जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
२१ कार्तिक २०८१
•
५ मिनेट पाठ
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ। बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ। यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठको पनि औपचारिक समापन हुन्छ। यस पटक मात्र होइन, छठ पर्वका क्रममा प्रत्येक वर्ष प्रत्येक पटक अपनाइने प्रक्रिया यही हो । यस अर्थमा भन्ने हो भने यो पर्व चारदिने हो, जो चार दिनसम्मै बडो उत्साह र उमङ्गले मनाइने गरिन्छ।




पछिल्लो दिनमा छठ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ। वर्तमानमा यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ। मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृति पूजनसँग सम्बद्ध छ। यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छभन्दा अस्वाभाविक हुँदैन। यति मात्र होइन सूर्य, जसलाई प्रत्यक्ष जाग्रत देवताका रुपमा स्वीकार गरिन्छ, उनको अनुपस्थितिमा यस जगत्को सञ्चालन सम्भव छैन, का प्रति पनि मानवले अनुग्रह भाव प्रदर्शित गर्दै आभार व्यक्त गर्ने पर्व हो छठ।

सूर्यको उपासना त विश्वका धेरै देश र धेरै संस्कृतिमा हुने गरेको पाइन्छ तर सूर्य पत्नी उषा र सन्ध्या अर्थात् अस्ताउँदो र उदाउँदो दुवै सूर्यको उपासना हुने सांस्कृतिक पर्व सम्भवतः छठ मात्र हो। यस्तोमा सुन्दर भविष्यको अपेक्षासहित उदाउँदो शक्तिको उपासना मात्र होइन, बरु विगतको शक्ति जसका कारणले यो सृष्टि र सभ्यता अस्तित्वमा छ, आजको अवस्थासम्म आइपुगेको छ। तिनका प्रति अर्थात् अस्ताउँदो शक्तिका प्रति अर्थात विगतका पुर्खाप्रति पनि आदर सत्कारको भाव प्रकट गर्ने पर्व हो यो। यो पर्वको केन्द्रीय पूजनीय तत्व नै सूर्य हुन्। सूर्यलाई शक्ति मानिन्छ। यस आधारमा यो पर्व शक्ति पर्व पनि हो। सूर्य ऊर्जा केन्द्र हो। यसै ऊर्जाले प्रकृति—सृष्टि सञ्चालित छ। ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन। यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ।

मिहीन ढङ्गले विश्लेषण गर्ने हो भने यो पर्व वैज्ञानिक मान्यतामा आधारित छ। यो पर्व मनाउने प्रक्रिया र अवलम्बन गरिने विधिहरु विज्ञानसम्मत देखिन्छन्। आध्यात्म यस्तो पक्ष हो जोसँग पराशक्तिप्रतिको सम्मान, समर्पण र आस्था जोडिएको हुन्छ। श्रद्धा तथा विश्वासका नाममा यदाकदा भय र त्रासले स्थापित मान्यताहरु अनुशरण गर्न बाध्य बनाइरहेका हुन्छन्। छठ पर्वको विश्लेषण गर्ने हो भने आध्यात्मभित्र लपेटिएका केही त्यस्तै भय र त्राश छन्, जसले विज्ञान आधारित स्थापित मान्यताहरु अनुशरण गर्न समाजलाई बाध्य बनाएको छ अथवा भनौँ प्रेरित गरेको छ। त्यस्तै एउटा विज्ञान आधारित सन्दर्भ हो अस्ताउँदो र उदाउँदो सूर्यको उपासना। विज्ञानले प्रमाणित गरिसकेको छ, सूर्य उदाउने र अस्ताउने समयमा प्रसारित हुने किरण जीवनका लागि अत्यन्तै उपयोगी छन्। यी किरणको अभावमा जीवन सभ्यताको निरन्तरता सम्भव छैन।

छठ पर्वलाई यस्ता अनेक वैज्ञानिक अवधारणासँग जोड्न सकिन्छ। अर्को पक्ष हो जल संरक्षण र स्वच्छता। अहिलेको विश्व जलवायु परिवर्तनका कारण सिर्जना भएका र हुने सम्भावना रहेका असरबाट आक्रान्त छ। जलवायु परिवर्तनको न्यूनीकरणको अनेक उपाय खोजिरहेको छ, वर्तमान विश्व। यसबारे विश्वलाई सचेत बनाउने उद्देश्यले ठूलो जनधनको लगानीमा बर्सेनि विश्व सम्मेलन हुने गरेका छन्। यस वर्ष पनि छठको लगत्तै अजरवैजानको बाकुमा यस्तै सम्मेलनको आयोजना हुन गइरहेको छ।

छठका प्रवर्तकहरुले भने मानव समाज र सभ्यता जोगाउन हजारौँ वर्ष पहिले (छठ पर्व मनाउने कुरा कहिलेदेखि अस्तित्वमा आएको हो ? यकिन छैन) जलवायु परिवर्तनको सम्भाव्य अवस्था र त्यसको असरबारे सचेतना देखाए। जल र जलाधारको संरक्षण गर्नुपर्ने र प्रकृति जोगाउनुपर्ने वैज्ञानिक आवश्यकताबारे हाम्रा पूर्वजले त्यतिखेरै चिन्ता र चासो व्यक्त गरे।  त्यस्तै आध्यात्मिक आस्था तथा विश्वासलाई यसका लागि माध्यमका रुपमा प्रयोग गरे।

यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन। यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृति पूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ। यो पर्व जलाशय, नदी, पोखरी, ताल तलैया लगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ। पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ। यो शुद्धता र सफाइको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ।

यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन्। जस्तै उखु, बोट समेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री। यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ। मूलतः नेपालको मध्य तथा पूर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ। यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्याङ्कन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ। यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ। सारमा वैज्ञानिक दृष्टिले यस पर्वको महत्वलाई यसरी पनि उल्लेख गर्न सकिन्छ।

– यसले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् ।

– यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणीजगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नु हो ।

– प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो ।  यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनु हुँदैन भन्ने सन्देश पनि यस पर्वको हो ।

– जल, जीवन हो भन्ने महत्वपूर्ण सन्देश यस पर्वले दिएको छ ।

– बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ ।

सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन। त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन। छठ घाटमा मधेशी मात्र उपस्थित हुँदैनन्। हिन्दू मात्र पनि उपस्थित हुँदैनन्। सम्पन्न, धनी र हुनेखाने मात्र सहभागी हुँदैनन्। जातपातका आधारमा छुवाछूत देखिँदैन।  छठ पर्वप्रतिको आस्थामा कसैमा विभेद्को अनुभूति हुँदैन। सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून्, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय।  

(लेखक राससका कार्यकारी अध्यक्ष छन्)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस