श्रीलंकामा वैकल्पिक शासनको चुनौती
१४ माघ २०८१
•
७ मिनेट पाठ
श्रीलंकामा वैकल्पिक शासनको चुनौती
सन् २०२४ सेप्टेम्बर २१ मा श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा सन् १९७१ र १९८७–८९ मा दुईपटक राज्यविरुद्ध हतियार उठाएको जनथाभी मुक्ति पेरामुना (जेभिपी) ले अरू वामपन्थी, समाजवादी साना समूहहरूलाई समेत एकीकृत गरी बनाएको नेसनल पिपुल्स पावर (एनपिपी)ले अनुराकुमारा दिसानायकेको नेतृत्वमा अत्याधिक बहुमत (२२५ सिटमध्ये  १५९ सिट अर्थात् ६१.५६ प्रतिशत) ल्याई सत्तारोहण गर्‍यो। अघिल्लो निर्वाचनमा महिन्दा राजापाक्षको दल एसएलपिपीले १४५ सिट ल्याउँदा यो दलले केवल तीन सिट अर्थात् ३.८४ प्रतिशत मात्र जितेको थियो।




भूगोलमा नेपालभन्दा सानो ६५,६१० वर्गकिलोमिटर क्षेत्रफल भएको यो देशमा दुई करोड २२ लाख जति जनसंख्या (सन् २०२३) छ। यहाँ सिंहाली, तामिल र अंग्रेजी भाषा बोलिन्छ। यो देशमा ७४.९ प्रतिशत जनता सिंहाली र बाँकी जनजाति छन् भने ७० प्रतिशत जनता बुद्ध धर्म, १२.६ प्रतिशत हिन्दु, ५.७ प्रतिशत जनता मुस्लिम र ८.९ प्रतिशत इसाई  (सन् २०१२ ) मान्छन्। यो हिन्द महासागरको सुन्दर टापु मुलुक हो जो सन् १९६० को दशकमा सिंगापुरको समेत आर्थिक विकास समृद्धिको ‘रोल मोडल’ थियो।

दुर्भाग्य राजनीतिक जातीय–धार्मिक द्वन्द्वको चपेटामा परेपछि यो देशको अवस्था निकै खस्कँदै गयो। अल्पसंख्यक तमिलमाथि बहुसंख्यक सिंहालीले गहिरो भेदभावपूर्वक व्यवहार गरे। सिंहाली मात्र कामकाजको भाषा, विश्वविद्यालय र सरकारी जागिरमा सिंहालीहरूले मात्र पूर्ण प्राथमिकता पाउने प्रावधान गरेपछि तमिलहरूले यसका विरुद्धमा लिबरेसन टाइगर अफ तमिल इलम (लिट्टे) भन्ने लडाकु संगठन नै स्थापना गरी राज्यको ज्यादतिविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेपछि यो देशको अवस्था खस्कँदै गयो।

राजापाक्षले लिट्टेलाई ध्वस्त पारी एकछत्र राज्य कब्जा गरेर आफ्नो भाइलाई राष्ट्रपति बनाउँदासम्म पनि देशमा शान्ति स्थापना गरेको भनेर जनताले राजपाक्ष जहाँनिया शासन स्वीकारेकै थिए। तर यो जहाँनिया शासनले देशमा कुशासन, भ्रष्टाचार व्याप्त बनाइ अर्थतन्त्र डावाडोल बनाएपछि भने जनताले राष्ट्रपति भवन नै कब्जा गरी राष्ट्रपति गोतावाया राजपाक्षलाई १३ जुलाई २०२२ मा देश छाडी भाग्न बाध्य बनाएका थिए।

यसको मूल कारण थियो– राजपाक्ष परिवारले देशका राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, गभर्नरलगायतका महत्त्वपूर्ण पद कब्जा गरी देश नै तहसनहस हुनेगरी भ्रष्टाचार गर्नु। राजपाक्ष शासन अन्त्य भएपछिको आन्तरिक व्यवस्थाले पनि स्थिति सुधार्न सकेको थिएन।

जनतामा व्यापक निरासा छाएको थियो र उनीहरू वैकल्पिक उपाय खोजिरहेको पृष्ठभूमिमा एनपिपीले आफू वैकल्पिक शक्ति भएको दाबी गर्दै  निर्वाचनमा सहभागी भइ सर्वाधिक मतले विजयीसमेत भयो। जम्मा ११३ सिटले बहुमत पुग्नेमा ऊ १५९ सिट ल्याउन सफल भएको थियो।

सधैँ स्थायी प्रतिपक्षका रूपमा लगातार भ्रष्टाचार र बेथितिको चर्को आलोचना र रूपान्तरणको पक्षमा आवाज उठाउँदै नागरिक सरोकार सम्बोधनको प्रतिबद्धता जनाएका कारण जनताले एनपिपीलाई वैकल्पिक शासकका रूपमा त उभ्याए तर निर्वाचनको समयमा गरेका प्रतिबद्धता र वाचा पूरा गर्न भने उनीहरूले अहिले कैयौँ व्यवधान र चुनौतीहरू सामना गर्नु परिरहेको छ।

अध्येताहरूका लागि द्वन्द्व र द्वन्द्वोत्तर राज्य निर्माणसम्बन्धी अध्ययन गर्न यो पनि रुवान्डा जत्तिकै आकर्षक देश हो। त्यसैले सन् २००३ देखि द्वन्द्व अध्ययनकै सिलसिलामा म पनि यो देशमा लगातार आइरहेको छु।

श्रीलंकाको निर्वाचनपछि उदाएको वाम पृष्ठभूमिको एनपिपी र शासन सञ्चालनमा यसले सामना गरेका र सामना गर्नुपर्ने चुनौतीहरूबारे द्वन्द्वोत्तर राज्य निर्माणको खाकाबाट अध्ययन गर्न अहिले म कोलम्बो, बाटिकोलावा, दामुल्लालगायत विभिन्न सहर, नगरपालिका र विश्वविद्यालयमा प्राध्यापक, राजनीतिकर्मी, कर्मचारी, विद्यार्थी, पत्रकारसँग छलफल गरिरहेको छु। यही अध्ययनको निचोडका रूपमा निम्न चुनौती यहाँ प्रस्तुत गरेको छु:

कर्मचारीको असहयोग

अहिले पनि कर्मचारीमा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षको प्रभाव अत्याधिक रहेकाले रणनीतिकरूपमै उनीहरूले राष्ट्रपति अनुराकुमारा दिसानायकेको यो सरकारलाई असफल बनाउन राज्यले दिनुपर्ने सेवा नदिने, निष्क्रिय रहने, सेवा प्रवाहसम्बन्धी उपकरण र मेसिनहरू नियतबस बिगार्ने, बिग्रियो भनेर पन्छने अनि यसको दोष नयाँ सरकारलाई दिने गरेकोबारे विभिन्न स्थानमा कुराकानीमा थाहा भयो।

विगतमा एनपिपी सधैँ थोरै सिटसहित विपक्षीमा मात्र रहेकाले यो स्तरको बहुमत ल्याई सरकार बनाउला भन्ने कर्मचारीले पनि आंकलन गरेका रहेनछन्। तर एकाएक यो दल सत्तामा आएपछि सरकारले घोषणा गरेका सुधारका योजनाहरूले हालको कर्मचारी संयन्त्रलाई फाइदा नपुग्ने बरु केही सुविधा काटिने भएकाले उनीहरूले यो सरकार असफल बनाउने तरिकाले काम गरिरहेछन्।

एक प्राध्यापकले भने– श्रीलंकाको कर्मचारीतन्त्रले गर्ने भनेकै गैरकानुनी काम कानुनी तरिकाले मिलाई सम्पन्न गरेर फाइदा लिने हो। अपवादबाहेक यिनीहरूले नागरिकको पक्षमा खासै काम गर्दैनन्।

प्रतिबद्धता पूरा गर्ने चुनौती

निष्कलंक छविका राष्ट्रपति अनुराकुमारा दिसानायकेले प्रधानमन्त्रीमा डा.हरिनीआमारा सुरिया र मन्त्रीहरूमा पनि मिलेसम्म मन्त्रालयहरूसँग सम्बन्धित विषयका विज्ञहरू, जस्तै– ऊर्जा मन्त्रालयमा इन्जिनियर, आठ जनाभन्दा बढी विद्यावारिधि गरेका र प्राध्यापकहरू मन्त्रिपरिषद्मा नियुक्त गरी राम्रो सन्देश दिए। तर, राजनीतिक जीवनभर विपक्षमा रही सरकारको आलोचना गरेको र गत निर्वाचनमा जनतासँग गरेका सुधारका प्रतिबद्धता यही कर्मचारी संयन्त्रमार्फत पूरा गर्न भने यो सरकारलाई निकै ठूलो चुनौती रहेछ।

विगत तीन वर्षदेखि स्थानीय सरकार नभई कर्मचारीले चलाउनुपरेको र यही अप्रिलमा हुने स्थानीय निर्वाचनमा एनपिपीको अवस्था र आगामी वर्षको नीति–कार्यक्रम र बजेट निर्माणले पनि यो सरकार कति लामो समय टिक्ने हो भन्ने तय हुने आंकलन श्रीलंकन विश्लेषकहरूको रहेछ।

राष्ट्रपतिले प्रशासनिक खर्च कम गर्न आफूलगायत मन्त्रीहरूको सुरक्षा र अरू सुविधामा कटौती, मितव्ययी राज्य सञ्चालनको मान्यता कार्यान्वयन, न्यून वेतनवालाको वेतन वृद्धि, गरिबलक्षित साना सुधारहरू त थालनी गरिसकेका  रहेछन्। ठूला सुधार भने आगामी बजेटबाट ल्याउने सरकारको भनाइ रहेछ।

ऊर्जा, वित्त व्यवस्था र राष्ट्रिय सुरक्षाका क्षेत्रहरूको राज्यले नेतृत्व गर्ने र बाँकी आर्थिक विकासका अरू क्षेत्रहरू निजी क्षेत्रलाई छाड्ने नीति लिएको यो सरकारलार्ई आफैँले निर्वाचनमा वाचा गरेका प्रतिबद्धता भारी पर्न सक्ने अनुमान गरिँदो रहेछ।

भूराजनीतिक चाख र चाप

दक्षिण एसियामा अहिले देखिएको भूराजनीतिक चाप परेको प्रमुख देशहरूमध्ये श्रीलंका पनि हो। चीनले बनाइदिएको हाम्बानटोटा अन्तर्राष्ट्रिय बन्दरगाह, महिन्दा राजपाक्ष अन्तर्राष्ट्रिय एयरपोर्ट, कोलम्बो पोर्ट सिटी, क्रिकेट स्टेडियम जस्ता ठूला परियोजना विवादित भए भने कतिलाई पुनः चीनले नै लामो समयका लागि भाडामा लिई सञ्चालन गर्न लागेको छ जुन भारतका लागि रणनीतिक चासोको विषय भएको छ।

अहिलेसम्म भारत र चीनले नयाँ सरकारलाई सहयोग नै गरिरहेका देखिए पनि हालै दिसानायके चीन गर्ई केही विकास योजनाबारे सम्झौता गरेपछि भारत झस्किएको रहेछ । कोलम्बोमा रहेका भारतीय राजदूतले विपक्षी दलहरूसँग व्यापक छलफल गरी दिसानायकेलाई खबरदारीको सन्देश दिन खोजेका रहेछन्।

यो सरकार वैचारिकरूपमा वामझुकाव भएको र पुँजीवादी प्रणालीको आलोचक भएकाले कतिपय क्रियाकलाप पुँजीवादी मान्यताविपरित हुँदा अमेरिका र युरोपले पनि अहिलेसम्म खुलेर सहयोग गर्लान् भन्नेमा पनि शंका नै व्यापक रहेछ। यस्तो अवस्थामा परराष्ट्र मन्त्री भिजिया हेराथले र राष्ट्रपति आफैँले कसरी यी दुई देशबीच सन्तुलन मिलाउलान् ? हेर्न बाँकी नै छ।

वैचारिक धरातल

वाम पृष्ठभूमिको जनथाभी मुक्ति पेरोमुनाका सदस्यहरूले अरू परिवर्तनकारी र समाजवादी साना दलहरूसँग मिली बनाएको राष्ट्रिय पिपुल्स पावर पार्टीले समाजवादी सिद्धान्तमा आधारित नवउदारवादी र पुरातन समाजवादी अवधारणाका सबल पक्षहरू संश्लेषण गरी तयार गरेको यो सरकारको आर्थिक विकासको मोडल कति प्रभावकारीरूपमा कार्यान्वयन हुने हो  थाहा छैन। अति (पूर्ण) निजीकरणको विरोधमा रहेको यो दलले ऊर्जा, मुद्रा बजार र राष्ट्रिय सुरक्षामा मात्र सक्रिय रही अरू मुनाफा क्षेत्रहरूमा संलग्न नहुने र  निजी क्षेत्रलाई दिने आर्थिक विकासको ढाँचा तयार गरेको रहेछ। यो ढाँचामा केही वैचारिक अस्पष्टता पनि भएकाले यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ।

निष्कर्ष

श्रीलंकाको अहिलेको अत्यधिक बहुमतको सरकारलाई आर्थिक विकासमा अवसर र चुनौती दुवै छन् । तर, सरकारको अहिलेको मूल चुनौती भनेको भूराजनीतिक सन्तुलन कायम राख्दै जनअपेक्षा पूरा गर्ने नै हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस