राजनीतिक नेतृत्वसँग मुलुकी अपेक्षा
०४ पौष २०७९
•
७ मिनेट पाठ
राजनीतिक नेतृत्वसँग मुलुकी अपेक्षा
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामअनुसार कांग्रेस पहिलो दल भएको छ। दोस्रो स्थानमा रहेको कम्युनिस्ट पार्टीको अधिकांश नेताहरूको लज्जास्पद हार र विगतका निरकुंश शासकीय चरित्रले सरकार निर्माणमा तिनको स्वर दबिनु स्वाभाविक हो। सात प्रदेश र संघीय सरकार निर्माणमा सत्ता गठबन्धनले पनि संसद्मा बहुमत पुर्‍याउन सक्ने अवस्था नरहेकामा अन्य दलको समेत सहकार्य जरुरी देखिएको छ। निर्वाचन परिणामअनुसार अब यही गठबन्धनलाई निरन्तरता दिई निर्वाचनका समयमा घोषणपत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने दायित्व नयाँ बन्ने सरकारले लिनैपर्छ।  




पुराना दलहरूको शासनशैलीप्रतिको आमनागरिकको रोष चुनावी परिणामले देखाइसकेको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फको नतिजाअनुरूप प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत आर्जन गर्न सकेको छैन। त्यसैले मिलिजुली सरकारको विकल्प नदेखिएकाले आफूलाई प्राप्त अभिमतबमोजिम गठबन्धन र अन्य दल सहमतीय सरकार निर्माणमा जुट्नुपर्छ। जसोतसो केही सिट चुनाव जितेका गठबन्धनका अन्य दलहरूले नयाँ सरकारमा रहेर फेरि पुरानै शासनशैलीको पारा देखाए जनतालाई सह्य हुने छैन। समानुपातिकमा नयाँ दलहरूको मत बढेबाट पनि पुरानाको शासनशैलीबाट जनता असन्तुष्ट रहेको तिनले बुझ्नुपर्छ। आफ्ना आस्थाका दल छाडेर नयाँ दलप्रति जनतामा आशा अंकुराएको स्पष्टै छ। त्यसैले त्यस्ता जनमत प्राप्त नयाँ दललाई सरकारमा समावेश गर्न गठबन्धन सरकार हच्कनु हुँदैन। पाँच वर्षका लागि स्थिर सरकार गठनका लागिसमेत दलहरू बडो सुझबुझका साथ निर्वाचन परिणाम र जनादेश शिरोधार्य गर्दै अघि बढ्नुको विकल्प छैन। विगतमा झैँ सरकार परिवर्तनका घटना परिघटना संसद्मा नदोहोरियोस् भन्नेतर्फ कांग्रेस नेतृत्व चनाखो हुनुपर्छ। संसद्लाई प्रभावकारी बनाउने, सुशासन कायम राख्ने र भ्रष्टाचारविरुद्ध उत्रने परिपक्व नेतृत्व आजको तीव्र जनअपेक्षा हो।

विकास र समृद्धि, नागरिक हक अधिकारका प्रत्याभूति, देशको सीमा रक्षालगायतका कार्यमा जनतालाई आश्वस्त पार्न सक्ने लोकतान्त्रिक विचारधाराका दल र नेतृत्व मुलुकले चाहेको छ। अस्थिर सरकारको लामो शृंखला चिर्दै नयाँ जनादेश नयाँ जनआकाक्षा बुझ्ने र नेतृत्व र निर्णय क्षमता भएको र सबैलाई ऐक्यबद्ध बनाउन सक्ने क्षमता भएको नेतृत्व आजको माग हो। नागरिकका कठघरामा उभिएका नयाँ दलहरूसमेत परिपक्व निर्णय र सोच बोकेर नयाँ सरकारको काम कारबाहीमा सहयोगी बन्न सक्नुपर्छ। दलहरूले अब प्रदर्शन गर्ने हरेक निर्णय र व्यवहार जनभावनाअनुरूप हुनुपर्छ। विकास निर्माणका काम गरी जनताका जीवनस्तर उकास्ने काममा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ। निर्वाचन परिणामले दलका नेताको विगत क्रियाकलाप र सत्ता सञ्चालनका मनोमानीमाथि प्रहार गरेको छ। यसबाट राजनीतिमा होमिने सबैले सच्चिनुपर्छ। कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि विभिन्न दलको सहकार्य जरुरी छ। मुलुकको सुन्दर भविष्य कोर्ने दबाबमूलक जनादेश पाएको अब बन्ने नयाँ सरकारले यो घेरा तोड्नु हुँदैन।  

हाल गोरखाबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक प्राण बचाउन कांग्रेसको छत्रछहारी अचुक औषधि बनेको देखियो। चुनावी अभियानमै प्रचण्डले कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट नदिने हुन् कि भन्ने शंका व्यक्त गरे पनि देउवाले उनलाई जिताएरै छाडेका छन्। प्रचण्डलाई गोरखाका जनताले भोट दिने आधार के भन्ने प्रश्न बारम्बार उठिरहे पनि अन्ततः उनी विजयी भइछाडे। अब पनि उनले व्यक्तिगत स्वार्थमा लागेर देश विकास र जनकल्याणका कार्यमा समर्पित नहुने हो र खाली नेतृत्वमै हानाथाप गर्ने हो भने उनले पाएको जनमतको घोर अपमान भएको ठहर्नेछ। सरकारमा बसुन्जेल देश र जनताका हितमा कुनै काम नगर्ने अनि चुनाव हारिने डरले मात्र अन्य दलसँग गठबन्धन गरी चुनावमा होमिने दलहरूका दुष्कार्यले दलभित्रै बागी, प्रतिद्धन्दी र स्वतन्त्ररूपमा उम्मेदवारी दिएकाले दलहरूको चुनावी परिणाममा यति ठूलो असर परेको हो।  

काठमाडौँका १० क्षेत्रमा एमालेको एक र माओवादीले एक सिट पनि नपाउनु कम्युनिस्टको अघिल्लो निरकुंश र अराजक शासनबाट वाक्कदिक्क भएका जनताले चुनावमा आक्रोश पोखेका हुन्। अहिलेको लज्जास्पद हारलाई कम्युनिस्ट दलहरूले आफूहरू सुध्रेर देश र जनताको हितमा काम गर्न मतदाताले दिएको चेतावनी र अवसरका रूपमा बुझ्नुपर्छ। आममतदाताले नयाँ अनुहार, विचार र दृष्टिकोण भएकालाई सत्तामा पुर्‍याएर देशको मुहार फेर्न प्रमुख राजनीतिक दल छाडेर घन्टीमा भोट खन्याएको देखियो। देश बनाउने प्रतिबद्धता बोकेर चुनावी मैदानमा उत्रिएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नै मतदाताका रोजाइमा परेको देखिएकाले यस दललाई पूर्णता दिएर सभापति रवि लामिछानेले जनआकांक्षाका कार्यमा सरकारसँग हातेमालो गर्नैपर्छ। तर विडम्बना, तिनलाई अनेक आक्षेप, आलोचना र अवरोध सिर्जना गरी चौथो ठूलो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई किनारा लगाउने दुष्प्रयास हुँदैछ। नयाँ सरकार गठनका लागि अपुग संख्या पुर्‍याउन नयाँ दलका विजेताहरूको सहकार्य जरुरी हुन्छ। कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेको हालको अवस्थामा मिलिजुली सरकार गठनको विकल्प छैन। त्यसैले रास्वपा सरकारमा संलग्न भएर जनआकांक्षा संबोधन हुनेमा जनता विश्वस्त छन्।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक दुई हजार भन्दा बढी रोजगारीका खोजीमा विदेशिने गरेका छन्। हातमुख जोर्नकै लागि विदेशिएका लाखौँ युवालाई देशमै रोजगारी सिर्जना गर्ने मुख्य अभिभारा अब बन्ने सरकारको काँधमा छ। देशमै साना, मझौला तथा ठूला उद्योग खोलेर रोजगार बढाउन र आत्मनिर्भर बन्न सकिन्छ। यसका लागि सरकारले करमा छूट गरेर वा अनुदान उपलब्ध गराएर उद्योग निर्माणमा प्रोत्साहित गर्नुपर्छ। विशेषतः कृषि, वन पैदावार, पर्यटन तथा ऊर्जामूलक उद्योगमा लगानी बढाउनुपर्छ। युवाका रोजीरोटीका विकराल समस्या सुन्ने नेतृत्व चाहिएको छ देशलाई। देशमा उत्पादित डाक्टर, इन्जिनियर र नर्सहरू बाहिरिनेको लर्को देखेर पनि सरकार किन किँचित चिन्तित देखिदैन ? आइओएमबाट उत्पादित कति होनहार डाक्टर, इन्जिनियर देशका कुन कुन क्षेत्रमा सेवा पु¥याइरहेका छन् भनेर नियाल्ने हो भने ती सबैको गन्तव्य विदेश बनिसकेको छ।  

सरकारी सेवामा रहेका योग्य दक्ष जनशक्तिसमेत विदेशिन मरिहत्ते गर्छन् भने यहाँको शासन प्रणालीसँगै राजनीतिले गाँजेर प्रशासन क्षेत्र पनि निकम्मा भइसकेको छ भनेर बुझ्न सकिन्छ। प्राविधिक तथा व्यावसायिक शिक्षा हासिल गरेका योग्य दक्ष युवाहरू देशमा नीतिनियमसम्मत ढंगले स्वच्छ स्वतन्त्र रहेर काम गर्ने चाहना राख्छन् तर राजनीतिले प्रशासनिक क्षेत्र पनि तहसनहस भइसकेकाले सरकारी सेवासमेत त्यागेर पढ्ने वा काम गर्ने बहानामा युवाहरू अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देशमा गइरहेका छन्। पुराना दलहरूले देशमै रोजगारी सिर्जना गरी युवालाई विदेशिनबाट रोक्न कुनै योजना र रणनीति कहिल्यै अघि नसारेकाले यो चुनावमा मतदाताले नयाँ दल र उम्मेदवारलाई मत खन्याएका हुन् भन्ने सत्यलाई नयाँ बन्ने सरकारले नभुलोस्।

दलहरूबाट रुष्ट भई मतदाताले घन्टीमा खन्याएको मतलाई रवि लामिछानेले विश्वासमा परिणत गरेको हेर्न आतुर छन् नागरिक। चुनावमा घन्टीले पाएको मत ठूला दलप्रतिको आक्रोश, खबरदारी र राजनीतिक दुरावस्थाप्रतिको वितृष्णा पनि हो। आगामी राष्ट्रिय राजनीतिप्रति आमनागरिकलाई विश्वस्त तुल्याउन पनि कांग्रेसले अब संसद्मा युवा जोस जाँगरसहितका नयाँ दलको भूमिका बढाउनुपर्छ। मतदाताले देखाएको बाटोमा दलहरू नहिँडे अघिल्लो संसद्कालका कलंक बोकेका उम्मेदवारलाई मतदाताले जसरी हाल पाखा लगाएका छन्, आगामी चुनावमा त्यही कृत्य नदोहोरिएला भन्न सकिन्न। जनताका जनकारबाहीमा परेका दलहरूले अब चेत्नैपर्छ। दलहरूलाई चेतावनी दिँदै सुध्रिने मौका दिइरहेका अवस्थामा फेरि संसद्मा गएर सरकार बनाउने र नेतृत्व लिने हानाथापमा विगतका घृणित संसदीय चरित्र नदोहोरियोस्।  

सरकार बनाउने कसरतमा जुटिसकेका शीर्ष नेताहरूले हानाथापमा नअल्मलिइ अबको सरकारको नेतृत्व देश विकासको खाका कोर्न सक्ने दूरदर्शी व्यक्तित्वलाई सुम्पनुपर्छ। संसद्लाई बारबार बन्धक बनाउँदै र राजनीतिलाई फोहोरी खेल बनाउँदै आएका पुराना जीर्ण नेताहरूचाहिँ अब नेतृत्वबाट पाखा लाग्नैपर्छ। अब मतदाताले नेतृत्व र देश दुवैको नयाँ शासकीय शैली र चम्किलो मुहार हेर्न चाहेका छन्। पुराना अनुहारबाट देशले मुहार फेर्ने सम्भावना र विश्वास गुमिसकेकाले अब बन्ने नयाँ सरकारको नेतृत्वले जनभावना र राष्ट्यि अपेक्षाअनुरूप आफूलाई ढाल्नुपर्छ। विगतमा झैँ पटक पटक संसद् विघटन र मध्यावधि निर्वाचनमा जाने अवस्था सिर्जना हुनबाट रोक्नसमेत कांग्रेस नेतृत्वको गठबन्धनसँग अन्य दलको सहकार्यमा सरकार गठन हुनुपर्छ। सत्ता गठबन्धनका साथै अन्य राजनीतिक दलको सहमतीय सरकारले मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम राख्दै देशको सुन्दर भविष्य कोर्ने प्रतिबद्धता र क्रियाशीलता आजको खाँचो हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस