बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?
२३ भदौ २०८०
•
१० मिनेट पाठ
बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?
बिपी कोइराला नेपालको प्रजातान्त्रिक विचारधाराका शीर्ष भाष्यकार हुन्। त्यसो त उनी राष्ट्रियता र समाजवादका शीर्ष व्याख्याता र विचारक समेत हुन्। नेपालको सन्दर्भमा राजनीतिक अवधारणाको व्याख्या र विश्लेषणमा उनको समानान्तर उचाइमा पुग्न सकेको अर्को राजनीतिज्ञ अहिलेसम्म मुलुकले पाउन सकेको देखिँदैन।




प्रजातन्त्र वा लोकतन्त्र विश्वव्यापी राजनीतिक चिन्तन भएको हुँदा यसको सार्वदेशिक आधारभूत मान्यताहरूमा समानता रहेको महसुस गर्न सकिन्छ। मुलुकका आआफ्नै ऐतिहासिक पृष्ठभूमि र राजनीतिक विशेषताअनुसार राष्ट्रियता र समाजवादको व्याख्या र विश्लेषणमा भने केही विशिष्टीकृत दृष्टिकोण वा विचार पनि पाइन्छन्। जस्तो, नेपाली राष्ट्रियताका आधार र अमेरिकी राष्ट्रियताका आधारमा केही भिन्नता हुन सक्छन्।

त्यस्तै, नेपालको राजनीतिक परिप्रेक्ष्यमा बुझ्न सकिने समाजवाद र चीन वा युरोपियन मुलुकहरूमा अनुभव गरिने समाजवादी दृष्टिकोणका बीचमा भिन्नता हुन सक्छन्। कहीं प्रजातान्त्रिक समाजवाद र कतै समाजवाद मात्र पनि भन्ने गरिएको पाइन्छ। मुलुकले अख्तियार गरेको राज्य व्यवस्थाले यसको निर्धारण वा सुनिश्चितता गरेको हुन्छ।

बिपीले ‘प्रजातान्त्रिक समाजवाद’लाई आफ्नो चिन्तनको मूल आयाम बनाए र त्यसकै केन्द्रीयतामा आफ्ना विचार र दृष्टिकोणहरू पनि व्यक्त गरे। उनले प्रजातन्त्र र समाजवादको चर्चा गर्ने क्रममा दुवैको संश्लेषीकृत व्याख्या गर्दै प्रजातन्त्रबिनाको समाजवाद अधिनायकवादी र समाजवादबिनाको प्रजातन्त्र सामन्तवादको पृष्ठपोषक बन्न सक्ने हुँदा यी दुवैलाई सन्तुलित तवरले राज्यव्यवस्थामा अपनाउनुपर्ने आवश्यकता प्रस्ट्याए, ‘राजनीतिक दृष्टिले समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्छ भने त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ।’

बिपीको तस्बिरमा माल्यार्पण गर्दै गर्दा कांग्रेसप्रति तेर्सिएका आम प्रश्न छन्: झल्मलाइरहेको चहकिलो बिपी विचारलाई आफ्नै धमिला आँखाका कारणले झन् धमिलो पो देख्न थालेको हो कि? यत्रो लामो समयभित्र कांग्रेसले ‘राष्ट्र’को जीवन, संस्कार एवम् लोकतान्त्रिक संस्कृति निर्माण गर्न कति समय व्यतीत गर्‍यो?
बिपी विचारको अर्को महत्त्वपूर्ण आयाम ‘राष्ट्रियता’ मा केन्द्रित रहेको पाइन्छ। प्रजातन्त्रबिना राष्ट्रियताको भावनाले आकार ग्रहण गर्न नसक्ने उनको विचार रहेको छ। राष्ट्रियता भन्नेबित्तिकै ‘राष्ट्र’ को उपस्थिति स्वतः रहन जान्छ। बिपी विचारमा सन्निहित राष्ट्रियतासम्बन्धी निकै चर्चा परिचर्चा हुँदै आएको पनि छ तर उनको राष्ट्रियता भित्रको ‘राष्ट्र’ के हो भन्ने सन्दर्भमा भने कमै विवेचना गरिएको पाइन्छ। यस आलेखमा बिपी–विचारभित्रको ‘राष्ट्र’ के हो भन्ने सन्दर्भमा चियाउने प्रयत्न गरिएको छ।

भौगोलिक सीमामा आबद्ध भूगोल देश हुन सक्छ। त्यस्तो देशका अधिकारविहीन मानिस रैतीका रूपमा रहन्छन्, वास्तविक जनता हुन सक्दैनन्। २००७ सालभन्दा पहिले नेपाली जनता रैतीका हैसियतमा मात्र थिए–स्वतन्त्रताविहीन, अधिकारविहीन रैती मात्र। सुगौली सन्धिपछिको नेपाल देशका रूपमा खडा त भयो, तर राष्ट्र बन्न सकेन।

२००७ सालको जनक्रान्तिले नेपाललाई ‘देश’ बाट ‘राष्ट्र’ को हैसियत प्रदान गर्‍यो। नेपालीलाई ‘रैती’ बाट ‘जनता’ मा उकाल्यो। देश सबैको साझा हो, देश कसैको व्यक्तिगत सम्पत्ति हुन सक्दैन। देशलाई वास्तविक देश अर्थात् राष्ट्र बनाउन राष्ट्रियताको भावनाको बीजारोपण गराउन, प्रजातन्त्रको अर्थ र औचित्य प्रदान गरी नेपाली जनताको सामर्थ्य लाई उठाउन आफू २००७ सालको जनक्रान्तिमा होमिनुपरेको विचार बिपीले अदालतमा बयान दिँदा व्यक्त गरेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको महिमाले मण्डित यस पुनीत भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई राष्ट्र बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु। मेरो राजनीतिक जीवनको केन्द्रीय प्रेरणा यही भावना हो ।’ (अदालतमा बयान)

सचेत नागरिकले नै राष्ट्रप्रतिको जिम्मेवारीलाई बोध गर्न सक्छ भन्दै बिपीले नेपाली जनतालाई रैतीबाट उठाएर सबल, सक्षम र मुलुकप्रतिको दायित्व वहन गर्न सक्ने नागरिक बनाउन आफ्नो जीवन अर्पित रहेको बताएका छन्, ‘नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैती भने निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई न देशप्रति चाख हुन्छ, न त आफ्नो अधिकारप्रति जागरुक नै हुन्छ। उसमा आज्ञापालन गर्ने स्वभाव बनेको हुँदा ऊ कुनै जिम्मेवारी पनि लिँदैन।

तसर्थ, रैतीहरूबाट राष्ट्र बन्न सक्दैन। २००७ सालको क्रान्तिले नेपालीलाई नागरिक बनाएको थियो, राजाले २०१७ सालमा त्यसलाई खोसे र सारालाई फेरि रैती तुल्याए। उनले राष्ट्रलाई आफ्नो पेवा, जमिनदारी बनाए।’ (तरुण/राजनीतिक अभिलेख)

राजाद्वारा नियोजित २०१७ सालको राजनीतिक षड्यन्त्रले राष्ट्रको हैसियतमा स्थापित देशलाई पुनः पछिल्तिर फर्काएर अधिकारविहीन रैतीस्थलका रूपमा परिणत गराएको हुँदा त्यसलाई पुनः राष्ट्रको हैसियतमा पुर्‍याउने संकल्पका साथ आफू सक्रिय रहेको कुरा बिपीले बयानका क्रममा बताएका छन्।
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको राजनीतिक स्वार्थ विस्तारको हुन्डरीमा परेर नेपालको अस्तित्व विलिन हुनसक्ने खतरा बढ्दै गइरहेको आभास पाए। यस्तो स्थितिमा आफ्नो प्रथम कर्तव्य राष्ट्र बचाउने प्रयत्न गर्नु हो भन्ने अठोट लिएर बिपी राष्ट्रिय मेलमिलापको मार्गचित्र बनाई २०३३ सालमा प्रवासबाट नेपाल फर्किएका थिए। बिपीको राष्ट्रिय मेलमिलापको नीति राष्ट्र बचाउने नीति हो।

प्रजातान्त्रिक अधिकार प्राप्त देश वा जनता नै वास्तवमा ‘राष्ट्र’ हो भन्ने कुरा बिपीले व्यक्त गरेका छन्, ‘देश वा राष्ट्र भनेको वास्तवमा भूगोल होइन, माटो होइन। त्यो यथार्थमा जनता हो। तसर्थ जनताको हित हुने कुरो नै देशहितको कुरो पनि हो। जनताको अधिकार देशको अधिकार हो। जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो। नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ। तर त्यो भूगोल भने आफ्नो ठाउँमा जस्ताको तस्तै रहिरहन्छ ।’ (तरुण–२, राजनीतिक अभिलेख)

वास्तविक अर्थमा जनताले जनताको हैसियत प्राप्त गरी बाँच्न नसकेको वा स्वतन्त्रता प्राप्त नागरिक नभएको देश राष्ट्र बन्न नसक्ने आशय बिपीको रहेको पाइन्छ। भूगोलरूपी देश हुनुको कुनै अर्थ नरहने उनले बताएका छन्। राष्ट्र र राष्ट्रियता अविभाज्य तत्त्व हुन्। राष्ट्र नभई राष्ट्रियताको परिकल्पना गर्न सकिन्न। बिपी विचारभित्रको राष्ट्रियतालाई राष्ट्र (जनता) र प्रजातन्त्र (मुलुकमा उपलब्ध भइरहने स्वतन्त्रताको संस्थागत आधार र जनतामा त्यसको अनवरतताको प्रत्याभूति) को संश्लेषणात्मक स्वरूपमा बुझ्न सकिन्छ।

बिपीले नेपालको राजनीतिक सन्दर्भमा व्यक्त गरेका विचार र दृष्टिकोणहरूले समकालीन नेपालमा प्रजातन्त्रप्रतिको पुनर्जागरण एवम् सचेतीकरणका लागि सर्वाधिक सामर्थ्य प्रदान गरे। त्यसको परिणति, राजनीतिक परिवर्तनका द्वारहरू खुले। तिनले निरन्तर उत्पन्न गराउँदै आएको वैचारिकी र भाष्यलाई प्रतिस्थापन गर्न तत्काल सम्भव देखिएको छैन।

‘बिपी’ नेपाली जनता (राष्ट्र)का राष्ट्रिय वैचारिक सम्पदा हुन्, मानव सम्पदा हुन्, उनका विचार कुनै एउटा पक्ष (पार्टी) का लागि मात्र होइनन्। नेपालको लोकतान्त्रिकीकरण मूलतः उनका विचारको उज्यालोबाटै सम्भव भएको हो भन्न सकिन्छ।
यद्यपि उनका राजनीतिक सहयात्रीहरूको समर्पण र त्यागको पनि उत्तिकै अहम् भूमिका रहेको तथ्यलाई बिर्सनु हुँदैन।

विडम्बना ! नेपाली कांग्रेसले बिपी चिन्तन र विचारलाई त्याग्दै गएको अनुभव सर्वत्र हुँदै छ। बिपीको देहान्तपछि नेपालको चिरकालीन इतिहासले सम्झिने दुइटा जनआन्दोलन भए। पहिलो (२०४६) ले राजतन्त्रलाई संवैधानिक बनायो भने दोस्रोले नेपालमा गणतन्त्रात्मक युगारम्भ गरायो।

यी परिवर्तनका लागि कांग्रेसको भूमिका अग्रणी रहेकोमा विवाद छैन। नेपाली कांग्रेसका साथमा अन्य प्रमुख राजनीतिक दलहरूको सहभागिता पनि उक्त जनआन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण रहनु उत्तिकै स्वाभाविक रह्यो। मुलुकको राज्य व्यवस्था परिवर्तनका लागि निश्चय नै यी जनआन्दोलनले महत्त्वपूर्ण भूमिका खेले।

मूलतः २०४६ सालयताका वर्षहरूमा दुईपटक संविधान जारी भए। तिनका मार्गदर्शनमा रहेर मुलुकको राजनीतिक, आर्थिक, सामाजिक संरचनात्मक परिवर्तन गरिँदै आएको छ। पछिल्लो संविधान संघीय गणतन्त्रात्मक नेपालको दस्ताबेज बनेको छ। नेपालको संविधान, २०७२ जारी भए पनि सारपूर्ण तवरमा राष्ट्रको हृदयलाई सामथ्र्य प्रदान गर्ने काम गरेको अनुभूति गर्न भने पाइएको छैन। यस्तो हुनुमा अरूको पनि जिम्मेवारी छ भनिएला।

नेपाली कांग्रेसले बिपीको नामलाई शब्दाडम्बरमा मात्र सीमित राख्न पुगेको देखिन्छ। उनका विचारपथमा नयाँ इँटा थपेर त्यसलाई अझ विस्तारित गर्न त परै जाओस्, कांग्रेस झन्झन् पथभ्रष्ट बन्दै गइरहेको महसुस हुन्छ। बिपीले दिएको विचारको उज्यालोमा कांग्रेस हिँड्न छोडिसकेको देखिन्छ।

सत्तामा पुग्न जस्तोसुकै अमर्यादित सम्झौता गर्न तयार हुने नेतृत्वले बिपीको फोटोमा माल्यार्पण गर्नु भनेको उनीप्रति बोक्रे आस्था देखाउनुभन्दा फरक नभएको महसुस गर्ने गरिएको छ। यस्तो स्थितिमा कांग्रेसप्रति तेर्सिएका केही आम प्रश्नहरू छन्। ती प्रश्न बिपीको ‘राष्ट्र’सँग जोडिएका छन्–‘राष्ट्र’ले आश गरेका कांग्रेस नेता (पाका र युवा दुवैथरी) कुर्सी (सत्ता)लाई आँखाको तारो बनाएर हिँडिरहेका त छैनन्? लोकतन्त्र नभएको अन्धकारपूर्ण समयलाई चिर्न बिपीले विचारको ज्योति जगाए। त्यही ज्योतिलाई बोकेर हिँडेको कांग्रेसले आफ्नो यात्रालाई आत्मविश्वासपूर्ण बनाउन ‘माटो’लाई सम्झेर सही ठाउँमा पाइला चाल्न बिस्र्यो कि? राष्ट्र (जनता)को आफूप्रतिको आशा र विश्वासलाई नजरअन्दाज गर्दा आत्मविश्वास गुमाएर कांग्रेस अमर्यादित, अप्राकृतिक गठबन्धनको साङ्लोमा बेरिन पुग्यो कि? झल्मलाइरहेको चहकिलो बिपी विचारलाई आफ्नै धमिला आँखाका कारणले झन् धमिलो पो देख्न थालेको हो कि? २०४६ सालयताको अमूल्य समय कतै सिंहदरबारसम्मको दौडमा मात्र कांग्रेस सीमित रहन गयो कि? यत्रो लामो समयभित्र कांग्रेसले ‘राष्ट्र’को जीवन, संस्कार एवम् लोकतान्त्रिक संस्कृति निर्माण गर्न कति समय व्यतीत गर्‍यो? त्यसको आत्मसमीक्षा कांग्रेस नेतृत्वले गर्ने समय पायो कि पाएन? ‘राष्ट्र’ कतै आशाहीन भएर सुस्केरा हाल्दै भएको केही आँठा सुर्का बेचेर, साहुलाई बुझाएर विदेशमा अरूकै लागि पसिना चुहाउन पुग्यो कि? कृषिप्रधान मुलुकका बारी कान्ला किन बाँझै भए ? विदेशबाट अन्न ल्याएर छाक टार्नुपर्ने अवस्थामा राष्ट्र के कारण पुग्यो, त्यसको खोजीनीति कांग्रेसले गरेन कि? कतै बिपी विचारवाहक हुँ भन्दाभन्दै कांग्रेस स्वयम् विचारविहीन भइसक्न आँट्यो कि? द्विविधाग्रस्त भएर कांग्रेस अनिर्णयको बन्दी पो भयो कि?

‘तिमीलाई कर्तव्याकर्तव्यको द्विविधा भए सहिदलाई सम्झ, त्यसले तिमीलाई उच्चतामा पुग्ने प्रेरणा दिन्छ,’ बिपीले भनेका थिए। उनको यस प्रेरणालाई बिपी–नगरमा हुने बैठकहरूमा कांग्रेसले स्मरण गर्न पो नभ्याएको हो कि?
बिपीको ‘राष्ट्र’ र वर्तमान कांग्रेसको ‘राष्ट्र’का बिचको परिभाषामा नै अन्तर आइसकेको हो कि ? वा पछिल्लो पुस्ताका कांग्रेसहरूमा ‘पितामह’ ले परिभाषा दिएको ‘राष्ट्र’ र आफ्नो पुस्ताको ‘राष्ट्र’ एकै हुन नसक्ने महसुस भएको हो कि? बेलाबेलामा ‘राष्ट्र’ लाई भेटेर जागरण कार्यक्रम गर्ने कांग्रेसको केन्द्रीय घर स्वयम् प्रशिक्षणविहीन भएर दाइभाइहरूका बिचमा सेखासेख पो गरिरहेको छ कि?

यस्ता खस्रा मसिना प्रश्नहरू स्वयम् कांग्रेसको मनमा उत्पन्न भए कि भएनन् होला? यी त केही प्रतिनिधि प्रश्न मात्र हुन्। यस्ता अरू अनगिन्ती गम्भीर प्रश्न छन् ‘राष्ट्र’ले कांग्रेसलाई सोध्ने। देशवासीलाई ‘राष्ट्र’को हैसियतमा पुर्‍याउन विचार र संघर्षका पाइला सँगसँगै चालेर हिँडेका बिपी र उनका विचारको प्राधिकार र उत्तराधिकारलाई आफूमा राखिरहन कांग्रेसको सामथ्र्य रहला कि नरहला भन्ने पेचिलो प्रश्नमाथि बिपी–नगरमा गम्भीर बहसको थालनी हुनु जरुरी देखिएको छ। भाद्र २४ गते बिपीको फोटोमा माल्यार्पण गर्दै गर्दा उनले छोडेको ‘राष्ट्र’को अनुहारलाई पनि कांग्रेस नेतृत्वले स्मरण गरोस्। कांग्रेसले बिपीको ‘राष्ट्र’ आफूभित्र बाँचिरहेको छ कि छैन, आफ्नै छातीलाई सोधोस्।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस