सत्ता–राजनीति, प्रचण्ड र ओली
२६ माघ २०७९
•
६ मिनेट पाठ
सत्ता–राजनीति, प्रचण्ड र ओली
लोकतान्त्रिक गणतन्त्रको सत्ताले दिनदिनै नयाँनयाँ तमासा देखाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले क्याबिनेट बैठकमा र केही सांसदहरूले प्रतिनिधिसभामा राजासहितको प्रजातन्त्र र हिन्दुराज्यको आवाज बुलन्द गरेर जुन तरङ्ग उठाइदिएका थिए त्यो सेलाउन पाएको थिएन। गत आइतबार (२१ माघमा) संसद्को चौथो ठूलो संख्या बल, राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि गृह मन्त्रालय नपाएकामा सत्ता नै छाडेर बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनमा त्यसका सभापति रवि लामिछाने जुन ढङ्गमा प्रस्तुत भए, त्यो नै उनी देशको गृहमन्त्री हुन कति योग्य व्यक्ति हुन् भन्ने जाँच गर्न पर्याप्त भयो।




मुलुक चलाउने जिम्मेवारी बाकेका ठूला तीन पार्टीले सत्ता पाउँदा गरेको चरम ज्यादतिबाट निरास भएको जनमतमा रवि लामीछाने वा उनको पार्टी परेको हो, त्यो पार्टीको नाममा जनमत परेको होइन। निर्वाचनको क्रममा उनीप्रति जनअपेक्षा उत्साहित नै देखिन्थ्यो तर सत्ताको लागि आशक्ति देखाएर जनअपेक्षालाई उनैले अर्थहीन बनाइदिए।  

राज्यका उच्च ओहोदा सम्हाल्न चाहने व्यक्तिले आलोचना र विरोधप्रति सहिष्णुता तथा चिन्तन, विवेकले काम गर्ने व्यवस्थापन कुशलता, स्थिर–धीर–गम्भीर स्वभाव, अभिभावकीय प्रभाव दिन नसक्ने र निम्नकोटीको पर्‍यो भने सिंगो मुलुकले त्यसको महँगो मूल्य चुकाउनुपर्ने हुन्छ। नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली जुन बेला रवि लामिछानेविरुद्धको मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई लिएर निन्दा गर्दै रविलाई काँध हालिरहेका थिए, मिडियाबाटै जन्मेका रविले उसैबेला प्रेस सम्मेलन गरेर १२ जना पत्रकारका विरुद्ध मनको भँडास पोखिरहेका थिए।

तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो गठबन्धनको सफल नेतृत्व गर्न सक्लान् भन्नेमा अविश्वास बढिरहेको छ। सरकारलाई विश्वासको मत दिएका पार्टीहरूमा नै यतिबेला असन्तुष्टिको लहर छ। स्वतन्त्र पार्टीले त सरकार नै छोडिसक्यो। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि असन्तुष्ट रहेका छन्। जनमत पार्टीका अध्यक्षले एमाले अध्यक्ष ओलीको सामुन्ने प्रधानमन्त्री प्रचण्डको टिठलाग्दो हालत र निरीहता देखेर आफू अघाएको वास्तविकता सार्वजनिकरूपमा व्यक्त गरिसके। यो असन्तुष्टिको एक साझा कारण प्रधानमन्त्रीको अस्थिरतावादी चरित्र, पूरा हुने-नहुने जस्ता पनि आश्वासन बाँड्दै हिँड्ने झुटा आश्वासनको थोक व्यापारी, भरोसा गर्न नसकिने बोली, सबैलाई छक्याउने र धोका दिने बेइमान व्यवहार टड्कारो छन्।

प्रचण्डले अवसर नपाएर आज माओवादीको जनाधार निरन्तर खिइँदै गएको भन्न कुनै तर्कले मिल्दैन। उनी तीनपटक प्रधानमन्त्री भइसके। आफ्ना प्रियपात्रहरूलाई छानीछानी कैयौँपटक सत्तामा इज्जत र आम्दानीका आकर्षक पदहरूमा पनि पु¥याएकै हुन्। एक चिनियाँसमक्ष सांसद किनेर आफ्नो सरकार बनाउन ५० करोड रुपियाँ मागेको विवादमा प्रचण्ड नै कारक थिए भन्ने वास्तविकताले उनी सत्ता पाउनका लागि जस्तो र जत्रो दुस्साहस गर्न पनि बेर लगाउँदैनन् भन्ने पुष्टि भएकै हो।  

आमूल परिवर्तन र नयाँ नेपालको निर्माता भनी दाबी गर्ने एमाओवादी आज छिन्नभिन्न भइसक्यो। त्यस पार्टीका संस्थापक प्रचण्डका समकालीन नेताहरू माओवादी परित्याग गरेर हिँडिसके। उनलाई राजनेता बन्ने अवसर धेरैपटक आएको थियो। तर प्राप्त अवसरलाई सदुपयोग गर्न भन्दा दम्भ र अहंकार प्रदर्शन गर्न थाल्दा अवसरहरू अभिशप्त हुन गए। परिवर्तनका बहानामा राष्ट्रका स्थायी जरा खोतलेर अस्तव्यस्त बनाएको दुष्परिणाम, आज उनकै पार्टी कृशकाय भइसकेको छ र सत्तामा टाँसिएर चलखेल गर्नबाहेक जनताका बीचमा बसेर सिद्धान्तवादी राजनीति गर्नु एमाओवादीका लागि अब बिल्कुल असम्भव छ।

कम्युनिस्ट गुटहरूबीच हरेक स्वार्थअनुरूप एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ। उनीहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, सिआइडी, प्रतिक्रियावादी, विदेशी दलाल, राष्ट्रघाती जस्ता शब्दावलीले गालीगलौज गर्न पछि पर्दैनन्। स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन्। गिरिजाप्रसादको दौराको फेरो समातेर खुला राजनीतिमा आउन प्रधानमन्त्री निवासबाट प्रकट भएका प्रचण्ड यतिबेला केपी शर्मा ओलीको हात समातेर एमाले अगुवाइको सरकारमा छन्। अब कुनबेला उनले ओलीको योजनालाई पनि लात हानेर अर्कोतिर हाम्फाल्ने हुन् तर त्यो निश्चितप्रायः देखिन्छ।  

दश वर्षे रक्तपातपूर्ण ‘युद्ध’ र नरसंहारपछि ३ असार २०६३ को साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रकट भएका प्रचण्ड र बाबुराम सोही बेलादेखि विवादास्पद हर्कतका राजनीतिक गतिविधि र अभिव्यक्ति गर्दै आएका हुन्। सुरुका ती दिनमा प्रचण्ड र बाबुराम जहाँ जाँदा पनि सँगसँगै हिँड्ने गर्थे। पेसेवर चोरले भारतबाट चोरी गरेर ल्याएका चोरीका गाडी चढ्थे। बालुवाटारमा सोही साँझ प्रचण्डले नेपाली सेनामाथि गम्भीर आरोप लगाएर भने– नेपाली सेना विघटन गरिदिए हुन्छ। यसले मान्छे मार्न र छोरीचेलीलाई बलात्कार गर्नबाहेक अरू के गरेको छ ?  

प्रचण्डका माओकालीन हर्कतहरू अहिले पनि जारी छन्। कहिले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग पारित गर्ने असफल हर्कत होस् वा कहिले लडाकुका नक्कली नाम देखाएर राज्यकोषबाट लिएको पौने तीन अर्ब रुपियाँको भ्रष्टाचार फाइललाई दण्डहीनताले थिचेर राखेको होस्।

एमाओवादीलाई केपी ओली ‘टेरोरिस्ट’ मात्र भन्दैनन्, भेटेसम्म छ््याँस्न बाँकी राख्दैनन्। अर्कातिर वाम गठबन्धन बनिनसक्दै उनीहरूका बीचको खटपट र भत्किने उल्टो गिन्ती सुरु गर्न थालिसके मानिस। ओलीहरू पनि त २०२७–२८ सालको नक्सलाइट मुभमेन्टका बेला आजको माओवादी जस्तै थिए भन्ने यथार्थ कसले बिर्सेको छ र ! त्यही मुभमेन्टका कारण ओली पनि रौतहटबाट पक्राउ भई १४ वर्ष जेल बसेका व्यक्ति हुन्।

एमाले अध्यक्ष ओलीले लोकतन्त्र र विधिको शासनबारे जतिसुकै ओठेभक्ति देखाए पनि उनी संविधानवादप्रति इमानदार र लोकतन्त्रप्रति निष्ठावान प्रमाणित हुनै सकेनन्। उनी सच्चा कम्युनिस्ट त हुँदै भएनन्। आफूले विगतमा दुई–दुई पटक गरेको तर संविधानमा उल्लेख नै नभएको प्रतिनिधिसभा विघटनबारे चालु संसद्को अधिवेशनको पहिलो भाषणमा पनि उनी वकालत गरिरहेका थिए। सर्वोच्च अदालतको अवशिष्ट अधिकारका रूपमा रहेको सर्वमान्य संंवैधानिक इजलाशको फैसलालाई उनी संसदीय भाषणद्वारा निन्दा र अनास्था ओकलिरहेका थिए। उनका यी दुवै भाषणले उनलाई लोकतन्त्रवादी वा संविधानवादी प्रमाणित गर्दैन। त्यसो भए यी हुन के त ? यी फगत तानाशाह हुन्, आफ्नो अहं र स्वार्थका कारिन्दा हुन् र सर्वेसर्वा राजनीतिका झाँकी हुन्।

नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘आजकाल गाउँघरमा नेता आएको भन्दैनन् कुनचैँ चोर आएछ भन्छन्’ भन्दै ताली खाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफूले ‘चोर’ इंगित गरेकै समूहमा चुपचाप घुस्रिएर सबैलाई दिग्भ्रमित बनाइदिए। उनले आफ्नो राप्रपालाई खड्गप्रसाद ओलीको स्याटेलाइट पार्टी बनाइसकेका देखिन्छ। उनको अगाडि अब अर्को परीक्षणको घडी आएको छ, राजतन्त्रसहितको प्रजातन्त्र साँच्चै खोजेको हो भने उनले राप्रपाका सांसदहरूलाई राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्न निर्देशन जारी गर्लान् त ?

यस्तै चरित्रका हातमा गएको मुलुक झन्झन् अस्थिरता, अन्योल र अराजकतातिर फस्दै गएको छ। नेताहरूले अन्जानमा बाटो बिराएपछि आजको खेदजनक परिस्थितिमा नेपाल जकडिएको होइन। सत्ताको खेलबाहेक अरू अजेन्डा वा मामिलालाई वास्तै नगर्ने चरम स्वार्थी र भ्रष्ट नेतृत्वको हातमा सत्ताको बागडोर पुगेपछि जे नहुनु थियो, त्यही भएको हो। आज श्रीलङ्का र पाकिस्तान आर्थिक संकट तथा राजनीतिक अस्थिरताको जुन भयाबह अवस्था भोगिरहेका छन्, लक्षणहरूले लोकतान्त्रिक गणतन्त्र नेपाल पनि सोही बाटोतिर धकेलिरहेको देखाइरहेका छन्।  

लोकतान्त्रिक गणतन्त्रको राजनीतिमा त्यसका निर्णायक पात्र वा खेलाडीको चरित्र यस्तै भएको र आजसम्म सुधारका सम्भावनाको गुञ्जायस नदेखिएकाले राष्ट्रिय राजनीतिको स्तरहीनता र निम्नकोटिको राजनीति सुध्रिएर आउला भन्ने जनअपेक्षा सार्थक हुने देखिन्न। यसको अर्थ आजको परिस्थिति वर्तमान संविधानले नै ल्याएको र संविधानको कमजोरीका छिद्रबाट पसेर निहित स्वार्थको राजनीतिले सत्तामा भ्रष्टाचार, दण्डहीनता र कुशासनका कीरा पारिदिएको हो।  

badrimeena@hotmail.com
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस