चीनको पहिलो कोर्गी जातको पुलिस कुकुर ‘फुजाई’ ले जागिरमा सुत्ने बानी र आफ्नै खाना राख्ने भाँडोमा पिसाब गरेपछि ‘वर्षान्त बोनस’ गुमाएको छ। यस घटना चिनियाँ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
फुजाई २०२३ को अगस्ट २८ मा जन्मिएको हो। फुजाई दुई महिनाको हुँदा एक व्यक्तिले पार्कमा घुमाउन लगेका थिए। सोही क्रममा चाङले काउन्टी पब्लिक सेक्युरिटी ब्युरोका प्रहरी कुकुर प्रशिक्षक झाओ छिङसुआईले फुजाईको प्रतिभा देखे। उनको अनुरोधमा कुकुरका मालिकले फुजाईलाई शान्दोङ प्रान्तको वेइफाङस्थित प्रहरी कुकुर तालिम केन्द्रलाई दान गरे।
चार महिनाको उमेरमा फुजाईले विस्फोटक पहिचान गर्ने रिजर्भ प्रहरी कुकुरको रूपमा तालिम सुरु गर्यो। तीन महिनाभित्रै यसको मुस्कान, छोटा खुट्टा, र उत्कृष्ट सुँघ्ने क्षमताका कारण यो इन्टरनेटमा भाइरल बन्यो।
अक्टोबर २०२४ मा फुजाईले आफ्नो रिजर्भ स्टेटसबाट पदोन्नति पाउँदै पूर्ण प्रहरी कुकुरको रूपमा प्रमाणपत्र प्राप्त गर्यो। वेइफाङ प्रहरी प्रशासनद्वारा सञ्चालन गरिने ‘कोर्गी पुलिस डग फुजाई एन्ड इट्स कम्रेड्स’ नामक सामाजिक सञ्जाल एकाउन्टमा फुजाईको कथा सार्वजनिक गरियो। अहिले उक्त एकाउन्टमा ३.८ लाखभन्दा बढी फलोअर्स छन्।
जब कुकुरको बोनस खोसियो..
जनवरी १९ मा पोस्ट गरिएको एक भिडियोमा फुजाईले २०२४ भरि गरेको उत्कृष्ट प्रदर्शनबारे जानकारी दिइएको थियो। यस अवधिमा उसले थुप्रै सुरक्षा कार्यहरू सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। यसको योगदानलाई कदर गर्दै प्रहरी अधिकारीहरूले फुजाईलाई रातो फूल, खेलौनाहरू, र स्वादिला स्न्याक्स उपहार दिए।
भिडियोमा एक प्रहरी अधिकृतले भनेका छन्, ‘फुजाई, तिमीले यो वर्ष निकै राम्रो काम गर्यौं। तिमीले लेभल-४ प्रहरी कुकुर मूल्यांकन पास गर्यौ। सुरक्षा कार्यहरू पूरा गर्न मात्र होइन, तिमीले वेइफाङ प्रहरी कुकुर विभागको प्रतिष्ठा बढाउन पनि ठूलो योगदान गर्यौ। त्यसैले हामी तिमीलाई सम्मानस्वरूप रातो फूल, केही क्यान्ड स्न्याक्स, र खेलौनाहरू प्रदान गर्छौं।'
उनले थपे, ‘तर, पछिल्लो समय तिमी काम गर्दा धेरै थाक्ने मात्र होइन, आफ्नै खानाको भाँडोमै पिसाब गर्न थालेका छौ। त्यसैले तिम्रो बोनस काटिएको छ। अब तिमीले स्न्याक्स पाउने छैनौ, तर रातो फूल चाहिँ राख्न पाउने छौ।’
त्यसपछि एक महिला प्रहरी अधिकारीले खेल्दै-खेल्दै फुजाईको ‘स्न्याक्स’ खोस्छिन्।
यो रमाइलो भिडियोले इन्टरनेटमा ठुलो चर्चा पायो। एक प्रयोगकर्ताले लेखे, ‘बिचरा फुजाई! उसले वर्षभरि मेहनत गरेर काम गर्यो, अन्त्यमा बोनस गुमायो। मलाई आफ्नै कथा जस्तो लाग्यो।’
अर्काले प्रयोगकर्ताले भनेका छन्, ‘फुजाईले आफ्नै भाँडोमा मात्र पिसाब गर्यो, साहुको भाँडोमा होइन। कसैले यसको साटो सजाय भोगोस् र बोनस फिर्ता गरियोस् !’
सोसल मिडियामा व्यापक प्रतिक्रिया आएपछि प्रहरी प्रशासनले अर्को भिडियो पोस्ट गर्दै भन्यो, ‘चिन्ता नलिउँ ! बोनस काटिए पनि फुजाईलाई चाडपर्वका लागि विशेष उपहार दिइएको छ।’
फुजाईलाई प्रदान गरिएको उपहारमा प्रशान्त महासागरको माछा, कद्दू सुप, रङ्गिन म:म, खरायोको मासुबाट बनेका बल्स, र कुकुरमैत्री ‘बुद्धा जम्प्स ओभर द वाल’ नामक प्रसिद्ध चिनियाँ व्यञ्जन समावेश थियो।
यस अनौठो घटनाले सामाजिक सञ्जालमा मनोरञ्जनको माहोल सिर्जना गरिदिएको छ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...