सुधारोन्मुख भारत-चीन सम्बन्ध
०३ जेष्ठ २०८१
•
७ मिनेट पाठ
सुधारोन्मुख भारत-चीन सम्बन्ध
सन् १९५० यता छिमेकी भारत र चीनको कूटनीतिक सम्बन्ध आरोह र अवरोहका अनेकानेक रोचक इतिहासले भरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा एउटा भनाइ बारम्बार दोहोरिने गर्छ– कुनै पनि देशले आफ्नो मित्र फेर्न सक्छ तर छिमेकी फेर्न सक्दैन। भारत–चीन सम्बन्धका बहुरंगी आयाम हेर्दा यो भनाइको गुह्य बुझ्न अझ सहज हुन्छ।




शीतयुद्धकालको पेचिलो ध्रुवीकरण खारेज गर्दै असंलग्न आन्दोलनमा लागेका दुई देश समयान्तरमा आफैँ शीतयुद्धको खिचातानीमा तानिए र आपसमा सीमा विवादमा फसे। सन् १९५० मा चीनमा स्थापना भएको जनवादी गणतन्त्रलाई पहिलो मान्यता दिने भारत र चीनबीच  सन् १९६२ मा सीमा संघर्ष नै चर्कियो।

भारतीय सहरमा गुञ्जिएको ‘हिन्दी–चिनी भाइ भाइ’को नारा आरोप/प्रत्यारोपको तहमा झर्न धेरै समय लागेन। तथापि, एसियाका दुई ठूला देश र संसारकै सबभन्दा धेरै जनसंख्या भएका हाम्रा यी छिमेकी देशबीच आपसमा सहकार्यको विकल्प थिएन। दुवै देश मिलेर शिलान्यास गरेको पञ्चशीलको मूलमर्म नाघ्न दुवैलाई नैतिक छुट थिएन। शीतयुद्धको अन्त्यसँगै दुवै देश आर्थिक विकासको मुद्दामा सहकार्य गर्न अग्रसर भए। सिमाना विवादभन्दा माथि विकासका मुद्दालाई प्राथमिकतामा राख्दा दशकौँसम्म विवादित सीमामा कुनै पनि गोली खेर गएन।

चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन संस्थाका वरिष्ठ शोधकर्ता रोंग यिंग चीन र भारतबीचको समकालीन सम्बन्ध केलाउँदै लेख्छन्–दुई छिमेकीबीचको सम्बन्धमा कुनै समस्या नै हुँदैन भन्नु असम्भव छ। दुवै चीन र भारत उदीयमान प्रमुख देश हुन्। उनीहरू सहकर्मी र प्रतिस्पर्धी दुवै हुन्। उनीहरूबीच सहकार्यमा प्रतिस्पर्धा हुन्छ र प्रतिस्पर्धामा सहकार्य हुन्छ। सहकार्य र प्रतिस्पर्धाको सहअस्तित्व नै दुई देशको सम्बन्धको मान्यता हो।

चीन र भारत दुवै देशमा हालका सरकार प्रमुखहरू झण्डै एकै समय नेतृत्वमा आए। सन् २०१३ को मार्चमा सी चिनफिङ चीनका राष्ट्रपति बने भने सन् २०१४ को मेमा नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने। दुवै नेताका पहिलो कार्यकालमा दुई देशबीचको सम्बन्ध सुमधुर रह्यो। चीनको उहान र भारतको गुजरातमा दुई नेताबीच भएको भेटवार्ता औपचारिक भलाकुसारीमा मात्र सीमित थिएन।

दुई देशको कूटनीतिक सम्बन्धलाई थप कसिलो बनाउन दुवै भ्रमण महत्त्वपूर्ण थिए। एक्काइसौँ शताब्दी एसियाली शताब्दी हुनेछ भन्ने वाणीलाई एसियाका दुई प्रमुख देशबीचको मित्रताले उजागर गरिरहेको थियो। तर, त्यहीबीच दुई देशबीच सीमा विवाद बल्झियो। सन् २०१७ मा भुटान र चीनको सीमावर्ती दोक्लाम क्षेत्रमा भएको समस्या र  सन् २०२० मा गलवान क्षेत्रमा भएको झडपले दुई देशबीचको सम्बन्ध अझ चिसियो। तथापि, दुवै देशको संयमका कारण घटनाले सन् १९६२ को जस्तो ठूलो रूप लिएन। किनभने दुवै देशले सीमामा आपसमा  लड्दा अन्यत्र दुवैलाई ठूलो बेफाइदा हुने बुझेका थिए।

दुई देशको झगडामा तेस्रो पक्षले फाइदा उठाउने हिसाब बुझेका उनीहरूले मुखामुखसम्म गरे पनि हात हालाहाल भने हुन पाएन। यो संयमले फेरि पनि दुई देशबीच सहकार्य र सम्बन्धको ढोका खुला राख्यो।

भारतमा लोकसभा निर्वाचनको गर्मीबीच गत मे १० मा चीनले आफ्नो नयाँ राजदुत स्यु फेइहोङलाई नयाँ दिल्ली पठायो। अघिल्ला राजदुत सुन वेइतोंग कार्यकाल सकेर फर्केको झण्डै साढे एक वर्षपछि नयाँ दिल्लीस्थित चिनियाँ दुतावासले नयाँ नेतृत्व पाएको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि देशले गर्ने निर्णयको समय र सन्दर्भले पनि फराकिलो अर्थ राख्ने गर्छ। भारत चुनावमा व्यस्त रहेको समयमै साढे एक वर्षदेखि रिक्त दुतावासको पदपूर्ति चीनले किन गरेको होला ? चीनले भारतमा नयाँ सरकार बनुन्जेल किन प्रतीक्षा नगरेको होला?

गत १९ अप्रिलबाट सुरु भएको  भारतको अठारौँ लोकसभा निर्वाचन आगामी जुन १ सम्म चल्नेछ। जुन ४ मा भारतमा नयाँ सरकार बन्नेछ। नयाँ सरकार बन्नुअघि नै नयाँ चिनियाँ राजदुत नियुक्तिको अर्थ चीन नयाँ सरकारको आरम्भमा आफ्नो अनुस्थिति चाहँदैन। कदाचित नयाँ सरकारको शपथ ग्रहणमा चिनियाँ कूटनीतिक प्रतिनिधिको अनुपस्थिति भए त्यसले प्रसारण गर्ने अर्थले दुई देशको सम्बन्धमा पार्ने असरको लेखाजोखा गरी चीनले यतिबेला आफ्नो राजदूत दिल्ली पठाएको हुनुपर्छ।

चुनावअघि भारतका प्रधानमन्त्री मोदीले निकै थोरै सञ्चारकर्मीलाई मात्र अन्तर्वार्ता दिएका थिए। तिनमध्ये अमेरिकी सञ्चारमाध्यम न्युजविकलाई दिएको अन्तर्वार्तामा मोदीले चीनबारे दिएको अभिव्यक्तिलाई पेकिङले सम्बन्ध सुधार गर्ने हरियो बत्तीका रूपमा लिएको हुन सक्छ। मोदीले न्युजविकसँग भनेका थिए–भारत र चीनले सीमामा समस्या लम्बिँदै गएको अवस्था यथाशक्य समाधान गर्न जरुरी छ। ताकि हामीले हाम्रो दुई पक्षीय अन्तरक्रियाका असजिलो हल गर्न सकौँ। ... म आशावादी र विश्वास गर्छु, कूटनीतिक र सैनिक तहमा दुई पक्षीय सकारात्मक र रचनात्मक सक्रियताबाट हामीले हाम्रो सीमामा शान्ति र अमनचयन पुनःस्थापना र कायम राख्न सक्नेछौँ। रोयटर्सले मोदीको यो अभिव्यक्तिलाई प्रष्टतः नरम अभिव्यक्ति भनी टिप्पणी गरेको थियो। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स र चाइना डेलीले सम्पादकीय नै लेखेर मोदीको अभिव्यक्तिलाई सम्बन्ध सुधारको संकेत भनी स्वागत गरेका थिए।

निःसन्देह मोदीको शासनबारे भारतीय जनताबीच असन्तुष्टि र प्रतिरोधका कथा छुट्टै छन्। तथापि, चालु निर्वाचनबाट मोदी फेरि पनि निर्वाचित हुने विषयमा धेरै मत सर्वेक्षण मात्र होइनन्, विश्लेषकहरू पनि सहमत देखिन्छन्। तिनै मोदीले चुनावअघि चीनसँगको सम्बन्धबारे दिएको संकेत बुझेर चीनले यतिखेर आफ्नो तर्फबाट पनि मित्रताको हात बढाएको देखिन्छ।

अध्येता रोङ यिङ तेज आर्थिक वृद्धि र बढ्दो अन्तर्राष्ट्रिय प्रभावसँगै भारतले आफू पनि संसारको प्रमुख शक्ति भएको बोध गरेको र विगतमा कहिल्यै नपुगेको उचाइमा उसको आत्मविश्वास बढेको बताउँछन्। तर एकथरी भारतीय बुद्धिजीवीहरू भने चिनियाँहरू भारतको उदयबाट आत्तिएको तर्कमा विश्वास गर्छन्। विश्व शक्ति बन्ने भारतको सपनाको बाधक चीन भएको सोच्छन्। उनीहरू अबको बराबरीको प्रतिस्पर्धा चीनसँग हुने सोच्छन्। पछिल्ला वर्ष भारतको सकारात्मक आर्थिक सूचकांकले त्यतैतिर संकेत गरेको पनि देखिन्छ।

संसारको सबभन्दा धेरै जनसंख्या भएको, विकास र समृद्धिको बाटोमा हिँड्दै गरेको एउटा देशको प्रगति सिंगो मानव समाजकै उपलब्धि हो। अझ नेपाल र सिंगो एसियाका निम्ति यो सर्वाधिक खुसीको विषय हो। तर यतिबेला चीनले भने भारतको बढ्दो आत्मविश्वास आफूलाई घेराबन्दीमा पार्ने अमेरिकाको योजनाको सहयोगी नबनोस् भन्ने इच्छाएको देखिन्छ।

चीनसँगको बराबरीको प्रतिस्पर्धाका लागि भारतले पछिल्ला वर्षमा विशेषतः अमेरिका र जापानसँग बढाएको सैनिक हिमचिम तथा हिन्द महासागरको विषयमा भारतको सोच अर्को उदीयमान विकासशील देश चीनविरुद्धको औजार कदापि बनाइनु हुँदैन। त्यसकारण चीन भारतसँगको तिक्त सम्बन्ध र दूरीलाई अरू कसैले प्रयोग गर्न सक्नेमा सजग देखिन्छ। भारतले कुनै पनि छिमेकी देश वा आफू जस्तै दुःखजिलो गर्दै अघि बढिरहेको देशविरुद्ध शक्ति देशको योजनामा साथ दिनु ‘बाघ आयो, बाघ आयो’ को कथाजस्तै हुन बेर लाग्दैन।

विस्तारित छिमेकीको भारतीय अवधारणाअनुसार भारतले पूर्वी एसियाली देशहरूसँग पनि आर्थिक सम्बन्ध विकासको प्रयास गर्नु स्वाभाविक हो। आसियान देशसँग सम्बन्ध विस्तार गर्न चीन, जापान, भारत जति स्वतन्त्र छन्, त्यसरी नै भारत पनि स्वतन्त्र छ। जसरी दक्षिण एसियाली देशहरूसँग आपसी हितका सबै सम्बन्ध राख्न सबै देश स्वतन्त्र छन्। कुनै पनि ठूला देशले कुनै पनि क्षेत्रलाई आफ्नो करेसाबारी जस्तो सोच्नु शताब्दियौँ पुरानो मुनरो सिद्धान्तको नयाँ संस्करण मात्र हो।

मोदी सरकारको परराष्ट्र नीति (मोदी डक्ट्रिन) का महत्त्वपूर्ण पक्षमध्ये स्वतन्त्र अन्तर्राष्ट्रिय नीति पनि पर्छ। इरानसँग तेल खरिद नगर्न र रुससँग रूबलमा कारोबार नगर्न अमेरिकाले दिएको दबाबलाई भारतले अस्वीकार गरेर आफ्नो राष्ट्रिय हितमा काम गर्नु स्वतन्त्र अन्तर्राष्ट्रिय नीतिका दृष्टान्त हुन्।

कुनै पनि देशले आफ्नो देश र जनताको हितमा निर्णय गर्न पाउनु स्वाभाविक अधिकार हो। भारतले चीनको ‘बेल्ट एन्ड रोड’मा असहमति जनाएर सदस्य नलिनु उसको सार्वभौम अधिकारको विषय हो। तर भारत र चीनले गर्ने कुनै पनि निर्णयबाट एकापसलाई पार्न सक्ने क्षतिबारे विचार नगर्ने हो भने यो तिक्तताले क्षेत्रीय समस्या निम्त्याइरहनेछ।

उहान र गुजरातपछि रोकिएको सी र मोदीबीचको भेटघाटले फेरि पनि निरन्तरता पाउन जरुरी छ। नेतृत्वबीचको सौहार्द  सम्बन्धले भुइँ तहका कतिपय समस्या क्रमशः समाधान हुँदै गएका अथवा समाधानका उपाय खोजी भएका दृष्टान्त इतिहासमा देख्न सक्छौँ। चीन र भारतबीचको सौहाद्र्ध सम्बन्ध नेपाललगायत दक्षिण तथा दक्षिण पूर्वी एसियाका देशहरूका निम्ति लाभदायी हुनेछ। चीन र भारतले हासिल गरेका आर्थिक उपलब्धि र विकासको लाभ यो क्षेत्रका साना तथा अल्पविकसित देशले उठाउन पाउनेछन्। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस