वा कार्यकारी राष्ट्रपति होस् या खाग पति, त्यो व्यक्ति मुलुकको संविधान, ऐन, कानुन भन्दा माथि र उसले गरेको निर्णयको ठीक या बेठीक निक्र्याेल कानुनबमोजिम कसैले या कुनै अङ्गले गर्ने अवस्था मुलुकमा छैन भने त्यो मलाई स्वीकार्य छैन। नेपाली हुनुको गर्व र जन्मसिद्ध अधिकार हो यो मेरो। त्यस्तो अवस्था भनेको राज्य सञ्चालनमा सन्तुलन र नियन्त्रण प्रणाली बिलकुल नभएको अवस्था हो। यसलाई ‘डिस्फङ्सनल एनार्की’ अर्थात् शिथिल अराजकता भन्न सकिन्छ। नियन्त्रण प्रणाली पूरै भत्काएर अराजक तानाशाह बन्ने यात्रा हो यो। हाम्रो प्रधानमन्त्री केपी ओली अहिले त्यो यात्रामा गइरहेका छन् राष्ट्रपतिसँगको ‘सङ्गठनात्मक साँठगाँठ’ र राज्यका अङ्गहरूमा संसद् छल्दै कब्जा गरेर।  

फङ्सनल एनार्की पनि हुन्छ जहाँ भद्रगोलसँग सरकार चलेको हुन्छ, सत्ताधारीहरूले लुटेका हुन्छन् र सरकारले खास केही नगर्दा पनि आर्थिक वृद्धि राम्रैसँग भइरहेको हुन्छ। यसको विशेषता हो कानुन भन्दा माथि कोही पनि हुन सक्तैन त्यहाँ। यो शब्द हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा प्रसिद्ध अमेरिकी अर्थशास्त्री डा. ग्यालब्रेथले केनेडी राष्ट्रपति भएको बेला अमेरिकी राजदूत भएर भारतमा रहँदा भारतीय अवस्थाको वर्णन गर्ने क्रममा कुनै बेला प्रयोग गरेका थिए। भारतीय विद्वान्हरू भन्छन्– अहिले पनि ‘फङ्सनल एनार्की’ नै छ र चिन्ता गर्छन् कहिलेसम्म रहने यस्तो अवस्था भारतमा ? तर रमाइलो पक्ष के छ भने भारतीय मध्यम वर्ग जो जीवन्त र निर्णायक छ र यी विद्वान्हरू जो चिन्तित छन्, तिनीहरू नै आफ्नो स्वार्थ परिपूर्ति गर्ने बेला सरकारसँग मिलेमतो गर्छन्। तर यस विषयको छलफल होइन हाम्रो आजको। त्यसैले दोस्रो कुरामा लागौँ। त्यो हो छलफलमा प्रयोग गरिएका केही शब्दहरू विषय वा प्रसङ्गले अर्को अर्थ नलागोस् भनेर परिभाषित गरिएका छन्। ती हुन्– चुड्की अध्यादेश, भष्मासुर भेरिएन्ट, सन्तुलित, असन्तुलित र नियन्त्रित सन्तुलन।  

चुड्की अध्यादेश

प्रधानमन्त्रीको अभद्रता, दुव्र्यवहार भ्रष्टाचार, बेइमानी, संसद् छल्ने दूषित नियत, संविधानले नदिएको अधिकार लिने प्रपञ्च, सत्तामा प्रभाव जमाउन गरिने संवैधानिक नियुक्तिका लागि गरिने संशोधन, सत्तामा आफू टिक्न असंवैधानिक निर्णय र मुलुकको स्वार्थको सौदाबाजीलगायतका विभिन्न राजनीतिक निर्णयका लागि राष्ट्रपतिसँग सङ्गठनात्मक मिलेमतोबाट तत्काल जारी हुने वा जारी भएका अध्यादेशलाई जनाउँछ। विगत दुई महिनाभित्र जारी भएका १२ अध्यादेशहरू अधिकांश चुड्की अध्यादेश छन्।  

भष्मासुर भेरिएन्ट

कोरोना भाइरसले प्रोटिनको सुरक्षा कवचभित्र बसेर मानव शरीरभित्र छिरी हाम्रा कोषहरू ध्वस्त पार्न टिक्नका लागि म्युटेसन अर्थात् स्वरूप बदल्दै गएर निस्केको ट्रिपल भेरिएन्ट जस्तै सत्तामा टिक्नका लागि मुलुकको दीर्घकालीन हितको सौदाबाजी कोरेर मुलुकलाई नोक्सान पु¥याउन सत्ताको सुरक्षा कवचभित्र बसी स्वरूप बदल्दै जाँदा निस्केको नयाँ स्वरूप हो।  

सन्तुलित

सुकुलगुन्डा अर्थतन्त्रको बनावटबाट अन्तको उपनिवेशवादी अर्थतन्त्रमा मुलुकलाई रूपान्तरण हुनबाट जोगाएर आफ्नो आन्तरिक तागत अभिवृद्धि गरी आर्थिकरूपमा मुलुक बाँच्न सक्ने अर्थतन्त्रको विकास र त्यसलाई टेवा दिने राजनीतिक पुँजी निर्माण गरेर आफ्नो मुलुकको हितका लागि आफँैले आर्थिक र राजनीतिक निर्णय गर्न सक्ने बाटोमा हिँडेको अवस्था।  

असन्तुलित

ओरालोमा ब्रेक फुस्किएको साइकलको जस्तो अवस्थाबाट मुलुक गइरहेको र दुर्घटना हुँदा त्यसको असर वरिपरि पनि पर्न सक्ने। नियन्त्रण गुमेको र जुन बेला जे पनि हुन सक्ने अवस्था।

नियन्त्रित सन्तुलन

ठूलो र बलियो देशले सानो र कमजोर देशमा आफ्नो स्वार्थ लाद्ने र शोषण गर्ने प्रयोजनका लागि नियन्त्रणमा राख्न आफूलाई छोप्ने आवरणको पर्दा पछाडिबाट आफू नदेखिइकन आफ्ना चट्टाबट्टामार्फत आर्थिक र राजनीतिक निर्णयमा पकड जमाउने अभिप्रायले प्रयोग गर्ने सबै हत्कण्डाहरू र गरिने सबै काम जसअन्तर्गत ठूलो देशले सानो देशमा नियन्त्रण राखेर सन्तुलन कायम गर्न खोजेको अवस्था।

अब ‘घडी का पता नहीं है लटक रहा है चेन’ लाई हेरौँ। यो ब्रिटिस इन्डियाको वेलाको कहावत हो। ब्रिटिसले भारतलाई कोलोनी अर्थात् उपनिवेश बनाएर करिब २०० वर्ष राज गर्‍यो। यसलाई ‘ब्रिटिस–राज’ भनिन्छ। जम्बु दीपे भारत खण्डे भन्ने अर्कै कथा हो। साँच्ची नै भन्नुपर्दा ब्रिटिस आउनुअगाडि भारत भन्ने देश नै थिएन। थिए त्यहाँ करिब ६०० राजाहरू जो आआफ्नो क्षेत्रमा राज गर्थे। नेपाल स्वतन्त्र मुलुक थियो त्यतिबेला। ब्रिटिस आएका थिए त्यहाँ शोषण गर्न र धन कमाउन। र, रकम बेलायत लैजान। १९औँ शताब्दीको उपनिवेशवादी शोषणको उच्च अवस्था थियो। अहिलेको भारतमात्र होइन, पाकिस्तान र बङ्गलादेश पनि ब्रिटिस इन्डियाअन्तर्गत थिए। कसरी राज्य गर्ने यत्रो ठूलो भूभागमा ? मकौलीले योजना बनाए ब्रिटिस शिक्षामार्फत।

उनले परिकल्पना गरे एउटा यस्तो वर्गको जसले ब्रिटिसलाई हुबहु नक्कल गरोस् र त्यसमा गर्व गरोस्। त्यहीअनुरूपको शिक्षा दिइयो। यसअनुरूप आइसिएस अफिसर उत्पादन गर्‍यो ब्रिटिसले। यसरी त्यत्रो उपमहादेशमा राज गर्न सकेको कडी यही नै थियो– भारतीय यो वर्ग जसले भारतीय ब्रिटिस बनेर भारतमाथि ब्रिटिस मालिकको उपनिवेशवादी शोषणका लागि अत्यन्त राम्रोसँग काम गर्न सक्यो। यो विषयमा छलफल लामो हुन जान्छ। यो ‘इमिटेसन’ यस्तो विषय हो जसमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट एक जना नेपाली प्राध्यापकले पनि विद्यावारिधि नै गरेका छन्। हाम्रो छलफलका लागि यतिमात्र बुझौँ कि यसरी तालिम पाएकाहरूले भारतीय नोकरशाही हाँकेका थिए। नेपालीले यो दास मानसिकताको तालिम कहिले लिन परेन किनकि हाम्रो मुलुक सधैं स्वतन्त्र भएर रहेको थियो। तर अंग्रेजी हाउभाउ र चालचलनको हामीकहाँ पनि मान्यता थियो। र, एक अर्थमा अहिले पनि छ जो आफूलाई माथिल्लो ठान्ने मानसिकतामा रमाउँछन्, अङ्ग्रेजी हाउभाउ समाजमा गर्न सक्दा।

कतिपय भारतीय कूटनीतिज्ञको चासो भनेको अहिले ओलीकोमा जस्तो खुल्लमखुल्ला गर्नुभएन। जे गर्ने हो पर्दापछाडिबाट गर्नुपर्‍यो, छाप देखिनु भएन भन्नेमात्र हो। र, प्रजातन्त्रलाई छाडेर तानाशाही बाटोबाट ओलीलाई पात्र बनाएर गन्तव्य पुगिँदैन भन्ने आवाज यसै मेसोबाट आएको छ।  
नक्कल गर्ने भारतीय बाबुहरूको प्रधानता भएको बेलामा सहरमा बेग्लै देखिएर प्रतिष्ठित हुन चाहने साधारण भारतीयहरूले पनि जे/जस्तो साधारण क्वालिटीको कपडाको भए पनि तीन पिसको सुट लागाउँथे। ब्रिटिसले सिकाइदिएको चलनअनुसार इस्टकोटको माथिल्लो खल्तीमा एउटा चेन अड्काइएको हुन्थ्यो र त्यो लामो चेन तल्लो खल्तीमा हुलेर घुसारिएको हुन्थ्यो एउटा गोलो घडीमा। र, फुत्त फुत्त घडी खल्तीबाट अलिकति झिकेर टाइम हेर्थे। यो एक प्रकारको ‘स्टेटस सिम्बोल’ जस्तो बनेको थियो त्यो इमिटेसन गर्न सकेर माथिल्लो वर्गमा पुगेको र पुग्न लालायित व्यक्तिहरूका लागि।

दोस्रो विश्व युद्धको समाप्तिपछि धान्न नसक्ने कारणले गर्दा सन् १९४७ मा ब्रिटिसले भारतलाई आजादी दिएर गए। तर यो चलन अझै रह्यो। कलकत्तामा अझ बढी जहाँ ब्रिटिस सबभन्दा बढी राजकाज गरेर बसेका थिए। १९११ भन्दा अगाडि त ब्रिटिस इन्डियाको राजधानी नै थियो। पछि कस्तो अवस्था पनि देखियो भने घडी नभए पनि इज्जत राख्न चेन लट्काएर सडकमा घुमिरहेका मानिस हुन्थे। मान्छेको हैसियत गुम्यो, औकात रहेन तर भ्रम गएन। लडाइँ हारेको मान्छे कुनै चमत्कार भएर जित्छु कि भनेर अझै आशामा झुण्डिएको जस्तो अवस्था। त्यसपछि यो कहावत बन्यो– ‘घडी का पता नहीं है लटक रहा है चेन।’ यसमा अन्तर्निहित मर्म हो लथालिङ्ग भएको छ, हैसियत गुमिसक्यो तर पनि अझै दम्भ र अर्थहीन व्यवहार। यो कस्तो भ्रम ? कस्तो इन्द्रजाल ?

अब यसलाई हाम्रो सन्दर्भमा हेर्नु भन्दा अगाडि भारतीय बाबुहरूको ‘इमिटेसन युग’ मै फर्कौँ एकै छिन केबल नेपालसँगको सम्बन्धको बुनियाद हेर्न। ब्रिटिस इन्डियाको उपनिवेशवादी परराष्ट्र नीति जसअन्तर्गत नेपाल पनि परेको थियो त्यसलाई जीवन्त राख्न बाबुहरूले पसिना बगाएका थिए। त्यो काम उच्च दक्षतासँग गरेका कारण ‘स्टार अफ इन्डिया’ बाट सम्मानित गरिएका थिए सर गिरिजाशङ्कर बाजपेयी। उनलाई भारत स्वतन्त्र भएपछि नेहरूले जान दिएनन् र झन हुँदै नभएको सेक्रेटरी जनरलको पद सिर्जना गरेर ब्रिटिस इन्डियाको उपनिवेशवादी परराष्ट्र नीतिलाई निरन्तरता दिने कामको जिम्मा लगाए। र, यसमा थपे उनको असंलग्न परराष्ट्र नीतिलाई। यो विरोधाभाषपूर्ण थियो।  

यो विरोधाभाषले गर्दा भारतको छिमेकी मुलुकहरूसँगको सम्बन्ध कहिले मिलान खाएन। कारण हो पहिलोबाट उपनिवेशवादी सोचको निरन्तरता र दोस्रोबाट आफूसरहकै स्वतन्त्र मुलुकको आन्तरिक मामलामा तटस्थ बस्नुपर्ने। भारतको सुरक्षा चासो बुझ्न सकिन्छ तर दक्षिण एसियाको पुरानो र कहिले उपनिवेश नबनेको आफूसरहको स्वतन्त्र मुलुक हो नेपाल भन्ने मर्म मानसिकरूपबाट भारतले अहिलेसम्म आत्मसात् गर्न सकेको छैन। जसको फलस्वरूप असन्तुलित रहँदै आएको छ सम्बन्ध। र, भारत माइक्रोम्यानेज गर्न सधैं उद्यत हुँदै आएको छ। यसबारे मैले ४० वर्षअगाडि विस्तृतरूपमा लेखेको थिएँ। र, यसबीचमा धेरै पटक लेखिसकेको छु।

यो कुरा अब त बिलकुल पर्दापछाडि लुकेको छैन। जगजाहेर छ। १९५० को सन्धिदेखि महाकालीसम्मका असमान सन्धिहरू होस् या त्यसपछि अहिलेसम्मका घटनाहरू होस्, ती सबले प्रष्टसँग बोलिरहेका छन्। माओवादी हुर्काएको कुरा होस् या १२ बुँदे समझदारी होस् या राजतन्त्र फालेको होस् या माओवादीलाई सत्तामा ल्याएको होस्, यी सबैमा भारतीय संलग्नता रहेको कुरा कार्यान्वयनमा संलग्न भारतीय कूटनीतिज्ञ र राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरू नै प्रामाणिकरूपमा बोलिरहेका छन् अब त। कतिपय भारतीय कूटनीतिज्ञको चासो भनेको अहिले ओलीकोमा जस्तो खुल्लमखुल्ला गर्नुभएन। जे गर्ने हो पर्दापछाडिबाट गर्नुप¥यो, छाप देखिनु भएन भन्नेमात्र हो। र, प्रजातन्त्रलाई छाडेर तानाशाही बाटोबाट ओलीलाई पात्र बनाएर गन्तव्य पुगिँदैन भन्ने आवाज यसै मेसोबाट आएको छ।  

यहाँनेर प्रश्न आउँछ भारतको गन्तव्य के नेपालमा ? सन्तुलित, असन्तुलित वा नियन्त्रित सन्तुलन। यसको उत्तर खोज्नका लागि अहिले नेपालमा जुन विचित्रको अवस्था देखिएको छ त्यसलाई पहिले सर्सर्ती हेरौँ। कहीँ नभएको जात्रा भएको छ। आलङ्कारिक राष्ट्रपतिले सक्रिय राष्ट्रपतिको इमेज दिन खोजिरहेको जस्तो आभास छरिएको छ। शायद यस प्रयोजनका लागि हुन सक्छ कि राष्ट्रपतिले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले चियाउनै सक्तैन भन्नको मिथकका लागि। जुन निर्णयले यो भताभुङ्ग भएको छ, सारा गणतान्त्रिक संरचना त्यसबारे आफूकहाँ आएको मुद्दामा टुलटुल हेर्नेमात्र हो सर्वोच्चले भन्ने आशय जुन प्रधानमन्त्री र राष्ट्रपतिको छ, त्यो कुनै पनि चेतनशील नेपालीलाई स्वीकार हुन सक्दैन। सभामुख भन्छन्– प्रधानमन्त्री नियुक्त हुने ठाउँ प्रतिनिधिसभा मात्र हो।

आवाज सहरमा मात्र होइन, गाउँ र बस्तीबाट पनि मुस्लो बनेर उठिरहेको छ– सरकार बन्न सक्ने÷नसक्ने कुराको जाँच गर्ने केवल प्रतिनिधि सभाले मात्र हो, राष्ट्रपतिले होइन। प्रधानमन्त्रीसँगको ‘सङ्गठनात्मक साठगाँठ’ मा तय गरिएको र देखाइएको आलङ्कारिक राष्ट्रपतिको दायित्व निर्वाह गरेको यात्राबाट नयाँ सरकार बनाउने सांसद संख्या भन्दा बढी १४६ प्रतिनिधिसभाका सदस्यहरू उभिएपछि प्रधानमन्त्री ओलीलाई टिकाउन हठात बाटो बदलेर दूषित नियत परिपूर्तिका लागि खुलेर देखिएको निर्णयको स्वरूप मध्यरातको अँध्यारोले कसरी छोप्न सक्छ र ? यो निर्णय स्वरूपले गर्दा अहिले मुलुकको स्वरूप अँध्यारो भएको छ– मुलुक असन्तुलित छ। प्रधानमन्त्रीको राज्य गर्ने वैधानिकता गुमेको छ। सरकार अवैधानिक बनेको छ।

राजनीतिक ध्रुवीकरण चरमोत्कर्षमा छ। कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व लिने संस्थागत निर्णय नै गरेको छ। स्थिति वारपारको बनेको छ। मिलेमतोबाट संवैधानिक नियुक्ति गर्नुपर्‍यो भने संसद् विघटन गर्ने। अनि आफूलाई मिल्ने गरी अध्यादेशबाट ऐन संशोधन गरेर आफ्नो मान्छे नियुक्त गरी त्यो अङ्ग कब्जा गर्ने। अहिले हामी सबैले देखिरहेका छौँ, निर्वाचन आयोगको दशा। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अझै प्रधानमन्त्रीको आदेश लिने सामान्य प्रशासन मन्त्रालय सचिव नै रहेको मानसिकतामा छन्। आसेपासेलाई राजदूत बनाउन शैक्षिक योग्यतासम्म पनि स्नातक नचाहिने बनाए। यो कस्तो तमासा हो ? यस्तै छ हाल सबैतिर बाँडीचुँडी नियुक्तिको कथा र व्यथाहरूको। बजेट ल्याउनुपर्‍यो भने पनि संसद् विघटन गर्ने। त्यो पनि हरेकपल्ट लगातार। बिजनेस पार्टनरका लागि ऐन बदलिन्छन्। महामारीले मुलुकको अर्थतन्त्र चाउरिएका बेला स्विस बैंकमा नेपालीको रकम ४६ अर्ब काटिसक्यो– एकै वर्षमा करिव २३ अर्ब वृद्धि भएर।

अन्तलाई खुसी पारेर टिक्न जे पनि गर्ने ? चुरे समथल पार्ने होस् या संसद् विघटनको लगत्तै भोलिपल्ट नागरिकता अध्यादेश ल्याएर होस्। विगत तीन वर्षदेखि संसद्मा अड्काएर राखेका थिए ओलीजी आफैंले। कुनै हालतमा पास हुन नदिने भनेर कुर्लन्थे उनी। तर अहिले एउटा भष्मासुर भेरिएन्टलाई टिकाउन मुलुक नै जुवामा थापेजस्तो भएको छ। करोनाको यत्रो महामारी छ, सरकार लाचार छ। बाढी/पहिरोले यत्रो जनधनको क्षति मुलुकमा भएको छ, सरकार लाचार छ। कन्ट्रोभर्सी जन्माउन सक्यो भने सत्य कुरा पनि भासभुस पार्न सकिन्छ भन्ने उनको राजनीतिक जग छ। त्यसैले प्रधानमन्त्री भन्छन्– सरकारले बोलाएर ल्याएको हो र बाढी/पहिरो ? सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला सुनाउनेछ। सर्वोच्चले प्रतिनिधिसभा बिउँत्याए सरकार आन्दोलनमा जान्छ, भन्छन् प्रधानमन्त्री धम्क्याउँदै। कस्तो बेतुक र हल्काफुल्का कुरा ? यस्तो पनि शासन व्यवस्था हुन्छ कहीँ ? लोकतन्त्र रे ! गणतन्त्र रे !  

अब फर्कौँ त्यो प्रश्नमा– भारतले के चाहेको यत्रो भद्रगोल गराएर ? के चाहेको हो– सन्तुलित, असन्तुलित वा नियन्त्रित सन्तुलन ? ठीक एक वर्षअगाडि प्रतिनिधिसभामा चुच्चे नक्सा पास हुँदा भारतलाई के अशोक स्तम्भबाट लिएको निशान चिह्नको बाघ बन्न खोजेको छिमेकीसँग भनेर ललकार्ने ओली सर्कसको बाघसरह लुरुलुरु अगाडि पछडि हिँड्ने अवस्थामा आइपुगेका छन् अहिले। चुच्चे नक्सा समेटिएको पाठ्यपुस्तक वितरणमा नै रोक लगाए। तक्मामा त्यो नक्सा छैन। कालापानी क्षेत्रको हाम्रो भूभागमा युद्धस्तरमा बाटो बनाइरहेको छ र त्यस्तै हाम्रो जमिन हडपिरहेको छ सबैतिर तर चु गर्न नसक्ने भएका छन् ओली। यसबारे हाम्रो राजदूत परराष्ट्रको निर्देशन छैन भन्छन्। यो हुन सकेको एउटै कारण हो तानाशाही ‘इमिटेड’ गर्दागर्दै चिप्लेका ओलीले गुमाए आन्तरिक तागत। बाहिरी ‘सपोर्ट सिस्टम’ मा टिक्न सके फेरि तङ्ग्रिएर टोपीबाट खरायो झिक्न सक्छु भन्ने उनको विश्वासले डोराएको हो। भष्मासुर भेरिएन्ट पहिचान भयो। त्यसपछि सामन्त गोयल पठाएर मध्यरातको ‘बालुवाटार डिल’ ले तय भएको यात्रा पछि ओलीजी चेन लट्काएर हिँड्ने अवस्थामा आइपुगे जुन हामी सबैले देखिरहेका छौँ। ओलीजीलाई साहसिक काम गर्न लगाइएको छ डन क्युहोटको जस्तो र सहायकमा स्यान्जोपाञ्जा जस्तै पात्र जोडिदिएको छ। इतिहासले जे देखाएको छ त्योअनुसार भन्दा सन्तुलित नेपाल भारतले देख्न सक्दैन। असन्तुलित नेपाल हुँदै गयो भने त्यसको असर यो क्षेत्रमा नै नराम्रोसँग पर्छ। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडा बन्यो भने त्यसको असर नदीको पानी बगेर गएजस्तै गरी भारतमै पुग्छ। ब्रिटिसले बनाइदिएको भारतको सङ्घीयता कुनै बलियो छैन। वास्तवमा कमजोर छ त्यत्तिकै जति सोभियत सङ्घको थियो। अमेरिकाको जस्तो बलियो सङ्घीयता होइन जहाँ सबै १३ राज्य मुलुकसरह नै सक्षम थिए, संयुक्त राज्य अमेरिका बन्नुअगाडि। अन्यमा भारतले नेपालमा लिँदै आएको ‘नियन्त्रित सन्तुलन’ ले नेपाललाई हानि त प्रशस्त गरेकै छ तर भारतलाई पनि नोक्सान गरेको छ।  

सिक्किममा धेरै नेपाली छन् तर नेपाल सिक्किम होइन। विश्व शक्ति बनेको इम्पेरियल ब्रिटेनसँग लडेको पुरानो देश हो यो। भोटसँग लडेको, चीनसँग पनि लडेको देश हो यो। आफ्नो स्वाभिमानमा बाँचेर आएको देश हो यो। नियन्त्रित सन्तुलनबाट नेपाल भुटान पनि बन्न सक्तैन जतिसुकै यहाँका एक्टरहरूलाई खेलाएर उसको आवश्यकताअनुसार तोडफोड वा जोडजाड गरे पनि। त्यसैले यो उपनिवेशवादी मानसिकताको नीति अवलम्बन गरेर नेपालमा सधैँ भद्रगोल गराएर न नेपालको, न भारतको हित सन्निहित छ। सन्तुलित नेपाल मात्र भारतको तागत हुन सक्छ। त्यसैले हेक्का रहोस्, त्यो लट्किएको चेन खाली छ। समय छैन त्यहाँ। र, समयले ठूलो सानो कसैलाई पर्खँदैन। खाली चेन लट्काउन विवश गराएर कसैको पनि हित हुँदैन। चेतना भया।

(अर्थ–राजनीतिक विश्लेषक)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस